+
+
राउन्ड टेबल :

उपकुलपति हैन कुलपति नै दल बाहिरको हुनुपर्छ (राउन्डटेबल)

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते २०:०२

२१ माघ, काठमाडौं । सरकार त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि दोस्रो चरणको प्रक्रियामा छ । उपकुलपति छनोट प्रक्रियाको विधिमाथि प्रश्न उठाउँदै सच्याउनको लागि कुलपतिलाई सुझाव तथा दबाब दिने क्रम पनि जारी छ ।

सरकारले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको नेतृत्वमा गठन गरेको उपकुलपति छनोट तथा सिफारिस समितिले २० पुसमा आवेदन मागेको थियो, तर अमूक व्यक्तिलाई उपकुलपति बनाउने गरी योग्यता तोकेको भन्दै प्रश्न उठेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विज्ञापन रद्द गराए ।

त्यसपछि २३ पुसमा नयाँ सूचना निकाल्दै उपकुलपतिमा इच्छुक योग्य उम्मेदवारहरूको आवेदन माग गरियो । जस अनुसार ४३ जनाले उपकुलपतिका लागि आवेदन दिएका छन् । समितिले विज्ञहरूको सहयोगमा आवेदकहरूको सोच पत्र र विश्वविद्यालय सुधारको चारवर्षे व्यावसायिक योजना मूल्यांकन गर्ने काम गरिरहेको जनाएको छ ।

अहिलेको उपकुुलपति छनोट विधि, त्रिविलाई आवश्यक नेतृत्व कस्तो हो, राजनीतिक हस्तक्षेपमुक्त बनाउन अहिलेको विधिबाट सम्भव छ कि छैन लगायत विषयमा प्रतिनिधिसभाकी सांसद तथा शिक्षा समिति सदस्य सुमना श्रेष्ठ, शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला र प्रा.डा. सुशन आचार्यसँग अनलाइनखबरकी नुनुता राईले राउन्ड टेबल छलफल गरेकी छन् ।

अहिले प्रक्रियामा रहेको विधिबाट त्रिभुवन विश्वविद्यालय रूपान्तरण गर्न सक्ने नयाँ नेतृत्व छनोटलाई लिएर कत्तिको उत्साहित हुनुहुन्छ ?

सुमना श्रेष्ठ : वास्तवमा अघिल्लो सूचनामा उल्लेख भएको कम्तीमा तीन वर्ष पदाधिकारी भएको हुनुपर्ने व्यवस्थामाथि प्रश्न र विरोध गरियो । त्यसपछि अर्को कार्यविधि आयो । यो कार्यविधिमा पनि धेरै अस्पष्टता र त्रुटिहरू छन् । त्यसैले मैले कार्यविधिमा भएको त्रुटि र विधिमाथि असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीलाई पत्र बुझाइसकेकी छु ।

राज्यको लागि नेतृत्व उत्पादन गर्ने ठाउँको उपकुलपति छनोट विधि स्पष्ट र निष्पक्ष हुनुपर्छ । कुनै राजनीतिक दलको आबद्धताको आधारमा छनोट हुनुहुँदैन भन्ने मेरो स्पष्ट कुरा हो । त्यसैले अहिलेको विधि भएन, यो विधिबाट त्रिविले खोजेको जस्तो नेतृत्व पाउँदैन भनेर प्रधानमन्त्रीसामु कुरा राखिसकेको छु । त्रिवि सुधार गर्न नेतृत्व छनोट विधि पनि सच्याउने प्रतिबद्धता प्रधानमन्त्रीले गर्नुभएको छ । उहाँको प्रतिबद्धताको कार्यान्वयनको पर्खाइमा छु ।

प्रा.डा. विद्यानाथ कोइराला : यसलाई मैले विभिन्न तरिकाले हेरेको छु । दरखास्त हालेर भिसी हुन जाने कि नजाने भनेर हेर्छु । अर्को उपकुलपतिको लागि सर्च कमिटी बनेको हो । सर्च भनेको खोज्ने कमिटी हो । तर उसले कल कमिटीको काम गरेको छ । बोलाएको मान्छे, त्रिविले खोजेको मान्छे हुन्छ कि हुँदैन भन्ने हो । अर्को दलसँग आवद्ध नभएको मान्छे खोज्ने हो । त्यो मान्छे होला कि नहोला भन्ने हो । सीधा आवद्ध हो, आस्था राख्ने हो अथवा दलमा आवद्ध भए पनि दलले भनेको गर्ने हो भन्ने टुंगो भएन । त्यो टुंगो नभएकोले अलिकति अप्ठ्यारोको ठाउँ मैले देखिरहेको छु ।

