+
+

सडक व्यवसाय, ढोंगी नेतृत्व र अर्थतन्त्रमा देखिने समस्या 

चिल्ला शहर मात्रै राम्रो शहर भन्ने एकलकाँटे भाष्यले कसैको अहम्‌को तुष्टि त गर्ला समाज र अर्थतन्त्रलाई फाइदा नगर्ने भएकाले त्यो भाष्य र मार्ग परिवर्तन गर्न अगाडि बढ्नुको विकल्प छैन !

विजयबाबु शिवाकोटी विजयबाबु शिवाकोटी
२०८० माघ १३ गते १७:०४

काठमाडौं महानगरले अनौपचारिक व्यापार गर्नेहरूलाई सडकबाट धरपकड गर्न थालेपछि त्यसको लाभ औपचारिक रूपमा तर सानो स्तरमा व्यवसाय गर्ने आफू जस्तालाई हुने ठानेका मेरा एकजना मित्रको भनाइ रोचक छ— ‘सडक व्यवसायमा लागेकाहरूको विस्थापनले हाम्रो व्यापार बढ्ला भनेको त झन् पो घट्यो। त्यसको कारण चाहिं उनीहरू हाम्रा सेवाका ग्राहक रहेछन् भन्ने हामीले बुझ्न सकेका रहेनछौं।’

मेरा मित्रको व्यापार धेरै कारणले घटेको हुनसक्छ तर मागकर्ताहरूलाई व्यापार गर्न नदिएर उनीहरूको क्रयशक्ति घटाएर तल्लो तहका उपभोक्तालाई मारमा पार्दा त्यसले ढिलो–चाँडो समग्र व्यावसायिक वातावरणमा मार पार्नु स्वाभाविकै हो। दरबारमार्ग र अहिले न्युरोडमा पार्किङ नदिने निर्णयले ती ठाउँहरुको समग्र व्यवसायमा असर पर्ने भैहाल्यो। यो लेखमा अन्य व्यावसायिक स्थितिको भन्दा पनि अनौपचारिक सडक व्यवसायको सेरोफेरोमा रहेर चर्चा गर्नेछु।

काठमाडौंमा अनौपचारिक व्यापारको पृष्ठभूमि

खर्पनमा तरकारी लगायत अन्य सामग्रीहरू बोक्ने चलन काठमाडौं उपत्यकामा सदियौंदेखि चलेको हो। त्यो सामान ओसारपसार गर्ने त्यसले विभिन्न स्वरूप लिंदै अहिले पनि फाट्टफुट्ट रूपमा चलिरहेको छ। तर यहाँ गरिने कृषि कर्ममा धेरै गिरावट आएर र नयाँ प्रविधिमा आधारित अन्य सेवाहरू उपलब्ध भएकाले ती प्रविधिहरूमा आधारित साधनहरूको उपयोग बढेको छ।

खर्पनमा तरकारी, तेल, भाँडाकुँडा बोकी टोल–टोलमा र घर–घरमा लगी बेच्ने काम पनि यहाँ सदियौंदेखि नै हुँदै आएको हो। केही वर्ष अगाडिसम्म यस्तो दृश्य अलिक बढी नै देखिन्थ्यो भने आजकल फाट्टफुट्ट छ। कृषि कार्यमा रमेको समयको काठमाडौं उपत्यकाको दैनिक कर्मलाई हेर्दा यहाँ बिहानै आफ्ना उपजहरू बजारमा पुर्‍याउने र रातिसम्म कृषि कर्ममै व्यस्त हुने भएकाले कृषकका साना छोराछोरीले आफ्ना बुबालाई पनि चिन्दैनन् भन्ने भनाइ यहाँ उल्लेख गर्न सान्दर्भिक हुन्छ।

