+
+

जो बेपत्ताको सूचीमै अटाएनन्

मनकुमारीलाई लागेको थियो, द्वन्द्व सकिएपछि बेपत्ता छोराको खोजी होला । केही नभए कसले बेपत्ता परेको भनेर थाहासम्म पाइएला । तर बेपत्ताको सूचीमै उनको छेाराको नाम अटाएन ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० फागुन १ गते १९:०४
बेपत्ता भएका छोरा पूर्नबहादुरको  तस्वीर देखाउँदै आमा मनकुमारी र बेपत्ता श्रीमान् मनबहादुरको तस्वीर देखाउँदै कल्पना पुन ।

१ फागुन, काठमाडौं । मुलुकमा सशस्त्र द्वन्द्व नहुँदो हो त  यतिबेला मनकुमारी रोकाको भरोसा हुने थिए छोरा पूर्नबहादुर ।

रुकुम पूर्व भूमेगाउँपालिका ९ का चुनवाङका पूर्नबहादुर द्वन्द्वकालमा बेपत्ता पारिए । ५५ वर्षीया आमा मनकुमारीले बेपत्ता छोराको पर्खाइमा थुप्रै वर्ष बिताइन् । भनिन्छ नि, सास छुउञ्जेल आश हुन्छ । तर यतिका वर्ष बित्दा पनि न सास आयो न लास । आमाको मन न हो, छिनाउन खोज्दा पनि छिन्दैन छोरा फर्किहाल्ने आशाको धागो ।

****

माओवादी युद्धको आधार क्षेत्र हो, चुनवाङ । माओवादी गतिविधि बाक्लो भएपछि राज्य पक्षको नजरमा चुनवाङ हुन्थ्यो । राज्य र विद्रोही, दुवै पक्षका चेपुवामा थिए स्थानीय ।

माओवादीले घर घरबाट मान्छेहरू युद्धमा सहभागी गराए, अनि सेना-प्रहरीले स्थानीयलाई माओवादी भन्दै बेपत्ता बनाउनेदेखि हत्या गर्ने काम गरे ।

१५ वर्ष पुगेर १६ टेक्दै थिए, पूर्नबहादुर रोका । गाउँकै विद्यालयमा कक्षा ८ मा अध्ययनरत उनी १७ भदौ ०६१ को एक साँझ घरबाट गाउँ निस्किएका थिए । सधैं साथीभाइसँग खेलेर घर फर्कने उनी त्यसपछि कहिल्यै घर फर्किएनन् । पूर्नबहादुर र उनीसँगै हराएका चार जनालाई कसले बेपत्ता पार्‍यो भन्ने पत्तै भएन ।

आमा मनकुमारीले छोराको धेरै खोजबिन गरिन् । रुकुमदेखि भारतसम्म खोज्न मान्छे पठाइन्, तर केही पत्तो लागेन । ‘संकटकालका बेला पक्राउ परेका आफन्त फर्कने सम्भावना कमै हुन्थ्यो’, उनले भनिन्, ‘मेरो छोरालाई पनि त्यही बेला बेपत्ता पारे ।’

युद्ध अवधिभर छोराको कुनै पत्तो लागेन । आलो घाउ बोकेर बाँचिरहिन्, उनी ।

जब ५ मंसिर २०६३ मा शान्ति सम्झौता भएसँगै देशमा युद्धविराम भयो, द्वन्द्वका क्रममा मृतक, बेपत्ता र घाइतेहरूको सूची खोज्न थालियो । बेपत्तामा परेकाहरूलाई महिना दिनभित्र खोजतलासी गर्ने गरी १२ बुँदे सहमति भयो ।

त्यसको केही समयपछि राज्यबाट द्वन्द्वका क्रममा बेपत्ता भएकाहरू नागरिकहरूको संकलन गर्ने काम भयो । र, मृतक, घाइते, बेपत्ता र विस्थापित परिवारलाई राहत स्वरूप केही रकम दिने घोषणा समेत गरियो ।