प्रा.डा. सुशन आचार्य : उपकुलपति छनोट विधि भन्दा पनि के चाहिं हुन नहुने भन्ने कुरा गरौं । अहिले हामीले किन उपको कुलपतिकै गरौं । जबसम्म कुलपति पार्टीको नेता हुने व्यवस्था रहन्छ तबसम्म यो यस्तै भइरहन्छ । त्यसैले त्रिवि सुधार गर्ने हो भने राजनीतिक हस्तक्षेप मुक्त बनाउन जरैबाट काम गर्नुपर्छ । कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ ।

पार्टीसँग आवद्ध नभएको मान्छे नहोला तर विभिन्न व्यवस्था गरेर कुलपति ल्याउने हो भने स्वतन्त्र रूपमा काम गर्न सक्छ भन्ने आशा गर्न सकिन्छ । राजनीति हस्तक्षेप मुक्त बनाउने भन्ने अनि राजनीतिक दलको नेता कुलपतिले नै सबै कुरा समातेपछि हुँदैन । बच्चा खेलाए जस्तो गर्नुभएन ।

अर्को, विधिको कुरा गर्दा अहिले सर्च कमिटी बनाएर शिक्षा मन्त्रालयलाई जिम्मा लगाउने काम भयो नि यो भएन । कर्मचारीले भीसी छान्ने होइन । त्यही भएर यो विधि परिवर्तन गर्नैपर्छ ।

विद्यानाथ कोइराला : मैले प्रधानमन्त्रीलाई तपाईं कुलपतिबाट हट्न सक्नुहुन्छ भन्ने प्रश्न गर्दा उहाँले ‘आवश्यक परे छोड्न तयार छु, तर प्रक्रिया के हुन्छ थाहा छैन’ भन्नुभएपछि मैले तपाईं कुलपतिबाट र शिक्षामन्त्री कुलपति हुने व्यवस्था भएकोमा पनि हटाउनुहोस् भन्दा म तयार छु भनेर प्रतिबद्धता जनाउनुभएको छ ।

सुमना श्रेष्ठ : केही नेपाल संशोधन ऐन मार्फत हामीलाई काम गर्न रोक्ने व्यवस्थाहरू संशोधन गरेर जान सकिन्छ । वास्तवमा प्राज्ञिकले राजनीतिज्ञहरूलाई रोक्नुपर्ने हो । राजनीतिकर्मीहरू डराउनुपर्ने हो, कहाँ कुन प्राज्ञिकले के भन्ला भनेर । तर यहाँ त राजनीतिकर्मीले प्राज्ञिकलाई पकडमा राख्न खोज्छ । त्यो हुन नदिनको लागि पदेन प्रधानमन्त्री, शिक्षामन्त्री बस्छन् त्यो राजनीतिक हस्तक्षेपमुक्त हुनै सक्दैन । त्यसको लागि मैले केही नेपाल संशोधन ऐनमा राखेकी छु ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति पद रिक्त हुनुलगत्तै प्रधानमन्त्री अथवा शिक्षामन्त्री कुलपति हुने व्यवस्था हटाउनुपर्छ, बोर्ड अफ ट्रष्टी मार्फत जानुपर्छ भन्ने कुरा उठ्दै आइरहेको थियो । तर, त्यसो नभएर उपकुलपति छनोट प्रक्रिया अगाडि बढाइएको छ । तपाईंहरूले भने जस्तो कुलपति रहने व्यवस्था नै परिवर्तन गरेर जाँदा समय लाग्छ भन्ने तर्क छ नि ?

