+
+

सावित्रा भण्डारी फ्रेन्च क्लबमा अनुबन्ध हुँदै

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० माघ १७ गते १८:२४

१७ माघ, पोखरा । नेपाली महिला फुटबलकी स्टार सावित्रा भण्डारी साम्बा अब फ्रेन्च क्लबबाट खेल्ने तयारीमा छिन् ।

उनलाई फ्रान्सको शीर्ष डिभिजनको क्लब एना भान गुइनगाम्पले यस सिजनको बाँकी समयका लागि अनुबन्ध गर्न लागेको हो । सावित्रा मेडिकल परीक्षणका लागि सोमबार फ्रान्स प्रस्थान गरिसकेकी छन् ।

मेडिकल परीक्षण सफल भएपछि क्लबले आधिकारिक रुपमा उनलाई सार्वजनिक गर्ने जानकारी स्रोतले जनाएको छ ।

नेपालका लागि ४३ गोल गरेकी सर्वाधिक गोलकर्ता सावित्राले यसअघि इजरायलको हापोएल रानानाबाट लिग खेल्दै युरोपियन फुटबलको स्वाद लिइसकेकी छन् । इजरायल एसियाली राष्ट्र भए पनि त्यहाँको क्लबले भने युरोपियन लिग खेल्दै आएको छ ।

अब भने सावित्रा पुरापुर युरोपकै लिग खेल्ने संघारमा छिन् । केही दिनमा यसबारे औपचारिक घोषणा हुनेछ ।

इजरायलको लिग खेल्दै युरोपियन लिग खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाइसकेकी सावित्रा प्यालेस्टाइन र इजरायलबीचको द्वन्द्वका कारण लिग रोकिँदा बीचमै नेपाल फर्केकी थिइन् ।

विभागीय टोली एपीएफबाट घरेलु फुटबल खेल्ने सावित्राले युरोपियन लिग खेल्नुअघि छिमेकी भारतको लिग खेल्दै लगातार तीन पटक लिग उपाधि जितेकी थिइन् । उनले सन् २०१८-१९ को सिजन सेथु एफसीबाट खेल्दै भारतीय महिला लिग जितेकी थिइन् । त्यसपछि उनी अर्को सिजन गोकुलम केरलाबाट खेल्दै उपाधि जितिन् ।

२०२२/ २३ मा गोकुलमबाटै खेल्दै उपाधि जितेर उनले भारतीय लिगमा उपाधिमाथि ह्याट्रिक नै गरिन् । त्यस सिजन उनले २९ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेकी थिइन् । उनले भारतीय महिला लिगमा ५९ गोल गरिसकेकी छन् ।

नेपालमा महिला फुटबलको घरेलु गतिविधि लगभग शून्यको स्थितिमा रहँदा सावित्रा भने अन्तर्राष्ट्रिय लिगहरुमा छाइरहेकी छन् र उपाधि पनि जितेकी छन् । भारतीय लिगमा राम्रो प्रदर्शन गरेपछि नै उनीमाथि युरोपियन क्लबहरुको नजर परेको थियो ।

नेपाली पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेस मार्फत उनी इजरायलको हापोएल रानानामा अनुबन्ध भएकी थिइन् । त्यो नै उनको लागि महत्वपूर्ण टर्निङ प्वाइन्ट बन्यो । अहिले उनी फ्रेन्च लिगमा पुगेकी छन् । त्यहाँ पनि राम्रो प्रदर्शन गरेमा सावित्राले नेपाली फुटबललाई नै अन्तर्राष्ट्रिय स्तरमा चिनाउनेछिन् ।

गत असारमा इजरायलको क्लबमा अनुबन्ध भएपछि सावित्राले त्यो युरोपियन क्लबको सुरुवाती यात्रा भएको बताएकी थिइन् ।

फुटबल खेल्ने थालेको एक दशकमा सावित्राले यी सबै उपलब्धीहरु आत्मसात गरेकी हुन् ।

लमजुङको सिम्पानीकी सावित्राले सुरुमा राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्समा प्रतिस्पर्धा गरेकी थिइन् । तर २०७० सालमा घलेगाउँमा भएको एउटा फुटबल प्रतियोगिताले उनको करिअरमा फरक ल्यायो ।

जहाँ एन्फाका सहायक रेफ्री शुक्र तामाङ पनि पुगेका थिए र त्यस प्रतियोगितामा सावित्राको प्रदर्शन देखेर उनै शुक्रले सावित्रालाई एपीएफसम्मको यात्रा तय गराइदिए ।

२०७१ सालमा सावित्रा एपीएफ क्लबमा अनुबन्ध भइन् । अर्को वर्षदेखि उनी त्यहीँ जागिरे भइन् । अनि फुटबलबाट देशको नाम चर्चित बनाउन लागिपरिन् । त्यसपछि उनी राष्ट्रिय टिममा पर्दै सन् २०१४ मा पाकिस्तानमा भएको साफ महिला च्याम्पियनसिपमा खेल्न गइन् ।

त्यहाँ उनले भुटानविरुद्ध पहिलो खेलमै वैकल्पिक खेलाडीको रुपमा डेब्यु गर्दै देशका लागि पहिलो गोल गरिन् ।

सावित्रा अनुबन्ध हुन लागेको क्लब गुइनगाम्प हाल फ्रान्सको शीर्ष श्रेणीको महिला लिग डिभिजन वान फेमिनाइनमा १२ खेलबाट ८ अंकसहित दशौँ स्थानमा छ । लिगमा १२ टोलीले खेलिरहेका छन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?