+
+

काठमाडौंतर्फ पैदल हिँडेका मिटरब्याज पीडित : यसपटक न्याय नपाई घर फर्किन्नँ

ब्यानर बोकेर काठमाडौंतर्फ हिँडिरहेका रामशुभकले घर छाड्दा नै एउटा अठोट गरेका थिए, ‘यसपटक न्याय नपाई घर फर्किन्नँ ।’

सुवास पण्डित सुवास पण्डित
२०८० फागुन २ गते २२:०४

२ फागुन, चितवन । पश्चिम नेपालको कञ्चनपुरबाट १६ दिन अगाडि हिँडेको मिटरब्याज पीडितहरुको एक टोली नवलपरासी पूर्वको गैंडाकोट आइपुगेको छ ।

टोलीको अग्र भागमा छन्, ६४ बर्षका रामशुभक मुसहर । चप्पल र धोती लगाएर काँधमा गम्छा हालेर हिँडेका रामशुभकका बुढ्यौली पाइला मिटरब्याज पीडितको अग्रभागमा लम्किरहेको छ, न्यायका लागि ।

यसअघि ४ पटकसम्म मिटरब्याज पीडितको आन्दोलनमा सहभागी भएर पनि समस्या समाधान नभएपछि उनी यसपटक कष्टपूर्ण यात्राका लागि निस्किएका हुन् । अगाडि ब्यानर बोकेर लम्किरहेका रामशुभकले घर छाड्दा नै एउटा अठोट गरेका छन्, ‘यसपटक न्याय नपाई घर फर्किन्नँ ।’

मिटरब्याजीले दिएको पीडा र तनाव सहन नसकेर श्रीमती सरस्वती मुसहर गत बर्ष नै बितेको रामशुभक बताउँछन् । ‘बुढी पनि यही मिटरब्याजको पीडाले उमेर छदै बितिन्, म पनि यही आन्दोलन गर्दागर्दै मर्छु जस्तो लागेको छ’ उनी भन्छन्, ‘हजारौं पीडितहरुको न्यायका लागि म बुढो मान्छे पनि लागेको छु ।’

पश्चिम नवलपरासीको सुस्ताका रामशुभकले छोरालाई मलेसिया पठाउन स्थानीय साहु जगदिश कान्तसँग १ लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए । त्यसका लागि उनले श्रीमतीको नाममा रहेको जग्गा ३.५ कठ्ठा जग्गा दृष्टिबन्धक राखे ।

साहुले डेढ लाख ऋण लिएकामा ३ लाखको कागज बनाए र पछि ९ लाख पुर्‍याएको रामशुभक बताउँछन् ।

भएको ७ कठ्ठा जग्गा पनि बेचेर ९ लाख तिरे । साहुले अझै १० लाख रुपैयाँ मागे । दिएन भनेर धम्क्याउन थाले । दृष्टिबन्धक गरेको साढे ३ कठ्ठा जग्गा साहुले नै बेचे । ४ छोरा र एक छोरीका बाबु रामशुभकले अब आफ्नो केही नभएको बताए ।

गत बर्ष काठमाडौंमा आन्दोलन गरेर सरकारसँग ५ बुँदे सम्झौता गरेको एक बर्ष पुग्नै लाग्दा आफूहरुका मागहरुको सम्बोधन नभएको र उल्टै विभिन्न सरकारी निकाय, अदालतले समेत मिटरब्याज कै पक्षमा लागेर फर्जी लिखतलाई वैधता दिन थालेको भन्दै मिटरब्याज पीडितहरु न्याय मार्चमा उत्रिएका छन् ।

सरकारले बनाएको जाँचबुझ आयोगबाट पनि पीडितले न्याय नपाएको भन्दै निर्णायक आन्दोलनका लागि मार्चपासमा निस्किएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता प्रवक्ता निर्ग नविनले बताए ।

मिटरब्याज तथा ठगीविरूद्ध किसान–मजदुर संघर्ष समिति नेपालका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाले पूर्वको मेची पुलबाट र केन्द्रीय प्रवक्ता निर्ग नवीनले कञ्चनपुरस्थित गड्डाचौकीबाट नेतृत्व गर्दै निस्किएको मिटरब्याज पीडितहरुको टोली बिहीबार नारायणगढमा एकीकृत भएर काठमाडौं जाने तयारी गरेका छन् ।

मिटर ब्याज सम्बन्धी कानुन संशोधन र न्यायिक आयोग गठन गर्नुपर्ने लगायतको ६ बुँदे माग राख्दै मेची–महाकालीबाट एक साथ पैदल यात्रा सुरु गरेको प्रवक्ता नवीनले बताए ।

