+
+

वास्तुअनुसार घरको भान्छा कस्तो हुनुपर्छ ?

डा. वासुदेवकृष्ण शास्त्री डा. वासुदेवकृष्ण शास्त्री
२०८० माघ २१ गते १७:०९

सूर्य, वायु, चन्द्रमा, जल, पृथ्वी र अग्नि यी ऊर्जाको स्रोत हुन् । सूर्यको किरण, हावाको प्रवाह, पृथ्वीको चुम्बकीय क्षेत्रले तान्नु र यस्ता अन्य ब्रह्माण्डीय ऊर्जाहरूमा हाम्रो जीवन प्रभावित छ । यी ऊर्जाहरूको अत्यधिक फाइदा हामी प्राप्त गर्छौं । प्रकृतिका पाँच तत्त्व सूर्य, वायु, चन्द्रमा, जल, पृथ्वी र अग्निलाई सन्तुलित राख्ने कला नै वास्तु विज्ञान हो ।

वास्तुशास्त्र एक प्राचीन विज्ञान हो, जसले दिशा,  वास्तुकला,  खगोल विज्ञान र ज्योतिषीय ज्ञान पनि सिकाउँछ ।

वास्तशास्त्र के हो ?

‘वास्तु’ शब्दको अर्थ घर वा बस्ने ठाउँलाई जनाउँछ । शास्त्रको अर्थ भनेको शिक्षा हो । बस्ने कसरी भनेर सिकाउने शिक्षा वा कलालाई वास्तुशास्त्र भन्न सकिन्छ ।

यद्यपि, यो एक प्राचीन विज्ञान हो । तर आज पनि यसको प्रयोग गरिन्छ । प्राय:ले घर कुन दिशामा कस्तो बनाउने सबै वास्तुअनुसार गर्छन् । यसो गर्नाले जीवनलाई अनावश्यक रूपमा कठिन बनाउने कुनै पनि वास्तु दोष उत्पन्न नहुने सुनिश्चित हुने वास्तुशास्त्रमा उल्लेख छ ।

यसको महत्व

पृथ्वी, जल, तेज, वायु र आकाश गरी पाँच तत्त्वको सन्तुलन र शरीरको मन, बुद्धि र चित्तको संयोजनलाई प्रकृति भनिन्छ । भूगोलको चार दिशा पूर्व, पश्चिम, उत्तर र दक्षिण दिशाबाट आउने सकारात्मक ऊर्जा र प्रकृतिको सन्तुलन मिलाउनु वास्तुशास्त्रको उद्देश्य हो ।

यसको मुख्य उद्देश्य प्राकृतिक र यसको उपयोगिता शक्तिहरूको सन्तुलन सुनिश्चित गर्नु हो । प्राकृतिक ऊर्जाको उचित प्रयोगले घरमा सुख, शान्ति र समृद्धि ल्याउने यस शास्त्रमा विश्वास छ । वास्तुशास्त्र प्रकृति र ऊर्जाको नियममा आधारित विज्ञान भएकाले घर बनाउँदा वास्तुशास्त्र हेर्न जरुरी हुने बताइन्छ ।

घरको पनि मूल स्थान भान्छाकोठा मानिन्छ । भान्छाकोठा कहाँ कसरी बनेको छ, त्यसले नै घर र परिवारमा सुख शान्ति बन्ने विश्वास गरिन्छ ।

कस्तो हुनुपर्छ भान्छाकोठा ?

खानाले शरीरमा ऊर्जा दिन्छ । जुन भान्छाकोठामा पाक्छ । खाना पाक्ने ठाउँ र त्यो कसरी बनेको छ, कतिको सरसफाइ हुन्छ, खानेकुरा कतिको स्वस्थकर छन् त्यसले नै शरीर कस्तो बन्ने निर्धारण हुन्छ ।  एक जनाको वास्तुशास्त्र अनुसार परिवारका हरेक सदस्य स्वस्थ रहन भान्छाकोठा कुन दिशामा छ भन्ने कुरा महत्त्वपूर्ण हुने बताइन्छ । भान्छामा पनि पाँच तत्त्वको सन्तुलन मिलाउनुपर्छ ।

वास्तुअनुसार भान्छाघर बनाउँदा ध्यान दिनुपर्ने पक्ष

सही दिशा

भान्छा दक्षिण-पूर्व कुनामा हुनुपर्छ । यो कुनालाई आग्नेय कोण भनिन्छ । भान्छामा गरिने कार्यमध्ये अग्निसम्बन्धी काम प्रमुख हो ।

यदि यो दिशातर्फ कसैगरी पनि बनाउन सम्भव नभएमा उत्तर-पश्चिमतर्फ पनि बनाउन सकिन्छ ।

चुलो

भान्छाको दिशा तय गरेपछि भान्छाकोठामा ग्यासको स्ल्याब राख्ने पालो आउँछ । भान्छाको चुलो यस्तो ठाउँमा राख्नुपर्छ कि खाना पकाउँदा मुख पूर्वतर्फ होस् । यसले खाना पकाउने र खानामा सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

