+
+
यू-१९ विश्वकपका हिरो सुभाष :

राम्रो खेलाडी बनेर गाउँमा घर बनाउने सपना

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० माघ १८ गते २१:१३

१८ माघ, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा नेपालका अफस्पिनर सुभाष भण्डारीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका छन् । सुपरसिक्स खेलमा बंगलादेशविरुद्ध नेपालले ल्याएका सबै पाँच विकेट एक्लै चट्काउँदै उनले पुन अर्को सानदार प्रदर्शन गरे ।

१७० रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश एक समय ११ ओभरमै कुनै विकेट नगुमाई ६५ रन जोडेको थियो । सुभाषले १२ औं ओभरको चौथो बलमा लङअनमा आशिकुर रहमानलाई गुलशन झाबाट १६ रनमा क्याच गराए ।

१४ औं ओभरको अन्तिम बलमा चौवधुर रिजवान १५ रनमा स्टम्पिङ आउट भए । १६ औं ओभरको तेस्रो बलमा जिशान आलम ५५ रनमा देव खनालबाट क्याच आउट हुन पुगे ।

२२ औं ओभरको चौथो बलमा सुभाषले अहरार अमिनलाई १२ रनमा बोल्ड गरे । उत्कृष्ट टर्नका साथ उनलाई हेरेको हेर्‍यै पारेका थिए । २४ औं ओभरको दोस्रो बलमा मिडअफमा मोहम्मद शिहाबलाई क्याच गराउँदै आफ्नो पाँच विकेट पूरा गरेका थिए ।

टोलीले हारमा दुखी

सुपर सिक्सको शीर्ष २ मा परेर सेमिफाइनल पुग्ने संभावना कायम राख्न बंगलादेशले आक्रामक ब्याटिङ गरेको थियो । यस्तोमा विकेट आउने संभावना बुझेर सुभाषले त्यसै अनुसार बलिङ गरेर ५ विकेट लिए । तर नेपाल ५ विकेटले नै पराजित भयो । यसमा सुभाषलाई खिन्न लागेको छ ।

‘विश्वकपमा पाँच विकेट लिँदा खुसी त थिएँ । तर टोलीलाई जिताउन नपाउँदा अली नराम्रो लाग्यो,’ उनले भने । आफ्नो तर्फबाट फिल्डिङ, ब्याटिङ र बलिङ सबैमा आफूले शतप्रतिशत दिने गरी खेलेको उनी बताउँछन् ।

अफगानिस्तानलाई समूह चरणमा १ विकेटले हराउँदै सुपर सिक्समा पुर्‍याउन उनको भूमिका पनि त्यतिनै महत्वपूर्ण थियो । जारी विश्वकपमा उनले ४ खेलमा ८० रन बनाउनुको साथै ९ विकेट लिएका छन् ।

नेपालबाट सर्वाधिक विकेट लिने खेलाडीमा शीर्ष र रन बनाउनेमा तेस्रो स्थानमा छन् । देव खनाल १५२ र अर्जुन कुमाल १२० रन बनाएका छन् । दक्षिण अफ्रिकाको पिच र कन्डिसन स्पिनरलाई त्यति सहयोगी मिल्दैन । सुभाषले आफ्नो सुगन्ध विश्व क्रिकेटमा छर्न धेरै समय लगाएनन् ।

सुभाषको बाल्यकाल

नेपालबाट विश्वकपमा शानदार प्रदर्शन गर्ने सुभाषको आर्थिक अवस्था निकै दयनीय छ । आफ्नै घर छैन । परिवार रोजगारीको कारण दिल्लीको मोडेल टाउनमा छ् । आफूले काम गर्दै क्रिकेट खेल्नुपर्ने बाध्यता उनलाई छ । बाल्यकालदेखि नै निकै संघर्ष र अभावमा जिउनु परेको छ । त्यो अभाव, संघर्ष र त्यागको प्रतिफल नै उनले विश्वकपमा पाएका छन् ।

