+
+
विचार :

नागरिकमा किन बढ्दैछ कोलाहल ?

अहिले माओवादी र एमालेलाई के गर्ने भन्ने ठेगानै छैन। कांग्रेस रित्तो भाँडो बनेको धेरै भयो। संविधानले खोलेको बाटो पकड्दा नागरिक असन्तोष घटाउन सकिन्छ।

चैतन्य मिश्र चैतन्य मिश्र
२०८० माघ २६ गते ११:३०

हिजोआज नेपालीहरूमा किन आक्रोश र असन्तोष बढ्दो छ ? यो प्रश्नको उत्तर खोज्न पाँच विशेष तर अन्योन्याश्रित कारकहरूलाई एकत्रित गरेर बुझ्नुपर्छ।

त्यसो त अहिले सारा विश्व नै कोलाहल र तीव्र सामाजिक परिवर्तनको अवस्थामा छ। संसारका धेरै मुलुकमा कोलाहल छ। नेपाल मात्र विशिष्ट छैन।

मूलतः पूँजीवादको विषमताका कारण यस्तो भइरहेको छ। लडाइँका कारण राज्यहरूमा एकअर्काप्रतिको द्वेष बढिरहेको छ। लडाइँ भएको ठाउँमा मात्रै होइन, अन्यत्र पनि युद्धबारे मानिसहरूले विभिन्न सोच बोकेर विभिन्न टीकाटिप्पणी गरिरहेका छन्। त्यस्तो प्रतिद्वन्द्वितापूर्ण लडाइँ हुने सम्भावना पहिलाको भन्दा केही न केही बढेको छ, जसले मानिसलाई रन्काएको छ। त्यस्तै, मानिसहरू देशभित्रै र बाहिर पनि एकपछि अर्कोमा बसाइँ सरिरहेका छन् संसारभरि।

नयाँ खाले उत्पादन व्यवस्था सुरु र पुराना बन्द भएका छन्। जस्तो, अब नेपालमा २५-३० प्रतिशत जग्गा आवाद नहुन थाल्यो। मान्छेहरूले अरु नै काम गर्न थाले। यस्तो नेपालमा मात्र होइन, संसारभरि नै भइरहेको छ। खासगरी दक्षिण अमेरिकामा विगत पाँच दशकमा तीव्र परिवर्तन भयो। फलतः संसारमै सबैभन्दा धेरै कोलाहल त्यही छ। हालसालै अफ्रिकामा हुनथालेको छ। एशियाका देशहरू मध्यमस्तरको कोलाहलमा छन्। यस्तो कोलाहल सबै ठाउँमा बराबर छैन।

खास वर्ग, लैङ्गिक समूह, जात, उत्पादन प्रणाली समातेका मुलुकमा अलि बढी छ भने अरुमा अलि कम छ। जस्तो, महिलामा त्यस्तो कोलाहल पहिलाभन्दा बढी छ। हाम्रा आमा बज्यैहरू एक किसिमले बस्थे भने अहिले महिलाहरू पहिलाको भन्दा धेरै अब केकसो गर्ने होला, भविष्य कसरी बनाउने होला भन्नेमा छन्। पहिला एकप्रकारले जमेको (सेट) थियो। यसलाई पत्रपत्र, तहतह गरेर बुझ्नुपर्छ।

यसबीचमा बसाइँसराइ बढिरहेको छ भने नयाँ महामारी/प्रकोपहरू बढेका छन्। हामी अहिले मुद्रास्फीति भइरहेको अवस्थामा छौं।

पुस्तान्तर थप गहन हुँदैछ। हाम्रा तीन-पाँच पुस्ता अगाडि बाबुआमा, बाजेबज्यैहरूको बीचमा परिवर्तन कम थियो। एउटा पुस्ताबाट अर्को पुस्तासम्म आइपुग्दा अहिले बाउ-छोरा, आमा-छोरीको बीचको फरक धेरै छ। पहिलेको हेरिकन भविष्यको कल्पना, त्रास, आशा नितान्त भिन्नभिन्नै छन्। फलतः कोलाहल बढिरहेको छ।

आक्रोश बढ्नुको अर्को पक्ष हो, हामी सधैं अरुसँग तुलना गरिरहेका हौं। कतापटि जानुपर्ने/नजानुपर्ने हो, आ-आफ्नै अठोट भन्दा हामी कति अगाडि बढ्यौं, योभन्दा नि हामीले आफूलाई कोसँग तुलना गरेका छौं भन्ने कुराले मतलब राख्छ। त्यसलाई रेलेटिभ डिप्रभेसन (सापेक्ष अभाव) को सिद्धान्त पनि भन्छन्। मानिस कति सम्पन्न छ छैन होइन कि त उसले आफूलाई कोसँग दाँज्दैछ भन्ने कुराले अर्थ राख्छ। माथिल्लो वर्ग वा अर्कै वर्गसँग दाँज्ने चलन पहिले भन्दा बढ्दैछ।

यो कोलाहल सधैं थिएन, दुई-तीन पुस्ता अघिसम्म पनि यो हदको कोलाहल थिएन। यो त ऐतिहासिक रूपमै हालसालैको हो। केही त अवश्य थिए तर यो घडीमा यही पुस्तामा कोलाहलको मात्रा धेरै बढेको छ।

