+
+

कर्णाली प्रदेशसभाको स्थापना दिवशमा सांसदकै बेवास्ता

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते १९:५९

२१ माघ, सुर्खेत । कर्णाली प्रदेशसभाको छैटौं स्थापना दिवसको कार्यक्रममा आइतबार झण्डै आधाजसो प्रदेशसभा सदस्यहरु अनुपस्थित भए । २१ माघ २०७४ मा पहिलो बैठक बसेको दिन पारेर आयोजित स्थापना दिवशको कार्यक्रममा ४० मध्ये २६ सांसद मात्र उपस्थित भए ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपेन्द्र गुरुङ भन्छन्, ‘हामीले खबर त सबै माननीयज्यूहरुलाई गरेका थियौं । तर धेरै माननीयज्यूहरु आजको कार्यक्रममा सहभागी हुनसक्नुभएन, माननीयज्यूहरु सुर्खेत नभएकाले पनि उपस्थित हुन नसक्नुभएको होला ।’

सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, कांग्रेसकै सांसदहरू राजीवविक्रम शाह, सुरेश अधिकारी, देवेन्द्र शाही, एमाले सांसद विनोदकुमार शाह, शेरबहादुर बुढा, दक्षिणा शाही, माओवादीबाट कृषि मन्त्री भीमप्रकाश शर्मा, सांसद विन्दमान विष्ट, महेन्द्र केसी, लगायतका सांसदहरू कार्यक्रमका सहभागी भएनन् ।

कार्यकालका हिसाबले दोस्रो कार्यकालका सांसदका लागि यो पहिलो स्थापना दिवस थियो । सत्तापक्षकै सांसदहरु आफ्नै स्थापना दिवसमा उपस्थित नहुँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता यमलाल कँडेलले प्रदेश सभाको गरिमा र प्रभावकारितामाथि नै प्रश्न उठाए । उनले प्रदेश सभाको भूमिका निष्प्रभाबी र कमजोर भएको समेत बताए ।

‘हिजोको भन्दा आज प्रदेश सभा निष्प्रभावी र कमजोर बनेको छ । त्यसलाई प्रभावकारी बनाउने प्रदेशसभा सचिवालयको प्रमुख जिम्मेवारी हो,’ नेता कँडेलले भने, ‘अवस्था देख्दा सामान्य लाग्छ, तर जटिल छ । अहिलेको जस्तै दिनचर्या र बुझाइ भयो भने धेरै पर हैन । भोलि, पर्सि दिनदिनै कठिन परिस्थिती निर्माण हुनेछन् ।’

मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश संरचनामाथि प्रश्न उठाइने कुरा भ्रमपूर्ण रहेको बताए । ‘अहिले नै संघीयतामाथि प्रश्न उठाइनु भ्रमित कुरा हो’, स्थापना दिवसको कार्यक्रममा उनले भने, ‘संघीयता र प्रदेश संरचनामाथि दिन प्रतिदिन विश्वास घट्दो छ भन्ने कुरा सत्य होइन, यस्ता भ्रमित कुराको पछि लाग्नु हुँदैन ।’

उनले प्रतिगामी प्रवृत्ति र सोच भएकाहरुले नै संघीय संरचनामाथी प्रश्न उठाएको बताए । ‘प्रदेश भारी भयो भन्नेहरुलाई म पञ्चायतकालको संरचना हेर्न अनुरोध गर्छु’ उनले भने ।

प्रदेश सरकार निर्माण गर्ने, प्रादेशिक कानुन बनाउने, प्रदेश सरकारको काम कारवाहीमा निगरानी गर्ने र जनसरोकार विषयमा छलफल गर्ने थलो प्रदेश सभा लामोसमय यता सञ्चालन हुन सकेको छैन । चालु आर्थिक वर्ष २०८०/८१ को बजेट बजेट पारित र केही कानुन निर्माण गरेपछि गत असोजमा अन्त्य गरिएको प्रदेशसभा अधिवेशन अझै सुरु भएको छैन ।

प्रदेशसभामा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास गरी ४ वटा संसदीय समिति छन् । ती समितिहरु पनि निस्कृय जस्तै छन् । केही समितिहरुको छिटफुट बैठक बस्ने गरेको छ । प्रदेश सभा बैठक नबस्दा सांसदहरु फुर्सदिला बनेका छन् ।

प्रदेशसभाले पहिलो पाँच वर्षे कार्यकालमा ५३ वटा कानुन निर्माण गरेको थियो भने झण्डै एक दर्जन विधेयक प्रदेशसभामा विचाराधीन थिए ।

प्रदेशसभाको कार्यकाल सकिएपछि ती विधेयक स्वतः निष्क्रिय भए । दोस्रो कार्यकालको एक वर्षमा जम्मा तीन वटा कानुन मात्रै पास भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

४० सदस्यीय प्रदेशसभामा कांग्रेस १४, माओवादी केन्द्र, १३, एमाले १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका १/१ सांसद छन् । माओवादी, कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनको प्रदेश सरकार छ । प्रदेश सभाले पनि प्रभावकारी काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?