+
+

सजाय माफमा आलोचना भएपछि हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १०:२२

२८ माघ, काठमाडौं । बालगृहका बालबालिकामाथि यौन शोषण गरेको मुद्दामा दोषी ठहरिएका एक अभियुक्तको सजाय माफ गरिदिएको विषयमा आलोचना भएपछि हंगेरीकी राष्ट्रपतिले राजीनामा दिएकी छन् । राष्ट्रपति केटलिन नोभाकले टेलिभिजनमार्फत् देशवासीलाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेकी हुन् ।

उनले सरकारी बालगृहका एक उपनिर्देशकको सजाय माफ गरिदिएकी थिइन् । ती उपनिर्देशक बच्चालाई यौन शोषण सम्बन्धी एक मुद्दामा दोषी ठहरिएका थिए ।

यौन शोषणका दोषीलाई समेत सजाय माफ गरिदिको भन्दै राष्ट्रपतिको आलोचना भएको थियो । विरोध प्रदर्शनमा उत्रिएकाहरुले राष्ट्रपतिको राजीनामा माग्दै आएका थिए ।

राष्ट्रपति नोभाकले देशवासीलाई सम्बोधन गर्दै आफूबाट गल्ती भएको बताइन् । बीबीसीका अनुसार उनले आफ्नो निर्णयप्रति खेद व्यक्त गरिन् र पदबाट राजीनामा दिएको बताइन् ।

गत वर्ष अप्रिलमा पोप फ्रान्सिसको हंगेरी भ्रमणको क्रममा राष्ट्रपति नोभाकले २५ जनाको सजाय माफी गरिदिएकी थिइन् ।

सजाय माफ पाएका व्यक्तिहरुको नामावली गत हप्ता मात्र सार्वजनिक भएको थियो । नामावलीमा बुडापेष्ट नजिकको एक बालगृहका उपनिर्देशकका नाम पनि थियो, जसलाई तीन वर्षको जेल सजाय सुनाइएको थियो । उनले यौन शोषणको आरोपको उजुरी फिर्ता लिन बालबालिकाहरुलाई दबाव दिएको आरोप थियो ।

यौन शोषणको आरोपमा सो बालगृहका निर्देशकलाई भने आठ वर्षको जेल सजाय सुनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?