काठमाडौंले किन मानिसलाई तान्छ

काठमाडौं देशको राजधानी भएकाले अवसर र सुविधाहरू यता थुप्रिंदा उच्च शिक्षा तथा कामका लागि यता आएका धेरै मानिस पनि यहीं नै बसोबास गर्न थाले र थप सुविधा यतै थपिन थाले। त्यसले गर्दा यहाँका नागरिकहरूलाई सेवा–सुविधा दिन मेलम्चीबाट समेत पानी ल्याउनुपर्ने स्थिति आएको छ। सुविधाहरू थपिंदा त्यसले थप सेवा क्षेत्रमा अवसरहरू प्रदान गरे र थप मानिस यहाँ आउने स्थिति बन्यो। देशको कुल गार्हस्थ्य उत्पादनमा काठमाडौं उपत्यकाको योगदान करिब ३० प्रतिशत जति रहेको छ। यी कुराहरू यथार्थ हुन्।

अनौपचारिक सडक व्यवसायीलाई स्थानीय तहले कसरी हेरिरहेको छ ?

अवसरहरूले पछ्याउँदै अनौपचारिक क्षेत्रबाट सेवाहरू प्रदान गर्दा काठमाडौं महानगरको हकमा काठमाडौं महानगरले तत्कालीन मेयर विद्यासुन्दर शाक्यको कार्यकालमा गरिएको निर्णयको हवाला दिंदै सडक, फुटपाथ, परम्परागत व्यवसायीलाई धपाउने, उनीहरूको निजी सम्पत्तिको रूपमा रहेको सामानहरू जफत गर्ने लगायत धरपकडका कामहरू गर्दै आएको छ र अहिलेका मेयर बालेन्द्र शाहको कार्यकालमा यसलाई व्यापक रूपमा अगाडि बढाएको छ। सामान जफत गर्ने क्रममा उनीहरूमाथि धरपकड पनि भएका घटनाहरू सामाजिक सञ्जालमा व्यापक रूपमा पाइन्छन्।

ललितपुरले मेयर चिरीबाबु महर्जनको पहिलो कार्यकालमा र दोस्रो कार्यकालको अधिकांश समयमा अनौपचारिक सडक व्यवसायप्रति उदार दृष्टिकोण राखेको भए पनि पछिल्लो समयमा त्यो पनि केही क्षेत्रमा अनुदार बन्दै गएको छ। भक्तपुरमा बिहान र बेलुका उदार र अन्य समयमा कारबाही गर्ने गरेको अवस्था छ। गोकर्णेश्वर, कागेश्वरी मनोहरामा पनि यसमा केही उदार दृष्टिकोण राखिएको स्थिति छ भने मध्यपुर ठिमीमा अनुदार व्यवहारका घटनाहरू सार्वजनिक भएका छन्।

धरपकडको कदमलाई सडक र शहरलाई राम्रो बनाउने अभियानको रूपमा समर्थन गर्ने मानिसहरू एकातर्फ छन् भने अर्कातर्फ त्यसले व्यवस्थापन गर्न सकिने विषयलाई अपराधीकरण गरेको र व्यक्तिगत सम्पत्तिमाथि राज्यको अतिक्रमणको रूपमा निन्दा गर्ने पनि उल्लेख्य रूपमा छन्।

को हुन्, कति छन् र के गर्छन् सडक व्यवसायी

सन् २०११ मा एकीकृत शहरी विकास केन्द्रले गरेको एक अध्ययन अनुसार बृहत् काठमाडौंमा ११० व्यापारिक केन्द्रहरूमा १० हजार सडक व्यवसायी सक्रिय रहेको जनाएको थियो। अध्ययनका अनुसार काठमाडौं महानगरमा २० हजार र काठमाडौं उपत्यकाभरिमा ३० हजार सडक व्यवसायी रहेको दाबी थियो।