नोट

वास्तुशास्त्रमा रङको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । वास्तुका अनुसार भान्छाकोठामा उज्यालो रङको प्रयोग राम्रो मानिन्छ । पहेंलो, गाढा निलो र कालो बाहेक सबै रङ उपयुक्त हुन्छ ।

यस दिशामा खाना नखानुहोस्

खाना पकाउने नियम मात्रै होइन, खाने तरिका पनि वास्तुशास्त्रमा उल्लेख गरिएको छ । जसअनुसार यदि खाना खाने ठाउँ भान्छाकोठामा छ भने यस्तोमा खाना खाँदा अनुहार उत्तर–पूर्व दिशामा हुनु हुँदैन । र, बसेर खाना खाने स्थान वा डाइनिङ टेबलकोठाको मध्यभागमा वा पश्चिम दिशातर्फ बनाउन सकिन्छ ।

सामान

वास्तुशास्त्र अनुसार पानीको धारा उत्तरतर्फ र रेफ्रिजेरेटर लगायत अन्य मेसिनरी सामान कोठाको दक्षिण वा पश्चिम कुनातर्फ राख्नुपर्छ । त्यस्तै, सागसब्जी, अनाज, मरमसला, तेल, घिउलगायत सामग्रीहरु पश्चिमपट्टि राख्नुपर्छ ।

खाना पकाउने व्यक्तिमा सकारात्मक ऊर्जा

भान्छामा खाना बनाउने मानिस खुसी र सकारात्मक भएर काम गरेमा त्यसमा सकारात्मक ऊर्जाको प्रवाह भई खानेकुरा थप स्वादिलो बन्न सक्नेछ । खाना तयार गर्ने व्यक्तिले पूर्वतर्फ फर्किएर खाना तयार गर्नु शुभ हुन्छ ।

भान्छा नजिकै शौचालय

भान्छा नजिकै शौचालय बनाउनु हुँदैन । किनभने शौचालयमा नजिकै भान्छा भएमा सधैं रोगले सताउन सक्छ ।

बत्ती

भान्छामा उज्यालो खालको बत्ती लगाउनुपर्छ । जसले गर्दा रातको समयमा थोरै फोहोर पनि देखेर व्यवस्थापन गर्न सकियोस् ।

सरसफाइ

वास्तुशास्त्र अनुसार भान्छा फोहोर भएमा घरमूलीलाई रोगले सताउँछ । जसकारण भान्छा कोठा सदैव सफा हुनु आवश्यक छ । भान्छाकोठामा सडेगलेका सामानहरू राख्नु हुँदैन ।

फलफूल, सागसब्जी, अन्न सडेमा तत्कालै व्यवस्थित ठाउँमा विसर्जन गर्नुपर्छ । जुठा भाँडाहरू कहिल्यै पनि भान्छामा राति राख्नुहुँदैन ।

विशेषगरी दूध, घिउ, तेल, पानी, चामल, दाल, नुन, मसला, खाना जहिले पनि छोपेर राख्नुपर्छ । यी कुरामा ध्यान नदिए फोहोरले अनेक रोग निम्त्याउन सक्छ ।

भेन्टिलेसन

भान्छामा हावा पास हुने खुल्ला ठाउँ हुनुपर्छ । किनभने भान्छामा चुलोको धुवाँ-धुलो बाहिर पठाउन भेन्टिलेसन चाहिन्छ । त्यति मात्र होइन भान्छा गुम्म हुँदा यसले अनुहारको छाला, आँखा र श्वासप्रश्वासमा पनि समस्या गराउन सक्छ । भेन्टिलेनसले पाकेको खाना वा ताजा तरकारीलाई स्वच्छता प्रदान गर्छ । यसका लागि पूर्वपट्टि फराकिलो झ्याल राख्नुपर्छ ।

भान्छा नजिकै बोटबिरुवा

भान्छामा ठाउँ खाली भएमा त्यहाँ इन्डोर प्लान्टले सजाउन सकिन्छ । यसले भान्छामा अक्सिजनको अभाव हुन दिंदैन । बोटबिरुवाले भान्छाको शोभा त बढाउँछ नै ताजापन पनि दिन्छ ।

त्यस्तै, भान्छा नजिकै बरण्डा वा कौसी छ भने धनियाँ र लसुन जस्ता तरकारी आफैं फलाएर खान सकिन्छ ।

पोस्टर

भान्छामा सजावटको लागि ताजा फलफूलको पोस्टर टाँस्न सकिन्छ । यसले भान्छालाई आकर्षक त बनाउँछ नै, हरिया तरकारी तथा फलफूलको पोस्टरले सकारात्मक ऊर्जासमेत दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?