+
+

म मात्र होइन, सरकार नै घेराबन्दीमा छ : गृहमन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते १७:०८

२३ माघ, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार घेराबन्दीमा परेको बताएका छन् । ‘म मात्र होइन, सरकार नै घेराबन्दीमा छ’ मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा गृहमन्त्री श्रेष्ठले भने ।

सोमबार र मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा सांसदहरुले सरकारको सन्दर्भमा अनेकन विषय बजारमा आइरहेको भन्दै प्रधानमन्त्री एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री श्रेष्ठसँग जिज्ञासा राखेका थिए ।

बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा विवाद, टेरामक्स प्रविधि खरिद प्रकरणमा भएको भनिएको अनियमिततामाथिको अनुसन्धानले सरकारको आयुका सन्दर्भमा प्रश्न उठाएको भन्ने विषय के हो भनी उनीहरुले राखेका थिए । साथै, तारागाउँ स्थित सरकारी जग्गा विवादको विषयमा सिआइबीले अनुसन्धान अगाडि बढाएको विषयमा समेत सांसदहरुले जिज्ञासा राखेका थिए ।

कतिपयले गृहमन्त्री फेरेर गठबन्धन टिकाउन लागिएको भन्ने समेत सुनिएको भनी प्रश्न गरेका थिए ।

जवाफमा गृहमन्त्री श्रेष्ठले कुनै पनि प्रकरणको नाम लिएनन् । तर, चुनाव लगत्तै माओवादी केन्द्रको नेतृत्वमा सरकार नबनाउन बिभिन्न शक्ति केन्द्रहरु लागि परेको स्मरण गरे ।

‘सुशासनको अभियान अन्तर्गत एक्सनमा जान थालेपछि ‘म मात्र होइन, सरकार नै घेराबन्दीमा छ’ गृहमन्त्री श्रेष्ठको भनाइ उद्धृत गर्दै माओवादीका एक सांसदले अनलाइनखबरसँग भने ।

पार्टी र सरकारको नेतृत्वले सुझबुझका साथ आवश्यक कदम चालेको उनको भनाइ छ । उनले भनेका ‘वर्तमान परिस्थितिको आंकलन पूर्ववत हो । तथापि, विकसित परिस्थितिको ठोस मुल्यांकन गरेर नेतृत्वले सुझबुझका साथ निर्णय लिन्छ ।’

सांसदहरुले प्रधानमन्त्री र गृहमन्त्रीको बीचमा समेत समन्वय अभाव भएको भनी सार्वजनिक रुपमा टिप्पणी भएको भनी सोधेका थिए । जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले भनेका छन्, ‘उहाँ (प्रचण्ड) को स्पिरिटकै आधारमा गृहमन्त्रालय चलेको छ ।’

गृहमन्त्री श्रेष्ठले प्रधानमन्त्री प्रचण्ड माओवादी केन्द्रको मात्रै नभएर देशकै नेता भएको भनी प्रशंसा समेत गरे ।

माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेका अनुसार गृहमन्त्री श्रेष्ठले भनेका छन्, ‘अहिलेको अवस्थामा प्रचण्ड हाम्रो नेता मात्रै होइन । उहाँ देशकै नेता हो । देशलाइ एकताबद्ध बनाउँदै उहाँले लैजानु भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?