+
+

महाकविको शताब्दी पुरानो गजल श्रव्य-दृश्यमा

विनोद घिमिरे विनोद घिमिरे
२०८० माघ १७ गते १७:१४

१७ माघ, काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाले महाकाव्य, खण्डकाव्य, गीत, कविता, नाटक, निवन्ध लेखेको त धेरैलाई थाहा छ । तर, उनले गजल पनि लेखेका छन् भन्ने कुरा कमैलाई थाहा होला । थाहा होस् पनि कसरी ? उनले लेखेको गजल झण्डै एक शताब्दीसम्म गुमनाम भयो ।

तर अहिले गायक तथा संगीतकार सन्तोष श्रेष्ठले महाकविको गजल श्रव्य दृष्यमार्फत् सार्वजनिक गरेका छन् । महाकवि देवकोटाको ‘सावित्री सत्यवान’ नाटकभित्र रहेको ‘आकाशमा शशी छन्,’ गजललाई सन्तोषले आफ्नै संगीत र स्वरमा रेकर्ड गराएर सार्वजनिक गरेका हुन् ।

महाकवि देवकोटाका छोरा प्रा.डा. पद्मप्रसाद देवकोटाका अनुसार सावित्री सत्यवान नाटक महाकविको पहिलो पुस्तक हो । त्यो नाटकभित्रको गजल सबैभन्दा पहिले साहित्यकार एवम् गीतकार प्रा.डा. कृष्णहरि बरालले विद्यावारिधिको शोध अनुसन्धानको क्रममा पत्ता लगाएका थिए ।

गजल विधामा नेपालबाट विद्यावारिधि गर्ने पहिलो व्यक्तित्व प्रा.डा. बरालका अनुसार महाकवि देवकोटाको गजल रचना दुर्लभ हो । बराल भन्छन्, ‘महाकवि देवकोटाका गीत, कविता, महाकाव्य, खण्डकाव्य, उपन्यास, नाटक थुप्रै रचनाहरु छन् । तर गजलचाहिँ दुर्लभ हो । मेरो अनुसन्धानबाट महाकवि देवकोटाका दुईवटा मात्र गजल पत्ता लागेको छ ।’

महाकविको दुर्लभ गजल रेकर्ड गराएर सार्वजनिक गर्न पाउँदा सन्तोष श्रेष्ठ दंग छन् । गजल सार्वजनिक भएपछि महाकविको परिवारका सदस्य, समीक्षक र श्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया आउँदा उत्साहित भएको बताउँदै सन्तोष भन्छन्, ‘महाकविको गजल गाउन पाउँदा मैले आफूलाई सौभाग्यशाली ठानेको छु ।’

चार वर्ष अघिदेखिको प्रयास

सन्तोष श्रेष्ठ अहिलेका चल्तीका संगीतकार हुन् । उनको परिचय संगीतकारको रुपमा मात्र छैन, गायक र उपन्यासकारको रुपमा समेत छ । उनको फरैना उपन्यास प्रकाशित छ । राष्ट्रकवि माधव घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशी लगायतसँग सांगीतिक सहकार्य गरेका उनले नारायण गोपाल र नातिकाजीका नाममा स्थापित प्रतिष्ठित पुरस्कार तथा सम्मान समेत पाएका छन् ।

अध्ययनमा रुचि राख्ने सन्तोषले आजभन्दा करिब चार वर्ष अघि प्रा.डा. कृष्णहरि बरालको ‘गजल : सिद्धान्त र परम्परा’ (दोस्रो संस्करण २०६८) पुस्तक पढिरहेका थिए । त्यो पुस्तकको पृष्ठ नं. २२० को पहिलो अनुच्छेदमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘सावित्री सत्यवान’ नाटक भित्र रहेको गजलबारे उल्लेख छ । त्यहाँ लेखिएको छ, ‘यस नाटकमा भएको ‘आकाशमा’ भने रचना बनोटका हिसाबले पूर्णरुपमा गजल बनेको छ ।’

यो वाक्यले गजलका पारखी सन्तोषको ध्यान खिच्यो । किनकि महाकवि देवकोटाले गजल पनि लेखेका छन् भन्ने जानकारी उनले पहिलो पटक पाएका थिए ।

त्यो गजल पढ्ने उद्देश्यले उनी सावित्री सत्यवान नाटक खोज्दै साझा प्रकाशनको बिक्री कक्षमा पुगे । सावित्री सत्यवान नाटकलाई साझा प्रकाशनले पहिलोपटक २०२४ सालमा छापेको थियो । तर सन्तोषले फेला पारे २०६६ सालमा प्रकाशित चौथो संस्करण । त्यो नाटकको ३२ औं पृष्ठमा तीन सेरको गजल थियो –