समाज र मुलुकको नेतृत्व कसले गर्छ, उसको चरित्र कस्तो छ, उसले काम कारबाही कस्तो गर्छ भन्नेमा पनि यो कोलाहल भर गर्छ। अलि स्थिर मुलुकमा यस्तो कोलाहल अलि कम देखिन्छ भने छिटोछिटो परिवर्तन भइरहेको ठाउँमा बढी हुन्छ। अझ जहाँका धेरै नागरिकलाई नेतृत्वले ठिक काम गरिरहेका छैनन् भन्ने लागिरहेको हुन्छ, त्यहाँ बढी हुन्छ। किनकि त्यहाँ त विश्वास र आशाको नासो छ। नेतृत्व र उनीहरूले हिंडिरहेको बाटोमा विश्वास र आश नहुँदा नागरिकको आफ्नो भविष्यप्रतिको आशा पनि न्यून हुन्छ।

फलतः यो कोलाहल पहिलेभन्दा अगाडि बढ्छ। यस्तोमा मानिसहरूले चुनावमा मात्र भोट गर्दैनन्, चियापसल, भट्टीमा गफ गरेर नेतृत्वलाई खुइल्याउने काम पनि गर्छन्। नेतृत्वले काम गरेकै छैन भनेर कुरा हुन्छ। यसले अविश्वासलाई मलजल गर्छ र भविष्यप्रतिको आश कमजोर बनाउँछ।

देशभित्र विश्वास नभएपछि नागरिक बाहिर जाने हुन्छ। यद्यपि यहाँ हल्ला भएकै आकारमा नेपाली विदेशिएका छैनन्। प्रतिवर्ष १६ लाख जाने र १३ लाख फर्किने भनेको त मोटामोटी ३ लाख बाहिर जाने रहेछन्। यो ठूलो संख्या हो तर अहिले कथा बनिरहेको जति ठूलो होइन।

समाजशास्त्र/मानवशास्त्रको एउटा मन्त्रले कुनै एउटा मानिसलाई एउटा ठूलो ऐतिहासिक परिस्थिति अथवा आर्थिक राजनीतिक परिस्थितिमा हालेर बुझ्नुपर्छ भनेर सिकाउँछ। समाज विज्ञान भनेको व्यक्तिलाई त्यो ठूलो ऐतिहासिक, राजनीतिक, आर्थिक आयतनभित्र राखेर हेर्ने हो। यहाँ सबैभन्दा ठूलो विश्वतहको आयतन हो जसलाई हामी धेरैजसो बिर्सन्छौं। किनभने हरेक मानिसमा एकप्रकारले संसार प्रतिबिम्बित हुन्छ। तपाईं के हुनुहुन्छ, त्यो नितान्त तपाईं आफैंले, आफ्नो इच्छाले निर्धारण र निर्माण गरेको होइन। आफ्नो परिवारदेखि विश्वसम्म के भइराखेको छ भन्ने कुराले हाम्रो चरित्र बन्छ। हाम्रो इच्छा, आकांक्षा, त्रास, आश सबै त्यसरी नै बन्छन्।

यसको अर्थ विश्वभरि कोलाहल भइरहे पनि नेपालको विशिष्टतालाई बिर्सनुहुँदैन। साथै, नेपाल छुट्टै छ भनेर बुझ्नुहुँदैन। नेपालमा मात्र यस्तो भइरहेको छ भनेर बुझियो भने त्यो अनर्थ हुन्छ। यो वैश्विक प्रक्रियाभित्र हामी पनि छौं, केवल केही घटी–बढी मात्रै छौं भनेर विश्लेषण गर्नुपर्छ। संसारमा के भइरहेछ भन्ने बुझ्यौं भने त्यसले हाम्रो बुझाइ आकारित गर्न मद्दत गर्छ।

सबैभन्दा महत्वपूर्ण यो परिवर्तन, कोलाहल र असन्तोषबाट फाइदा/उपलब्धि पनि भइरहेका छन्। नागरिकको आयु, साक्षरता र आम्दानी बढिरहेकै छ। सीमान्तकृत नागरिक पनि पहिलेभन्दा अलिकति माथि पुगे जस्तो देखिन्छ। तर पनि कोलाहल छ।

संसार यति छिटो परिवर्तन भइरहेको छ कि भनिसाध्यै छैन। हामी दुई तीन पुस्ता अगाडि सीमित संसारमा बाँच्थ्यौं। जात थियो, खास किसिमको लिङ्ग थियो, खास किसिमको क्षेत्रमा हामी बस्थ्यौं, खास किसिमको भाषा बोल्थ्यौं। अलि पहिलेदेखि नै बसाइँसराइ/आप्रवासन भए पनि त्यत्रो विधि थिएन। यद्यपि पूँजीवादी चरणमा आएपछि पहाडबाट संसारभरि नै बसाइँसराइ हुन्छ। किनभने त्यहाँ उत्पादन र बेचबिखनका केन्द्रहरू समथर हुँदै जान्छ र तल श्रम बेच्नको लागि वा माथि आफूले फलाएका उत्पादनहरू बेच्नको लागि पहाडका मानिस तल झर्ने लामो प्रक्रिया छ। अहिलेको असन्तोषलाई यी बदलावसँग पनि जोडेर बुझ्नुपर्छ।

अब नयाँ संसार सिर्जना गर्नुपर्ने भएको छ। पुरानो परिभाषित संसारबाट अपरिभाषित संसारतर्फ हिंड्नुपरेको छ। यो भनेको हिंड्ने अवसर आएको र हिंड्न बाध्य भएको दुवै हो। यसरी सानो संसारबाट विशाल संसारमा पदार्पण गर्दा कोलाहल हुन्छ।

