+
+

रूसमा बेपत्ता नेपाली : खबरको पर्खाइमा छन् परिवार

पुष्पराज चौलागाईं आभास बुढाथोकी पुष्पराज चौलागाईं, आभास बुढाथोकी
२०८० माघ १९ गते २१:३६
टिना घिमिरे

१९ माघ, काठमाडौं । उदयपुरकी टिना घिमिरेलाई ४ वर्षको छोराले सोधिरहने प्रश्न हो, ‘बाबा खै ?’

तर अबोध छोराले सोध्ने प्रश्नको जवाफ उनीसँग छैन । किनकि तीन महिनाअघि रूसी सेनामा पुगेका उनका श्रीमान् पदम घिमिरे दुई महिना यता सम्पर्कमा छैनन् ।

नेपाल आर्मीमा रहेका पदम गत असोजमा उपदान लिएर निस्किए । अनि रूसी सेनामा भर्ना हुन भनेर घरबाट हिंडे । मासिक साढे तीन लाख तलब हुने भनेर एजेन्टले देखाएको लोभमा उनी आर्मीको जागिर छोडेर रूसी सेनामा भर्ना हुन पुगेका थिए ।

‘सेफ जोनमा गए साढे तीन लाख, रेड जोनमा गए ९ लाख पाइन्छ भनेर लोभ देखाए’ टिनाले श्रीमान् रूसी सेनामा जानुको कारण खुलाइन्, ‘एक वर्षपछि पीआर पाइने र परिवार पनि लैजान मिल्ने भएपछि उहाँ जान तयार हुनुभयो ।’

एजेन्टको भर परेर पदम आठ लाख बुझाएर दुबई हुँदै रूस गए । टिनाका अनुसार सुरुमा पदमलाई रूसी सेनामा पुगे युद्ध लड्नुपर्छ भन्ने थाहा थिएन । भन्छिन्, ‘एजेन्टले सेनामा भर्ना भएर सेफ जोनमा बस्न पाइन्छ भनेपछि उहाँ जानुभएको थियो ।’

रूसमा पुगेपछि केही दिनको तालिम दिएर पदमलाई युद्धमा पठाइयो । युद्धमा जानुअघि पदमले टिनालाई फोन गरेर आफूलाई युद्धमा पठाउन लागेको सुनाएका थिए । ‘रूस–युक्रेनबीच युद्ध भइरहेको छ, त्यहाँ हामीलाई लड्न पठाइँदैछ’ श्रीमानसँग भएको सम्वाद उनले सुनाइन्, ‘जतिबेला पनि ज्यान जानसक्छ, मर्ने बाँच्ने टुंग्गो हुँदैन ।’

युद्धमा मारिने त्रासले उनका श्रीमानले भाग्न कोसिस नगरेका होइनन्, तर रूसी सेनाले उनलाई पक्राउ गरिहाल्यो । ‘उहाँले दुई पटक भाग्ने कोसिस पनि गर्नुभएछ’ उनले अनलाइनखबरसँग भनिन्, ‘दुई पटक नै उहाँलाई पक्रेछ ।’

पहिलो पटक भागेका उनलाई ५ दिनमा भेट्टाएर रूसी सेनामा लगिएको थियो । दोस्रो पटक दुई दिनमै पक्राउ परे । त्यसक्रममा पदमलाई यातना समेत दिइएको छ ।

अन्तिम पटक भिडियो कलमा कुरा हुँदा श्रीमानको अनुहारमा घाउका टाटाहरु देखेको टिनाले सुनाइन् ।

१४ मंसिरमा भएको कुराकानीका क्रममा पदमले भोलिदेखि आफूलाई युद्धमा पठाउन लागेको भनेर सुनाएका थिए । ‘उहाँसँग अन्तिम कुरा भएको त्यही हो’ उनले भनिन्, ‘युद्धमा गएदेखि उहाँको खबर आएको छैन, मन आत्तिएको छ ।’ त्यसयता रूसी सेनामा पुगेका नेपालीहरुको मृत्यु भएको खबर आइरहँदा टिनाको मन बैचेन छ ।

घरमा १५ र १२ वर्षकी दुई छोरी र सानो छोरा छन् । उनले युद्धमा हराइरहेका श्रीमानलाई छिटोभन्दा छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गरेकी छन् । ‘जानाजान युद्धमा गएको होइन’ उनले भनिन्, ‘दलालले झुक्काएर त्यहाँ पुर्‍याएको हो, सरकारले जसरी भए पनि खोजेर, उद्धार गर्नुपर्छ ।’

