+

भयावह बन्दैछ नसर्ने रोग, कसरी गर्ने रोकथाम ?

२०८० माघ  २८ गते १२:५१ २०८० माघ २८ गते १२:५१

गरिब र कम विकसित देशमा नसर्ने रोगले ७७ प्रतिशत मृत्यु ओगट्ने वा आगामी ३० वर्षमा प्रत्येक ४ जनाको मृत्युमध्ये ३ जनाको मृत्यु गरिब मुलुकमा मात्र हुनेछ ।

भयावह बन्दैछ नसर्ने रोग, कसरी गर्ने रोकथाम ?

एक व्यक्तिबाट अर्कोमा प्रायः नसर्ने रोगलाई नसर्ने रोग भनिन्छ । यस्ता रोगहरू शरीरको आन्तरिक प्रक्रियामा गडबडी वा असन्तुलन हुँदा देखा पर्छन् । नसर्ने रोगहरू प्रायः व्यक्तिको जीवनशैली, आनीबानी, व्यवहार, मानसिक असन्तुलन, हार्मोनको असन्तुलन, खानपिन जस्ता विभिन्न कारणले देखा पर्छन् ।

यस्ता रोगहरू कहिलेकाहीं वंशाणुगत कारणले सर्ने गर्छन् । नसर्ने रोगहरू प्रायः दीर्घ (क्रोनिक) प्रकारका हुन्छन् । जस्तै- क्यान्सर, मधुमेह, ग्यास्ट्राइटिस, अम्लपित्त, पत्थरी, उच्च रक्तचाप, मुटुका रोगहरू, मिर्गौलाका रोगहरू, हाडजोर्नी तथा नसासम्बन्धी रोगहरू, बाथ, मानसिक रोगहरू, चोटपटक र दुर्घटनाका कारण हुने अशक्तता आदि नसर्ने रोगका उदाहरण हुन् ।

अहिले संसारमा सर्ने रोगको समस्या कम हुँदै गइरहेको र नसर्ने रोगको व्यापकता तथा जोखिम निरन्तर बढ्दै गइरहेको अवस्था छ । नेपालमा समेत विभिन्न समयमा भएका अध्ययन तथा अनुसन्धानले नसर्ने रोगको व्यापकतासँगै भयावह अवस्था आउन सक्ने चेतावनी दिएका छन् । सबैभन्दा बढी समस्या मुटुसम्बन्धी समस्या वा हृदयघात, दोस्रोमा क्यान्सर, तेस्रोमा श्वासप्रश्वाससम्बन्धी समस्या र चौथोमा मधुमेह रोगको समस्या नेपालका पनि प्रमुख नसर्ने रोगका चुनौती हुन् भनिएको छ ।

अहिले विश्व लगायत नेपालमा जम्मा मृत्युको ५१ प्रतिशत यस्तै विभिन्न नसर्ने रोगका कारण भएको अनुसन्धानले पुष्टि गरेको छ । अतः यस्ता नसर्ने रोगका जोखिम तत्वको पहिचान गरी समयमै उपयुक्त कदम नचाल्ने हो भने थप भयावह अवस्था सिर्जना हुनसक्ने हुँदा अहिले संसारभरका मानिसको मुख्य सरोकार नै नसर्ने रोगको रोकथाम र न्यूनीकरण गर्नु हो भन्ने मूलभावमा आधारित रही यो आलेख तयार गरिएको छ ।

नसर्ने रोगहरूको वैश्विक स्थिति

विश्वमा अहिले ठूलो समस्याको रुपमा नसर्ने रोगको समस्या देखापरिरहेको छ । मानिसले विज्ञान र प्रविधिको क्षेत्रमा ठूलो सफलता हासिल गरेको छ र भौतिक सेवा सुविधाले भरिपूर्ण भइरहेको छ । तर यस्ता विकाससँगै विनाश समेत भित्रिएकाले मानिस त्राहीमाम बनिरहेको छ । औषधि विज्ञान र प्रविधिको विकासले मानिसले विभिन्न कीटाणुविरुद्ध विजय हासिल गरेको छ, तर पनि आफ्नो शरीरभित्रै उत्पन्न हुने विभिन्न रोगविरुद्ध भने पराजित भएको छ । शरीरमा रोग उत्पन्न गर्ने विभिन्न तत्वबीचको लडाईं जित्न भने मानिसले सकेको छैन र थकित बनेको अवस्था छ ।

यसैको परिणाम हो नसर्ने रोगको बिगबिगीका कारण मानिसले जीवन गुमाउन बाध्य हुनु । यो समस्याबाट विश्व लगायत नेपाल पनि अछुतो छैन ।