‘आकाशमा शशी छन् पृथिवी बसेर रुन्छु
ती मेघका अटाली हेरेर नेत्र धुन्छु ।

जुनमा सुरेलि खेली मन पुग्न खोज्छ माथि
ओर्लन्छ बीचबाटै खस्दा झसङ्ग हुन्छु ।

संलिन्छ छाति मेरो ऐना तलाउ बन्छ
ती चन्द्र छाति राखी हेरेर चलमलिन्छु ।’

सन्तोष ११० रुपैयाँमा सावित्री सत्यवान नाटक किनेर डेरामै हानिए र हार्मोनियम समाते । गजलको लय निकाल्न खोजे । पटक-पटक कोसिस गरे । फरक-फरक लयमा गाए । मोबाइलमा रेकर्ड गरेर सुने । तर आफैंलाई चित्त बुझेन ।

‘महाकविको गजल हात परेपछि जसरी भए पनि रेकर्ड गराउँछु भन्ने अठोट त गरें, तर महाकविप्रति न्याय हुन्छ कि हुँदैन भन्ने डर थियो,’ सन्तोषले त्यो क्षण सम्झिए, ‘यो मेरो लागि सांगीतिक जीवनकै सबैभन्दा ठूलो अवसर र चुनौती थियो । त्यसैले मैले यो गजल रेकर्ड गर्नुअघि नेपाली भाषा, छन्द र गजलका जानकारहरुसँग पनि परामर्श गरें ।’

उनले प्रा.डा. बराललाई पनि भेटेर महाकविको गजल रेकर्ड गर्ने योजना सुनाए । बरालले त्यसमा हौसला थपिदिए । त्यो रेकर्ड भएमा महाकविको गुमनाम गजल सार्वजनिक पनि हुने र आफूलाई सन्तोष पनि मिल्ने, त्यसैले उनी गजलका शब्दलाई लयमा ढाल्न थाले । तर लय निकाल्न महाभारत भयो ।

‘महाकविको गजल फेला पारेदेखि रेकर्ड हुन्जेलसम्मको समयको कुरा गर्नुहुन्छ भने मलाई चार वर्ष लाग्यो,’ सन्तोष भन्छन्, ‘किनकी म चाहन्थें गजल श्रोताको हृदय र मस्तिष्क दुवैमा होस् । हृदयको सम्बन्ध संवेगसँग र मस्तिष्कको सम्बन्ध दर्शनसँग होस् ।’

गजल सार्वजनिक गर्दै महाकवि देवकोटाका छोरा पद्मप्रसाद, छोरी अम्बिका रिमाल, प्रा.डा. कृष्णहरि बराललगायत ।

उनले गजल सार्वजनिक गर्न हतार पनि गरेनन् । आफूले संगीत गरेर आफैंले गाएको गजल महाकविकै परिवारका सदस्यलाई सबैभन्दा पहिले सुनाएर सुझाव लिन चाहे । उनले महाकवि देवकोटाका छोरा प्रा.डा. पद्म प्रसाद देवकोटालाई सम्पर्क गरे । त्यतिबेला पद्मप्रसाद अष्ट्रेलियामा थिए । उनीसँग फेसबुक म्यासेन्जरमा कुरा गर्दै गजल रेकर्ड गरेको जानकारी गराए अनि सुनेर प्रतिक्रिया दिन आग्रह गरे ।

बुवाको गजलको पहिलो श्रोता थिए पद्मप्रसाद । उनले ‘साह्रै मन पर्यो, कसले गाएको हो ?’ भनेर सोधे । सन्तोषले आफैंले गाएको जानकारी गराए ।

पहिलो श्रोताबाटै सकारात्मक प्रतिक्रिया पाएपछि सन्तोष उत्साहित भए । ‘महाकविकै परिवारको सदस्यबाट सकारात्मक प्रतिक्रिया आउँदा म खुसी भएँ,’ सन्तोषले भने, ‘त्यसपछि मैले गजललाई अन्तिम रुप दिएँ ।’

गजल रेकर्ड भइसकेपछिको बाँकी काम गजल छायांकनको थियो । यसबीचमा सन्तोषका साथी र केही अग्रज स्रष्टामाझ महाकविको गजल सार्वजनिक हुन लागेको चर्चा सुरु भइसकेको थियो । चासो राख्नेहरुले गजल सुन्न चाहे । सन्तोषले सुनाइदिए । कतिपयले राम्रो भने, कतिपयले महाकविको गजल ‘शास्त्रीय संगीतमा हुनुपर्थ्यो’ भने ।

