
१५ माघ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले गृहिणीलाई पेन्सन दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेकी छन् ।
सोमबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले गृहिणीले घरका अरु सदस्यले भन्दा बढी काम गर्दा पनि मूल्यांकन नभएको बताइन् ।
‘के गर्या छे र बच्चा हेर्या छे बस्या छे, के गर्छे र भात पकाउँछे’ भन्ने गरेको सुनिने पन्त बताउँछिन् । यस्तो मनोविज्ञान चिर्नुपर्ने भन्दै उनले गृहिणीहरुलाई पेन्सन दिनुपर्ने बताएकी हुन् ।
सांसद पन्तले भनिन्, ‘घरेलु काममा रहेका महिलाहरुलाई पेन्सनको व्यवस्था हुनुपर्यो । नोमिनल नै किन नहोस् राज्यले त्यो (गृहिणी) महिलाहरुलाई पेन्सन दिने व्यवस्था गर्नुपर्यो ।’
राष्ट्रिय सरोको समितिमा सोमबार नेपालमा जनसंख्याको अवस्था अनुसार जनसंख्या नीतिमा गर्नुपर्ने पुनरावलोकन र सरकारको तयारीबारे छलफल थियो ।
पूर्व महिला बालबालिका राज्यमन्त्री रहेकी सांसद पन्तले बच्चा जन्माउने उमेरका युवाहरु अध्ययन र रोजगारीका विदेश गएको र उनीहरु विदेशमै बस्ने अवस्थाका कारणले नेपालमा युवा जनशक्ति घट्दै गएको बताइन् । यस्तो अवस्थाले भविष्यमा समेत ठूलो असर पर्न सक्ने उनको चिन्ता छ ।
प्रतिक्रिया 4