सुमना श्रेष्ठ : हामीले लिनियर्ली कुरा किन धेरै सोच्छौं ? धेरै काम एकैसाथ गर्न सकिन्छ । उपकुलपतिको लागि गर्नुपर्ने काम गर्नुपर्छ । तर हाम्रो मुख्य ध्येय त त्रिविमा पटक्कै राजनीतिक हस्तक्षेप हुनुहुँदैन भन्ने हो नि त ! त्यसको लागि त कुलपति प्रधानमन्त्री हटाउने काम पनि त गर्नुपर्छ । र त्यो काम पनि अहिले गर्न सकिन्छ । त्यो पनि गर्ने हो, यो पनि गर्ने हो । यो गरेपछि अथवा त्यो भएपछि मात्रै यो काम गर्छु भन्न मिल्दैन । गर्नैपर्ने कामहरू प्राथमिकताको आधारमा गर्दै जाने हो नि !

सुशन आचार्य : त्यस्तो एउटापछि अर्को काम गर्ने भन्ने हुँदैन । प्रधानमन्त्रीलाई म कुलपति हुन्न भन्नलाई के ले छेक्छ ? सँगै किन गर्न सकिंदैन ? अहिले त झन् तीन महिनाको अवधि छ । तीन महिनाको लागि एक जनालाई राखिसकेको छ भने त्यो तीन महिनाभित्र किन नगर्ने ? तीन महिनामा गर्न नसक्ने काम हो र यो ! यो एउटा बहाना मात्रै हो । त्रिवि सुधार्ने नियत हो भने सम्भव छ । राजनीतिक दलको आधारमा भागबन्डा यति चर्को छ- म अहिले हो भने त्रिविमा छिर्नै सक्दिनथें । त्यहाँ एक जना आंशिक शिक्षक चाहियो भने तीन वटा दलको भर्ना गर्नुपर्ने अवस्था छ, भागबन्डा मिलाउन । त्यसैले कुलपति राजनीतिक दलको नेता हुने व्यवस्था हटाउनैपर्छ । र राजनीतिक दलको संगठनहरू विघटन हुनैपर्छ । विद्यार्थी तथा प्राध्यापकहरूको हक-हित तथा शैक्षिक गुणस्तरको लागि एक/एक संगठन हुनुपर्छ ।

त्रिभुवन विश्वविद्यालयको सुधार गर्नुपर्छ भनेर सबैले भनिरहेका छन् तर त्रिविमा बिग्रिएको के हो ?

सुशन आचार्य : त्रिविको सबै क्षेत्र सुधार गर्नुपर्नेछ । जस्तो त्रिवि सेवा आयोगमा हेरौं । पूर्व पदाधिकारीहरूले त्रिवि शिक्षक छनोट, बढुवाको पाठ्यक्रम परिमार्जन गरेर शिक्षक छनोट मापदण्डमा कडाइ गरेको थियो । तर, फेरि अहिले त्यो मापदण्ड घटाएर विज्ञापन गर्ने भनेपछि मुद्दा परेको छ । यो एउटा उदाहरण भयो तर हरेक क्षेत्र त्यस्तै छ । प्रशासन, विद्यार्थी सबैतिर यस्तै छ । त्यसैले त्रिवि सुधार गर्नको लागि सबैभन्दा पहिला टाउको परिवर्तन गर्नुपर्छ । त्यसको लागि प्रधानमन्त्री कुलपतिबाट हट्नुपर्छ ।

विद्यानाथ कोइराला : त्रिविको तीन वटा ठाउँ सुधार हुनुपर्छ । पहिलो ठाउँ प्राज्ञिक सुधार । नेतृत्वमा कुलपति अथवा उपकुलपति के हो । त्यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूसँग, स्थानीयहरूसँग भएको विज्ञतालाई कक्षासँग जोड्ने । यो प्राज्ञिक सुधार हुन अत्यन्तै आवश्यक छ । दोस्रो प्रशासनिक सुधार । त्यो भनेको त्रिभुवन विश्वविद्यालय ठूलो भयो । यसलाई सातवटै प्रदेशमा टुक्रयानुपर्छ । त्यसले प्रशासन सहज बनाउँछ । त्यसले पाठ्यक्रम, पाठ्यपुस्तक, परीक्षा आफैं गर्छ । अहिलेको शिक्षक, कर्मचारी, विद्यार्थीले मुद्दामा आधारित राजनीति गरोस् । गाउँमा खाली भएको जमिनलाई उत्पादनसँग जोड्ने, विदेशिरहेको विद्यार्थीलाई नेपाल भित्र्याउने कुरा के हो भनेर संसद्को अभ्यास, पालिकाको अभ्यास गरेर काम गर्नुपर्छ । अहिलेको विद्यार्थी थर्काएर खाने खालका छन् । उनीहरूलाई लुटिखानेबाट गरिखाने कसरी बनाउने भन्ने शिक्षा दिनुपर्छ ।