सन् २००४ मा बाग्लुङको पालामा जन्मेका सुभाष, उनका दाइ (सुनिल) र एक बहिनी (सुजाता)लाई लिएर बुबा दलबहादुर र आमा कौशल्या भण्डारी भारत गएका थिए । गरिबीको कारण बिहान बेलुका छाक टार्न मुस्किल भएपछि उनको परिवार भारत भासिएको थियो ।

जन्मस्थानमा बाल्यकाल बिताउन नपाएका उनलाई पालाको त्यतिधेरै याद छैन । बुबासँग सानोमा भारत जादा ३–४ वर्षकमा मात्रै थिए उनी ।

नयाँ र नौलो परिभेष भए पनि भारतको क्रिकेट संस्कारबाट उनी टाढा हुन सकेनन् । दाइसँग सुरुमा क्रिकेट हेर्न जान्थे । दाइहरुले हानेको बल समाएर ल्याउने गर्थे । खेल्दै जादा छेऊकै एक क्रिकेट एकेडेमीमा भर्ना भए । स्कुल, दाइहरुसँग पार्क र एकेडेमीबाट उनले बिस्तारै क्रिकेट सिक्दै गए ।

उनले सानोमा यश धुल र आयुश बदोनी लगायत दिल्लीका रणजी ट्रफी खेल्ने खेलाडीसँगै खेलेका थिए । बुबाको मजदुरीबाट आउने कमाइले दिल्लीमा आमा र तीन सन्तान पालिनु पर्दथ्यो । बिहान बेलुका खान पुर्याउन कठिन पर्दथ्यो । कहिले काहिँ आधा पेट खाएर सुत्ने बाध्यता समेत आउथ्यो ।

रोगी बुबाको औषधि उपचार पनि त्यहिँ मजदुरीको पैसाबाट गर्नु पर्दथ्यो । बल्लतल्ल घरपरिवार चलेको थियो । २०१३ मा बुबाको मृत्यु भयो । त्यसपछि परिवार थप समस्यामा पर्‍यो । १५–१६ वर्षको जेठो दाइले परिवारको जिम्मेवारी सम्हाल्नु पर्‍यो ।

सानोमा उनको जीवन निकै अभावमा बित्यो । घरको आर्थिक अवस्थामा अहिले पनि उस्तै छ । २६ वर्षीय दाइ सुनिल, आमा र बहिनी दिल्लीमै छन् । एक रेष्टुरेन्टमा काम गर्ने उनका दाइमा परिवार निर्भर छ । बहिनीलाई पढाउनेदेखि भाइलाई नेपालमा क्रिकेट खेलाउनेसम्मको खर्च जुटाउने साहस सुनिलले लिएका छन् ।

अहिले पनि बाग्लुङमा उनीहरुको आफ्नो घर छैन । नेपाल आउँदा साइला काका र हजुरबुबा बस्ने घरमा बस्छन् । बिहान बेलुका खाना राम्रोसँग मुस्किल परि रहँदा घर बनाउने एउटा सपना छ । त्यो सपना साकार पार्न सुभाष आफू राम्रो क्रिकेटर बन्न चाहन्छन् ।

काम गरेर क्रिकेट खेल्दै

उनका उमेरका साथीले मज्जाले क्रिकेट खेलेका छन् । कोही महँगो खर्चमा भारतमा गएर पनि सिक्छन् । तर उनको घरको आर्थिक अवस्थाले त्यो भ्याउँदैन । त्यसैले उनले अहिले पोखरामा तीन सरकारी विद्यालयमा क्रिकेट सिकाउँछन् ।

त्यहाँबाट आउने केही पैसाले आफ्नो खर्च टार्दै आएका छन् । उनीसँग अहिले पनि राम्रो जुत्ता र ब्याट किन्ने पैसा छैन । आफ्न्त वा साथीभाइको सहयोगमा आवश्यकता पूरा गर्ने गर्दछन् ।