हामी एउटा बन्द समाज, जात, कुलघराना, वंश आदिभित्र बाँधिएका थियौं। महिला, पुरुष, जात, मधेशी, पहाडी आदिको आफ्नै परिभाषा थिए। यस्तो संसारभरि हुन्थ्यो तर हामी संसारभन्दा अलि ढिला मात्रै यसबाट मुक्त हुने क्रममा छौं। हाम्रोमा यो साँघुरो र सानो संसारबाट फैलने वा मुक्त हुने प्रक्रिया अलि ढिलो सुरु भयो। यसको मार्कर मोटामोटी २००७ साललाई मान्न सक्छौं। यद्यपि ८० को दशकदेखि त्यसले अलि बढावा पाउन थाल्यो। खासगरी २०३६ सालयता त्यो प्रक्रिया तीव्रतामा अगाडि बढ्यो।

जात, लिंग, स्थान, वर्ग आदिको सीमित समाजमा बाँचिरहँदा त्यसले हाम्रो नयाँ गन्तव्यको पुनर्परिभाषाको कल्पनालाई ठाउँ दिंदैनथ्यो। फलतः धेरै माथि पुग्ने कल्पना हुँदैनथ्यो। विश्वमै पूँजीवाद र मोटामोटी सन् १७७५ (झण्डै २५० वर्ष अगाडि) सुरु भएको पूँजीवादजनित औद्योगिक क्रान्तिको प्रक्रिया सुरु भयो। यद्यपि औद्योगिक क्रान्ति यसअघि पनि अरु मुलुक र क्षेत्रमा भएकै थिए। जस्तो विगतमा भारत र चीनमा ठूला औद्योगिक क्रान्ति भएका थिए। तर झण्डै २५० वर्षअघि युरोपमा भएको औद्योगिक क्रान्ति चाहिं विश्वव्यापी र दिगो बन्न सक्यो।

योसँगै बन्द समाज एक किसिमले ह्वाङ्ग खुल्न थाल्यो। आकाश खुलेसँगै कल्पना पनि ह्वाङ्ग भयो। विश्वको तुलनामा नेपालमा यो प्रक्रिया ढिलो गरी सुरु भयो। २००७ साल र खासगरी २०३६ सालपछि यो ह्वाङ्ग हुने प्रक्रिया सुरु भयो जुन अहिले अझ गहिरो र व्यापक हुँदैछ। त्यो भनेको म के हुन्छु, मेरा छोराछोरी भविष्यमा के हुन्छन् ? यिनीहरूलाई कसरी पढाउने, अरब पठाउने कि अष्ट्रेलिया, अमेरिका ? गाउँबाट सदरमुकाम/प्रदेश राजधानी पठाउने कि काठमाडौं ? यो कृषिबाट अरु पेशा व्यवसायमा लगाउने हो कि ?

ह्वाङ्ग हुने भनेको यो प्रक्रिया हो जसमा आश र त्रास उत्तिकै छ। अब पहिला नगरेको काम गर्नु छ। यो प्रक्रियामा परिवारका सबै सदस्यहरू आफ्नो बुता अनुसार लागिरहेका हुन्छन्। आफ्नो पालमा बा-आमाहरू लागे। आमाहरू बन्द स्थितिमा भएकाले बाहरू धेरै लागे। अहिलेको कोलाहल यही ह्वाङ्ग हुनुको परिणति हो।

सन् १९६० मा अमेरिकामा ‘ग्लास सिलिङ’ अर्थात् सिसाको सिलिङ भन्ने शब्दावली प्रयोग गरियो। खासगरी महिलाहरूले यो ह्वाङ्ग त हेर्नलाई मात्रै भयो, त्यहाँ पुग्नलाई भएन भने। किनकि सिसाको सिलिङबाट माथि के छ हेर्न सकिन्छ, पुग्न सकिंदैन। तर कालान्तरमा ग्लास सिलिङमा विस्तारै विस्तारै प्वाल पर्दै गयो। पुरुष जत्तिकै नभए पनि धेरै महिलाहरू अलि माथि पुगे। यद्यपि महिलाका लागि अहिले पनि, युरोप-अमेरिकामा पनि धेरै सीमाहरू छन्। हाम्रो जस्तो समाजमा त थप धेरै छन्।

नेपालमा पनि केही सुरुवात भएका छन्। महिला शहर बजारमा आएर काम गर्न थालेका छन्। १२ कक्षामा पढ्ने विद्यार्थीमध्ये आधाभन्दा बढी महिला हुन्छन्, पास हुने पनि आधा महिलै हुन्छन्। हाम्रो यो प्रक्रियामा पदार्पण गरेको बलियो प्रमाण हो। महिला, सीमान्तकृत मानिसहरू लगायतले नयाँ संसारमा पुगेपछि के गर्छन् ? त्यहाँ अर्को कोलाहल सिर्जना हुन्छ जुन सकारात्मक र नकारात्मक दुवैथरी छ।

परिवार, जात, लिङ्ग, स्थान जस्तै हामी धर्मको बन्द घेराभित्र पनि थियौं। अहिले भने पहिला भन्दा यो घेरा खुकुलो भएको छ। अहिले हामी जात, धर्मका कुराहरू अलिअलि उल्लंघन गर्दै हिंड्यौं।