जब बेपत्ता, मृतक, घाइतेका नामावली संकलन सुरु भयो । द्वन्द्वका अति प्रभावित जिल्लाहरूमा पुगेर निवेदन लिन थालियो । मनकुमारीलाई लागेको थियो, द्वन्द्व सकिएपछि बेपत्ता छोराको खोजी होला । केही नभए कसले बेपत्ता परेको भनेर थाहासम्म पाइएला । तर बेपत्ताको सूचीमै उनको छेाराको नाम अटाएन ।

बेपत्ता भएका छोरा पूर्नबहादुरको तस्वीर देखाउँदै आमा मनकुमारी ।

‘हामी त धेरै जाने बुझेको नाई, छोरा बेपत्ता भयो भनेर धेरै पटक निवेदन दिन गएँ’, उनले भनिन्, ‘नाम सार्वजनिक गर्दा छोराको नाम नै लेखिएन छ ।’

त्यसपछि पनि उनले जिल्ला प्रशासनदेखि तत्कालिन द्वन्द्वपीडितको नाम संकलन गर्ने निकाय तत्कालिन स्थानीय शान्ति समितिमा निवेदन दिइन् । फेरि पनि पूर्नबहादुरको नाम बेपत्ताको सूचिमै परेन । ‘छोरालाई बेपत्ताको सूचिमा किन नराखेको भनेर धेरैलाई सोधे तर कसैले मलाई बुझाएनन्’, उनले भनिन् ।

१९ वर्षदेखि छोरा हराएको पीडा बोकेर बाँचिरहेकी मनकुमारीलाई जति पीडा छोरा बेपत्ता हुनुमा छ, त्योभन्दा धेरै राज्यले गरेको अन्यायपूर्ण व्यवहारप्रति छ । ‘अरु जस्तै हाम्रो छोरा द्वन्द्वकै बेला बेपत्ता भयो । कसले लग्यो, कसले मार्‍यो थाहा छैन’, उनी भन्छिन्, ‘तर सरकारले उसलाई बेपत्ता भनेर चिनेन ।’

****

चुनबाङकै कल्पना पुन (४०) का श्रीमान् पनि द्वन्द्वकालकै बेला बेपत्ता भए । पूर्नबहादुर हराएकै साँझ कल्पनाका श्रीमान् मनबहाहदुर पनि गाउँबाटै बेपत्ता भएका थिए ।

त्यति बेलामात्र उनी २४ वर्षका थिए । युद्ध चर्किरहेका बेला उनका श्रीमान्लाई कहाँ गए, कसले लगे भन्ने पत्तो भएन । श्रीमान्को प्रतिक्षामा उनले पनि धेरै वर्ष बिताइन् । खोज्न अनेक प्रयास गरिन्, तर श्रीमानलाई पनि कुनै खबर आएन ।

श्रीमान् बेपत्ता भएपछि जीवनमा आइपरेका समस्या उनले एक्लै झेल्नु पर्‍यो । द्वन्द्वका त्रासपूर्ण दिनहरू एक्लै कटाइन्, अभावकाबीच सन्तानलाई हुर्काइन्, बढाइन् ।

श्रीमान् गुमाएको पीडा भए पनि राज्यले द्वन्द्वकालमा हराएको भनेर खोजबिन गर्ला भन्ने लागेको थियो । तर मनबहादुरको नाम पनि राज्यको बेपत्ताको सूचीमै राखिएन । ‘श्रीमान् हराएको तिथि मिति र सबै घटनासहित निवेदन दिएकी थिएँ,’ श्रीमती कल्पनाले भनिन्, ‘बेपत्तामा नाम राखिदिन पर्‍यो भनेर धेरै ठाउँ धाएँ, तर केही भएन ।’

कल्पनालाई श्रीमान् गुमाएको जति पीडा छ, त्योभन्दा धेरै बेपत्ता भनेर राज्यले नचिनेकोमा । उनलाई अहिले राज्यले बेपत्ताको सूचीमा श्रीमान्को नाम छुटाएकोमा बढी चित्त दुखाइ छ । ‘यति दुःख झेलेपछि मन बुझाउन त हुन्थ्यो, तर हामीलाई द्वन्द्व पीडित नै ठानिएन’, उनले भनिन्, ‘योभन्दा अन्याय हामीमाथि अरु के हुन सक्छ ?’

