+
+
Shares

रूस–युक्रेन युद्धको ४ वर्ष : जेलेन्स्कीले भने– युक्रेनी आत्मा टुटेको छैन

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १३ गते ८:३४

१३ फागुन, काठमाडौं । रुस र युक्रेनबीच युद्ध सुरु भएको चार वर्ष पुगेको छ । यस अवसरमा युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले युक्रेनको आत्मबल तोड्न वा आफूले सुरु गरेको युद्ध जित्न नसकेको बताएका छन् । युद्धमा युक्रेनी जनताले ‘असाधारण साहस’ देखाएको भन्दै उनले प्रशंसा पनि गरेका छन् ।

मंगलबार गरिएको सम्बोधनमा उनले २४ फेब्रुअरी २०२२ मा सुरु भएको रूसी आक्रमण स्मरण गर्दै आफूहरुले युक्रेनको स्वतन्त्रता जोगाएको बताए ।

जाडोयाममा ऊर्जा पूर्वाधारमाथि भइरहेको कडा आक्रमण र शान्ति वार्तामा प्रगति नहुँदा पनि युक्रेन डटेर उभिएको बताउँदै उनले भने, ‘हामीले हाम्रो स्वतन्त्रता जोगाएका छौं । हाम्रो राज्यसत्ता हराएको छैन ।’

उनले भनेका छन्, ‘भ्लादिमिर पुटिन (रूसी राष्ट्रपति)ले आफ्नो लक्ष्य हासिल गरेका छैनन् । उनले युक्रेनी जनतालाई तोड्न सकेनन्, यो युद्ध जित्न सकेनन् ।’

युरोपेली समर्थन र अन्तर्राष्ट्रिय प्रतिबद्धता

रुस–युक्रेन युद्धको वर्षगाँठको अवसरमा एक दर्जनभन्दा बढी वरिष्ठ युरोपेली अधिकारीहरू कीभ पुगेका थिए । कार्यक्रममा युरोपियन कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लेयन र फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टब लगायत सहभागी थिए ।

युरोपियन युनियनले युक्रेनलाई निरन्तर राजनीतिक, वित्तीय, आर्थिक, मानवीय, सैन्य र कूटनीतिक सहयोग दिने प्रतिबद्धता दोहोर्‍याएको छ । भोन डेर लेयेनले ९० अर्ब युरो ऋण उपलब्ध गराउने योजना कुनै न कुनै रूपमा कार्यान्वयन हुने बताइन्, यद्यपि हंगेरीका कारण उक्त प्रस्ताव अवरुद्ध हुँदै आएको छ ।

त्यस्तै, जी सेभन राष्ट्रका नेताहरूले पनि युक्रेनप्रति ‘अटल समर्थन’ दोहोर्‍याएका छन् । संयुक्त वक्तव्यमा उनीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा भइरहेको शान्ति वार्तालाई समर्थन गर्दै त्यसमा युरोपको प्रमुख भूमिका रहने उल्लेख गरेका छन् ।

क्षेत्रीय नियन्त्रण र युद्धको अवस्था

 

A woman cries during the funeral ceremony of Ihor Kusochek, a Ukrainian soldier of the Azov brigade in Bobrovytsia, Chernihiv region

हाल रूसले युक्रेनको करिब १९.५ प्रतिशत भूभाग नियन्त्रणमा राखेको छ, जसमध्ये ७ प्रतिशत क्षेत्र २०२२ अघि नै कब्जा गरिएको थियो । तर २०२३ यता उसको प्रगति सुस्त र महँगो सावित भएको छ । युद्ध पूर्वी युक्रेनको खनिजसम्पन्न डोनबास क्षेत्रलाई रुसले आफ्नो क्षेत्रमा गाभ्न चाहेपछि युद्ध सुरु भएको थियो ।

वाशिङ्टनस्थित थिंक ट्यांक इन्स्टिच्युट फर द स्टडी अफ वारका अनुसार अनुसार पछिल्लो एक वर्षमा रूसी सेनाले ०.७९ प्रतिशत युक्रेनी भूभाग कब्जा गरेको छ, जुन २०२२ पछि सबैभन्दा ठूलो अग्रगति हो ।

शान्ति वार्ताको प्रयास

जनवरीदेखि अमेरिकाको मध्यस्थतामा रूस र युक्रेनबीच प्रत्यक्ष वार्ता सुरु भए पनि भूभाग र सुरक्षा ग्यारेन्टीका विषयमा सहमति जुट्न सकेको छैन । रुसले औद्योगिक केन्द्र डोनबास युक्रेनले छोड्नुपर्ने प्रमुख सर्त राखेको छ, तर युक्रेनले त्यसलाई अस्वीकार गरेको छ । युक्रेनले भविष्यमा सम्भावित रूसी आक्रमण रोक्न अमेरिकासहितका सहयोगीबाट ठोस सुरक्षा प्रत्याभूति बिना कुनै सम्झौतामा हस्ताक्षर नगर्ने स्पष्ट पारेको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युक्रेन शान्तिका लागि सबै कुरा गर्न तयार रहेको बताएका छन्, तर युद्धभरि चुकाएको मूल्यसँग विश्वासघात नगर्ने स्पष्ट पारेका छन् । ‘हामी बलियो, गरिमामय र दीर्घकालीन शान्ति चाहन्छौँ,’ उनले भने, ‘कुनै पनि सम्झौता युक्रेनी जनताद्वारा स्वीकार्य हुनुपर्छ ।’

यसैबीच, रणनीतिक अध्ययनसम्बन्धी थिंक ट्यांक सेन्टर फर द स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजले फेब्रुअरी २०२२ देखि डिसेम्बर २०२५ सम्म रूसले ३ लाख २५ हजार सैनिक गुमाएको अनुमान गरेको छ, जुन दोस्रो विश्वयुद्धयताकै ठूलो सैनिक क्षति मानिन्छ ।

रूसी राष्ट्रपति भ्दादिमिर पुटिनले भने युद्धका लक्ष्य पूर्ण रूपमा हासिल नभएको स्वीकार गर्दै आवश्यक परेसम्म लडाइँ जारी रहने बताएका छन् । उनले युक्रेन र उसका सहयोगीहरूले ‘आफैँलाई किनारातिर धकेलिरहेको’ आरोप लगाएका छन् ।

अलजजिराका अनुसार युक्रेनका सडकहरूमा युद्ध वर्षगाँठको दिन सन्नाटा देखिएको थियो । केही दर्जन मानिसहरू प्रमुख चोकमा भेला भई मौन श्रद्धाञ्जलि अर्पण गरेका थिए । ‘धेरै युक्रेनीमा युद्धप्रतिको थकान स्पष्ट देखिन्थ्यो,’ अलजजिराको समाचारमा लेखिएको छ ।

४८ वर्षीया स्वितलाना युरले भनेकी छन्, ‘यो चाँडै सकिँदैन जस्तो लाग्छ । रूस हामीलाई घृणा गर्छ र हामीलाई नष्ट गर्न जे पनि गर्न सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?