विश्वसनीय तथ्यांकहरू नहुँदा काठमाडौं महानगरमा स्थानीय सरकार अनुदार नहुँदाको समयमा त्यो संख्याभन्दा केही बढी रहेको अनुमान गर्न सकिन्छ। अहिले भने त्यही अनुमानको संख्याको वरपरै रहेको हुनसक्छ। ती व्यवसायीहरूमा अधिकांश गाउँबाट शहरतिर अवसरको खोजीमा आएकाहरू नै देखिन्छन् र केही छिमेकी भारतबाट यता आउनेहरू पनि छन्।

सडक व्यवसायमा संलग्नहरूले साइकल, गाडा जस्ता गुड्ने यातायातका साधनहरू, खर्पन, डोको जस्ता परम्परागत रूपमा बोक्ने साधनहरूको प्रयोग गरी उपभोग्य सामानहरू टोलटोलमा बेचबिखन गर्ने गर्छन्। कतिले अलि बढी मानिसहरूको आवतजावत हुने समय र स्थानमा फुटपाथहरूमा आफ्ना सामानहरू फिंजाएर पनि व्यापार गर्ने गर्छन्।

यी सबै कामहरूबाट उनीहरूले जीविकोपार्जन गर्ने अवसर पाएका छन् भने आम उपभोक्ताले सुलभ मूल्यमा आफूलाई पायक पर्ने सेवा पाएका छन्। कतिले अन्य पसलहरू बन्द हुने समयमा पनि सेवा दिएर गुन लगाएका हुन्छन्। कतिले घरमै सामान किन्न पाएर समयको बचत गर्न र आफ्नो प्रतिकूलतालाई चिर्न पाएका छन्।

सडक व्यवसायको पारिस्थितिक प्रणाली 

अनौपचारिक सडक व्यवसायमा लाग्ने प्राय: सबै मानिस परिवार सहित शहरमा छिरेका छन्। धेरैको परिवारका एकजना वयस्कले सडक व्यवसायमा काम गरेका हुन्छन् भने अर्कोले फरक ठाउँमा काम गरेका हुन्छन्। पुरुषले सडक व्यवसाय गरेका छन् भने महिलाले घरायसी काममा सहयोग गर्ने गरेको देखिन्छ। उनीहरूका बच्चाबच्ची सामुदायिक स्कुलमा पढेका हुन्छन् भने कतिपयले आम्दानीको आधारमा निजी विद्यालयमा पनि राख्छन्।

यहाँ बस्नको लागि कोठाहरू भाडामा लिने, अन्य सेवाहरू पनि मेरो साथी जस्ताका पसलहरूबाट खरिद गर्ने पनि हुने नै भए। उनीहरूले प्रदान गरेको सेवाले आर्थिक रूपमा निम्न मध्यम र निम्न वर्गमा रहेका व्यक्तिहरू बढी लाभान्वित हुन्छन् किनकि ती व्यवसायीहरूले प्रदान गर्ने सेवामा माथि उल्लिखित वर्गका व्यक्तिहरूले कम मूल्यमा ती सेवाहरू उपभोग गर्न सक्छन् र आफ्नो जीवनस्तरलाई माथि उठाउन ।

कतिपय व्यवसायीहरूले घर वा घरछेउमै सेवा प्रदान गरी सेवाग्राहीहरूको समय बचत गराएका छन् र त्यसलाई आफ्नो रोजाइको काममा प्रयोग गर्न पनि सक्ने भए। उनीहरूले पनि व्यवसाय गरी आर्जन गरेको धनले ठूला र स्थायी ठाउँमा व्यवसाय गर्न सक्ने र छोडेको ठाउँमा अर्को व्यक्तिले व्यवसाय गर्न सक्ने अवस्था भयो।

अब सडक व्यवसाय गर्नेहरूलाई काठमाडौं महानगर जस्ता स्थानीय तहले हटाउने हो भने माथि उल्लेख गरिएको चक्रमा त्यसले खलबल्याउँछ। सुरुमा त्यसको असर सम्बन्धित व्यवसायीहरूलाई मात्रै परेको जस्तो लाग्न सक्छ तर त्यसले विस्तारै अरुलाई पनि असर गर्छ। जस्तो व्यवसाय गर्न नसकेर दैनिक व्यवहार धान्न पनि ऋण लिनुपर्ने अवस्था धेरैको भएको भन्ने खबरहरू आएका छन्।