२०१८ मा क्रिकेट खेल्न नेपाल

बुबाको मृत्यु भएपछि २०१८ मा पहिलो पटक नेपाल आएका थिए उनी । त्यो समय नेपाल क्रिकेट संघ क्यान आइसीसीको निलम्बनमा थियो । त्यसैले जिल्ला वा प्रदेश छनोट नभएर क्याम्प हुन्थ्यो ।

त्यो क्याम्पमा १३–१४ वर्षको कलिलो ठिटोलाई खासै वास्ता गरेनन् । जसले गर्दा उनी कास्कीको जिल्लामै परेनन् । गण्डकीका मुख्य प्रशिक्षक रिजन प्रजु सुभाषलाई सुरुमा ब्याटरको रुपमा देखेको बताउँछन् ।

‘उ पहिला नेपाल आउँदा राम्रो ब्याटरको रुपमा आएको थियो । त्यस बेला उ १३–१४ वर्षको थियो । तर कास्कीको जिल्लामै परेन । त्यसपछि एकदिन नेट्समा बलिङ गर्दा राम्रो अफस्पिन फाल्यो । टिममा चान्स हुन्छ भनेर अलराउन्डर बन्न सुझाव दियौं,’ मुख्य प्रशिक्षक प्रजु सम्झन्छन्, ‘पछि मिहिनेत गर्दै गएपछि २०१९ को प्रधानमन्त्री कपमा पहिलो पटक प्रदेशकै टोलीमा पर्‍यो ।’

त्यसैमा उनले थपे, ‘म प्रशिक्षकका लागि यो गर्वको क्षण हो । यो भन्दा अगाडि यू–१९ मा पर्न कडा प्रतिस्पर्धा थियो । अवसर पर्खिन सुझाव दिएको थिएँ । उसले राम्रो गर्नेमा विश्वास थियो । विश्वकपमा ब्याटिङ र बलिङ दुवैमा राम्रो गर्‍यो ।’

घरेलुमा उदय

२०१९ मा उनले दुई खेलमा मात्रै ११ ओभर बलिङ गर्दै ४५ रन खर्चेका थिए । तर विकेट लिन सकेनन् । सिकेर फर्किए ।

२०२१ को प्रधानमन्त्री कपमा ४ खेलमा ५ विकेट लिए । २०२२ मा ४ खेलमा ८ विकेट लिँदै राम्रो छाप छाडे ।

२०२१ को यू–१९ मा ६ खेलमा ९ विकेट लिए । त्यो वर्ष यू–१९ क्रिकेटमा पर्न सकेनन् । २०२२ को यू–१९ क्रिकेट राष्ट्रिय प्रतियोगितामा ६ खेलमा १३ विकेट लिए । उनले कर्णालीविरुद्ध ६ विकेट लिनुको साथै २१ रन बनाएका थिए ।

विश्वकप छनोटमा पनि दमदार

राष्ट्रिय प्रतियोगितामा उच्च प्रदर्शन गर्दै २०२३ को सुरुवातमा युएईमा सम्पन्न आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली टोलीमा परे । उनले ५ खेलमा ७ विकेट लिएका थिए । इकोनमी २.६७ थियो ।

विश्वकपमा पुग्न निर्णायक खेलमा नेपालले दिएको १९२ रनको विजयी लक्ष्य पछ्याएको युएई एक समय १७.१ ओभरमा ६७–० थियो । विश्वकप हातबाट फुत्किन लागेको अवस्थामा अर्यांश शर्मालाई ३२ रनमा बोल्ड गर्दै नेपाललाई खेलमा फर्काएका थिए ।

स्टार अलराउन्डर आयन खानलाई शून्यमा देवबाट क्याच गराउँदै विश्वकप यात्रा सहज बनाएका थिए । तर दीपेश कँडेलले ह्याट्रिकसहित पाँच विकेट लिएपछि उनी छायामा परे । त्यसपछि एसीसी यू–१९ प्रिमियर कप, यू–१९ एसिया कप हुँदै विश्वकप टोलीमा परेका हुन् ।

