+
+

टेलर स्वीफ्टको डीपफेक फोटोको तरंग : कानुन ल्याउन अमेरिकी सांसदको माग

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १४:१३

काठमाडौं । पपस्टार टेलर स्वीफ्टको एआई सिर्जित नक्कली यौनजन्य तस्वीर इन्टरनेटमा भाइरल भएपछि अमेरिकी राष्ट्रपति कार्यालयले प्रतिक्रिया दिएको छ भने सांसदहरुले यसबारे कानुन ल्याउन आग्रह गरेका छन् ।

ह्वाइट हाउसले घटनालाई लिएर चिन्तित भएको बताउँदै गलत सूचनालाई फैलिनबाट रोक्न मिडिया कम्पनीलाई आफ्ना नियमको कार्यान्वयन गर्न आग्रह गरेको छ ।

यसैसाता सोसल मिडिया प्लाटफर्म एक्सबाट गायिका स्वीफ्टको नक्कली अश्लील तस्वीर भाइरल भएको थियो । द न्युयोर्क टाइम्सका अनुसार सुरुमा सेयर गर्ने एक्सको एकाउन्टलाई निलम्बन गर्नुअघि ४७ मिलियन पटक उक्त फोटो हेरिएको थियो ।

‘यो धेरै डरलाग्दो छ र हामीले यो मुद्दालाई कसरी सम्बोधन गर्न सक्छौं भनेर काम गर्दैछौं,’ ह्वाइट हाउसका प्रेस सचिव करिन जीन–पियरेले एक समाचार ब्रिफिङमा भने, ‘अब कांग्रेसले यो मुद्दामा विधायिकी कदम चाल्नुपर्छ ।’

उनले भने, ‘कृत्रिम बौद्धिकता (एआई)द्वारा सिर्जना गरिएका यस्ता झुटा फोटोलाई ढिलोगरी हटाइँदा यसले महिलालाई गम्भीर असर पुर्‍याउँछ ।’

यसैबीच, अमेरिकी राजनीतिज्ञले डीपफेक तस्वीरलाई अपराधीकरण घोषणा गर्न आग्रह गर्दै यसविरुद्ध कडा कानुन ल्याउन आग्रह गरेका छन् । अमेरिकी सांसद जो मोरेलेले जसरी उक्त तस्वीर भाइरल भयो, त्यसलाई ‘डरलाग्दो’ भएको प्रतिक्रिया दिएका छन् ।

डेमोक्रेटिक सांसद मोरेले गत वर्ष प्रस्तावित डीपफेक अफ इन्टिमेट इमेजेस ऐन सार्वजनिक गरेका थिए । उक्त ऐनले सहमतिबिना डीपफेक पोर्नोग्राफी इन्टरनेटमा सेयर गर्नुलाई गैरकानुनी करार गरेको छ । मोरेले यो मुद्दामा रहेर तत्काल कारवाहीअघि बढाउन समेत आग्रह गरेका छन् ।

ती तस्वीर र भिडियोले ‘अपरिवर्तनीय भावनात्मक, आर्थिक र प्रतिष्ठालाई हानि पुर्‍याउने तथा महिलालाई असमानरुपमा प्रभावित तुल्याउने उनले बताएका छन् । रिपब्लिकन सांसद टम केन जुनियरले सहमति जनाउँदै एक्समा भने, ‘यो स्पष्ट छ कि एआई टेक्नोलोजी आवश्यकताभन्दा छिटो फैलिंदैछ ।’

‘पीडित टेलर स्वीफ्ट होस् वा हाम्रो देशका कुनै पनि युवा व्यक्ति होस्, हामीले यो डरलाग्दो प्रवृत्तिसँग लड्न सुरक्षा उपायहरू स्थापना गर्न आवश्यक छ,’ उनले थपे । यस वर्ष विश्वभरि अर्बौं मानिसले चुनावमा मतदान गर्दा एआई सिजित सामाग्रीको प्रयोगलाई लिएर चिन्ता बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?