+
+
विचार :

कसैले मेट्न नसक्ने इतिहास हो जनयुद्ध

आजको राजनीति, कूटनीति, इतिहास, साहित्य, समाज, कानुन वा समाजका जुनसुकै क्षेत्र, विषय ‘जनयुद्ध’लाई सम्बोधन नगरी पूर्ण हुँदैन । इतिहास बनेको ‘जनयुद्ध’लाई कसैले मेट्न सक्दैन ।

किरण थापा 'अमोद' किरण थापा 'अमोद'
२०८० फागुन १ गते ११:१९

‘जनयुद्ध’ नेपालको इतिहास भइसकेको छ । १ फागुन २०५२ देखि ५ मंसिर २०६३ नेपालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा चलेको सशस्त्र आन्दोलन नै ‘माओवादी जनयुद्ध’ हो । यसको महत्व के हो ? यसको सामाजिक, वैचारिक, राजनीतिक, सांस्कृतिक र ऐतिहासिक महत्व के हो ? यसको समर्थन र विरोधमा बृहत् बहस गर्न सकिन्छ तर यसलाई अस्वीकार गर्न सकिंदैन ।

जनयुद्धको प्रभाव र विस्तार यति व्यापक थियो कि त्यसको राजनैतिक एजेण्डाले प्रत्येक नेपालीलाई प्रभाव पाथ्र्यो । नेपालको राज्य एकीकरणपछिको सबैभन्दा ठूलो अभियान थियो । जनयुद्धको प्रभाव नरहेको कुनै भौगोलिक, राजनीतिक, आर्थिक, सामाजिक, वैचारिक, सांस्कृतिक क्षेत्र छैन । हरेक नेपालीलाई या त समर्थक या त आलोचक बनाएको थियो ।

हिमाल, पहाड, तराई/मधेश, उपत्यका, गाउँ, शहर, राजधानी, मोफसल, प्रवास कतै नपुगेको र नछोएको थिएन । यो एक बहुआयामिक अभियान थियो । यसका विविध आयाम संक्षेपमा उल्लेख गर्ने प्रयास गर्नेछु ।

क. वर्गीय मुक्ति युद्ध : माओवादी जनयुद्ध उत्पीडित श्रमजीवी वर्गले शोषक, सामन्ती शासन व्यवस्था विरुद्ध गरेको विद्रोह थियो । मार्क्सवादी विचारका आधारमा कम्युनिस्ट पार्टीको नेतृत्वमा संचालित वर्ग युद्ध थियो

ख. जातीय मुक्तियुद्ध : नेपालाई एक बहुराष्ट्रियतायुक्त राष्ट्र भएको विश्लेषण गरी उत्पीडित जातिलाई मुक्त गर्ने आन्दोलन थियो । जातीय उत्पीडन पनि लामो वर्गीय उत्पीडनकै कारण हो । त्यसैले वर्गीय मुक्ति सफल नभई जातीय मुक्ति सम्भव हुँदैन । आदिवासी जनजातिहरूको जल, जमिन, जंगल र स्वशासनमा अग्राधिकारको वकालत गर्दै उत्पीडित समुदायले आफ्नो शासन, सम्मान, सहभागिताका लागि सामन्ती राज्यव्यवस्था विरुद्धको युद्ध थियो ।

ग. क्षेत्रीय मुक्ति : जनयुद्ध कर्णाली र मधेशले केन्द्रीकृत व्यवस्था विरुद्ध लडेको क्षेत्रीय युद्ध पनि थियो । नेपालको शासन व्यवस्था काठमाडौंकेन्दि्रत र विकास पनि असन्तुलित थियो । जनयुद्ध उत्पीडित क्षेत्रले काठमाडौंकेन्दि्रत शासन विरुद्धको युद्ध थियो ।

घ. लैङ्गकि मुक्ति : महिला आन्दोलनको दृष्टिकोणबाट जनयुद्ध ऐतिहासिक फड्को हो । सम्मान, समानता र सहकारिताको आजको उपलब्धि जनयुद्धको योगदान हो । वीरता, बलिदानको यो उच्चताको महिला नेतृत्व र सहभागिता संसारको कुनै पनि आन्दोलनमा भएको थिएन । सदन, सरकार, फौज, कर्मचारीदेखि हरेक ठाउँमा महिलाको अर्थपूर्ण सहभागिता छ, जनयुद्ध विना असम्भव थियो ।

