+
+

सेयर बेचेको पैसा दिन ढिला गर्छन् ब्रोकर, के हो वास्तविकता ?

सेयर बेचेको तीन दिनभित्र विक्रेतालाई रकम भुक्तानी गर्नुपर्छ, तर ब्रोकर भन्छन्– केवाईसी अपडेट नहुनु र प्राविधिक समस्याका कारण ढिलाइ हुन्छ ।

कमल नेपाल कमल नेपाल
२०८० माघ २२ गते १९:२४

२२ माघ, काठमाडौं । ७ माघमा सेयर बिक्री गरेका अर्जुनराज शर्माको बैंक खातामा ब्रोकर कम्पनीले ‘टी प्लस थ्री’ व्यवस्थाअनुसार १० गतेभित्र पैसा हालिदिनुपर्ने थियो । तर, १५ माघसम्म पनि पैसा नआएपछि उनी ब्रोकर कार्यालय पुगे । समयमै पैसा नपाएको गुनासो गरे ।

ब्रोकरले केवाईसी फारम भरेपछि मात्रै खातामा पैसा आउने बतायो । उनले केवाईसी फारम भरेर बैंकको नयाँ खाता नम्बर पनि दिए । तर, पनि पैसा नआएपछि उनले नेपाल धितोपत्र बोर्डमा उजुरी दिए । त्यसपछि मात्रै ब्रोकरबाट उनले सेयर बेचेको पैसा प्राप्त गरे ।

उनी मात्रै होइनन्, धेरै लगानीकर्ताले सेयर बिक्री गरेको पैसा समयमै फिर्ता नपाएको गुनासो गर्ने गरेका छन् । समाजिक सञ्जालका पेजहरुमा धेरैले ब्रोकर कम्पनीहरुप्रति आक्रोश जनाउने गरेका छन् ।

ब्रोकर कम्पनीहरुले समयमै भुक्तानी नदिएका गुनासोहरु धितोपत्र बोर्डमा बाक्लै आउने गरेको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए । ‘बोर्डमा गुनासोहरु सम्बोधनका लागि छुट्टै इकाइ छ, गुनासा आइसकेपछि सो इकाइले ढिलाइ हुनुका कारणबारे कम्पनीसँग जवाफ माग्ने, सचेत गराउने काम गर्छ,’ प्रवक्ता श्रेष्ठले भने । वाह्य कारण नभइ ब्रोकर कम्पनीले नै ढिलाइ गरेमा कारबाही पनि हुने उनले बताए ।

धितोपत्र बोर्डको गुनासो इकाइमा लगानीकर्ताले आफ्ना समस्याहरु टिपाउन सक्छन् । [email protected] मा इमेल गरी वा हटलाइन नम्बर १६६००१४४४३३ मा गुनासो टिपाउन सकिने बोर्डले जनाएको छ ।

यहाँ आएका गुनासोको सान्दर्भिकता र औचित्य हेरी तत्कालै समाधानका लागि पहल गरिने बोर्डका सहप्रवक्ता तेजप्रसाद देवकोटाले बताए । ब्रोकर कम्पनीहरुले भुक्तानी ढिला गर्नुको भित्री रहस्य उनीहरुको उधारो रकम नउठ्नु हो ।

यसअघि ठूला लगानीकर्तालाई ब्रोकर कम्पनीहरुले उधारो कारोबार समेत गराइदिए, तर ठूला लगानीकर्ताले समयमै भुक्तानी गर्न नसकेपछि ब्रोकर कम्पनीहरुले बिक्रीकर्ताको ‘समय’ केही लम्ब्याउने गरेको लगानीकर्ताको आरोप छ ।

‘समयमै भुक्तानी नहुनुमा ब्रोकर कम्पनीहरुले प्राविधिक कारण देखाउने गरेका छन्, वास्तविकता यो हो कि अर्कै हो भन्ने विषय रहस्यमय देखिन्छ’ सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले भने ।

आफूहरुको उधारो रकम नउठेर बिक्रीकर्ताले पैसा नपाएको भन्ने विषय पूर्ण रुपमा गलत रहेको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले दाबी गरे ।