दोधार हुँदै सन्तोषले फेरि अष्ट्रेलियामा रहेका पद्मप्रसादसँग सल्लाह गरे । पद्मप्रसादले ‘अहिले जस्तो रेकर्ड भएको छ, त्यही नै ठिक’ भन्दै अरुको कुराको पछि नलाग्न सुझाव दिए ।

सन्तोष पद्मप्रसादले भनेको कुरा सम्झिन्छन्, ‘महाकवि पनि अरुको हल्लाको पछि लाग्नु भएन । उहाँले नेपाली र अंग्रेजी साहित्यका पुराना परम्परा तोड्नुभयो, उहाँ जहिले पनि नवीनताको पछि लाग्नुभयो, तपाईंले पनि त्यसलाई पछ्याउनुभएको छ, अघि बढ्नुस्, भनेपछि मैले उहाँले भनेअनुसार नै गरें ।’

त्यसपछि उनले मैतीदेवीस्थित महाकवि देवकोटा संग्रहालय परिसरमै गजलको म्युजिक भिडियो छायांकन गरे । महाकवि देवकोटा संग्रहालयमा छायांकन गरिएको यो पहिलो म्युजिक भिडियो समेत बनेको छ ।

हेमप्रभास अधिकारीले निर्देशन र वीरेन्द्र भाट ‘विपीन’ले छायांकन तथा सम्पादन गरेको म्युजिक भिडियोमा सन्तोष आफैंले अभिनय गरेका छन् । उक्त म्युजिक भिडियो २०८० माघ १२ गतेको दिन महाकवि देवकोटा संग्रहालयभित्रै प्रा.डा. कृष्णहरि बराल, लक्ष्मीप्रसाद देवकोटाका छोरा पद्मप्रसाद देवकोटा र छोरी अम्बिका रिमालले सार्वजनिक गरे ।

महाकविको सावित्री सत्यवान नाटकभित्र गाना भनेर राखिएको गजल, मुजारे मुसम्मन अखरब बहरमा लेखिएको छ । तीन सेरमा रचना गरिएको यो गजल संगीतशास्त्र अनुसार तीन सप्तकमध्ये मध्यसप्तक (एफ सार्फ मेजर स्केलमा संगीतबद्ध एवम् यसै सप्तकमा विशेष) केन्द्रित भएर स्वरको आरोह-अवरोह गराइएको छ । मन्द्रसप्तक र तारसप्तकका केही स्वरहरू पनि बेला-बेलामा जोडिएर आउँछन् ।

गजलको संगीत सिर्जना गर्दा कहरवा ताल र मध्य गतिको प्रयोग गरिएको छ । गजल गेय विधा हो भन्ने बुझेका सन्तोषले लयको पकड राम्रोसँग समाएर शब्दको उच्चारण पनि प्रष्ट गरेका छन् । संगीतको आरम्भ र समापनमा प्रयोग गरिएको आलापले गजलको सांगीतिक सुन्दरता बढाएको छ ।

प्रा.डा. बरालका अनुसार महाकविले लेखेको ‘आकाशमा शशी छन्’ गजलमा रदिफको प्रयोग देखिँदैन । *१४ अक्षरमा आधारित लयविधान प्रयोग गरिएको यस रचनालाई देवकोटाको उत्कृष्ट गजल मान्नुपर्ने उनको भनाइ छ ।

सावित्री सत्यवान महाकविको ‘पहिलो कृति’

महाकवि लक्ष्मीप्रसाद देवकोटाका छोरा प्रा.डा. पद्मप्रसाद देवकोटाले सावित्री सत्यवान बुवाको पहिलो प्रकाशित कृति भएको बताए । मुनामदन लेख्नुभन्दा करिब अढाइ-तीन वर्ष अगाडि नै महाकवि देवकोटाले सावित्री सत्यवान लेखेको उनी बताउँछन् ।

वायाँबाट – महाकवि देवकोटाका छोरा पद्मप्रसाद, छोरी अम्बिका र प्रा.डा. कृष्णहरि बराल । तस्विर : महाकवि देवकोटा संग्रहालय ।

त्यसमा रहेको गजल रेकर्ड भएर सार्वजनिक हुँदा आफू प्रसन्न भएको उनले बताए । कुनै पनि सर्जकले नवीनताको खोज गर्ने हो भने शास्त्रीयताबाट दायाँ-वायाँ मोडिन सक्नुपर्ने बताउँदै उनले भने, ‘मेरा पुर्खाहरु यही बाटो हिँडेको हुनाले म पनि यही बाटोमात्र हिँड्छु भन्नु हुँदैन, नयाँ प्रयास गर्नुपर्छ । त्यो प्रयासमा मैले सन्तोषजीलाई प्रोत्साहन गरेको हुँ । म यो गजल सुनेर प्रसन्न भएको छु । रमाइलो लागेको छ ।’ यस्ता रचनाहरु अरु कसैले गाउन चाहेमा आफूले सधैं प्रोत्साहन गर्ने उनले बताए ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा वृत्तचित्रका निर्माता गीतकार तथा निर्देशक यादव खरेलका अनुसार देवकोटाले वि.सं. १९९० सालताकै सावित्री सत्यवान पद्य नाटकका साथै थुप्रै फुटकर कविताहरू रचना गरेका थिए ।