कोठाभाडा, बालबच्चाको विद्यालयको शुल्क आदि समयमै तिर्न नसक्ने अवस्थाले गर्दा त्यसका धनीहरूलाई पनि प्रभाव पार्ने भयो। आम्दानी कम भएपछि उनीहरूको पोषण आदिमा समस्या पर्ने भयो र बालबालिकाको पढाइ पनि नकारात्मक रूपमा प्रभावित हुने नै भयो।

आर्थिक रूपमा भन्दा कतिपय जोडीले काम गर्दा उनीहरूको व्यवहार धानिइरहेको थियो भने एउटाले मात्रै गर्दा उनीहरूको व्यवहार धान्न कठिन हुन्छ। अन्तत: जोडी नै आफू बसिरहेको ठाउँबाट विस्थापित हुनुपर्ने अवस्था आउन सक्छ र त्यसले समग्र परिवारलाई नै नकारात्मक असर गर्छ। र काठमाडौं जस्ता शहरी स्थानमा रहेको श्रमिकहरूको अभावलाई पनि झन् विकराल बनाउँछ वा उपलब्धहरूले प्रदान गर्ने सेवाको मूल्य पनि बढ्न सक्छ।

सरल भाषामा भन्दा सडक व्यवसायीलाई विस्थापित गर्दा मध्यम वर्गका घरमा काम गर्न आउने सहयोगीहरू पनि विस्थापित हुनसक्छन् र त्यसको लागि अरुलाई बढी मूल्यमा काम लगाउनुपर्ने हुनसक्छ। अनि यहाँका रैथाने लगायत अन्य घरधनीहरूले दिइरहेको कोठाभाडामा दिने सेवालाई पनि यसले असर गर्छ र त्यसको प्रत्यक्ष असर स्थानीय तहहरूको राजस्वमा पनि पर्छ।

अनौपचारिक व्यवसाय र शहरको गतिशीलता

अनौपचारिक बजारलाई हटाउँदा त्यसले शहरको गतिशीलतामा पनि प्रभाव पार्छ। भारत लगायत संसारका अधिकांश शहरमा खानपान लगायत सडकमा गरिने व्यापारले ती शहरको गतिशीलतामा सकारात्मक प्रभाव पारेको छ।

अमेरिकामा बस्ने कमलपोखरीकी एकजना साथीसँग केही महिना अगाडि भेट्दा उनले भनेको कुरा उल्लेखनीय छ— ‘म त यहाँ आउँदा सिटी सेन्टरको पेटीमा रहेको खाना खान जान्थें। अहिले त त्यहाँ त केही पनि राख्न दिएको रहेनछ। त्यो त उसकै जग्गा हो तैपनि किन राख्न नदिएको होला है। यसले त शहर खालि सटर कोठाभित्र व्यापार गर्ने भन्ने मात्रै हुनेभयो। ती बन्द कोठाभन्दा बाहिरका व्यवसायले शहरमा बढाउने गतिशीलता अरुले दिनै सक्दैनन्।’

साँच्चि नै आफ्नै पेटीमा व्यवसाय गरेकालाई व्यापार गर्न नदिंदा व्यक्तिगत रूपमा ती व्यवसायी तथा त्यसमा आश्रित श्रमिक तथा उनीहरूका परिवारहरूलाई र समग्रमा भन्दा हाम्रो अर्थतन्त्रलाई कति घाटा भयो होला भन्ने कुरामा अलिक मिहिन ढंगले नहेर्दा चाहिं हामीले पाएको नेतृत्वप्रति मनै मरेर आउँछ।