ङ. जातपातजन्य विभेद विरुद्धको मुक्ति : नेपाल र मूलतः दक्षिणएशियामा रहेको छुवाछूतजन्य भेदभाव विरुद्ध जनयुद्धले प्रतिरोधी आन्दोलनको नेतृत्व गर्‍यो । सामाजिक कुरीति विरुद्ध जनयुद्ध हुन्थेन भने दलितमाथिको दलनको घनत्व निकै धेरै हुन्थ्यो । मनुस्मृतिमा आधारित जातपातजन्य भेदभाव विरुद्धको सामाजिक विद्रोहको सबैभन्दा उचाइको आन्दोलन जनयुद्ध थियो । दलित अधिकारको संवैधानिक र कानुनी व्यवस्था दलितहरूले जनयुद्धमा बगाएको रगत, पसिना र आँसुको मूल्यमा पाएका हुन् ।

च. अल्पसंख्यकको मुक्ति : वर्चस्वशाली समुदायले कमजोर र सीमान्तकृत समुदायमाथि आफ्नो प्रभुत्व लाद्ने सामन्ती व्यवस्था, एक जाति, एक भाषा, एक भेषको नश्लवादी राजनीति र त्यसैलाई राष्ट्रनिर्माण र राष्ट्रिय एकताको आधार मान्ने नाजीवादी विचार विरुद्ध विविधतालाई स्वीकार गरी यसलाई पूँजीको रूपमा बुझ्ने, सहभागितामूलक लोकतन्त्र स्थापित गर्ने आधार जनयुद्धले स्थापित गरेको हो ।

छ. सांस्कृतिक आन्दोलन : जनयुद्ध एक क्रान्तिकारी सांस्कृतिक आन्दोलन पनि थियो । बालविवाह, अनमेल विवाह, दाइजो प्रथा, बहुविवाह विरुद्धको पनि अभियान थियो । मजदुर किसान र श्रमजीवी वर्गको हित सौन्दर्य स्थापित गर्न मद्दत गरेको छ ।

दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार व्यहोर्दै आएका मधेशी, मुस्लिम लैङ्गकि अल्पसंख्यक थारू, फरक क्षमता भएका जनसमुदायले गर्व गर्न सक्ने चेतना जनयुद्धको सौन्दर्य चेत हो । उत्पीडनको विरुद्ध समर्पण वा सम्झौता होइन विद्रोह गर्नुपर्छ, विद्रोह गर्नु जनताको अधिकार हो भन्ने संघर्षको मूल्यको दर्शन जनयुद्धले स्थापित गर्‍यो ।

ज. नेतृत्व निर्माण : राजनीतिक क्रान्तिले राजनीतिक व्यवस्था र चेतना मात्रै निर्माण गर्दैन बरु यसले नयाँ राजनीतिक चेतनाको चालक नेतृत्व निर्माण पनि गर्दछ । जनयुद्धले नेपालका शीर्षस्थ नेतृत्वदेखि विविध वर्ग, क्षेत्र, समुदाय, लिङ्गका संघर्षले खारिएका नेतृत्व पनि निर्माण गरेको छ । माओवादी आन्दोलनको प्रभावले परम्परागत राजनीतिक दल र विविध क्षेत्रमा नेतृत्वको नयाँ चुनौती खडा गर्‍यो परिणामस्वरूप सिङ्गो देशमा समाजको तल्लो वर्गका नागरिकहरूबाट समेत उन्नत नेतृत्व विकास भयो । आजको नेपालको राजनीतिक नेतृत्व चाहे त्यो जुनसुकै विचार, पार्टी, क्षेत्रको किन नहोस् माओवादी आन्दोलनको उपज हो ।

झ. त्याग र बलिदानको कीर्तिमान : के तपाईं कल्पना गर्न सक्नुहुन्छ भरखरै विवाह गरेको जोडी सात दिन नबित्दै हनिमुनको योजना होइन नयाँ युद्धको योजना बनाउँछ । युद्ध मैदानमा सँगै जाँदा झोलामा पार्टीको झण्डा बोकेको छ । किनकि आफ्नो जोडी शहीद भयो भने ओढाउने अन्तिम श्रद्धाञ्जलीको तयारी गरेर हाँसीहाँसी युद्धमा गएको छ ।

भर्खरै जन्मेको आफ्नो सन्तानलाई काखमा लिएर म्वाइँ खान छोडी गोली खान तयार भएको छ । घरपरिवार, आमा-बा, दाजुभाइ, साथीसङ्गीको माया कुल्चेर स्वस्फूर्त युद्धमा सामेल छ । व्यक्तिगत सम्पत्ति न भविष्य । न तलबभत्ता, पेन्सन, बीमा न त कुनै व्यक्तिगत लाभ । के कुराले प्रेरित गरेर हजारौं मान्छे निस्वार्थ खुकुरीको धारमा पाइला चाल्न तयार भए ? राष्ट्र, जनताको हितका खातिर यो स्तरको त्यागको भावना नै जनयुद्धको शक्ति थियो । जनयुद्धलाई मूल्याङ्कन गर्दा यो त्याग र बलिदानी कीर्तिमान भुल्नुहुँदैन ।