अब बाआमाहरू पहिला जति महत्वपूर्ण भएनन्। अब नयाँ पुस्ता परिवारको बन्देजभित्र रहेनन्। त्यहाँबाट पनि अलिकति मुक्ति भयो। पहिलेका वंशको कुरा गरौं। जिम्मुवाल, काजी, राजा आदि हाम्रो अथोरिटीहरू हुन्थे। दलित समुदायका लागि त झन् धेरै थरी बाधाहरू हुन्थे। अहिले पनि छन् तर पहिलेभन्दा अलि खुकुलो भएको छ। यो ह्वाङ्गपनाले एक किसिमको कोलाहल भएको छ। अब नयाँ संसार सिर्जना गर्नुपर्ने भएको छ। पुरानो परिभाषित संसारबाट अपरिभाषित संसारतर्फ हिंड्नुपरेको छ। यो भनेको हिंड्ने अवसर आएको र हिंड्न बाध्य भएको दुवै हो। यसरी सानो संसारबाट विशाल संसारमा पदार्पण गर्दा कोलाहल हुन्छ।

धेरै ठूलो सम्भावना र ह्वाङ्ग आकाशले हामीलाई घचेटिरहेको छ। कर्तापनालाई उजागर गरेको छ तर त्यसले कहाँ पुर्‍याउँछ थाहा छैन।

पहिले खासगरी महिलाको एकदम सानो उमेरमा विवाह हुन्थ्यो र चाँडै बच्चा जन्माइहाल्थे।  कहाँ पुग्न सकिन्छ भन्ने कल्पना नै हुँदैनथ्यो। एकदम कम महिलाको मात्रै त्यस्तो कल्पना हुन्थ्यो। विरलै महिला मात्र एउटा परिभाषित साँघुरो बाटोभन्दा यताउता लाग्न सक्थे। अनि उनीहरूको समाजमा केही बेइज्जती हुन्थ्यो। खासगरी पुरुषले ती महिलालाई फरक दृष्टिकोणले हेर्थे।

प्रेत, भूत, पिचास, स्वर्ग, नर्कको विश्वास बलियो थियो। भूत, पिचास नलागेकोले त्यता मेरो ध्यान गएन। तर स्वर्ग नर्कले म सानो हुँदा असर गर्थ्यो। यस्तो काम गरे नर्क पुगिन्छ, यस्तो काम गरे स्वर्ग पुगिन्छ भनेर उल्लेख गरेको एउटा पोस्टर देख्न पाइन्थ्यो। मान्छेलाई बन्द गर्न नर्कको आगोमा पर्ने, पिपको पोखरीमा खस्ने त्रासहरू सिर्जना हुन्थे। स्वर्ग र नर्कको परिभाषा बनाइन्थे।

हामी सानोमा थोरै खेतबारीको सीमाभित्र बाँचेका थियौं। अलिअलि ज्यालादारी श्रम गर्ने तर धेरैजसो मानिसहरू सानो खेतबारीभित्रको दायराभित्र खुम्चिएका थियौं। हुन त शहरमा पनि एकदम गरिबहरू हुन्छन् तर पनि ग्रामीण जीवन जति अत्यधिक सीमितता र साँघुरोपन हुँदैन। यस्ता संरचनाले हामीलाई डरमर्दो पारेर राख्छ। स्वर्ग, नर्क, भूत, प्रेत आदिको त्रासभित्र बाँच्नुपर्ने अवस्थामा राख्छ।

के गर्न सक्छौं, के गर्न सक्दैनौं भन्ने हाम्रो कर्तापना एकदम सीमित तरिकाले मात्र परिभाषित हुन्थ्यो। बाटो यति मात्र हो, त्यहाँबाट दायाँबायाँ गर्‍यो भने सजाय हुनसक्ने भय देखाइन्थ्यो। थरीथरी लौकिकता र अलौकिकताहरू थिए। हामीलाई अलि बढी प्रतिबन्धित अलि बढी पीडित राख्ने संरचनाहरू थिए। दैवी, जातको, लैङ्गिक, बाबुआमाको डर जस्ता अनेकौं सजाय देखाएर बन्द समाजमा रोकिन्थ्यो। त्यस्तोबाट अलिअलि फराकिलो संसारमा हिंड्ने क्रमको कोलाहल पनि हो यो।

नयाँ संसार

पहिले एकप्रकारले परिभाषित संसार थियो अहिले अनिश्चित र अप्रत्याशित नयाँ संसार आयो। कुनै पनि व्यक्तिको भविष्य के हुन्छ, अब भन्न सकिंदैन। पहिला आकाश सानो थियो त्यहींभित्र रुमल्लिन्थ्यो, अहिले आकाश ठूलो र फराकिलो छ त्यहाँ कहाँ बत्तिन्छ थाहा हुँदैन। सम्भावना व्यापक छ। सिद्धान्ततः कोही पनि कहीं पनि पुग्न सक्छ। बच्चाहरूलाई त्यस्तै विश्वास दिलाइन्छ। कोही पुग्छन् पनि तर अधिकांश र खासगरी हाम्रो जस्तो मुलुकका नयाँ पुस्ताले ठक्कर खान्छन्।

पुराना संरचनाले हामीलाई सीमाभित्र राख्थे। वैकल्पिक कल्पना नहुँदा एकप्रकारले सन्तोषी पनि थिए। अरू के गर्न सकिन्छ, मैले सकिनँ अरूले गरे भन्ने कल्पना पनि हुँदैनथ्यो। सुखी नभनौं सन्तोष सिकाइन्थ्यो। एककिसिमले जीवनमा फेल भइँदैनथ्यो। किनभने फेल हुने ठाउँ पनि थोरै थियो। सन्तोषी जीवन थियो।

