+
+

काठमाडौं महानगरले सुरु गर्‍यो अस्पतालजन्य फोहोर व्यवस्थापन अनुगमन

अस्पतालले ३ लाख रुपैयाँ लागतमा फोहोर प्रशोधन गर्ने सामान तथा उपकरण खरिद गरेर संक्रमित फोहोरलाई सामान्य फोहोरमा रूपान्तरण गर्ने प्रणाली विकास गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १९:०१

२९ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापन अनुगमन सुरु गरेको छ ।

उपमेयर तथा अनुगमन समिति संयोजक सुनिता डंगोलको नेतृत्वमा प्रदर्शनी मार्गस्थित काठमाडौं मोडेल अस्पतालबाट संक्रमित फोहोर व्यवस्थापन अनुगमन थालिएको हो ।

काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ मा हानिकारक फोहोर व्यवस्थापन सम्बन्धी व्यवस्था छ । ऐनको दफा २० बमोजिम हानिकारक, स्वास्थ्य संस्थाजन्य, रासायनिक वा औद्योगिक फोहोर प्रशोधन र व्यवस्थापन उत्पादक आफैंले गर्नुपर्छ । यो व्यवस्थामा उल्लेख भएका दायित्व सम्बन्धी काम अनुगमनका सूचक हुन् ।

‘सहरी वातावरणमा महसुस योग्य सुधार गर्नुपर्छ । यस कार्यमा फोहोर उत्पादकले दायित्व बोध गरेर नागरिक र कानुनी दायित्व पूरा गर्नुहुने छ भन्ने विश्वास लिएका छौं,’ अनुगमनपछिको संक्षिप्त प्रतिक्रियामा डंगोलले भनिन्, ‘वातावरणीय जोखिम बढ्न नदिन हामी सचेत छौं । क्षेत्राधिकारभित्रका काम गरिरहेका छौं ।’

अनुगमन क्रममा अस्पतालको नर्सिङ विभाग प्रमुख राधिका घिमिरे लगायतले संक्रमित फोहोर उत्पादन हुने ठाउँ, उत्पादित फोहोर संकलन र ढुवानी गर्ने साधन तथा उपकरण, प्रशोधन गर्ने स्थान र प्रविधि तथा निर्मलीकरणपछिका सामान व्यवस्थापनको अभ्यास देखाएका थिए ।

घिमिरेका अनुसार अस्पतालले ३ लाख रुपैयाँ लागतमा फोहोर प्रशोधन गर्ने सामान तथा उपकरण खरिद गरेर संक्रमित फोहोरलाई सामान्य फोहोरमा रूपान्तरण गर्ने प्रणाली विकास गरेको हो ।

स्रोतमा फोहोर छुट्ट्याउन ‘नर्सिङ बेस्ड सिस्टम’ कार्यान्वयनमा छ । फोहोर उत्पादन हुने ठाउँको ड्युटीमा रहने नर्सिङ स्टाफले यसको जिम्मेवारी लिने गरेका छन् । अस्पतालमा १ सय बेड छ ।

सामान्य फोहोर उत्पादन हुने ठाउँमा चार प्रकारका बाल्टिन राखिएका छन् । प्लास्टिक, बोतल र क्यान, कागज र खानाजस्ता कुहिने वस्तु छुट्टाछुट्टै बाल्टिनमा जम्मा गरिन्छ । हानिकारक फोहोर संकलन गर्न ८ वटा बाल्टिन सहित ट्रली प्रयोग गर्ने गरिएको छ ।

संक्रमित फोहोर निर्मलीकरण गर्न १ सय लिटरका २ वटा अटोक्लेभ मेसिन राखिएका छन् । उपचार क्रममा उत्पादन भएको तरल हानिकारक फोहोर क्लोरिनेसन गरेर सामान्य बनाउने घिमिरेको भनाइ छ ।

निर्मलीकरण गरिएको पुनः प्रयोग गर्न सकिने फोहोर बेचेर अस्पतालले वार्षिक करिब १ लाख ८० हजार रुपैयाँ आम्दानी गर्ने गरेको छ । कतिपय फोहोर पुनः प्रयोग गर्न सकिँदैन । यस्तो खालको फोहोर निर्मलीकरण गरेपछि पैसा तिरेर उठाउन लगाउनुपर्छ । मासिक १० देखि १५ किलोसम्म यसप्रकारको फोहोर उत्पादन हुन्छ ।

अनुगमनपछि फोहोर प्रशोधन कक्ष अलग्गै ठाउँमा राख्न सुझाव दिइएको छ । ‘क्यान्टिन र फोहोर प्रशोधन कक्षको दुरी नजिक देखियो,’ वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले भने, ‘प्रशोधन कक्ष साँघुरो छ । यसलाई बढाउनुपर्ने देखिएको छ ।’

विभागले अस्पतालजन्य फोहोर वर्गीकरण गर्न, जोखिमयुक्त फोहोर प्रशोधन गरेर निर्मलीकरण गर्न र उत्पादित फोहोर व्यवस्थापन गर्न सार्वजनिक सूचनामार्फत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?