+
+

एक वर्षमा सुदूरपश्चिमका मुख्यमन्त्रीको २२ पटक काठमाडौं आउजाउ

काठमाडौं आउजाउमा साढे ८ लाख खर्च

जनक विष्ट जनक विष्ट
२०८० माघ २९ गते १९:३६

२९ माघ, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह एक वर्षको अवधिमा २२ पटक काठमाडौं ओहोर दोहोर गरेको पाइएको छ । प्रदेशको शासन अधिकार आफ्नो हातमा हुँदाहुँदै मुख्यमन्त्री शाह महिनामै ३ पटकसम्म संघीय राजधानी धाएका छन् ।

एमालेका राजेन्द्र रावलले विश्वासको मत पाउन नसकेपछि २६ माघमा मुख्यमन्त्री नियुक्त भएका शाहले २७ माघमा पदभार ग्रहण गरेका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मुख्यमन्त्री शाहले काठमाडौँ आउजाउमा एक वर्षमा साढे ८ लाख रुपैयाँ खर्च गरेका छन् ।

पदभार ग्रहण गरेको भोलिपल्टै २८ माघदेखि काठमाडौ धाउन थालेका शाहले दैनिक भत्ता र हवाइजहाज भाडा शीर्षकमा ५ लाख ५६ हजार रुपैयाँ खर्च गरेका छन् भने उनको निजी सचिवालयमा कार्यरत कर्मचारीको भत्तामा २ लाख ८९ हजार रुपैयाँ खर्च भएको छ ।

कतिसम्म भने मुख्यमन्त्री शाह २०७९ फागुनमा ३ पटकसम्म काठमाडौं गएका छन् । ९ फागुनमा काठमाडौँ गएका शाह १५ गते फर्किए, त्यसपछि फेरि २४ फागुनमा काठमाडौं गएका शाह २६ गते फर्किए । तेस्रो पटक भने उनी २८ फागुनमा गएर २९ फागुनमा फर्किए ।

त्यतिखेर मुख्यमन्त्रीको काठमाडौं दौडधुप प्रदेशसभामा विश्वासको मत लिनका लागि थियो । सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन विभिन्न शर्त राखेको थियो । त्यसका लागि पार्टीको नेतृत्व तहकै छलफलका लागि उनी काठमाडौं धाएका थिए ।

आफ्नै पार्टीबाट मन्त्री छान्न र सत्ता साझेदार अरु दलबाट मन्त्री छान्न पनि शीर्ष नेताबाटै निर्णय हुनुपर्ने स्थिति भएकाले मुख्यमन्त्री शाह काठमाडौं धाइरहेका थिए ।

फागुनपछि मुख्यमन्त्री शाह २ चैतमा फेरि काठमाडौं गए र ४ गते फर्किए । त्यसको भोलिपल्ट ५ गते पुनः सुदूरपश्चिमको विकास सम्बन्धी छलफलमा सहभागी हुन भन्दै काठमाडौं पुगे ।

गत मंसिरमा समेत शाह तीन पटक काठमाडौं आउजाउ गरे । ४ मंसिरमा अर्थतन्त्रको विद्यमान अवस्था र भावी कार्यदिशाबारे छलफलमा भाग लिन भन्दै गएका शाह ६ गते फर्किए । फेरि एक दिन मात्र धनगढी बसेर शाह ८ मंसिरमा काठमाडौं गए र १३ गते फर्किए । त्यसपछि फेरि १६ मंसिरमा काठमाडौं गएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार शाह गत वर्षको माघ एक पटक, फागनुमा ३ पटक, चैतमा ३ पटक, २०८० को वैशाखमा एक पटक, जेठमा दुई पटक, असारमा एक, साउनमा दुई, भदौमा दुई, असोज र कात्तिकमा दुई÷दुई पटक र मंसिरमा तीन पटक काठमाडौं गएका हुन् ।

शाहले आफ्नो एक वर्षको कार्यकालमा ६८ दिन संघीय राजधानी काठमाडौंमा बिताएका छन् । मुख्यमन्त्री शाहको अत्यधिक काठमाडौं आउजाउको विषयलाई आलोचना भएको छ । कतिपयले मुख्यमन्त्रीको यो काठमाडौँ यात्रालाई उनीमा निर्णय गर्ने क्षमताको कमीका रुपमा टिप्पणी गरेका छन् ।

पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीको काठमाडौं आउजाउलाई तीर्थाटनको संज्ञा दिए ।

‘यो सरकार तीर्थाटनमा रमायो । घुमघाममै मस्त छ । आफैंले पास गरेको बजेटको कार्यान्वयनमा ध्यान छैन । बहुवर्षीय योजनाहरूको अवस्था नाजुक छ’, रावलले भने, ‘बजेटको मध्यावधि समीक्षा हुन सकेको छैन । संसदलाई कामविहीन बनाइएको छ ।’

सत्तारुढ नेपाली कांग्रेसका प्रदेशसभा सदस्य मेघराज खड्का भने प्रदेशलाई अधिकार सम्पन्न नबनाएका कारण कतिपय कामका लागि मुख्यमन्त्री काठमाडौं जानैपर्ने बाध्यता भएको बताउँछन् ।

‘प्रदेशलाई अधिकार सम्पन्न बनाइएको छैन । हरेक कुरा संघसँग माग्नुपर्ने हुन्छ । विभिन्न इस्युमा जार्नैपर्ने हुन्छ’, खड्काले भने, ‘यो स्वभाविकै हो तर परिणाम नआएको विषयमा समीक्षा गर्ने पाटो अलग भयो ।’

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने प्रदेश सरकारको कामजकाज, विभिन्न भेटघाट तथा सरकारी काम प्रयोजनका लागि मुख्यमन्त्रीले काठमाडौं आउजाउ गरेको जनाएको छ ।

काठमाडौं आउजाउबाहेक एक वर्षको अवधीमा मुख्यमन्त्री शाहको सेवा सुविधामा ५१ लाख ४३ हजार रुपैयाँ खर्च भएको पाइएको छ । मुख्यमन्त्री शाह र उनको निजी सचिवालयमा कार्यरत कर्मचारीको पारिश्रमिकमा ३८ लाख २१ हजार रुपैयाँ खर्च भएको पाइएको छ ।

इन्धनवापत १३ लाख २१ हजार रुपैयाँ खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गराएको सूचनामा उल्लेख छ । एक वर्षमा मुख्यमन्त्री शाहले पारिश्रमितक वापत १० लाख ४५ हजार रुपैयाँ बुझेका छन् भने सचिवालयमा कार्यरत कर्मचारीको पारिश्रमिकमा २७ लाख ७६ हजार खर्च भएको छ ।

मुख्यमन्त्रीको पारिश्रमिक, इन्धन सुविधा, हवाइ टिकट र दैनिक भ्रमण भत्तामा कुल ५९ लाख ८९ हजार खर्च गरेको पाइएको हो ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?