+
+

मन्त्रिपरिषद पुनर्गठन हुन्छ, तामाङ समुदायबाट मन्त्री बनाउँछु : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २७ गते १७:०१

२७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गर्ने र तामाङ समुदायबाट मन्त्री नियुक्त गर्ने बताएका छन् ।

सोनाम ल्होछारको अवसरमा शनिबार तामाङ समुदायले काठमाडौंको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संघीय मन्त्रिपरिषद पुनर्गठन हुने र बागमती प्रदेशबाट तामाङ समुदायको व्यक्ति मन्त्री बन्ने बताएका हुन् ।

‘म यहाँहरुलाई आज यो मञ्चबाट के कुरा घोषणा गर्नसक्ने ठाउँमा छु भने अब मन्त्रिमण्डलको जतिबेला पुनर्गठन हुन्छ, पहिलो प्राथमिकता बागमती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ । म यो लाखौं जनताको अगाडि भन्दैछु । अब संघको मन्त्रिमण्डल पुनर्गठन त हुन्छै हुन्छ । पुनर्गठन हुनेबित्तिकै तामाङ मन्त्री हुन्छ’, उनले भने ।

गत वर्षको सोनाम ल्होछारमा पनि आफूले तामाङ समुदायको व्यक्तिलाई मन्त्री बनाउने भनेको तर बागमती प्रदेशको मात्र मन्त्री बनाउन सकिएको भन्दै उनले अब भने संघीय सरकारमै मन्त्री बनाउने आश्वासन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सोनाम ल्होछार कार्यक्रमका लागि सरकारले दिने सहयोग रकम नपाएको विषयमा आफूले बुझ्ने र यस वर्ष पनि सहयोग गर्ने बताए ।

‘हाम्रो कर्मचारीतन्त्र, हाम्रो विधि, विधान र प्रक्रिया निकै जटिल छ । मैले पक्कै पनि गतसाल भनेको हो–विगतको भन्दा दोब्बर गरेर तामाङ ल्होछारका लागि सहयोग हुन्छ । मैले त सही गरेर दिएको पनि हो । यहाँ उद्घोषकले घुमेको घुमेकै गरेको अर्थ र पर्यटन मन्त्रालयमा भनेर भन्नुभएको छ । म पोहोरलाई पनि फलो गर्छु’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?