+
+

वाफबाट महिला फुटबलले देखाएको सम्भावना

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० फागुन २० गते १९:०२

२० फागुन, काठमाडौं ।  पहिलो पटक वाफ वुमन्स च्याम्पियनसिप खेलेको नेपाली टोली जोर्डनसँग टाइब्रेकरमा पराजित हुँदै उपबिजेता बन्यो । नेपालले खेलेको फाइनल खेल चार लाख भन्दा बढीले युट्युबमा प्रत्यक्ष हेरेका थिए ।

नेपाली महिला फुटबल टोलीको यत्तिको चर्चा सायद यसअघि भएको थिएन । वेष्ट एसियन फुटबल फेडेरेसन (वाफ) को आयोजनामा भएको प्रतियोगिताको फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५-३ ले पराजित भयो ।

अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको चार दशक पुग्न लाग्दा नेपाली महिला टिमले एउटा पनि उपाधि जित्न सकेको त छैन तर महिला फुटबलले उत्तिकै आशा र सम्भावना पनि देखाएको छ ।

वाफ च्याम्पियनसिपमा नेपालको नेतृत्व गरेकी र हाल इन्डियन वुमन्स लिग खेल्न भारत फर्किएकी कप्तान एन्जिला तुम्बापो सुब्बाले पहिलो पटक उपाधि दिलाउने अवसर गुमे पनि हार नमानेको बताइन् । ‘देशलाई ३८ वर्षपछि उपाधि जिताउन पुनः असफल भयौं । तर, हार मानेका छैनौं’, एन्जिलाले सामाजिक सञ्जालमा लेखेकी छन् ।

सन् १९८६ देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको नेपाली महिला टोलीले अहिलेसम्म ११ पटक फाइनल खेलेको छ । दक्षिण एसियाली स्तरको साफ च्याम्पियनसिपमा ५ र दक्षिण एसियाली खेलकुद (साग) मा ३ पटक फाइनलमा पराजित भएको थियो ।

वुमन्स गोल्डकप र नादेज्दा कपको पनि फाइनलमै पाराजित भएको थियो । यस पटक पनि त्यही नतिजा दोहोरियो । तर नेपाली खेलाडी र टिमले जुन अवस्थाबाट साउदीमा गएर प्रदर्शन गर्‍यो त्यो आफैँमा प्रशंसा गर्न लायक छ ।

समूह चरणमा तीनवटै खेल आरामले जितेको नेपालले सेमिफाइनलमा लेवानान विरुद्ध २-१ को पुनरागमन जित निकालेर फाइनल पुगेको थियो ।

जहाँ नेपालले वाफ क्षेत्रकै बलियो टिम जोर्डनलाई कडा टक्कर दियो । पेनाल्टी सुटआउटलाई छाड्ने हो भने नेपालको प्रदर्शन वाह भन्नलायक नै थियो । सेमिफाइनलसम्म चार खेल खेल्दै सर्वाधिक ९ गोल गरेकी सावित्रा भण्डारी साम्बा क्लब ड्युटीका कारण फाइनल खेल छाडेर फ्रान्स फर्किएकी थिइन् ।

‘हामी धेरै नजिक थियौं, तर भाग्य हाम्रो पक्षमा थिएन । हामी अझ बलियो र राम्रो भएर आउनेछौं’, वाफको फाइनलपछि उनले भनेकी छन् ।

महिला फुटबलले दिएको सन्देश

कप्तान एन्जिलाले सरकार र सम्बन्धित निकायले महिला फुटबललाई प्राथमिकतामा राख्ने हो भने नतिजा निकाल्न सकिने बताएकी छन् । पछिल्लो समय एन्जिलासहित खेलाडीहरु विदेशी लिगमा खेल्दा अझ नेपालको महिला खेलाडीको चर्चा बढेको छ र अन्तर्राष्ट्रिय फुटबलको अनुभव समेत लिन पाएका छन् । ‘महिला फुटबललाई सरकार, खेलकुद परिषद् र एन्फाले नै प्राथमिकतामा राख्ने हो भने राम्रो नतिजा निकाल्न सक्छौं भन्ने यो राम्रो सन्देश हो,’ एन्जिलाले लेखेकी छन् ।