परम्परा बलियो थियो। जतिसुकै भेदभाव भए पनि हामी एउटा सुरक्षित र तुलनात्मक सन्तोषी जीवनमा थियौं।  दलितहरूकै कुरा गरौं न। दुई पुस्ता अघिको दलित परिवारका बुढाबुढीहरू पेलानमा पर्दा पनि कतिलाई यो यस्तै हो भन्ने थियो। अब नयाँ पुस्तामा त्यस्तो पटक्कै छैन। त्यसैले धेरै ठूलो सम्भावना र ह्वाङ्ग आकाशले हामीलाई घचेटिरहेको छ। कर्तापनालाई उजागर गरेको छ तर त्यसले कहाँ पुर्‍याउँछ थाहा छैन। त्यो धेरैको लागि अन्योल र अप्रत्याशित छ।

खुलापनको एउटा सूचक अहिले हामीले भन्ने गरेको लोकतन्त्र हो। पहिला कुल, वंश आदिबाट हामी निर्देशित थियौं। आफ्नो ठाउँ त्यहींभित्र खोज्थ्यौं। लोकतन्त्र थिएन। लोकतन्त्र भएपछि राजनीतिक, कानुनी लगायत अनेकौं सम्भावना बने। जसअन्तर्गत हामीले स्वतन्त्र अनुभव गर्‍यौं, हुनुपर्छ भन्यौं। अब हामीमध्ये कति भयौं कति भएनौं तर सिद्धान्ततः स्वतन्त्र हुने संभावना चाहिं बढ्यो। यस्तो नयाँ ह्वाङ्गले एक्लोपना, अनिश्चितता, छटपटाहट र नागरिक अधिकार, मानवअधिकार आदिका भाष्यहरू बने। यसले पनि एकप्रकारको कोलाहल ल्यायो।

खोजेको ठाउँमा थोरै मानिस पुगे पनि धेरै सक्दैनन्। पहिलाको तुलनामा बसेको ठाउँमा अड्न नसक्ने, नयाँ उद्देश्य र गन्तव्यमा पनि पुग्न नसक्ने सम्भावना धेरै बढ्यो। फलतः धेरै मानिसको लागि यी सबै ‘आकाशको फल आँखा तरी मर’ भन्ने स्थिति बन्यो।

संसारसँग नेपालको तुलना गर्दा मानिसको आकांक्षा धेरै बने तर त्यसलाई पूरा गर्न सक्ने अर्थतन्त्र बनेन। काम नपाउँदा मानिसले आफ्नो थातथलो छोड्नुपर्ने भयो। गाउँबाट शहर, जिल्ला सदरमुकाम र काठमाडौं हुँदै अब विदेश जानुपर्ने अवस्था बन्यो। कोलाहल बढ्दै जानुका कारण यी पनि हुन्।

०००

मान्छे अलिअलि ह्वाङ्ग र अलिअलि मानिसहरूका लागि ह्वाङ्ग भइराखेका एपिसोडहरू नेपालको इतिहासमा केही छन्।

एक, राणाहरू आएपछि खासगरी वीरशमशेरपछि पहाडीका लागि तराई मधेश खुल्यो। त्यहाँ सर्ने, जंगल फाँड्ने र बस्न जाने चलन ह्वात्तै बढ्यो। पहाडसँगै उत्तरी भारतबाट आए। सँगै, स्थानीयहरू पनि बढी वनजंगल फडानी गरेर बढी खेती गर्दै ठूलो आकाश बनाउन लागे।

दुई, नेपालको पहाडबाट त्यतिबेला उत्तर-पूर्वी भारत दार्जीलिङ, सिक्किम, आसाम (त्यतिबेला आसाम मेघालय सहित ठूलो थियो, अहिले धेरै टुक्रा भयो) लगायत जान्थे। त्यहाँ गएर काम गर्दा खासगरी पूर्वी पहाडका मान्छेका लागि अर्को आकाश पनि खुलेको थियो।

आफ्नो थातथलो छाडेर चारकोसे झाडी फाँडेर धेरै जग्गा जमिनको मालिक हुने, मोहियानी गर्ने, त्यहाँ गएर श्रम गर्ने सम्भावना पनि केही समय बढेको थियो। नेपालमा खासगरी पूर्वमा यस्तो भयो। त्यसको सबैभन्दा ज्वलन्त उदाहरण चितवन होला। सन् १९५५ देखि १९७५ सम्म केवल दुई दशकमा चितवन टन्नै भरियो।

६० को दशकदेखि ८० को दशकसम्म राज्य संरचना र राज्यको वित्तीय क्षमता निकै बढ्यो। यससँगै अर्को आकाश खुल्न थाल्यो। राज्य संरचनाले ठूलो आकार लियो। ७५ जिल्लादेखि अन्य संरचना बने। सरकारी कर्मचारीहरूको दरबन्दी बढ्यो। सरकारको भौगोलिक पहुँच पनि बढ्यो। विभिन्न जिल्लाका सदरमुकाममा सरकारी कर्मचारीहरू जाने, गाविस बन्ने त्यहाँ प्रधानहरू सदस्यहरू बन्ने कुराले पनि आकाश फराकिलो भयो।

हाम्रो अगाडिको बाटो फेरि एकपटक संविधान र यसको मर्ममा फर्कनु हो। त्यो भनेको लोकतन्त्रमा आधारित समाजवादमा फर्कने हो।

त्यसपछि १९८० को दशकदेखि २००० सम्म अर्को आकाश खुल्यो। परम्परागत खासगरी राजा, जिम्मुवाल, काजी आदिका अधिकारहरू त्यसले संकुचित पार्‍यो। आम मानिसमध्ये केहीमा ‘ए हामी पनि माथि पुग्न सक्छौं’ भन्ने परिकल्पना विकास हुनथाल्यो।