सेयर खरिद गरेका ग्राहकबाट आफूहरुले समयमै भुक्तानी नपाए पनि तिर्नुपर्ने रकम समयमै भुक्तानी गर्ने गरेको उनको दाबी छ ।

‘सेयर खरिद गरेकाहरुबाट ब्रोकर कम्पनीले उठाउनुपर्ने पैसा उठेन भने पनि सेयर बिक्री गरेकाहरुलाई भुक्तानी गर्छौं, हाम्रो पैसा उठेन भन्दैमा पैसा रोक्ने काम गर्दैनौं, त्यस्तो कार्य गर्न मिल्दैन,’ उनले भने ।

ब्रोकर कम्पनीका सञ्चालकहरु कुनै नियतबस ग्राहकको रकम नदिएको नभई प्राविधिक समस्या र ग्राहकको बैंक खाता नमिल्दा ढिला र समस्या हुने गरेको बताउँछन् । कतिपय ग्राहकको बैंक खाता नम्बर परिवर्तन भइसक्ने तर ब्रोकर कार्यालयमा पुरानै खाता नम्बर हुँदा पनि ग्राहकको खातामा पैसा नगएको हुन सक्ने उनीहरुको भनाइ छ ।

सबै ब्रोकर कम्पनीहरुले लगानीकर्तालाई सेयर बिक्री भएको ३ दिनभित्र रकम भुक्तानी गर्ने गरेको सापकोटा दाबी गर्छन् ।

‘कारोबार भएको दिन र अरु ३ दिनभित्र रकम भुक्तानी हुने (टी प्लस थ्री) व्यवस्था लागू छ,’ उनले भने, ‘कहिलेकाहीं प्राविधिक समस्या देखिँदा ढिला हुन सक्छ, कतिपयको बैंक खाता नम्बर नमिल्दा रकम नगएको हुन सक्छ ।’

मुख्यतः ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को सिस्टममा समस्या आउनेबित्तिकै भुक्तानीमा समस्या हुने गरेको ब्रोकर कम्पनीहरु बताउँछन् । टीएमएसबाट एनसीएचएलको सिस्टममार्फत ग्राहकले खातामा पैसा पाउने हुन् । सिस्टम सर्भरमा देखिने समस्या, सीमित क्षमताका कारण ठूलो कारोबार हुँदा नधान्ने गरेको ब्रोकर सञ्चालकहरुको भनाइ छ ।

एनसीएचएलका सीईओ निलेशमान सिंह प्रधान भने नेपाल क्लियरिङ हाउसको अनलाइन भुक्तानीमा त्यस्तो समस्या नरहेको बताउँछन् । दैनिक १० लाख वटासम्म कारोबारको प्रक्रिया सहज रुपमा पूरा हुने गरेको उनी बताउँछन् । अहिले दैनिक अधिक कारोबार हुँदा ४/५ लाखसम्म पुग्ने गरेको छ ।

‘हामीसँग छुट्टै सपोर्ट सिस्टमको डिपार्टमेन्ट रहेकाले ब्रोकर कम्पनीहरुले देखिएका समस्याबारेमा जानकारी गराउनुभयो भने समाधान गर्छौं,’ उनले भने ।

कतिपय नियमित ग्राहकले सेयर किनबेच गरिरहने भएकाले ग्राहककै आग्रहमा बैंक खातामा पैसा नहालिदिने गरेको तर पुनः सेयर खरिद गरेर कारोबार मिलाउने गरेको अध्यक्ष सापकोटाले बताए ।

‘नियमित किनबेच गरिरहनेले पैसा खातामा नहालिदिन, त्यहीं पैसा कोलेट्रोलमा जम्मा गरिदिन भन्ने गरेका छन्,’ उनले भने ।

हाल सेयर खरिद गर्नुअघि लगानीकर्ताले टीएमएसमार्फत कोल्याट्रल (धितो) लोड गर्नुपर्ने व्यवस्था छ । सो धितो रकमको ४ गुणासम्मको सेयर खरिद गर्न मिल्छ । धितो लोड नभई सेयर खरिद गर्न मिल्दैन । यसअघि माघको ४ र ५ गते टीएमएसमा आएको समस्याले केही दिन भुक्तानी कार्यमा समस्या देखिएको नासा सेक्युरिटिज कम्पनी (ब्रोकर नम्बर ५८) का प्रबन्ध सञ्चालक मदन पौडेलले बताए ।