ञ. प्रमुख आन्दोलन र पूरक आन्दोलनको आधार : जनयुद्धले त्यसभन्दा अगाडिका राजनीतिक आन्दोलनका एजेन्डा नै परिवर्तन गरिदियो । कांग्रेस, एमाले जस्ता परम्परागत संसद्वादी पार्टीलाई सहभागितामूलक लोकतान्त्रिक पार्टीमा रूपान्तरण हुन दबाब सृजना गर्‍यो । नेपालको राजनीतिमा गणतन्त्र, सङ्घीयता, समावेशिता, संविधान सभा जस्ता विषय प्रवेश गरे । जनयुद्धपछि पनि सञ्चालित भएका महिला, दलित, जनजाति, मधेशी लगायत अन्य अधिकारमा आधारित आन्दोलनहरूलाई वैचारिक र राजनीतिक पृष्ठभूमि तयार पार्‍यो ।

विधिको विविधता

जनयुद्धलाई जुन दृष्टिकोणले हेरे पनि हामी त्यो इतिहास बदल्न सक्दैनौं । आजको राजनीति, कूटनीति, इतिहास, साहित्य, समाज, कानुन वा समाजका जुनसुकै क्षेत्र, विषय जनयुद्धलाई सम्बोधन नगरी पूर्ण हुँदैन

नेपाली जनयुद्ध हतियारबद्ध सशस्त्र युद्ध मात्र थिएन यो सिङ्गो नेपाली कम्युनिस्ट आन्दोलनको संगठित इच्छा थियो । झापा विद्रोहको असफलतापछि मूर्छित नेपाली कम्युनिस्ट आन्दोलनको माओवादी धाराले यसलाई अगाडि बढायो । गाउँबाट शहर घेर्ने छापामार युद्धको चिनियाँ नेता माओत्सेतुङ रणनीतिलाई आधार माने पनि यो सशस्त्र र शान्तिपूर्ण गाउँ र शहर, वैधानिक र अवैधानिक, भौतिक र बौद्धिक, राजनीतिक र सैनिक, क्रान्तिकारी र सुधारात्मक अभियानको समग्र आन्दोलन थियो । जनयुद्धको हिंसात्मक र सैनिक पक्ष मात्रै देख्नु, अन्य पक्षहरू नदेख्नु अर्को भूल हुन्छ ।

आजको नेपालको राजनीति जनयुद्धको आधारमा चलेको राजनीति हो । २०७२ को संविधान, गणतन्त्र, संघीयता, लोकतान्त्रिक प्रणाली, समावेशी समानुपातिक व्यवस्था जनयुद्धका उपलब्धि हुन् । राजनीतिक सचेतनाको हिसाबले त जनयुद्ध एक खुल्ला विश्वविद्यालय नै थियो जहाँ लाखौं जनताले एकैपटक दीक्षित हुने अवसर पाए । महिला, दलित, आदिवासी जनजाति, उत्पीडित क्षेत्रले जुनस्तरको सचेतना, सम्मान, सहभागिता प्रतिरोध गर्ने क्षमता पाएका छन्, जनयुद्ध नभएको भए कल्पना समेत गर्न सकिने थिएन ।

कमि-कमजोरी

जनयुद्धमा कैयौं कमि-कमजोरी भएका छन् । कतै ज्यादा बल प्रयोग पनि भएको छ । लालशाहीवादी प्रवृत्ति पनि छिटफुट देखिन्छ । शाही आतंकको प्रतिरोध गर्दा लालआतंक युद्धको नीति हुनु अस्वाभाविक होइन तर निर्दोष र युद्धमा असंलग्न निहत्था जनता पनि पीडित भएका छन् । तर संसारभरिका सशस्त्र युद्धको तुलनामा यो बढी चाहिं होइन ।

जनयुद्ध रक्तपात पूर्ण युद्ध थियो । युद्धले ठूलो जनधनको क्षति भएको छ । त्यसको उचित परिपूरण हुन नसक्नु, राजनीतिक परिवर्तनपछि पनि जनताको दैनिक जीवनमा परिवर्तन हुन नसक्नु, जनताको तीव्र समृद्धिका अपेक्षा पूरा हुन नसक्नु, शहीद तथा बेपत्ता परिवार, घाइते योद्धा, जेल यातना भोगेका योद्धाको उचित सम्मान र व्यवस्थापन हुन नसक्नु अझ जनयुद्धको उच्च नेतृत्व तह नै भ्रष्टाचार, व्यभिचारमा फस्नु, नातावाद, परिवारवाद र ऽव्यमोहमा फस्नु आदि कारण यसको उच्च बलिदान, त्याग, समर्पण र योगदान नै फिक्का देखिने गरेको छ ।

