+
+

पाकिस्तान चुनाव : सुरुवाती रुझानमा इमरान खानको पार्टी पीटीआई अगाडि

सबैभन्दा धेरै सिटमा अग्रता देखिएपछि उत्साहित भएका पीटीआईका कार्यकर्ताहरुले ठाउँठाउँमा खुसियाली जुलुस निकालेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते ६:११

२६ माघ, काठमाडौं । पाकिस्तानमा बिहीबार भएको आम निर्वाचनको मत गणना जारी छ । सुरुवाती रुझानमा पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको पार्टी पीटीआई समर्थित उम्मेदवारहरु सबैभन्दा अगाडि छन् ।

पाकिस्तानका मिडियाहरुका अनुसार १२० सिटमा पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारहरु अगाडि छन् । पीटीआईका अध्यक्ष गौहर रजाले भने आफूहरु १५० भन्दा बढी सिटमा अगाडि रहेको दाबी गर्दै पहिलो पटक जेलमा रहेको एक कैदी (इमरान खान) देशको प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

पाकिस्तानको नेशनल एसेम्लीमा कुल ३३६ सिटमध्ये २६५ सिटमा बिहीबार निर्वाचन भएको थियो । बाँकी सिट आरक्षित छन् । सरकार बनाउनका लागि १६९ सिट जित्नुपर्दछ ।

वर्तमान सरकारले पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार आरोपमा १४ वर्ष जेल सुनाउँदै उनको पार्टी पीटीआईलाई निर्वाचन लड्न समेत प्रतिबन्ध लगाएको थियो । त्यसपछि पीटीआई समर्थित उम्मेदवारहरु स्वतन्त्र रुपमा चुनाव लडेका थिए । सरकारले पक्रेर जेलमा हालेका कतिपय उम्मेदवाररु जेलबाटै चुनाव लडेका छन् ।

सबैभन्दा धेरै सिटमा अग्रता देखिएपछि उत्साहित भएका पीटीआईका कार्यकर्ताहरुले ठाउँठाउँमा खुसियाली जुलुस निकालेका छन् ।

पीटीआईको सुरुवाती अग्रतालाई अप्रत्यासित मानिएको छ । किनभने इमरान खान जेलमा भएको र उनको पार्टी पीटीआईलाई चुनाव लड्न प्रतिबन्ध लगाइएकाले नवाज शरीफ नेतृत्वको पार्टीले धेरै स्थानमा चुनाव जित्ने प्रक्षेपणहरु सार्वजनिक भएका थिए । तर मत गणनाको सुरुवाती चरणमा शरीफको पार्टी दोस्रो र बिलावल भुट्टोको पार्टी तेस्रो स्थानमा छन् ।

इमरान खान नेतृत्वको पार्टीका स्वतन्त्र उम्मेदवारहरु अग्रस्थानमा रहेपछि मत परिणाम सार्वजनिक गर्न ढिलाइ गरिरहेको आरोप निर्वाचन आयोगलाई लागेको द डनको अनलाइन संस्करणमा उल्लेख छ ।

सबै निर्वाचन परिणाम आजै सार्वजनिक हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?