+
+
यू-१६ महिला साफ च्याम्पियनसिप :

नेपाल र भारतको नजर उपाधिमा, फाइनल पुग्न चाहन्छ बंगलादेश

नमिता दाहाल नमिता दाहाल
२०८० फागुन १७ गते १८:००

१७ फागुन, काठमाडौं । शुक्रबारबाट एन्फा कम्प्लेक्स सातदोबाटोमामा सुरु हुने यू–१६ महिला साफ च्याम्पियनसिप फुटबलमा आयोजक नेपाल र भारतको नजर उपाधिमा छ ।

बंगलादेशले हरेक खेलमा राम्रो गर्दै फाइनल खेल्न चाहेको छ भने एक महिनाको प्रशिक्षण गरेर काठमाडौं आएको भुटान आफ्नो उत्कृष्ट प्रदर्शन दिने लक्ष्यमा छ ।

खेलअघिको प्रिम्याच प्रेस कम्फ्रेन्समा सहभागी चारै टिमका प्रशिक्षक र कप्तानले आ–आफ्नो लक्ष्य र योजना सुनाएका हुन् ।

घरेलु मैदानमै उपाधि जित्ने लक्ष्य रहेको भन्दै नेपालका प्रशिक्षक चक्र तामाङले सिनियर टिमले साउदी अरबमा गरेको प्रदर्शनले युवा टिमको मनोबल बढेको बताए ।

‘सिनियर टिमले वाफमा गरेको प्रदर्शनले युवा टिममा पनि निकै सकरात्मक वातावरण बनेको छ,’ तामाङ्ले भने । साउदी अरेबियामा चलिरहेको वाफ महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा पुगेको छ ।नेपालले आज राति वाफ च्याम्पियनसिपमा जोर्डनको सामना गर्दै छ ।

कप्तान भूमिका बुढाथोकीले भनिन्, ‘सबै दिदीहरुले राम्रो गरिरहनु भएको छ । हामीले पनि यो प्रतियोगितामा सबै टिमलाई चुनौती दिँदै नेपाललाई स्वर्ण पदक दिलाउन चाहन्छौं ।’

प्रतियोगिताका लागि नेपालले एक महिनाको अभ्यास गरेको थियो । यो अभ्यासका क्रममा खेलाडी निकै विश्वस्त र खुसी देखिएको प्रशिक्षक तामाङ बताउँछन् ।

‘हाल टिममा सबैजना निकै खुसी छन् । उमेर समूहको टिमलाई १ महिना लामो प्रशिक्षण समय पाउनु भनेको राम्रो कुरा हो’, उनले भने । मिलेको वातावरणले गर्दा टिमले सकरात्मक नतिजा ल्याउनेमा उनी विश्वस्त देखिन्छन् ।

नेपाल यू–१५ साफ महिला च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन हो । त्यो टिमको सदस्य भूमिका अहिले टिमको कप्तान छिन् ।

उनी टिम राम्रो रहेकाले राम्रो नतिजा ल्याउनेमा विश्वस्त छिन् । ‘हाम्रो टिम बलियो छ । हामी यू–१६ खेलमा सबै टिमलाई चुनौती दिन्छौं ।’

भविष्यको खोजीमा भारत

साफ यू–१६ महिला च्याम्पियनसिप खेल्न आएको भारत उपाधि दाबेदार हो । यो टिमले आफ्नो क्षमता र लगानीमा विश्वास गर्दै फुटबलमा भविष्य खोजिरहेको छ ।

‘प्रतियोगिताको तयारीका हिसाबले भन्नु पर्दा भारत फुटबलमा विकासोन्मुख राष्ट्र हो । हामी हाम्रो फुटबलमा भविष्यमा फोकस गरिरहेका छौं । यो प्रतियोगिताको तयारीका लागि मात्रै नभइ, वर्षै भरी हामी हाम्रो फुटबलमा काम गरिरहेका हुन्छौं,’ भारतीय प्रशिक्षक बीबी थोमसले भने ।

सहभागी टिमहरुमा भारतले सबैभन्दा लामो तयारी गरेको छ । ‘हामीले २ महिना राम्रो प्रशिक्षकसँग राम्रो प्रशिक्षण पाएका छौं । हामीसँग अन्तर्राष्ट्रिय खेलको अनुभव छैन तर यो खासै महत्व राख्दैन । हामीसँग आफूमा विश्वास छ,’ भारतीय यू–१६ टिमकी कप्तान स्वेता रानीले भनिन् ।

आफूहरुलाई काठमाडौंको मौसम तथा वातावरणले खासै असर नपार्ने स्वेताले बताइन् । ‘हामी यो वातावरणमा खेल्न सक्छौं, भारतको पनि केही स्थानहरुमा यहि खालको मौसम छ । त्यसैले हामीलाई खेल्न गाह्रो हुँदैन ।’

