+
+

सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयमा पनि उपकुलपति रिक्त हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते २०:०६

२५ माघ, काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयमा पनि उपकुलपति पद एक महिनाभित्र रिक्त हुने भएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल १८ फागुनमा र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल १७ फागुनमा सकिँदैछ ।

१७ फागुनमा नै उपकुलपति पद रिक्त हुन लागेको पूर्वाञ्चल विश्वविद्यालयमा भने उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिसकेको छ । एकैजसो मितिमा उपकुलपति पद रिक्त हुन लागेको सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयमा भने उपकुलपति नियुक्ति प्रक्रिया अघि बढेको छैन ।

मंगलबार शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा बनेको छनोट तथा सिफारिस समितिले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदको लागि विज्ञापन गरिसकेको छ । तर बाँकी दुई विश्वविद्यालयको उपकुलपति पदको विज्ञापन खोल्न भने समय लाग्ने मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बताए ।

गत पुस पहिलो हप्ता ११ विश्वविद्यालयका उपकुलपतिहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटघाटमा बोलाएका थिए । तर, अन्तिम समयमा कार्यव्यस्तता देखाउँदै उनी छलफलमा उपस्थित हुन सकेनन् । त्यसपछि उपकुलपतिहरुले मुख्य सचिव, शिक्षा सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवलाई यी तीन विश्वविद्यालयमा उपकुलपति पदको लागि विज्ञापन खोल्न ढिला भइसकेको जानकारी गराएका थिए ।

सुुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मरराज जोशी भन्छन् ‘हामीले यी तीन विश्वविद्यालयमा विज्ञापन गर्न ढिला भइसकेको जानकारी गराएका हौं । पूर्वाञ्चलको भर्खरै भयो अझै दुई वटाको कहिले हुने हो थाहा छैन ।’

उपकुलपतिहरुले विश्वविद्यालयहरुमा कम्तीमा ६ महिना अघि नयाँ उपकुलपतिको लागि विज्ञापन गर्नुपर्ने र ३ महिनाअघि नियुक्ति गर्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?