यो महान काम हो : डा. लम्साल

मदन पुरस्कार विजेता साहित्यकार एवम् गीतकार डा. नवराज लम्साल महाकवि देवकोटाको गुमनाम गजल सार्वजनिक हुनु महान काम भएको बताउँछन् । नयाँ पुस्ताले अघिल्लो पुस्तालाई सम्मान गर्ने सँस्कृतिको हिसाबले पनि यो महान भएको उनले बताए ।

‘एउटा गीत वा गजल रेकर्ड हुनु/नहुनुले फरक पर्ला-नपर्ला आफ्नो ठाउँमा होला । तर देवकोटा बितेकै साढे ६ दशक भइसक्यो, त्यो बेलाको स्रस्टाको रचना खोजेर रेकर्ड गराउनु आफैंमा महान काम हो,’ डा. लम्साल भन्छन्, ‘पछिल्लो पुस्ताले नामका लागि मात्र काम गर्दैन, अघिल्लो पुस्तालाई सम्मान पनि गर्छ भन्ने कुरा यसले पुष्टि गर्छ । यो अरुका लागि पनि प्रेरणा हो ।’

उनले महाकवि देवकोटाको गजल गायकी र संगीत कर्णप्रिय लागेको समेत बताए । ‘मैले फेसबुक चलाउँदै गर्दा एक्कासी महाकविको गजल सार्वजनिक भएको भन्ने देखें । खोलेर हेर्दा सन्तोषजीले गाउनु भएको रहेछ । पहिलो बहर सुन्नासाथै म भावुक भएँ । यसै त महाकविको गजल, त्यसमा पनि कस्तो मिठो गायकी ! कस्तो मिठो संगीत !’ डा. लम्सालले भने, ‘जसले खोज अनुसन्धानमा मिहिनेत गर्छ, यस्तै उत्कृष्ट सिर्जना जन्मिन्छ । त्यो कुरा सन्तोष जीले विगतदेखि नै प्रमाणित गर्दै आउनु भएको छ ।’

‘छन्द होइन, बहरमा लेखिएको गजल’

गजल समीक्षक घनेन्द्र ओझा महाकवि देवकोटाले छन्दमा नलेखे पनि उतिबेलै बहरमा गजल लेखेको बताउँछन् । उनका अनुसार महाकविले गजलमा उल्लेख गरेका ‘पृथिवी’, ‘जुन’, सुरेलि’, ‘छाति’ शब्द त्यसका उदाहरणहरु हुन् ।

‘बहरमा केही छुटहरु छन्, ती छुटहरु मिलाएर उहाँले गजल लेख्नु भएको छ,’ ओझा भन्छन्, ‘उदाहरणको निम्ती महाकविले ‘पृथिवी’ लेख्नु भएको छ । छन्दामा लेख्दा ‘पृथ्वी’ दीर्घ लेख्नुपर्छ । तर बहरमा लचकता छुट अथवा मात्रा गिरावट भन्ने हुन्छ । त्यो लचकता छुट अनुसार पृथिवी लेख्नु भएको छ । उहाँले बहरमै लेख्नुभो, जानेरै त्यस्तो लेख्नुभो ।’

यसैगरी महाकवि देवकोटाले यही गजलमा ‘रुन्छु’, ‘धुन्छु’, ‘हुन्छु’ र ‘चलमलिन्छु’ लेखेर अनुप्रास मिलाएका छन् । ती काफियाको रुपमा प्रयोग भएका छन् ।

‘रुन्छु, धुन्छु, हुन्छु त ठिकै हो तर चलमलिन्छु कसरी काफिया भयो भनेर प्रश्न आउँछ,’ ओझा प्रष्ट्याउँछन्, ‘धेरैलाई काफिया भनेको शब्द हो, अथवा अक्षर हो, अथवा वर्ण हो भन्ने भ्रम छ तर त्यो होइन । ‘छु’मा रहेको ‘उ’ ध्वनि चाहिँ काफिया हो । त्यसैले त्यहाँ महाकवि देवकोटाले ‘छु’लाई काफियाको रुपमा प्रयोग गर्नुभएको छ ।’

(* यसअघि समाचारमा १२ अक्षरमा आधारित उल्लेख भएकाले सच्याइएको छ । सं. )

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?