+
+

पाकिस्तानमा भुट्टोको समर्थन नवाज शरीफलाई

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते ७:०९

२ फागुन, काठमाडौं । पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)ले नयाँ सरकार गठनका लागि पूर्वप्रधानमन्त्री नवाज शरीफलाई समर्थन गर्ने भएको छ ।

पीपीपीका अध्यक्ष बिलावल भुट्टो जरदारीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा नयाँ सरकार गठनका लागि पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन)का प्रधानमन्त्रीको उम्मेदवारलाई समर्थन गर्ने बताएका हुन् । तर केन्द्र सरकारमा भने सहभागी नहुने उनले बताए ।

भुट्टोले पत्रकार सम्मेलनमा भने, ‘हामीलाई सरकारमा जाने जनादेश छैन । त्यसैले म प्रधानमन्त्रीको उम्मेदवार होइन । केन्द्र सरकारमा जाने लोभ पनि छैन ।’

उनले देशमा स्थीरताका लागि नवाज शरीफ नेतृत्वको पीएमएल-एनको प्रधानमन्त्रीको उम्मेदवारलाई सहयोग गर्ने तर इमरान खान नेतृत्वको पीटीआई पार्टीसँग कुनै प्रकारको सम्झौता नगर्ने बताएका छन् ।

पाकिस्तानमा गत बिहीबार आम निर्वाचन भएको थियो । निर्वाचनमा इमरान खान नेतृत्वको पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) पहिलो, नवाज शरीफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) दोस्रो र बिलावल भुट्टो जरदारी नेतृत्वको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) तेस्रो भएको नतिजा निर्वाचन आयोगले सार्वजनिक गरेको थियो ।

निर्वाचनमा कसैको पनि एकल बहुमत आएको छैन । कुल ३३६ सदस्य रहने नेशनल एसेम्बलीमा बहुमतका लागि १६९ सिट चाहिन्छ । कुल ३३६ सीटमध्ये २६६ सदस्य प्रत्यक्ष निर्वाचनबाट चुनिन्छन् । बाँकी ७० सिटमा भने आरक्षणको व्यवस्था छ ।

६० जना महिला र १० जना गैरमुस्लिम समुदायका लागि आरक्षण छ । दलहरुले प्रत्यक्ष जितेको सिट संख्याको आधारमा आरक्षण कोटाबाट भागबण्डा गरेर सांसद चयन गर्छन् । इमरान खान नेतृत्वको पीटीआई प्रतिबन्धित भएकोले उसले आरक्षण कोटा पाउनेछैन ।

आयोगका अनुसार खान समर्थक उम्मेदवारहरुले प्रत्यक्षमा ९३ सिट जितेका छन् । नवाज शरीफको पार्टी पीएमएल-एनले ७५ र बिलावल भुट्टो जरदारी नेतृत्वको पीपीपीले ५४ सिट जितेका छन् ।

नवाज शरीफले भने निर्वाचनबाट सबैभन्दा ठूलो आफ्नो पार्टी बनेको जिकिर गर्दै आएका छन् । इमरान खान नेतृत्वको पीटीआईलाई चुनाव लड्न निर्वाचन आयोगले प्रतिबन्ध लगाएको र खान समर्थक उम्मेदवारहरु स्वतन्त्र रुपमा निर्वाचन लडेकाले सबैभन्दा ठूलो दल पीएमएल-एन नै भएको शरीफको तर्क छ । त्यसैले शरीफ गठबन्धन सरकार बनाउने गृहकार्यमा छन् ।

भुट्टोको समर्थन पाइसकेका शरीफ १६ सिट जितेको मुत्ताहिदा कौमी मुभमेन्ट (एमक्यूएम) र अन्य स्वतन्त्र उम्मेदवारहरुलाई पनि साथमा लिने प्रयासमा छन् । पीएमएल-एन, पीपीपी र केही साना दल मिलेर गत अगष्ट महिनासम्म सरकार चलाएका थिए । उनीहरुले सन् २०२२ मा गठनबन्धन गरेर इमरान खानलाई प्रधानमन्त्रीबाट हटाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?