सन् १९९५ देखि नेपाली बाहिर जान थाले। पूर्वी एशिया, कोरिया, मलेसिया, सिंगापुर (यहाँ पहिला पनि थियो), अरब मुलुकहरू, त्यसपछि युरोप, अमेरिका जान थाले। भारतमा त पहिलेदेखि गइरहेका थिए। आप्रवासनको एउटा दौर यसरी पनि गयो।

सन् १९९५ यताको अवधिमा पूँजीवादी विश्वमा सस्तो श्रमिकको माग अत्यधिक हुनथाल्यो। सबैभन्दा सस्तो श्रमिक अफर गर्नेमध्ये हामी पनि भयौं। नेपाली श्रमिकले सस्तोमा काम गर्न बाहिर जाने क्रम बढ्यो। अहिले धेरै नेपाली पढ्न गएका भन्छौं तर पढ्नभन्दा धेरैजसो काम गर्न जाने हो। पढ्ने, काम पनि गर्ने र पढेपछि पनि त्यहीं बस्ने, पढ्ने चाहिं एक किसिमले बहाना मात्रै भयो। पढ्न जानका लागि नो अब्जेक्सन सर्टिफिकेट त छ तर पढ्नै जाने चाहिं यो तथ्यांकमा थोरै छन्।

पढ्दै काम गर्दै कमाएर केहिले रेमिटेन्स पनि पठाउँछन्। तर धेरै पढ्न गएकाले कमाउन सक्ने स्थिति हुँदैन। पढाइपछि विस्तारै काम गरेर बस्ने संभावना हुन्छ। यसरी नेपालमा आकाश खुल्ने विभिन्न एपिसोडहरू अगाडि बढ्दै गए।

यसरी सबै आकाश खुल्नु राम्रो त हो तर यसले सँगसँगै असन्तुष्टि पनि बढाउँछ। सरकारले भने अनुसार काम गरेन र मानिसहरू जाइलागे भनेर कथा बुनिएको हुन्छ। तर सरकार केही सफल, केही असफल भएर यस्तो हुन्छ जस्तो लाग्छ। सफल हुँदा पनि निराशा बढ्छ। यसले परिवर्तनको अर्को चरणसम्म पुर्‍याउँछ। जस्तो, सन् १९९० अलिअलि सफल भएर नै २००६ आयो। जस्तो कि प्रेस स्वतन्त्रता, जनप्रतिनिधिको कुरा। यसरी केही कुरा सफल हुँदा त्यसले अर्को चरणको राजनीतिक परिवर्तनको लागि ठाउँ दिन्छ। प्रेस मात्रै नभएको भए पनि सन् २००६ को राजनीतिक परिवर्तन सम्भवतः हुँदैनथ्यो।

यदि कहावत साँचो हो भने चन्द्रशमशेरले त्रिचन्द्र कलेज खोल्दा अब राणाहरुको अन्तिम बेला आयो भनेका थिए रे! मैले हेर्दा उनले बुझेको कुरा हो त्यो। जनता शिक्षित हुँदै गए भने हाम्रो शासन व्यवस्था कमजोर हुन्छ भन्ने लाग्नु जायजै हो।

कोलाहलको अर्को चालक नेतृत्वको चरित्र पनि हो। पहिलो, त्यसले कति प्रतिज्ञा गर्छ र कति डेलिभरी गर्छ ?

दोस्रो, त्यसको सदाचारको पक्ष हेर्छ कि हेर्दैन ? अहिले समाचारमा धेरै भ्रष्टाचारका समाचार आउँछन्। त्यसले धेरै असन्तुष्टि बढाउँछ। त्यसैले प्रशासनिक भन्दा खास गरेर राजनीतिक नेतृत्वभित्र सदाचार देखिएन भने नागरिकमा भविष्य बारे आश कम हुँदै जान्छ। यिनीहरूले कहीं पुर्‍याउँदैनन् भन्ने लाग्छ र आगामी बाटो बारे अलमल हुन्छ। यसबाट राजनीतिप्रतिको तिरस्कार बढ्छ। फलतः त्यसले अर्को खालको राजनीतिको मलजल गर्न सक्छ तर त्यो आक्रान्त मानिस भने त्यसबाट विमुख हुन्छ। त्यो राजनीतिलाई त्यस्ता आक्रान्त मानिसलाई सघाउँदैन। सदाचारविहीनताले लोकतन्त्रको जगलाई भसाउँदै लैजान्छ।

अब के ?

सदाचार बढाउने, भ्रष्टाचार घटाउने, नागरिकलाई सबल बनाउने लगायत विषयमा मैले माथि भनें। साथै, बेरोजगारी छ। स्रोतसाधनहरूलाई अधिकतम सदुपयोग गरौं। २५ प्रतिशत खेतीयोग्य जग्गा बाँझै छ।  सरकारले केही गर्दैन भने के आशा गर्ने भन्ने हुन्छ।

अचम्म के छ भने हामी पूँजीवादी विश्वमा बस्छौं। हामीकहाँ हुण्डी लगायतबाट अत्यधिक पूँजी लिक भइरहेको हुन्छ। हाम्रो जस्तो अर्थतन्त्रबाट स्रोतहरू चुहिरहेका हुन्छन्। जबकि हामी संसार भूमण्डलीकृत भयो भन्छौं तर भूमण्डलीकृत विश्वबाट हामीकहाँ पूँजी भित्र्याउने सम्भावना हामीले खोलेका छैनौं। त्यस्तो पूँजीबाट यहाँको श्रमलाई रोजगारी सिर्जना गर्ने सम्भावना संसारको सबैजसो मुलुकले गरे। कोही सफल भए कोही हामी जस्तै असफल भए। हामी मात्रै त्यसको खराब उदाहरण होइन।