संसारमा हालसालैको (विश्व स्वास्थ्य संगठन २०२३) तथ्यांक हेर्ने हो भने नसर्ने रोगको समस्या यस्तो देखिन्छ ।

-संसारमा हुने कुल मृत्युको ७४ प्रतिशत मृत्यु वा प्रतिवर्ष ४१ मिलियन व्यक्तिको मृत्यु नसर्ने रोगका कारणबाट हुने गरेको छ ।

-७० वर्ष उमेर नपुग्दै मृत्यु हुने व्यक्तिमध्ये १७ मिलियन व्यक्तिको मृत्यु नसर्ने रोगका कारणले हुने गरेको छ ।

-उमेर नपुग्दै हुने मृत्युको ८६ प्रतिशत व्यक्ति कम आय हुने वा गरिबी मुलुकमा हुने गरेको छ भने ७७ प्रतिशत यस्तो मृत्यु नसर्ने रोगका कारणले हुने गरेको छ ।

-नसर्ने रोगबाट मृत्यु हुने प्रमुख चारवटा रोगमध्ये वार्षिक १७.९ मिलियन व्यक्तिको मृत्यु नसर्ने प्रकारको मुटु रोगसँग सम्बन्धित कारणले हुने गरेको छ, क्यान्सरबाट ९.३ मिलियन, दीर्घ श्वासप्रश्वास रोगबाट ४.१ मिलियन र मधुमेह तथा मधुमेहसँग सम्बन्धित जटिलताबाट दुई मिलियन व्यक्तिको मृत्यु हुने गरेको छ ।

-यी सबै किसिमका नसर्ने रोगहरूको मृत्युको प्रमुख कारण सूर्ती तथा सुर्तीजन्य पदार्थको सेवन, शारीरिक निष्क्रियता, मद्यपानको अनियन्त्रित सेवन, अस्वस्थकर भोजन र वायु प्रदूषण नै जिम्मेवार देखिएका छन् ।

-यस्ता रोगबाट बाँच्न वा मृत्युदर घटाउन रोगको सुरुको अवस्थामै पहिचान गर्नु, नियमित स्वास्थ्य परीक्षण गर्नु, जीवनशैलीगत अस्वस्थकर व्यवहार हटाउनु र रोगीको राम्रो उपचार तथा स्याहार गर्नु नै मुख्य उपाय हुने ठहर गरिएको छ ।

भविष्यमा नसर्ने रोगको भयावहको प्रक्षेपण

नसर्ने रोगको रोकथाम र सजगता अपनाउन जो कोहीले पनि आजैदेखि प्रयत्न नगर्ने हो भने भविष्यमा नसर्ने रोग यति भयावह रुपमा आक्रामक बनेर आउने अनुमान गरिएको छ कि जसको चपेटामा जो कोही व्यक्ति पर्ने निश्चित छ ।

आजैदेखि नसर्ने रोगबारे सचेतता नअपनाउने हो र जीवनशैलीमा सुधार नगर्ने हो भने सायद मानिसको विनाश नसर्ने रोगबाट हुने दिन नआउला भन्न सकिन्न । यदि अहिलेकै तथ्यांकले निरन्तरता पाउँदै जाने हो भने भविष्यमा नसर्ने रोगको अवस्था यसप्रकार देखापर्न सक्छ भनी प्रक्षेपण गरिएको छ ।

-विश्वमा नसर्ने रोगका कारणले मात्र हुने मृत्यु कुल मृत्युको ७५ प्रतिशत हुनसक्ने अनुमान गरिएको छ ।

-मुख्य पाँच किसिमका नसर्ने रोगका कारणले मात्र वार्षिक लगभग दुई ट्रिलियन डलर आर्थिक नोक्सान हुनेछ । यसले विश्वमा आर्थिक धक्का समेत दिनेछ ।

-नसर्ने रोगहरूले जनसंख्या वृद्धि र जलवायु असन्तुलनको चरम अवस्थामा आएको आपत्तिको समेत सामना गर्नुपर्नेछ, जसले गर्दा मृत्युदर थप बढ्न सक्नेछ ।

-गरिब र कम विकसित देशमा नसर्ने रोगले ७७ प्रतिशत मृत्यु ओगट्ने वा आगामी ३० वर्षमा प्रत्येक ४ जनाको मृत्युमध्ये ३ जनाको मृत्यु गरिब मुलुकमा मात्र हुनेछ ।

