+
+

साफ यू-१६ महिला च्याम्पियनसिप : घरेलु मैदान नेपाललाई अवसर

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० फागुन १७ गते ७:३२

१७ फागुन, काठमाडौं । साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियनसिपमा नेपाली महिला फुटबल टिम उपाधिबाट एक कदममात्र टाढा छ । सिनियर टोलीले १० फाइनल खेलिसक्कादा सधैँ उपविजेतामै चित्त बुझाउनुपरेको थियो ।

महिला फुटबलमा नेपालले अहिलेसम्म जितेको उपाधि भनेको उमेर समूहको साफ यू-१५ च्याम्पियनसिप हो । त्यसअघि यू-१४ प्रतियोगितामा पनि एक उपाधि जितेको थियो । यसलाई छाड्ने भने सिनियर देखि अन्य उमेर समूहका महिला टोलीले उपाधि जित्न सकेका छैनन् ।

त्यही साफ यू-१५ कै नाममा भएको प्रतियोगिताको छैटौं संस्करण यस पटक नेपालमा हुँदैछ । यस पटक त्यस प्रतियोगिता यू-१६ को नामबाट हुँदैछ ।

प्रतियोगिता फागुन १८ देखि २७ गतेसम्म  एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । यसअघि च्यासल रंगशालामा हुने भनिएपनि एएफसी र साफका प्राविधिकले मैदान निरीक्षण गरेपछि त्यहाँ खेलाउन उपयुक्त नभएकोले आयोजना स्थल सारिएको हो ।

घरेलु मैदान सदुपयोग गर्ने

घरेलु मैदानमै हुँदा नेपाललाई यस प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै उपाधि जित्ने अवसर हुनेछ । प्रतियोगिता फागुन १८ देखि २७ सम्म ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । जहाँ नेपाली यू१६ महिला टोलीले नियमित तयारी गर्दै आएको छ ।

त्यसैले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारीमा रहेका युवा महिला खेलाडीहरु घरेलु मैदानको सदुपयोग गर्दै उपाधि जित्ने लक्ष्यमा छन् ।

नेपाली यू-१६ महिला टोलीका मुख्य प्रशिक्षक चक्र तामाङले घरेलु मैदानमा खेल्दा फाइदा हुने बताए । ‘हामी घरेलु मैदानमा खेल्दैछौँ र त्यसको फाइदा हुनेछ । अर्को कुरा हामीले २०२२ मा यू१५ च्याम्पियनसिप जितेका थियौँ र त्यसको पनि मनोवैज्ञानिक रुपमा हामीलाई फाइदा हुनेछ’,  उनले भने, ‘हामी यही मैदानमा ट्रेनिङ गरिरहेका छौँ र प्रतियोगिता पनि यही खेल्दा त्यसको फाइदा हुन्छ ।’

२०२२ बंगलादेशमा भएको उक्त प्रतियोगिता जित्दा नेपाली टिममा सानी खेलाडीको रुपमा रहेकी भूमिका बुढाथोकी यस पटक यू-१६ टोलीमा छिन् ।

उनले त्यसबेला धेरै खेल्ने अवसर नपाएपनि उनलाई प्रतियोगिताको अनुभव र उपाधि जितेको अनुभव समेत छ । जसले गर्दा उनी पनि उत्साहित छिन् । ‘हाम्रो तयारी राम्रो भइरहेको छ । पहिला म यू-१५ टिममा थिएँ । त्यो बेला टिम राम्रो थियो र हामीले साफ यू-१५ जितेर ल्याएका थियौं । यो पटक पनि टिम राम्रै छ । घरेलु मैदानमा साफ यू-१६ मा उपाधि जित्ने हाम्रो लक्ष्य छ ।’

यस्तै भूमिकाले घरेलु मैदानमा खेल्दा टिमलाई फाइदा हुने पनि बताइन् । ‘हामीले यही ट्रेनिङ गरिरहेको मैदानमा खेल्दा केही सहज हुन्छ’, मिडफिल्डर भूमिकाले भनिन् । भूमिका जस्तै नेपाली टिमकी डिफेण्डर मीनमाया श्रेष्ठले पनि घरेलु मैदानमा खेल्दा सहयोग हुने बताए ।

‘यही मैदानमा खेल्दा फाइदा हुन्छ । यहीँ हामीले प्रशिक्षण गरिरहेका छौँ र हामीलाई यहाँ खेल्न सजिलो पनि हुन्छ’, श्रेष्ठले भने ।