सकेसम्म क्रिकेट खेल्छु : भण्डारी

‘आर्थिक अभावमा यसरी खेल्न गाह्रो हुन्छ । म यसरी कहिलेसम्म क्रिकेट खेल्छु त्यो थाहा छैन । तर जहिलेसम्म खेल्छु । तबसम्म रमाएर नै खेल्छु,’ उनले भने ।

‘मेरो हातमा भनेको राम्रो प्रदर्शन गर्ने मात्रै हो । सबैको मन सिनियर टोलीबाट खेल्ने हुन्छ । मेरो पनि सपना छ । कहिले पालो आउँछ थाहा छैन । तर जहिलेसम्म खेल्छु तबसम्म आफ्नो सबै उत्कृष्ट दिन्छु’, सुभाषले भने ।

‘पक्कै पनि राम्रो खेलाडी बनेर गाउँमा घर बनाउने सपना छ । दाइले मैले सक्नेजति गर्छु र खेलिराख भन्नु भएको छ । दाइसँगै मामा दीपेन्द्र खड्का र रविन केसी र फुपूका छोरा सुरेश खत्री पनि मलाई राम्रो सहयोग गरेका छन्,’ उनले भने ।

अफगानिस्तानविरुद्ध विजयी रन

अफगानिस्तानले दिएको १४६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४४ ओभरमा १४४–९ को अवस्थामा थियो । सुभाष २५ बलमा ४ रन र तिलक भण्डारी पहिलो बल खेल्न आएका थिए ।

पहिलो बल अरब गुलले वाइड फ्याँले । त्यसपछि लगातार तीन बल सुवासले डट खेलेका थिए । चौथो बलमा भण्डारीले चौका प्रहार गर्दै नेपाललाई रोमाञ्चक जितसँगै सुपर सिक्समा पुर्‍याएका थिए ।

‘त्यो समय म जति शान्त रहे त्यतिनै राम्रो हुन्थ्यो । कमजोर बललाई पर्खेको थिए । मैले गर्न सक्नेमा विश्वास थियो । वाइड फ्याँलेपछि थप सहज भयो,’ उनले त्यो क्षण सम्झँदै भने ।

न्युजिल्यान्डविरुद्ध पहिलो खेलमा उनले ३३ रन बनाउनुको साथै ३ विकेट लिएका थिए । पाकिस्तानसँग २० रन बनाउँदा विकेट लिन सकेका थिएनन् ।

अफगानिस्तानसँग महत्वपूर्ण ९ रन र १ विकेट लिए । बंगलादेशविरुद्ध १८ रन बनाउनुको साथै ५ विकेट लिए । उनी चार मध्य तीन खेलमा नट आउट छन् ।

‘मैले २० रन जसरी पनि टोलीलाई दिनुपर्छ भनेर सोचेको हुन्छु । त्यो भइरहेको छ । मैले रन जोडे पनि टोलीलाई राम्रो हुन्छ’, उनले भने ।

सिनियर टोलीमा दीपेन्द्रको ब्याकअप !

सुभाषका मनपर्ने आइडल दीपेन्द्रसिंह ऐरी नेपालका अफस्पिन स्टार अलराउन्डर हुन् । उनको ब्याकअप पछिल्लो समय नेपालले पाएको छैन । दीपेन्द्र घाइते हुँदा अफस्पिन अलराउन्डरको खडेरी नै लाग्ने गर्दछ ।

पवन सर्राफले लगातार मौका पाउँदा पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । अब सुभाष र शेर मल्ल त्यसको विकल्पमा छन् । यू–१९ विश्वकपको प्रदर्शनले सिनियर टोलीको ढोका नजिक पुगेका छन् ।

नेपाल ए मा स्थान बनाउने पक्का जस्तै छ । त्यहाँ राम्रो गर्न सके नेपालले दीपेन्द्रको ब्याकअपमा भण्डारीलाई मौका दिनसक्छ । तर त्यसको लागि अहिलेको भन्दा धेरै मिहिनेत र राम्रो प्रदर्शन गर्नुपर्छ ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?