०००

ललितपुरकी बुद्धिमाया ब्रामु तामाङका श्रीमान् ३५ वर्षीय सोम ब्रामु ज्याला मजदुरी गर्थे । अभावै अभावमा परिवार ग्रुजिरहेको थियो । त्यसैबेला दुबईबाट फर्किएका सोमका साथी राकेशले रूसी सेनामा भर्ना खुलेको र राम्रै पैसा कमाइ हुने सुनाए ।

युक्रेन रूस युद्धबारे धेरै थाहा नपाएका सोमले मासिक साढे तीन लाख कमाइ हुन्छ भनेपछि धेरै सोचेनन् । एजेन्ट मार्फतबाट असोज १९ गते रूस सेनामा भर्ना हुन गए ।

श्रीमती बुद्धिमायालाई थाहा भएअनुसार दुबई हुँदै रूस गएका थिए । रूस पुगेपछि उनको धेरै पटक कुरा हुन पाएन, कहिलेकाहीं ह्वाट्सएपमा कुरा हुन्थ्यो । त्यसक्रममा दुई हप्ताको तालिम सकाएर आफूलाई युक्रेनको भूमिमा युद्धका लागि पठाउन लागेको सोमले सुनाएका थिए । उनी युद्धमा पुगेका थुप्रै नेपाली नफर्किएको सुनाउँथे । यता बुद्धिमायाको निद्रा हराउँथ्यो ।

बुद्धिमाया तामाङ ।

बुद्धिमायाका अनुसार उनको श्रीमानसँग अन्तिम पटक ९ माघमा ह्वाट्सएप कलमा कुराकानी भएको थियो । ‘भोलिदेखि युद्धमा जाँदैछु, मर्ने बाँच्ने टुंगो हुँदैन, बालबच्चा राम्रोसँग हेर्नु’ उनले श्रीमानसँग भएको अन्तिम संवाद सुनाइन् ।

श्रीमानसँग सम्पर्क टुटेपछि उनको दिन र रात उस्तै छ । ‘श्रीमानको केही खबर नआएपछि मन आत्तिएको छ । मलाई रातमा निद्रा पनि छैन । उनले अनलाइनखबरसँग भनिन्, ‘युद्ध लड्नु पर्ला भन्ने थाहा पाएको भए किन पो जान दिन्थ्यौं र ?’

सोम र बुद्धिमायाका १५ वर्षकी छोरी र आठ वर्षका छोरा छन् । श्रीमान् सम्पर्कविहीन भएयता बुद्धिमाया उनको खोजीका लागि हारगुहार गर्दै दौडिरहेकी छिन् । कहिले परराष्ट्र मन्त्रालय त कहिले काठमाडौंस्थित रूसी दूतावास पुग्छिन् ।

केहीदिन अघि उनले मन्त्रालय र कन्सुलर विभागमा पुगेर श्रीमानको खोजी गरिदिन निवेदन पनि दिएकी छन् । ‘जति दुःख पाउनु थियो पायौं’ उनले भनिन्, ‘हामीलाई अब आफ्नो मान्छे सकुशल चाहिन्छ ।’

तर केही उपाय लागेको छैन । सरकारले अहिलेसम्म पहल नगरेको उनले गुनासो गरिन् । ‘आफ्नो नागरिक परदेशमा हराउँदा सरकारले वास्ता गरेको छैन’ उनले भनिन्, ‘संकटमा आफ्नो नागरिकलाई न हेर्ने सरकार हामीलाई किन चाहियो र ?’

सरकारी तथ्यांक अनुसार रूसमा अहिलेसम्म १३ जना नेपालीको मृत्यु भएको छ भने रूसी सेनामा रहेका फिर्ता ल्याइदिन वा वा सम्पर्कविहीन भएकाहरुको खोजी गरिदिन करिब २०० निवेदन परराष्ट्र मन्त्रालयमा परेको छ । रूसी सेनाबाट भागेर फर्किएका खोटाङका सुमन राईले रूसी सेनामा करिब १३ हजार नेपाली रहेको दाबी गरे ।

सुमन राई

शुक्रबार काठमाडौंमा रूसी सेनामा भर्ना भएर बेपत्ता भएकाहरुका परिवार सदस्यहरुसँग भएको छलफलमा सुमनले बताएअनुसार नेपालबाट मात्र होइन, खाडी मुलुकहरुमा रहेका नेपालीहरु समेत रूसी सेनामा भर्ना भएका छन् ।

कार्यक्रममा रूसी सेनामा भर्ना भएकाहरुको परिवारले छिटो उद्धारका लागि सरकारलाई आग्रह गरेका छन् । काभ्रेपलाञ्चोक नमोबुद्धका २७ वर्षीय बुद्धसिंह तामाङ ९ माघदेखि सम्पर्कविहीन छन् । ‘सेक्युरिटी गार्ड’मा मनग्ये पैसा हुन्छ भन्ने प्रलोभनमा परेर उनी २९ असोजमा रूसका लागि उडेका थिए ।

