+
+

केयूकेएल कर्मचारीले मागे स्थायी सीईओ, भन्छन्– मन्त्री र सचिवले हस्तक्षेप गरे हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते १९:५०

२५ माघ, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) कर्मचारीले स्थायी प्रकृतिको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति माग गरेका छन् ।

केयूकेएल सञ्चालन गर्न स्थायी प्रकृतिको सीईओ अत्यावश्यक भएको भन्दै केयूकेएल सञ्चालक समितिले खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने कार्यविधि अवलम्बन गरी अन्तिममा नियुक्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन नसक्नु लज्जास्पद र दुर्भाग्यपूर्ण रहेको आधिकारिक ट्रेड युनियनले जनाएको छ ।

सीईओ नियुक्ति प्रक्रिया क्रममा सञ्चालक समिति सदस्यहरुले एडभान्स घुस लिएको आरोप लागेपछि सीईओ नियुक्ति विवादित बनेको छ ।

ट्रेड युनियनले खानेपानी मन्त्री महिन्द्र राय यादव र सचिव सुरेश आचार्यको सक्रियतामा यथाशक्य छिटो केयूकेएलमा स्थायी प्रकृतिको सीईओ नियुक्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन आग्रह गरेको हो ।

‘केयुकेएलमा उत्पन्न समस्याका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यालयबाट समेत सहजीकरणका लागि ध्यानाकर्षण गराउन चाहन्छौं,’ केयूकेएल कर्मचारी युनियनले बिहीबार विज्ञप्ति जारी गरी भनेको छ, ‘अन्यथा, अप्रिय निर्णय गर्न केयूकेएल आधिकारिक ट्रेड युनियन बाध्य हुनेछ ।’

ट्रेड युनियनले बहालवाला अस्थायी प्रकृतिको सीईओ पदपूर्ति सुचारु नभएको र मेलम्ची खानेपानी चुहावट नियन्त्रण लगायत दुरगामी महत्वका निर्णय हुन नसकेकाले केयुकेएल गम्भीर संकटमा रहेको जनाएको छ ।

उपत्यकामा मेलम्ची खानेपानी उपलब्ध भएपछि केयूकेएलका कर्मचारी व्यवस्थापनमा चौबिसै घण्टा खटे पनि आलोचित हुँदा मनोवल कमजोर भएको युनियनले जारी गरेको विज्ञप्तिमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?