तर अझै पनि हाम्रोमा केही वैचारिक अवरोध छ। कुनै राजनीतिक दलहरू र तिनका फ्र्याक्सनहरूमा यसो गर्नुहुँदैन भन्ने अझै पनि छ। हाम्रोबाट चुहिएको छ तर कसै–कसैमा त्यसको पुर्ताल गर्ने इच्छै देखिंदैन। इच्छा भएकालाई पनि कसरी गर्ने भेउ छैन। त्यसको पुर्ताल गर्न सक्दा केही अवसरहरू सिर्जना हुनसक्छन्। स्रोतहरूको अहिलेभन्दा बढी सदुपयोग गर्न सकिन्छ। नागरिकले यहाँ काम पाउँछन्। यसबाट कोलाहल कम हुनुका साथै राजनीतिक प्रणालीको पनि वैधता बढ्छ।

अहिले रहेका संगठित शक्तिहरू राजावादी आदिबाट अहिलेको असन्तोष भेन्टिलेट गर्ने त्यस्तो विद्रोहको संभावना म देख्दिनँ। राजनीति थप अराजक हुँदै त्यसले धार्मिक, क्षेत्रीय र जातीय द्वन्द्व भयो भने चाहिं त्यस्तो संभावना रहन्छ।

हाम्रो अगाडिको बाटो फेरि एकपटक संविधान र यसको मर्ममा फर्कनु हो। त्यो भनेको लोकतन्त्रमा आधारित समाजवादमा फर्कने हो। राजनीतिक दलहरूभित्र र भारतसँग द्वन्द्व पछि बल्लबल्ल संविधान बन्यो। लामो लडाइँ र जनधनको क्षतिपछि बडो कठिनसँग अहिलेको संविधान प्राप्त भयो। त्यसको मूल मर्मलाई विभिन्न क्षेत्रमा लागू गर्न सकिन्छ।

संविधानको मर्मलाई शिक्षा र स्वास्थ्य, बाँझो जमिनलाई पुनः गुल्जार गर्न, दलित र गैरदलितको सम्बन्ध, महिला र पुरुषको सम्बन्ध, पहाड र मधेशको सम्बन्ध लगायत यावत् कुरामा विस्तार गर्न सकिन्छ। संविधानको मर्ममा फर्कंदा मुलुकको राजनीतिक वैधतामाथि प्रश्न उठाउने अहिलेको कोलाहललाई अलि शान्त पार्न सक्छ। त्यसैले अहिले स्थापित गर्नुपर्ने एउटा एजेन्डा संविधानतिर, संविधानको मर्मतिर फर्कौं भन्ने हो।

लोकतन्त्रमा आधारित समाजवाद अहिले कतिपय मुलुकमा छ नै। कम्युनिस्ट प्रणाली भएको चीनमा बजार समाजवाद छ। पहिले जस्तो छैन। पश्चिमी युरोप, अष्ट्रेलिया, न्यूजिल्याण्ड अरू धेरै विकसित देशहरूमा यस्तै मोडेल छन्। यस्तो व्यवस्थाले नागरिकलाई सशक्तीकरण गरिराख्छ र लोकतन्त्रलाई जीवित राख्छ। उत्पादनलाई पूँजीवादी बाटोमा डोर्‍याउँछ। साथै, वितरण मार्फत समाजवादी उद्देश्यहरू हासिल गर्न सक्ने संभावना पनि सँगसँगै बढाउँछ। हाम्रो संविधानमा यी दुवैलाई सन्तुलन गरेर अगाडि बढ्ने खाका कोरिएको छ जसलाई अहिले दलहरूले बिर्सिएका छन्। त्यसैले एकपटक संविधानतिरै फर्कनुपर्ने आवश्यकता छ।

अहिले माओवादी र एमालेले कम्युनिज्म बिर्सिए जुन ठिकै हो। तर अगाडि के गर्ने भन्ने ठेगानै छैन। नेपाली कांग्रेस रित्तो भाँडो बनेको धेरै भयो। बीपी पछि नै रित्तिएको कांग्रेसमा अब के गर्ने भन्ने एजेन्डा नै नभएको स्थिति छ। यही पृष्ठभूमिमा आएको संविधानले एउटा बाटो खोलेको थियो। त्यो बाटो पकड्नुपर्ने थियो। अझ पनि त्यसलाई पकड्दा असन्तोष, कोलाहल न्यूनीकरण हुने र हाम्रो राजनीतिक व्यवस्थाले दिनसक्ने उपलब्धिहरू हासिल हुनसक्ने सम्भावना बढ्छ।

कोलाहलमा केही अराजकता पनि देखिन्छ। हामीलाई बलियो प्रशासनको आवश्यकता छ। पपुलिस्ट प्रशासनबाट संविधान र कानुनले निर्देशित गर्ने प्रशासनतिर जानुपर्छ। कानुनलाई फितलो बनाएर राख्ने होइन। कि कानुन नबनाउनु कि त्यसलाई फेर्नु कि लागू गर्नु। नफेरिन्जेल भएको कानुन लागू गर्ने प्रशासन र शासन व्यवस्था चाहिन्छ। त्यसो नगर्दा अराजकता हुन्छ र पपुलिज्मले धेरै बढावा पाउँछ।