सिनियर टिमलाई पछ्याउँदै बंगाली टिम

बंगलादेशको सिनियर महिला टिम साफ २०२२ को च्याम्पियन टिम हो । यू–१६ का धेरै खेलाडी तिनै सिनियर खेलाडीलाई आइडल मान्छन् ।

सिनियर खेलाडीहरुलाई पछ्याउँदै उनीहरु यू–१६ महिला साफ च्याम्पियनसिपको फाइनल पुग्न चाहन्छ । तर नयाँ खेलाडीसहित आएको युवा टिमलाई कुनै दबाब नरहेको प्रशिक्षक सैफुल बारी तितु बताउँछन् ।

उनले भने, ‘हामी यो प्रतियोगितामा १७ नयाँ खेलाडीसहित आएका छौं । बंगलादेशको सिनियर महिला टिम साफ महिला फुटबल च्याम्पियन हो । तर हामी त्यो प्रेसर यो युवा टिममा राख्न चाहन्नौं ।’

बंगलादेशले दुई हप्ताअघि घरेलु मैदानमै भएको यू–१९ साफ महिला च्याम्पियनसिपको उपाधि भारतसँग बाँडेको थियो । सैफुल त्यो टिमको प्रशिक्षक थिए । त्यसैले उनले यू–१६ टिमलाई प्रशिक्षण दिन समय पाएनन् । ‘म यू–१९ टिमसँग भएकाले धेरै लामो समय यो टिमलाई दिन पाइन’, प्रशिक्षक तितुले भने ।

तयारीलाई आधार मान्दै बंगाली टिम आफ्नो उत्कृष्ट दिँदै कम्तिमा फाइनल पुग्न चाहन्छ । बंगलादेशी कप्तान अर्पिता विश्वास भन्छिन्, ‘हामी एकपछि अर्को खेल गर्दै खेल्नेछौं । हामी प्रतियोगितामा फाइनल खेल्ने लक्ष्य लिएर आएका हौं ।’

उनले आफूहरु च्याम्पियन हुने लक्ष्य लिएर आए पनि छोटो समयको प्रशिक्षण भएकाले केही कठिन देखिएको बताइन् । ‘हाम्रो तयारी निकै कम छ । हामी च्याम्पियन नै हुन आएका हौं, तर यो केही कठिन भने देखिन्छ’, कप्तान अर्पिताले भनिन् ।

बंगलादेशले आफूहरुले पनि आर्टिफिसियल मैदानमा नै प्रशिक्षण गरेकाले एन्फा कम्प्लेक्सको आर्टिफिसियल मैदानमा खेल्न खासै गाह्रो नहुने प्रशिक्षक तितुले बताए । उनले ‘हामी पनि आर्टिफिसियल मैदानमा नै प्रशिक्षण गरिरहेका छौं । हाम्रो लागि यहाँँ अर्टिफिसियल मैदानमा खेल्न खासै गाह्रो नहोला !’ तर नेपाली समर्थककाबीचमा नेपालविरुद्ध खेल्दा भने गाह्रो हुने उनले आकलन गरेका छन् ।

नयाँ टिम लिएर आएको भुटान

दक्षिण एसियाली फुटबलको हरेक प्रतियोगितामा ‘थन्डर ड्र्यागन ’ भुटान प्रतिस्पर्धीको रुपमा आउँछ ।

तर नतिजाले भने उनीहरुलाई खासै फेभर गर्दैन । कम तयारीका साथ आउनु पर्ने भएकाले दक्षिण एसियामा राम्रो नतिजा निकाल्न नसकेको भुटानकी प्रशिक्षक लजाङ छोदेनले बताइन् ।

‘मेरो लागि पनि प्रशिक्षकको रुपमा यो पहिलो खेल हो,’ उनले भनिन्, ‘महिला टिमका लागि निकै छोटो तयारी समय हुन्छ । अनि त्यसैबाट राम्रो खेल्ने खेलाडी छनोट गरेर अन्यभन्दा कमजोर देखिन्छौं ।’

 

यो प्रतियोगिताका लागि भुटान यू–१६ महिला टिमले १ महिना प्रशिक्षण गरेको छ । तर यो प्रशिक्षणमा खेलाडीले नै एकअर्कालाई राम्रोसँग चिन्न नपाएको कप्तान खान्दु तोस्मोले बताइन् । ‘हामी हाम्रो टिमसँग धेरै घुलमिल हुन पाएका छैनौं । हामी एक महिनाको तयारीमा यहाँ आएका हौं’, उनले भनिन् ।

सहभागी टिममा आफ्ना खेलाडी शारीरिक रुपमा साना र कमजोर देखिए पनि आफूहरु मानसिक रुपमा बलियो रहेको प्रशिक्षक छोदेले बताइन् । उनले भनिन्, ‘हाम्रो खेलाडी शारीरिक रुपमा साना छन् तर मानसिक रुपमा बलिया छन् ।’

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?