यस्तो भयावह र त्रासदीपूर्ण अवस्था ल्याउनसक्ने नसर्ने रोगका बारेमा आजैदेखि सचेत हुन सबैले यसविरुद्ध सशक्त प्रतिकारको अवस्थामा बस्न र सामना गर्न तयार हुनु जरुरी छ । त्यसकारण यस्ता सरुवा रोगका सन्दर्भमा बढीभन्दा बढी कुरा बुझ्न आवश्यक छ ।

नसर्ने रोगका कारण वा जोखिम तत्व

नसर्ने रोग जीवनशैलीगत रोगहरू हुन् । जुन मानिसको लापरवाह खानपान, अस्तव्यस्त जीवनशैली, विकृत मनोवृत्ति र शारीरिक अभ्यासको कमीका कारण हुनेगर्छ । यीबाहेक नसर्ने रोगका मुख्य कारण र जोखिम तत्वहरूलाई यसप्रकार उल्लेख गर्न सकिन्छ ।

-धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन

-मद्यपान सेवन

-अस्वस्थकर जीवनशैली र खानपिनका व्यवहारहरू

-विशेष किसिमका पेशा

-वातावरणीय प्रदूषण

-दबाब वा तनावको सामना

-आनुवंशिक प्रभाव वा गडबडी

नसर्ने रोग रोकथामका तह

कुनै पनि नसर्ने रोगको मुख्य उपचार विधि नै यस्ता रोग उत्पन्न हुन नदिनु वा रोकथाम गर्नु भएकाले नसर्ने रोग रोकथाममा आजैदेखि सबै जना लाग्नु जरुरी छ । यसका लागि विभिन्न रोकथामका उपाय अपनाउनुपर्ने हुन्छ । कुनै पनि रोगको रोकथाम र नियन्त्रणका लागि तल उल्लिखित उपाय अपनाउन सकेमा सकभर रोगको चपेटामा पर्नुपर्ने हुँदैन ।

.  प्राथमिक रोकथामका उपाय

रोग लाग्नुभन्दा अगाडि नै रोग लाग्नबाट बच्ने तरिका नै कुनै पनि रोगको प्राथमिक रोकथाम हो । रोगको सम्भाव्य खतराबाट बच्नका लागि स्वस्थ जीवनयापन गर्नु र स्वस्थकर आनीबानी वा स्वस्थकर जीवनशैली अपनाउँदा कुनै पनि रोग लाग्नबाट प्रायः बाँच्न सकिन्छ ।

प्राथमिक रोकथाम अन्तर्गत निम्न उपाय अपनाएमा कुनै पनि रोग लाग्नबाट बच्न सकिन्छ ।

-स्वस्थकर व्यवहार वा जीवनपद्धति अवलम्बन गर्ने

-पर्याप्त खाना खाएर शक्तिको आपूर्ति गर्ने तर जथाभावी र बढी खाना नखाने

-नियमित शारीरिक अभ्यास वा योग, ध्यान, प्राणायाम गर्ने

-शरीरको उचाइअनुसार उचित तौल नियन्त्रण गरी मोटोपनबाट बच्ने

-धुम्रपान, मद्यपान, लागूपदार्थ तथा विभिन्न अम्मलहरू त्याग्ने

-सबैलाई शिक्षाको अवसर दिने वा व्यवस्थापन गर्ने

-रोजगार तथा स्वस्थकर आवासको व्यवस्था गर्ने

-पर्याप्त स्वास्थ्य सेवा उपलब्ध गराउने

-वातावरणीय तथा पेशागत स्वस्थता कायम गर्ने

-विद्यालयमा विशेष स्वास्थ्य शिक्षा दिने र नियमित विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने

. द्वितीय रोकथामका उपायहरू

प्राथमिक रोकथामका उपाय अपनाउँदा अपनाउँदै पनि यदि रोगले आक्रमण गरिहालेमा रोगलाई सुरुको अवस्थामा पहिचान गरी, रोग जटिल अवस्थामा प्रवेश गर्नुअघि वा अशक्त हुनुअघि नै विशेष उपचार गरी रोग निको बनाउने र निवारण गर्ने प्रक्रियालाई दोस्रो चरणको रोकथाम भनिन्छ ।

यसलाई अर्को तरिकाले प्रष्ट पार्दा यदि कुनै पनि रोगका प्रष्ट चिन्ह र लक्षण देखा नपर्दै विभिन्न परीक्षणका आधारमा वा स्क्रिनिङ गरी रोग पहिचान गरी उपयुक्त उपचार गर्नु दोस्रो तहको रोकथाम हो । जस्तै, समय-समयमा रक्तचाप, रगत सुगर, स्तन परीक्षण, पाठेघर परीक्षण, मिर्गौला तथा मुटुको परीक्षण गर्नु दोस्रो तहको रोकथाम हो ।