बलियो प्रशासन, बलियो शासन व्यवस्था भनेको कानुनी शासनव्यवस्था हो। कुनै व्यक्तिले वा कुनै पदधारीले आफ्नो इच्छा लागू गर्नु होइन। कानुनमा लेखिएको कुरालाई बलियो र इमानदारीका साथ लागू गर्न गरिने प्रयास अन्यथा होइन, राम्रो हो। किनकि कानुन जनप्रतिनिधिबाटै आएको हो। कानुन अलोकतान्त्रिक भन्न मिल्ने गरी अप्रासङ्गिक बनेको छ भने परिवर्तन गर्नुपर्छ।

अहिले संविधानको संघीयता, प्रदेश भएन, यो भएन त्यो भएन भनिरहेका छन्। कमसेकम १०-२० वर्ष लागू गरेर नहेरी संविधानका प्रावधान बदल्नुहुँदैन। त्यसपछि अर्को चरणको परिवर्तन त गर्नुपर्छ। सन्दर्भ बदलिएसँगै कुनै एउटै संविधान सधैं ठिक भइराख्छ भन्ने हुँदैन। तर लागू नै नगरी गलत भन्न मिल्दैन। संघीयता नै लागू भएको छैन भने अहिले त्यसलाई किन परिवर्तन गर्नुपर्‍यो ?

संक्रमणको सुरुङ लामो भए पनि अन्तिममा उज्यालो देखाउनको लागि कमसेकम नेतृत्वले टर्च लाइट बाल्दै अगाडि हिंड्नुपर्छ। त्यहाँ पुगेका नेतृत्वले उज्यालै छर्नुपर्छ। हामीले नेतृत्वको भन्दा प्रणाली/व्यवस्थाको माया गरेको हो। व्यक्तिगत रूपमा उनीहरू तिरस्कृत त छन् नै। नागरिकले आदर गर्न छाडेको स्थिति छ। तर यसलाई उनीहरूले कति आभास/महसुस गरेका छन् ? उनीहरूले आफूलाई बदल्न प्रयास गरे भने राम्रो कुरा हो। बदल्ने भनेको पुनः संविधानको मर्मलाई आत्मसात् गर्ने हो। संविधानमा फर्कने हो।

यस्तो परिवर्तन संसारमै छ। यति छिटोछिटो परिवर्तन भइराखेको छ कि भनिसाध्यै छैन। पछिल्लो उदाहरण, भनिन्छ, एआईले सामान्य तल्लो तहको सीप भएका कामदारको ४० प्रतिशत काम सिध्याउँछ। २०-३० वर्षमा ४० प्रतिशत मानिसहरू बेरोजगार हुनसक्ने संभावना छ। तिनीहरूले नयाँ रोजगारी खोज्लान् वा के गर्लान् हेर्न बाँकी छ। संसारको यस्तो तीव्र परिवर्तनको प्रभाव नेपालमा पनि छ। यहाँ अझ छिटो हुनेवाला छ।

त्यसैले कोलाहल अस्वाभाविक होइन। यो चाहिन्थ्यो। हामी त प्राचीन व्यवस्थामा थियौं। हामीलाई संसारको परिवर्तनसँग एकाकार त हुनु नै थियो। त्यसैले कोलाहल आवश्यक नै थियो। तर यही कोलाहल देखाएर कसैले फलानो भएको भए यस्तो कोलाहल हुँदैनथ्यो भन्ने भाष्य बनाउन खोजिरहेका छन्। त्यो गलत हो। हाम्रोमा अहिले बिग्रियो पहिला रामराज्य थियो भन्ने एउटा दृष्टिकोण छ। पहिला सबै कुरा राम्रो थिएन भन्ने कुरा हामीलाई प्रष्टै थाहा छ।

यस्तो कोलाहल अझ सीमान्तकृत समूहहरूका लागि त अत्यावश्यक नै थियो। यो ह्वाङ्ग हुनु त महत्वपूर्ण छ। तर त्यो ह्वाङ्गमा छिर्नका लागि हाम्रो तयारी पुगेन। टर्च बालेर बाटो देखाउनुपर्ने नेतृत्व जानिफकार र इमानदार भएनन्।

अहिले रहेका संगठित शक्तिहरू राजावादी आदिबाट अहिलेको असन्तोष भेन्टिलेट गर्ने त्यस्तो विद्रोहको संभावना म देख्दिनँ। राजनीति थप अराजक हुँदै त्यसले धार्मिक, क्षेत्रीय र जातीय द्वन्द्व भयो भने चाहिं त्यस्तो संभावना रहन्छ। अन्यथा तत्कालका लागि त्यस्तो संभावना छैन। असन्तुष्टि थप चुलिंदै जान्छ।

यो खुलेको फराकिलो आकाशमा टर्च बालिएन भने अँध्यारोमा जसले पनि नेतृत्व गरिदिन सक्छ। अग्रभागमा इमानदारीपूर्वक, सदाचारपूर्वक नेतृत्वले टर्च बाल्दै हिंड्नुपर्छ। धेरै कुराहरू नेतृत्वमा भरपर्छ। नेतृत्वसँग महत्वपूर्ण जिम्मेवारी छ। नेतृत्वले कार्यान्वयन गर्ने एजेन्डा फेरि पनि संविधानको मर्म नै हो। विद्यमान संविधानको मर्म समात्ने र अगाडि बढ्ने नै हो।

पोडकास्ट सुन्नुहोस्-

लेखकको बारेमा
चैतन्य मिश्र

प्राध्यापक चैतन्य मिश्र नेपालमा समाजशास्त्रको पठनपाठन गराउने पहिलो पुस्ताका समाजशास्त्री हुन् । उनका एस्सेज अन द सोसियोलोजी अफ नेपाल, बदलिँदो नेपाली समाज, पुँजीवाद र नेपाल लगायत किताब प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?