१० वर्ष लामो सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्ष र विद्रोही पक्षबाट थुप्रै नागरिकहरू बेपत्ता पारिए । २०६३ सालपछि देशभरबाट ३ हजार २८८ जनाको नाम पीडित परिवारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा उजुरी दिएका छन् । तत्कालीन शान्ति मन्त्रालयमार्फत कार्यदल र तत्कालिन स्थाानीय शान्ति समितिबाट द्वन्द्वकाक्रममा मृतक, घाइते, बेपत्ता र विस्थापितहरूको पारिएकाहरूको निवेदन संकलन गर्ने काम भएको थियो ।

बेपत्ता श्रीमान् मनबहादुरको तस्वीर देखाउँदै कल्पना पुन ।

बेपत्ता भनेर स्वीकार गरिएकाहरुको हकमा अन्तरिम राहत स्वरप राज्यले पीडित परिवारलाई पटक-पटक गरी १० लाख दियो । तर बेपत्ता भएर पनि नाम सूचीमै नपरेकाहरूले राज्यबाट पाउनुपर्ने अन्तिरिम राहत समेत पाएका छैनन् ।

द्वन्द्वको बेला अतिप्रभावित क्षेत्र रुकुम पूर्व भूमे गाउँपालिका वडा नं. ९ स्थित चुनवांगबाट अन्तबहादुर वली, पूर्नबहादुर रोका, मनबहादुर पुन, विजय घर्ती, वीरबहादुर सुनार, मनबहादुर वली द्वन्द्वकै बेला बेपत्ता पारिएका थिए । उनीहरूको अहिलेसम्म कुनै पत्तो लागेको छैन । तर बेपत्ता भनेर नाम छुटाइँदा उनीहरूका परिवारले अहिलेसम्म सरकारले दिने राहत समेत पाएका छैनन् ।

द्वन्द्वकै बेला बेपत्ता भएता पनि पाँच जनाको नाम बेपत्ताको सूचीमा नपरेको वडाध्यक्ष विनोद पुन बताउँछन् । ‘द्वन्द्वकै बेला उहाँहरू बेपत्ता पारिनुभयो, तर पीडित परिवारको नाम कतै छैन’, उनले भने, ‘बेपत्ता वा मृतक परिवार भनेर राज्यले द्वन्द्वपीडित भनेको छैन ।’

पीडित परिवार पटक-पटक धाउँदा पनि बेपत्ता भनेर नराखेको कुरा आफूलाई समेत नबुझेको पुन बताउँछन् । ‘कसले, कसरी बेपत्ता बनायो भन्ने खुलेको छैन, त्यही कारण पो बेपत्ताको भनेर नराखेको हो कि ?’ उनले आशंका व्यक्क्त गरे ।

द्वन्द्वपीडित साझा चौतारीकी कोषाध्यक्ष एवं अधिवक्ता सुशिला चौधरी द्वन्द्वका क्रममा बेपत्ता पारिएकाहरूको नाम छुटपुट भएको स्वीकार गर्छिन् । तत्कालीन अवस्थामा उजुरी दिन नसकेका वा छुटेका परिवारहरू भएको बताउँछिन् ।

पीडित परिवारले निवेदन दिंदा पनि बेपत्तामा नसमेट्दा पीडितमाथि थप पीडा थप्ने काम भएको उनले बताइन् । ‘पीडितलाई परिवार सदस्यको गुमाएको पीडा छँदैछ । द्वन्द्वपीडित नै नभेर संम्वोधन नगर्ने कुरा विभेदपूर्ण व्यवहार हो’, उनले भनिन् । द्वन्द्वमा बेपत्ता भएर नाम छुटेकाहरू परिवारलाई संवोधन गर्दै बेपत्ताको सूचीमा राख्नुपर्ने द्वन्द्वपीडित साझा चौतारीकी कोषाध्यक्ष चौधरी बताउँछिन् ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?