काठमाडौंमा फलाम वेल्डिङको कारखाना सञ्चालन गरेर जसोतसो जीविका धान्दै आएका थिए । कोरोना महामारीमा लकडाउनका कारण कारखाना पनि बेच्नु पर्यो । त्यसपछि अरूको कारखानामा काम गर्न थाले । तर परिवारको खर्च जुगाड गर्न सम्भव भएन । त्यही क्रममा रूस जाने समूहको सम्पर्कमा पुगे ।

‘सेक्युरिटी गार्डमा काम गर्न जान्छु भन्दै बिदाइ हुनुभयो । उहाँ पुगेपछि मात्रै थाहा भयो रूसी सेनामा भर्ती हुनुभएको रहेछ’ श्रीमती मिममाया तामाङले आँसु झाँदै भनिन्, ‘रूसी सेनामा जान लागेको भनेको भए कहाँ पठाउथौं र !’

उनका अनुसार बुद्धसिंह सहित नेपाली चार पुसको पहिलो हप्ता भाग्न पनि खोजे । बीच बाटोबाट पक्रेर पुन: क्यापमा लगेपछि बेस्सरी कुटपिट गरेको बुद्धसिंहले सुनाएका थिए ।

तामाङ दम्पतीको १८ वर्षको उमेरमा प्रेम विवाह भयो । अहिले ७ वर्षको छोरो छ । घरमा बृद्धका बुबा–आमा छन् । उनले श्रीमानलाई उद्धार गर्न आग्रह गर्दै प्रधानमन्त्री कार्यालयमा निवेदन हालेकी छिन् । तर श्रीमानको कुनै खबर पाउन सकेकी छैनन् । ‘उहाँले यहाँ बाच्न मुस्किल छ । छिट्टो उद्धार गर्नका लागि भनिरहनुहुन्थ्यो’ मिममाया दुःख पोख्छिन्, ‘८ माघदेखि कुनै सम्पर्क हुन सकेन ।’

इलामका सन्तोष केरुङ (४२) नेपाली सेनामा कार्यरत थिए । अवकाश पाएपछि विभिन्न देश जाने प्रयास गरे, तर सकेनन् । असारमा दुबई प्रहरीबाट फर्किएका गाउँका दाइले रूसी सेनामा जाने प्रस्ताव राखेसँगै उनी तयार भए ।

रूसमा युद्ध चर्किएको सुनेका घरपरिवारले नजान अनुरोध गरे । ‘यति धेरै नेपाली गइरहेका छन्, केही हुन्न भन्ने विश्वास दाइहरुले दिलाएपछि उहाँ जानुभयो’ श्रीमती सीता माया बलले भनिन्, ‘उहाँसँगै अन्य दुई जना एजेन्टमार्फत जानुभयो ।’

सन्तोषले बताएअनुसार उनी दुई पटक लडाइँमा गएर आइसके । ‘लडाइँमा गएका साथी घाइते भएको, मृत्यु भएका दृश्य आँखामा झलझल्ली आइरहेको छ भन्नुहुन्छ’ बलले भनिन्, ‘उहाँलाई केही नहोस् भनेर कामना गरिरहेका छौं ।’

सन्तोष अहिले क्याप (बंगर)भित्र छन् । उनको फोन खोसिएका कारण नियमित सम्वाद हुँदैन, कहिलेकाहीं साथीको फोन मार्फत उनले घर परिवारमा सम्पर्क गर्छन् ।

पछिल्लो पटक भएको कुराकानीमा उनले तेस्रो पटक युद्धमा जाने तयारी चलिरहेको सुनाएका थिए । ‘भागेर आउन पनि सम्भव छैन । अब मृत्यु बाहेक अर्को विकल्प छैन भनेर रूनुहुन्छ,’ सीता माया बलले गहभरि आँसु पार्दै भनिन् ।

श्रीमानले तीन महिनाको तलब बुझेका छन् । तर पठाउन सक्ने कुनै सम्भावना छैन । बलले भनिन्, ‘हाम्रो लागि पैसा ठूलो होइन, उहाँको शरीर सकुशल नेपाल आए हुन्थ्यो ।’

प्रधानमन्त्री कार्यालय, परराष्ट मन्त्रालयदेखि सम्बन्धित निकायमा पटक–पटक उद्धारका अनुरोध गर्दा पनि सरकारले कुनै वास्ता नभएको उनको गुनासो छ । ‘नजानु पर्ने जानुभयो, कसरी झिकाउन सकिन्छ भन्ने तनावमा छौं’ बलले गुनासो गरिन्, ‘सरकारलाई आफ्ना नागरिक प्रति कुनै दायित्व नभएको देखिन्छ ।’

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?