+
+

गठबन्धनको राजनीति सत्तादेखि सत्तासम्म मात्रै हो : ओली

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २० गते १४:०४

२० माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सत्तामा टिकिरहने काम मात्रै गरेको बताएका छन् ।

शनिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धनले सत्तादेखि सत्तासम्मको राजनीति मात्र गरेको टिप्पणी गरेका हुन् ।

‘सरकार बन्ने, बनाउने, टिकाउने त्यो भन्दा परतिर राजनीति नै भएन । देशको लागि केही गर्नुपर्छ भन्ने राजनीति नै भएन । यो गठबन्धनको राजनीति भनेको सत्तादेखि सत्तासम्म । सत्तामा पुग्ने र सत्तामा अडिने । त्यत्ति हो यसको राजनीति’ उनले भने ।

अध्यक्ष ओलीले अहिले रेमिट्यान्स बढेकामा सरकार खुशी भएको तर युवालाई विदेश जानबाट रोक्न नसकेको बताए ।

‘उनीहरुलाई रोक्ने होइन, त्यो रेमिटयान्सबाट सरकार आनन्द मानिरहेको छ । रेमिटयान्सबाट सरकार चलाउन पाइएको छ भनेर सरकार खुशी भएको हो । तर रेमिट्यान्सबाट देश चलाउने जस्तो घातक कुरा अरु केही हुन सक्दैन’ उनले भने ।

कोरोना महामारीजस्तै केही विश्वव्यापी समस्या आएमा रेमिट्यान्स प्रभावित हुने र देश अस्तव्यस्त हुने ओलीको भनाइ छ । ‘दिगो विकास लक्ष्य भेट्न भनेर हामी हिँडिरहेका छौं । रेमिटयान्स अर्थतन्त्र भनेको दिगो विकास हुन्छ ? दिगो विकास लक्ष्यको विपरीत कुरा होइन यो ?’ ओलीले प्रश्न गरे ।

उनले सरकारले जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितका लागि केही काम गर्न नसकेको जिकिर गरे । ‘सिँगै हिउँद प्लाष्टिकमुनि मानिसहरु बसिरहेका छन् । हाम्रो भोलेन्टियर्सले १२/१५ सय घर बनाएर त्यत्तिनै हो । अरु केही भएको छैन । कस्तो सरकार होला ?’ ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?