सडक व्यवसायको कुरा गर्दा सबैले दिने उदाहरण भनेको हामीकहाँ अगाडि कस्तो थियो भन्नेमा जान्छ। एउटा स्थानीय तहको प्रमुखमा उम्मेदवार भैसकेकी एकजना साथीसँग कुरा गर्दा पनि उनको आशय त्यही थियो। उनले सडक व्यवसाय नहुँदा सडक थप समावेशी बनेको छ र अपाङ्गता भएका लगायत व्यक्तिहरूलाई सडकमा हिंड्न सजिलो भएको छ भनेर भनिन्। मैले उनको कुरालाई प्रतिवाद गर्दै अहिले माग गरिएको कुरा पहिलाको यथास्थितिमा जाने हैन बरु यसलाई थप व्यवस्थित बनाउने कुरा गर्ने हो भनेर भनें। अहिले नभइरहेको नै त्यही हो र त्यसले गर्दा हलो अड्काएर गोरु चुट्ने काम भइरहेको छ।

फेरि फुटपाथ वा सडकमा व्यापार गर्न नदिए पनि सटर तथा कबल अगाडि आफ्नो ठाउँलाई भाडामा लगाएर अन्य व्यवसायीहरूले लाभ लिइरहेकै छन्। अन्तत: यी सबै स्थितिको प्रत्यक्ष नकारात्मक असर ती व्यवसायी र हामी आम नागरिक र हाम्रो अर्थतन्त्रले भोगिरहेको छ। व्यवस्थित बनाउन व्यवसायीहरूलाई दर्ता गर्ने, व्यवसाय गर्न पाउने स्थान र समय तोक्ने हो। अनि स्थानीय तहले त्यस अनुसार काम भइरहेको छ कि छैन भनी त्यसको अनुगमन गर्ने हो र केही उल्लङ्घन भए नियमानुसार त्यसलाई कारबाही गर्ने हो। यति गरे सडक व्यवसाय सम्बन्धमा रहेका अधिकांश समस्या समाधान हुन्छन्।

चुनावी प्रतिबद्धता र नैतिक भ्रष्टाचार 

आफ्नो स्थानीय तहबाट अनौपचारिक सडक व्यवसाय गरिरहेकाहरूलाई पूर्णत: निषेध गर्ने कसम नै खाए जस्तो गरी प्रस्तुत हुने काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले निर्वाचनको समयमा भने सडक व्यापारको व्यवस्थापन गर्ने हो भने। हुनत सुकुम्बासीहरूको समस्या पनि समाधान गर्ने भनेर भाषणै गरेका थिए तर त्यहाँ पनि उनको राम्रो दृष्टि परेको छैन।

यसरी समस्यालाई पूर्णत: आफ्नै परिवर्तित दृष्टिकोणबाट मात्रै समाधान गर्ने लक्ष्य लिएका छन् र अहिलेको उनको प्रभावलाई मध्यनजर गर्दा अन्य पदाधिकारीले पनि त्यसलाई समर्थन गरिरहेका छन्। यस्तो भाइरल संक्रमण बागमतीपारिका चिरीबाबु महर्जन जस्ता पाका उमेरका राजनीतिक पात्रलाई पनि लाग्न थालेको प्रतीत हुन्छ। विदेश जानुपर्ने परिस्थितिको बारेमा भावुक भएर कविता लेख्ने काठमाडौंका मेयर बालेन शाहले ती पात्रहरूको यात्रामा आफू कति जिम्मेवार छु भनी आत्मसमीक्षा गरे पनि राम्रो हुन्थ्यो होला।

चीनको बेइजिङ जस्ता शहरले पनि अर्थतन्त्रमा रोजगारीको अवस्था प्रतिकूल हुँदा सडक व्यवसायलाई प्रोत्साहित गरी आफ्ना नागरिकहरूलाई जीविकोपार्जनको अवसर प्रदान गरेका थिए भने यस्ता उदाहरण संसारभर प्रशस्तै छन्।