यसपटक नेपाली टिममा रहेका २३ मध्ये ७ खेलाडीले विदेशी लिग खेलिरहेका छन् । एन्जिला, डिफेण्डर गीता रानाले भारतमा सेथु एफसीबाट आई लिग खेलिरहेका छन् । यस्तै प्रीति राई र दीपा शाहीले किकस्टार्ट तथा अमृता जैशी र रश्मीकुमारी घिसिङले स्पोर्ट्स उडिसाबाट खेल्दै आएका छन् । एन्जिला र गीता साउदीबाटै भारत फर्केर त्यहाँको लिग खेल्न सुरु गरिसकेका छन् ।

यस्तै नेपाली टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले फ्रेन्च लिग खेल्ने पहिलो खेलाडीको कीर्तिमान नै बनाइसकिन् । उनी युरोपको लिगमा गएर गोल गर्ने पहिलो नेपाली खेलाडी समेत बनिन् ।

गत सिजन आई लिगमा गोकुलम केरलाबाट खेल्दै भारतीय महिला लिगमा ह्याट्रिक उपाधि जितेकी साम्बा २९ गोल गरेर सर्वाधिक गोलकर्ता बनेकी थिइन् ।

वाफ च्याम्पियनमै पनि साम्बाले उत्कृष्ट प्रदर्शन गरिन् । उनले समूह चरणमा इराक विरुद्ध एकै खेलमा ५ गोल गरिन् । मिडफिल्डर प्रिती राईले यस पटक गजज्बको खेल खेलिन् ।

उनले सेमिफाइनलमा लेवानान विरुद्ध अन्तिम मिनेटमा विजयी गोल गरिन् । उनले बक्स बाहिरबाट गरेको गोल उच्च स्तरको थियो । यस्तै दीपा शाही, रेखा पौडेल, अमिसा कार्की जसत् युवा खेलाडीले पनि राम्रो प्रदर्शन गरे । नेपालको लागि प्रतियोगितामा दुई पेनाल्टी प्रहार गरेकी डिफेण्डर गीता रानाको पनि चर्चा भयो ।

लगानी र खेलको आवश्यकता

नेपाली महिला खेलाडीले सीमित स्रोत साधन, शून्य लगानी र घरेलु फुटबल नहुँदा पनि यस किसिमको प्रदर्शन गर्दै संसारभर चर्चा पायो । अब गर्ने पालो फुटबलको अभिभावक संस्था एन्फा देखि सम्बन्धित निकायको हो ।

एन्फाले दुई वर्ष महिला लिग आयोजना गर्न सकेन । सरकारले पनि महिला फुटबललाई त्यति प्राथमिकता दिएको छैन ।

एन्फाले  सार्वजनिक गरेको सन् २०२४ को वार्षिक क्यालेन्डरमा महिलाको सिनियर र जुनियर गरी जम्मा तीन वटा मात्र कार्यक्रम छ । महिला फुटबल लिग प्रतियोगिता दुई चरणमा गर्ने उल्लेख छ । आउने चैतदेखि नै उक्त प्रतियोगिता सुरु गर्ने तालिका छ । अन्तिम चरण अर्को वर्ष जेठ-असारमा गर्ने तालिका छ ।

आगामी वर्ष मंसिर-पुषमा यू-१८ महिला युथ लिग गर्ने कार्यक्रम छ भने जेठ-असारमा यू-१४ स्कुल प्रतियोगिता (गर्ल्स) को गर्ने कार्यक्रम छ ।

यस बाहेक अन्तर्राष्ट्रिय स्तरमा भने दक्षिण एसियाली फुटबल महासंघको नियमित कार्यक्रम अन्सार साफ महिला च्याम्पियनसिप हुनेछ । वाफ यू-१६ च्याम्पियनसिप घरेलु मैदानमा भइरहेको छ ।

नेपालले बंगलादेशमा साफ यू-१९ च्याम्पियनसिप खेलिसकेको छ । एन्फाले महिला फुटबल टिमको मैत्रीपूर्ण खेलको लागि पनि मिति छुट्याएको छ र तर कुन टिमसँग कहाँ हुने निर्णय गरेको छैन ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?