यसअघि ४ पटकसम्म आन्दोलनमा आएका पूर्वी नवलपरासीको सुस्ताका प्रभु कोइरी यसपटक निर्णायक आन्दोलनका लागि कष्टपूर्ण यात्रामा निस्किएको बताउँछन् । विदेश जानका लागि साहुबाट १ लाख रुपैयाँ ऋण लिएकामा आफूलाई ६ लाखको तमसुकमा ल्याप्चे हान्न बाध्य पारेको कोइरी बताउँछन् ।

त्यसको ब्याज र स्याज गरेर १८ लाख रुपैयाँ मागेको र ८ कठ्ठा जग्गा बेचेर रकम दिए पनि अझैं साहुले पैसा तिर्न बाँकी रहेको भन्दै दुःख दिएको उनी बताउँछन् । पश्चिम नवलपरासीमा मात्रै ३५ सय मिटरब्याज पीडितहरुले आफ्नो निवेदन दर्ता गरेको कोइरीले बताए ।

‘हिँड्न सक्नेहरु पैदल हिँडेरै काठमाडौं पुग्ने हो, नसक्नेहरु गाडीमा आउनुहुन्छ, यसपटक माग पूरा नभएसम्म काठमाडौं नछाड्ने भनेर आएका छौं’, कोइरी भन्छन्, ‘जतिसुकै खुट्टा दुखे पनि सुन्निए पनि, यो अन्तिमपटक होस् भनेर सहेका छौं ।’

कोइरीको जस्तै पीडा छ, दाङ घोराहीबाट हिँडेर आएकी लक्ष्मी नेपालीको । खुट्टामा फोका उठे पनि आफूहरुको माग पूरा हुने आशामा यसपटक हिँडेरै काठमाडौं जान लागेको उनले बताइन् । साहुसँग लिएको ४ लाख ऋण २२ लाख तिर्दा पनि पूरा नभएर अझै दुःख दिन नछाडेकाले आफूहरु आन्दोलनमा आउनुपरेको उनको भनाइ छ ।

पश्चिमबाट आएको १५० जनाको टोलीमा नवलपरासीबाट १६० जना थपिएका छन् । विभिन्न जिल्लाबाट पीडितहरु थपिँदै गएका छन् । पश्चिमबाट भन्दा पूर्वबाट आएको टोली ठूलो रहेको प्रवक्ता नविनले बताए ।

पीडितहरुले दिनमा ३५ देखि ४० किलोमिटरसम्म पैदलयात्रा गरेका छन् । रातिमा विभिन्न सामुदायिक भवन, मन्दिर, क्लबहरुमा बास बस्ने र सहयोगदाता मनकारीहरुले खान व्यवस्था मिलाइदिएको प्रवक्ता नविनले जानकारी दिए ।

‘तीन वर्षदेखि आन्दोलन गर्दा पनि सरकारले सुनेन, सरकार नै मिटरब्याजीको पक्षमा हो कि भन्ने आभास हुन थालेको छ’, उनले भने । उनले यसपटक सरकारसँग हुने सम्झौतामा मिटरब्याजीहरुका पक्षमा कुनै पनि प्वाल नछाड्ने गरी अगाडि बढ्ने अठोट लिइएको बताए ।

शासन सत्ता चलाएका मान्छेलाई आफूमाथि कति घनत्वको पीडा छ भनेर देखाउन मिटरब्याज पीडितहरु हिँडेरै काठमाडौं जान लागेको उनले बताए । अब ५ दिनमा काठमाण्डौं पुग्ने विश्वास ब्यक्त गर्दै भने, ‘हामी सुन्निएका खुट्टा, बसेको स्वर, भोको पेट लिएर काठमाडौंका शासकलाई देखाउने छौं, अब हामीसँग केही छैन भनेर ।’

संघर्ष समितिले मिटर ब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखतहरू (तमसुक, रजिस्ट्रेसन, दृष्टि बन्धक, र चेक) अवैध घोषणा गर्नुपर्ने, अदालतमा मिटरब्याजी साहुले पीडितमाथि आक्रमण गरे मुद्दाको दर्ता र सम्पूर्ण अदालती प्रक्रिया स्थगित गर्नुपर्ने माग राखेका छन् ।

त्यस्तै जुनसुकै तहमा भएको पीडितको सम्पत्तिको हक हस्तान्तरण बदर गरी पीडितहरूलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, फैसला भइसकेका मुद्दाहरुको पुनरावलोकन गरी फर्जी लिखत समेतका आधारमा सजाय काटिरहेका पीडितलाई रिहा गरी उनीहरूलाई गरिएको जरिवाना मिनाहा र बिगो खारेज गर्नुपर्ने माग पनि मिटरब्याज पीडितको छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?