अर्को जनसम्पर्कको कुरा । पछिल्लो २२ वर्षअघिको तुलनामा करिब १० लाख पढ्ने उमेरका केटाकेटी घटेका छन् । पढ्ने उमेरका विद्यार्थी नै घटेपछि विश्वविद्यालय बन्द गर्ने कि जनतालाई पढाउने । कृषकलाई पढाउने हो कि, व्यापारीलाई, राजनीतिज्ञलाई, कर्मचारीलाई पढाउने कसलाई पढाउने भनेर लचिलो ढंगबाट गयो भने त्रिवि सुधार हुन्छ ।

सुशन आचार्य : त्रिवि सुधारको कुरा गर्दै गर्दा विश्वविद्यालय अनुदान आयोगलाई पनि छोड्न हुँदैन । किनभने सामुदायिक क्याम्पस नियमन अनुगमन आयोगले गर्छ ।

अहिले उपकुलपति नियुक्ति एउटा प्रक्रियामा गइसकेको छ । विधि संशोधन गर्नुपर्ने छुट्टै बहस होला तर अहिलेसम्मको अवस्था हेर्दा यही विधि प्रक्रियाबाट आउने सम्भावना देखिन्छ । त्रिविलाई कस्तो उपकुलपति चाहिं आवश्यक हो ?

सुमना : हैन, त्यस्तो भन्न मिलेन । प्रधानमन्त्रीले पनि प्रतिबद्धता गर्नुभएको छ । विधि संशोधन हुन्छ । र, कस्तो व्यक्ति आउनुपर्छ भन्ने कुरा चाहिं अहिले हामीले प्रकाशन गर्ने जर्नल वर्गीकरणमा सुधार गर्ने व्यक्ति हुनुपर्छ । अर्को राजनीतिज्ञहरूले मनलाग्दी बजेट ल्याउँछ, नीतिनिर्माणका लागि आवश्यक तथ्यांक पाइँदैन त्यसको लागि हाम्रो आफ्नै अनुसन्धानमूलक तथ्यांक तयार गर्ने हुनुपर्छ । अर्को बीसीए कार्यक्रम मानविकीमा राखिएकै कारणले नेपाल राष्ट्र बैंकले खुलाएको रोजगारमा जाने अवसर मिलेन । यस्ता विषयहरूमा नतिजा आउने गरी काम गर्ने व्यक्ति हुनुपर्छ ।

सुशन : पहिलो कुरा त त्रिविलाई यथास्थितिमा ल्याउनकै लागि मात्र पनि राजनीतिक दलको प्रभाव नपर्ने नेतृत्व चाहिएको छ । कुनै त्रिविका कुनै पनि विभागीय प्रमुख, उपप्रमुख पद रिक्त भयो भने नेताहरूले आफ्नो मान्छे नियुक्ति गरिदेऊ भनेर मन्त्रीहरूले फोन गर्ने गर्छन् । त्यस्ता नेता तथा मन्त्रीहरूको कुरा मान्ने अथवा नेताले भनेको कुरा हस् हजुर भन्ने व्यक्ति हुनुभएन ।

सुमना : यसमा थप्नुपर्दा भर्खर त्रिवि परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट हृयाक भएको छ । त्यहाँ कसैको लापरवाहीको कारणले भएको हो नि त ! हो त्यस्तो अवस्थामा त्यस्ता कर्मचारीलाई कारबाही गर्न सक्ने हैसियतको उपकुलपति चाहिएको हो ।

विद्यानाथ : संसारमा प्राज्ञिक भन्ने कुरा चाहिं निःशुल्क छ । कुनै व्यक्तिले प्राज्ञिक सल्लाह आवश्यक भएको महसुस गर्‍यो भने प्राज्ञिक व्यक्तिहरूले सहजै सल्लाह दिन्छन् । त्यसैले त्यस्ता व्यक्तिहरूको सल्लाह लिएर, अथवा अब के गरौं भनेर सल्लाह लिएर त्यसको आधारमा हिंड्ने खालको मान्छे भयो भने पुग्यो ।

अहिलेकै अवस्थामा अथवा चरम दलीयकरण छ भन्ने स्पष्ट छ । यहाँहरूले पनि त्यही भनिरहनुभएको छ । अब आउने उपकुलपतिले हामीलाई चाहिएको सुधारको काम गर्न सक्ने अवस्था छ ?