तर, सेयर लगानीकर्ताको अधिकांश गुनासो नासासँगै हुने गरेको छ । ‘हाम्रा ग्राहक संख्या साढे ४ लाख छन्, केहीका ४/५ हजार मात्रै होलान्, ग्राहक धेरै हुँदा हाम्रो सिस्टममा बेलाबेला समस्या पनि आउँछ, तर थोरै ग्राहक हुनेका हकमा त्यस्तो समस्या छैन,’ पौडेलले दाबी गरे ।

ग्राहकले ब्रोकर कम्पनीलाई उपलब्ध गराएको बैंक खाता नम्बर परिवर्तन हुँदा पनि समस्या देखिने गरेको उनको भनाइ छ । ‘अर्को बैंकमा मर्ज वा एक्विजिसन भई कुनै बैंक वा वित्तीय संस्था गइसकेपछि खाता नम्बर परिवर्तन हुन्छ, तर यहाँ सिस्टममा पुरानै खाता नम्बर रहिरहन्छ, यसले गर्दा भुक्तानी नजाने समस्या छ,’ पौडेलले भने ।

खासगरी मर्ज र एक्विजिसन भएका बैंकमा खाता हुनेहरुले परिवर्तित खाता नम्बर ब्रोकर कार्यालयमा अपडेट गराउनुपर्ने उनले बताए । ‘हामीले बारम्बार ब्रोकर केवाईसी अपडेट गर्नु भन्दै इमेल तथा फोन गरेका हुन्छौं तर उहाँहरुले ढिलाइ गर्दा भुक्तानीमा पनि ढिलाइ हुने गरेको हो,’ उनले भने ।

सेन्चुरी, जनता, एनसीसी, मेगा, सिभिल, सनराइज लगायत मर्जमा गएका बैंकमा खाता भएकाहरुले ब्रोकर कार्यालयमा गई खाता नम्बर अपडेट गराउनुपर्छ । त्यस्तै मर्ज गर्ने बैंककै खाता नम्बर परिवर्तन भइसकेको अवस्थामा पनि केवाईसी फारम भरेर नयाँ अपडेट गराउनुपर्दछ ।

‘कसैले खाता नम्बर परिवर्तन भएको भनेर फोन गरेरै जानकारी गराए पनि हामीले नयाँ खातामा भुक्तानी हालिदिने गरेका छौं,’ उनले भने, ‘सेयर कारोबार गर्ने भइसकेपछि ग्राहक पनि सचेत हुनुपर्छ, कसरी सेयर किनबेच गर्ने, खातामा पैसा आएन भने किन आएन बनेर बुझ्ने र आवश्यक प्रक्रिया पूरा गर्नु त पर्‍यो नि ।’

कतिपयले केवाईसी विवरण अपडेट नगरेको, परिवर्तित बैंक खाता नम्बर नभएकोजस्ता समस्याका कारण ब्रोकर कम्पनीहरुले पनि दुःख पाइरहेको उनको भनाइ छ ।

सामाजिक सञ्जालहरुमा ब्रोकरप्रति दुष्प्रचार गर्नुअघि ब्रोकर कार्यालयमा नै पैसा किन आएन भनेर जानकारी लिन उनी आग्रह गर्छन् । अर्कोतर्फ वैदेशिक रोजगारमा रहेकाहरुले जुन बैंक खाता नम्बरबाट सेयर भर्ने गरेका छन्, सो खातामा पैसा जम्मा गर्न मिल्दैन ।

‘रेमिट्यान्स खातामा यहाँबाट पैसा जम्मा गरिदिन मिल्दैन, अर्को कुनै खाता नम्बर नभएमा भुक्तानी हुँदैन,’ सापकोटाले भने । ब्रोकर कम्पनीलाई रेमिट्यान्स खाता दिएको खण्डमा त्यस्तो अवस्थामा भुक्तानी रोकिएको हुन सक्ने उनले बताए ।

यसअघि ब्रोकर एसोसिएसनले ग्राहकको भुक्तानी नहुनुमा प्राविधिक समस्या भन्दै विज्ञप्ति नै जारी गरेको थियो ।

लेखकको बारेमा
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?