नेपालको लक्ष्य र चुनौती

मुख्य प्रशिक्षक चक्र तामाङ

घरेलु मैदानै खेल्दा नेपालले स्वभाविक रुपमा उपाधि जित्ने लक्ष्य राखेपनि चुनौती पनि उत्तिकै छ ।

प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका चार राष्ट्रको सहभागिता छ । दुई पटकको विजेता भारत र एक पटकको विजेता बंगालदेश नेपालसँगै लगातार छैटौं पटक प्रतियोगिता खेल्दैछ । यस्तै अर्को टोली भुटानको यो पाँचौं सहभागिता हुनेछ ।

सिंगल राउण्डमा हुने प्रतियोगितामा हरेक टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । त्यसैले नेपालको पहिलो लक्ष्य शीर्ष दुईमा रहँदै फाइनल पुग्ने छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक चक्र तामाङले पनि फाइनल पुग्ने लक्ष्य सुनाए । ‘छोटो समयको तयारी भएपनि राम्रै भएको छ । केही अभ्यास खेलहरु पनि खेलेका छौँ । अपेक्षा भनेको फाइनल पुग्ने हो’, उनले भने ।

उनले गल्ती कम गर्दै खेल नेपाल पनि उपाधि दाबेदार टिम रहेको बताए । ‘टिममा नयाँ खेलाडीहरु छन् । पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्दैछन् । त्यसैले हामीले गल्तीहरु कम गर्दै राम्रो खेल्यौँ भने उपाधिका लागि दाबेदार छौँ’, मुख्य प्रशिक्षक तामाङले भने ।

पहिलो पटक कुनै पनि उमेर समूहको राष्ट्रिय टोली हेर्ने जिम्मेवारी पाएका तामाङले आफ्नो लागि पनि यो अवसर र चुनौती दुवै रहेको बताए ।

पछिल्लो समय बंगलादेश र भारतको टोली राम्रो हुँदै आएको छ । भुटानले पनि युवा फुटबलमा लगानी गरिरहेको छ ।

नेपाली टिमकी सदस्य मीनमायाले टिममा भएका कमजोरीहरुलाई सुधार गर्दै उपाधि जित्नका लागि खेल्ने बताइन् । उनले भनिन्, ‘भारत र बंगलादेश बलियो छ । हामी पनि त्यो टिम विरुद्ध राम्रो खेल्ने योजना सहित राम्रो तयारी गरेका छौं ।’

खेल तालिका

दक्षिण एसियाका ७ मध्ये चार टोली मात्र सहभागी भएकाले यस प्रतियोगिता सिंगल राउण्ड रोविनका आधारमा हुनेछ । समूह चरणमा ६ खेल हुनेछ र शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । हरेक दिन एक खेल मात्र हुनेछ ।

प्रतियोगिताको पहिलो दिन १८ फागुनमा भारत र भुटानबीच खेल हुनेछ ।

घरेलु टोली नेपालले पहिलो खेल १९ फागुनमा बंगलादेशसँग खेल्नेछ । यस्तै नेपालले २१ फागुनमा भुटानसँग खेल्नेछ ।

२२ फागुनमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले आफ्नो तेस्रो खेल २४ फागुनमा भारतसँग खेल्नेछ । लिगको अन्तिम खेल बंगलादेश र भुटानबीच २५ फागुनमा हुनेछ ।

लिगको शीर्ष दुई टोलीबीच २७ फागुनमा फाइनल खेल हुनेछ ।

नेपाली टिम

गोलकिपर : झरना डुम्राकोटी, सुनिता स्याङ्तान र लक्ष्मी ओली

डिफेन्डर : दीक्षा रायमाझी, रेजिना लामा, मीना चन्द, कृष्टिना तामाङ, अन्शु विक, मिन माया श्रेष्ठ , एलिजा विक, ग्यान्सु डोल्मा

मिडफिल्डर : भूमिका बुढाथोकी, आशिका कार्की, बबिता कार्की, आयुषा रेउले, डिकीकुमारी स्याङ्बो तामाङ, आयुषा गुरुङ, रविना विक, सबिना तामाङ

फरवार्ड : पूजा गिरी, अनिता राना मगर, यामकुमारी विक, पूर्णिमा थारु

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?