सुशन : यो एकदमै चुनौतीपूर्ण छ । हो, त्यहाँ असहयोग नै गर्छन् ।

सुमना : असहयोग भयो भने निकाल्न पाइँदैन ? गर्न सकिने कारबाही गर्ने हो । त्यो पनि गर्न सकिएन भने मैले सकिनँ भनेर राजीनामा दिने हो । हिजो बालेन, हर्क साम्पाङ आउँदा पनि सक्दैन, भित्रबाट असहयोग हुने भएकोले सकिंदैन भनिएको थियो । तर, उनीहरूले काम त गरिरहेका छन् । स्टिलको मेरुदण्ड भएको हुनुपर्छ । यत्तिका वर्ष राजनीतिक दलदलमा परेकोलाई निकाल्न असहयोग हुन्छ भने कर्मचारीलाई पनि कारबाही गर्न सकिने व्यवस्था छ । त्यसरी कारबाही गर्ने आँट लिएर जानुपर्छ ।

विद्यानाथ : अस्ति हामीले प्रधानमन्त्रीले मैले मात्रै राजनीतिक हस्तक्षेपमुक्त बनाउने निर्णय गरेको होइन । सत्ता चलाएका सबै राजनीतिक दलले निर्णय गरेको हो भन्नुभयो । त्यसैले सकारात्मक कुरा कहाँ छ भन्दा उहाँहरूलाई पनि सद्बुद्धि पलाएको छ ।

प्रधानमन्त्रीले सबै राजनीतिक दलकोे निर्णय अनुसार राजनीतिक हस्तक्षेप मुक्त बनाउने भनिरहनुभएको बेला केही अगाडि सत्तारुढ दलकै एक युवा नेताले कुलपतिले आफूखुशी निर्णय गर्न पाउनुहुन्न भन्ने धम्कीको शैलीमा भनेको कुरा यहाँले पनि उद्धृत गर्नुभएको थियो । त्यस्तो अवस्थामा प्रधानमन्त्रीले भने जस्तो सबै राजनीतिक दलकै चाहना हो भन्ने विश्वास गर्न सकिन्छ ?

विद्यानाथ : म चाहिं के आशा गर्छु भने अति भइसक्यो । अब यहाँ भन्दा बढी बिग्रने ठाउँ छैन । त्यसैले अब आशा गर्ने ठाउँ मात्रै खोज्ने हो मैले चाहिं । म कहाँनेर ठाउँ देख्छु भन्दा म नेविसंघका केटाकेटीहरूसँग बसेर संवाद गरें । त्यसबेला मैले तपाईंहरूले प्रेम चलाउनेलाई कुटेको हो कि हैन ? डेमोक्रेसी भनेको यही हो, लोकतन्त्र भनेको यही हो ? भनेर प्रश्न गर्दा कसैले पनि विमति जनाएन । त्यसैले एउटा सहमतिको बुँदामा मान्छेहरू विस्तारै आउँदैछन् । अर्को सकारात्मक कुरा डा. धर्मकान्त बास्कोटाले विश्वविद्यालयलाई सात वटा भागमा बाँडौं अथवा त्रिवि सुधार गर्न यसरी काम गरौं भनेर कागज तयार पार्नुभएको छ । त्यसैले अहिलेको महसुस गराइलाई व्यवहारमा उतारौं । छैन, हुँदैन भन्दा पनि अब गर्ने के भन्ने बाटोमा जाऊँ ।

सुमनाः हाम्रो समस्या नै गर्न सक्दैनौं भन्ने हो । अब जे-जे परिस्थिति आउँछ जुध्ने भन्ने मनस्थितिबाट जानुपर्छ । भ्रातृ संगठनले दुःख दिन्छ, हुँदैन भन्ने मानसिकता बोक्यौं भने कहिल्यै परिवर्तन गर्न सक्दैनौं ।

भिडियो तथा तस्बिर : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?