. तृतीय रोकथामका उपाय

प्राथमिक तथा द्वितीय तहको रोकथामका प्रक्रिया असफल भई व्यक्तिमा रोग देखापरिसकेको अवस्थामा पूर्णरुपले उपचार गर्ने प्रक्रिया तृतीय रोकथामको उपाय हो । रोगका कारण व्यक्तिको मृत्यु नहोस् र आरामपूर्वक बाँच्न सकोस् भनी यो तहको रोकथाम गरिन्छ ।

नसर्ने तथा दीर्घरोगका लागि सुविधा सम्पन्न अस्पतालमा विशेषज्ञ चिकित्सकको परामर्शअनुसार विभिन्न तरिका अपनाएर वा औषधि उपचारबाट रोग निको बनाउने प्रयास यस तहमा गरिन्छ । यो तहमा पुगिसकेपछि रोगीलाई लामो समय पूर्ण स्वस्थताका साथ बचाउन नसकिने भएकाले प्रथम र द्वितीय तहको रोकथाम नै बढी राम्रो र भरपर्दो हुन्छ ।

अन्त्यमा,

माथि उल्लेख गरिएका विभिन्न तहका रोकथामका उपाय अपनाउँदा अपनाउँदै पनि कहिलेकाहीं रोगले आक्रमण गरिहाल्छ । त्यस्ता केही कारणहरू जसका कारण यस्ता रोगको जोखिम हुनसक्छ, जसलाई निवारण गर्न सकिन्छ र कतिपय त्यस्ता कारण हुन्छन् जुन तत्वले रोगको जोखिम बढाउन सक्छन् तर त्यसलाई निवारण गर्न सकिंदैन ।

शारीरिक निष्क्रियता, धुम्रपान तथा मद्यपानको सेवन र अस्वस्थकर खानपिन (चिल्लो र नुनको मात्रा बढी भएको र फलफूल तथा सागपात जस्ता तरकारीको मात्रा कम लिने) जस्ता कारणले नसर्ने रोगको जोखिम बढेको हो, जसलाई खाना खाने प्रक्रिया वा बानीमा सुधार गर्नसके यस्ता रोगको केही हदसम्म निवारण गर्न सकिन्छ । त्यस्तै, व्यक्तिको उमेर, लिङ्ग, जाति, पारिवारिक आनुवंशिकता जस्ता तत्वले पनि कतिपय सरुवा रोगको जोखिम बढ्ने गर्छ, जसलाई निवारण गर्न सकिंदैन । यस्ता जोखिम तत्वबाट बाँच्न केही हदसम्म जीवनशैली व्यवस्थापनले सहयोग गर्छ । अतः स्वस्थ रहौं सुखी बनौं ।

नसर्ने रोग स्वास्थ्य
डा. नरनाथ पाण्डे
लेखक
डा. नरनाथ पाण्डे
जनस्वास्थ्यविद्

डा. पाण्डे नवलपुरको कावासोतीस्थित मध्यबिन्दु बहुमुखी क्याम्पसका प्राध्यापक हुन् । सेवानिवृत्त जनस्वास्थ्य निरीक्षकसमेत रहेका उनले जीवनशैली व्यवस्थापनमा विद्यावारिधि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मलेरियाको जोखिम कसलाई बढी हुन्छ ?

मलेरियाको जोखिम कसलाई बढी हुन्छ ?

प्लास्टिक सर्जरी र कस्मेटिक सर्जरीमा के फरक छ ?

प्लास्टिक सर्जरी र कस्मेटिक सर्जरीमा के फरक छ ?

बच्चाले मोबाइल, टिभी नहेरी खाना खाँदैनन् ? यस्ता छन् ९ टिप्स

बच्चाले मोबाइल, टिभी नहेरी खाना खाँदैनन् ? यस्ता छन् ९ टिप्स

सन प्रोटेक्सन क्रिम लगाउने सही तरिका के हो ?

सन प्रोटेक्सन क्रिम लगाउने सही तरिका के हो ?

महिनावारी रोकिनु गर्भ रहेको संकेत हो ?

महिनावारी रोकिनु गर्भ रहेको संकेत हो ?

आँखामा आनो किन आउँछ, के छ उपचार ?

आँखामा आनो किन आउँछ, के छ उपचार ?