शान्ति प्रक्रियाको बाँकी काम सत्य मेलमिलाप आयोग र संक्रमणकालीन न्यायको काम हुन नसक्नु दुःखद् पक्ष हो । जनयुद्धको नेतृत्वकारी शक्ति कमजोर हुँदै जादा प्रतिगामी पुनरुत्थानवादी शक्तिले जनयुद्धलाई आपराधिक भाष्य बनाउने प्रयत्न भएको छ भने दक्षिणपन्थी पपुलिजमले त्यसलाई राजनीतिक औजारको रूपमा प्रयोग गर्ने प्रयत्न गरेको छ ।

फेरिएको सन्दर्भ

जनयुद्ध इतिहास भइसक्यो । जनयुद्ध सुरु हँुदा २०५२ सालमा जन्मेको बच्चा आज २८ वर्ष पुग्यो र जनयुद्ध अन्त्य भएको बच्चा पनि बालिग भइसकेको छ । जुनसुकै इतिहासलाई हेर्ने बुझ्ने एउटै दृष्टिकोण हुन सक्दैन । जनयुद्धलाई हेर्ने पनि एउटै दृष्टिकोण हुनै सक्दैन । जनयुद्धलाई विविध आयाम विश्लेषण गर्नु र इतिहासबाट शिक्षा लिन जरूरी छ ।

जनयुद्धले मात्रै सबै उपलब्धिहरू हासिल भएका हुन् भन्नु अर्को आग्रहपूर्ण दाबी हुन्छ । जनयुद्ध अगाडि र जनयुद्ध पछाडि पनि जनताले लोकतन्त्रीकरणको प्रक्रियामा निरन्तर संघर्ष गरेका छन् । जनयुद्धले ती आन्दोलनहरूबाट विचार, अनुभव, ज्ञान र शिक्षा लिएको छ भने जनयुद्धको क्रममा विकास भएका विचार, ज्ञान, अनुभव र शिक्षाबाट अन्य आन्दोलनका आधार तयार गरेका छन् ।

कैयौं सन्दर्भमा तत्कालीन युद्धको फाइदाको लागि राष्ट्र र समाजलाई अहित हुने विषय पनि आन्दोलनले बोकेको देखिन्छ । त्यसमा पनि वस्तुनिष्ठ समीक्षा जरूरी छ । जनयुद्धको क्रममा भएका हिंसाका घटनाहरूले समाजमा पारेका दीर्घकालीन नकारात्मक असरहरूको सामाजिक उपचारको लागि पनि जनयुद्धको अध्ययन हुन जरूरी छ ।

फेरिएको राजनैतिक व्यवस्था र पुरानै आर्थिक आधार आजको अव्यवस्था र असन्तुष्टिको कारण हो । सामाजिक र आर्थिक क्षेत्रमा रहेको संरचनागत सुधार गरी तीव्र आर्थिक समृद्धि हासिल गर्नु आजको हाम्रो चुनौती हो । नयाँ चुनौती सामना गर्न नयाँ विचार, संगठन, अभियान र विधि आवश्यक छ । जनयुद्धका विचार, संगठन, अभियान र तरिकाले आफ्नो ऐतिहासिक दायित्व पूरा गरिसकेको छ ।

जनयुद्धलाई जुन दृष्टिकोणले हेरे पनि हामी त्यो इतिहास बदल्न सक्दैनौं । आजको राजनीति, कूटनीति, इतिहास, साहित्य, समाज, कानुन वा समाजका जुनसुकै क्षेत्र, विषय जनयुद्धलाई सम्बोधन नगरी पूर्ण हुँदैन । इतिहास बनेको जनयुद्धलाई कसैले मेट्न सक्दैन । बरु समाजले आजको आवश्यकता र सन्दर्भमा यसको व्यापक, वस्तुनिष्ठ, आग्रहरहित विश्लेषण गरी शिक्षा लिनुपर्छ । सरकारले नमनाए पनि, अदालतले नचिने पनि, समर्थन वा विरोध जे गरे पनि जनताले सुदूर भविष्यसम्म जनयुद्ध मनाउने छन् ।

म त भन्छु- नेपाल भन्ने राष्ट्र यो धर्तीमा रहेसम्म जनयुद्ध दिवस रहिरहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?