आफूलाई मन परेको काम गर्दा केही नियम–कानुन नहेरी तोडफोड गर्न जाने स्थानीय नेतृत्व उनीहरूलाई मन नपरेको विषयमा कसैले समग्र समाजलाई फाइदा पुग्ने कुरा गर्न गयो भने नियम र कार्यविधिका ढड्डा पल्टाएर फलानो फलानोले दिंदैन भन्छन्। उनीहरूले सजिलैसँग आफू कानुन निर्माता हो र समाजलाई लाभ हुने भए त्यो कानुन पनि परिवर्तन गर्न सकिन्छ भन्ने कुरा बिर्सिएका छन् र आफूलाई त्यो कानुनका रौं–चिरा गर्ने सुब्बा खरिदार (उनीहरूको हकमा त्यो स्वाभाविक पनि हो किनभने उनीहरूले दिइएको कानुनको सीमाभित्र रहेर आफ्नो कार्यसम्पादन गर्नुपर्छ) को तहमै सीमित राखेका छन्। यो हाम्रो समाजको गतिशीलता र प्रगतिको लागि पनि बाधक हुने कुरा हो।

भ्रष्टाचार भनेको कानुनी रूपमा हामीले कसैलाई लाभ पुग्ने गरी भएको वा नभएको कामलाई मात्रै मानेका छौं र समाजले पनि त्यसैलाई स्वीकारेको अवस्था हो। तर निर्वाचित प्रतिनिधिले चुनावी अभियानमा आफूले गरेको वाचालाई विना कुनै प्रतिकूल बाह्य परिस्थिति बेवास्ता गर्ने मात्रै होइन कि त्यसको प्रतिकूल हुने गरी काम गर्नुलाई पनि नैतिक भ्रष्टाचारको रूपमा समाजले ठान्नुपर्ने अवस्था देखिन्छ। नत्र लोकरिझाइँको जमानामा चटक देखाएर चुनाव जिती हुने–नहुने काम गर्ने र त्यसको दुष्परिणाम समाजले बेहोर्नुपर्ने खतरा टड्कारो देखिन्छ।

निष्कर्ष

जंगलमा घाँस नहुँदा बाघलाई तत्कालै असर नपरे पनि विस्तारै उसको आहारमा कमि आए जस्तै हो हाम्रा शहरहरूमा अनौपचारिक सडक व्यवसायमा लागेकाहरूलाई हटाउँदा त्यसले यो समाजका आर्थिक अन्तरसम्बन्ध र अर्थतन्त्रलाई नै नकारात्मक प्रभाव पार्छ।

सिर्जनात्मकता नभएको स्थानीय तह भयो भने समस्या ज्यूँका त्यूँ नै रहन्छन् र यथास्थिति वा झन् खराब परिस्थितिको निर्माण हुन्छ। शहरको गतिशीलतामा नै धेरैको लाभ हुन्छ र काठमाडौं उपत्यका जस्ता ठूला शहरहरूमा औपचारिक तथा अनौपचारिक सबै प्रकारका व्यवसाय गर्ने ठाउँ पुग्छ र ती सबैको अन्योन्याश्रित सम्बन्ध हुने भएकाले सबैले एकअर्काबाट लाभ पाउन सक्छन्।

अब सार्वजनिक ओहोदामा रहेकाले त्यो गतिशीलतालाई व्यवस्थित गर्ने जिम्मेवारी मात्रै लिंदा हुन्छ। त्यसैले चिल्ला शहर मात्रै राम्रो शहर भन्ने एकलकाँटे भाष्यले कसैको अहम्‌को तुष्टि त गर्ला समाज र अर्थतन्त्रलाई फाइदा नगर्ने भएकाले त्यो भाष्य र मार्ग परिवर्तन गर्न अगाडि बढ्नुको विकल्प छैन !

लेखक नेपाल विवेकशील पार्टीका प्रवक्ता हुन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?