+
+

देशभर बदली, मौसमविद भन्छन्- भोलि घाम लाग्छ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते ११:२१

२ फागुन, काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभर बदली भएको छ । बदली भएसँगै चिसो महसुस पनि भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश स्थानमा बादल लागेको छ ।

सुदूरपश्चिम प्रदेश बाहेक ६ वटै प्रदेशका एक–दुई ठाउँमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना पनि रहेको बरिष्ठ मौसमविद वरुण पौडेलले जानकारी दिए । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको उनले बताए ।

उनका अनुसार अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा कम बादल लागेको छ । बादल लागेकाले अधिकतम तापक्रममा गिरावट आउने सम्भावना पनि छ । अधिकतम तापक्रम घट्दा जाडो महसुस हुने मौसमविद पौडेलले बताए ।

आज बिहान काठमाडौंको अधिकतम तापक्रम २२.७ डिग्री सेल्सियस छ । आज दिउँसो अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसको बीचमा रहने पूर्वानुमान छ ।

भोलि घाम लाग्छ

आज रातिबाट आकाश खुल्दै जाने र पश्चिमी भूभागमा भोलि घाम पनि लाग्ने वरिष्ठ मौसमविद पौडेलले बताए । तर बागमती प्रदेशदेखि पूर्वतर्फ भने आज साँझसम्म पनि बादल कायमै रहने सम्भावना रहेको उनले बताए ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेख छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

आज राति भने कोशी र मधेश प्रदेश लगायत बागमती प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशका एक–दुई स्थानमा भने हल्का वर्षाको पनि सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?