+
+

संसदमा व्यवस्थाविरोधी मतविरूद्ध प्रस्तुत हुन माओवादी सांसदलाई प्रचण्डको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते ११:३३

२२ माघ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसदमा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देश गरेका छन् ।

संघीय संसदको अधिवेशन सुरु हुनु अगाडि सोमबार बिहान सिंहदरवारमा बसेको पार्टीको संसदीय दलको बैठकमा उनले पार्टीको नीति एवं सरकारले गरेका कामबारे संसदमा दरिलोरूपमा प्रस्तुत हुन निर्देश गरेका हुन् ।

‘तपाईंहरू राम्रो तयारीका साथ संसदमा प्रस्तुत हुनुहोस् । सरकारका काम र पार्टीको नीतिअनुसार दर्बिलो भएर प्रस्तुत हुनुहोस्’ प्रचण्डले भनेका छन्, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अधिकतम कोशिस गरिएको छ । यी विषयमा सदनमा आफ्ना विषय प्रस्तुत गर्नुहोस् ।’

आगामी आर्थिक वर्षमा परिणाम निस्किनेगरी बजेट ल्याउने तयारी गरिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले तीन करोडभन्दा साना योजनाहरू केन्द्रमा नराखी तल्लो तहमा पठाइने बताए ।

संघीय लोकतन्त्र आफूहरूको सक्रियतामा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘यो व्यवस्था हामीले ल्याएको हो । यसको रक्षा र सुदृढ गर्ने दायित्व पनि हाम्रो नै हो । त्यसैले व्यवस्था विरोधी मतका विरूद्ध र व्यवस्थाको पक्षमा वैचारिक रूपले प्रस्तुत हुनुपर्छ ।’

नीति तथा कार्यक्रम र बजेट निर्माणमा नयाँ पहल लिइएको जानकारी दिँदै उनले सांसद र जनताले समेत बहस गर्ने र उनीहरूको कुरा पनि समावेश हुनेगरी नीति तथा कार्यक्रम र बजेट बनाउने बताए ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धि विधेयक यही अधिवेशनबाट सहमतिमा पास हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘सकेसम्म सहमतिबाट टीआरसी विधेयक टुंग्याउँदा सबैको हितमा हुन्छ । सोही प्रक्रियामा जानुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?