
२६ माघ, काठमाडौं । बिक्री आम्दानी घट्दा युनिलिभर नेपालको नाफा खस्किएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि पुस मसान्तसम्म कुल बिक्री आम्दानी १ अर्ब ८४ करोड रुपैयाँ छ ।
जबकि गत वर्ष यसै अवधिमा यस्तो आम्दानी २ अर्ब २० करोड थियो । वस्तुको उपभोगमा कमी आउँदा १६ प्रतिशतले आम्दानी घटेको कम्पनीले स्पष्ट पारेको छ ।
बिक्री आम्दानी घट्दा नाफा पनि २३ प्रतिशत खस्किएको छ । कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएकोमा यो वर्षको सोही अवधिमा ४२ करोड १० लाख कमाएको छ ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २ हजार ७९ रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो आम्दानी १ हजार ९८७ रुपैयाँ थियो । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ४ हजार २१४ रुपैयाँ छ । नेपालको सेयर बजारमा यस कम्पनीको मूल्य सबैभन्दा उच्च छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ४१ हजार ३ सय रुपैयाँ छ ।
प्रतिक्रिया 4