२ फागुन, काठमाडौं । माओवादी केन्द्रको जारी विधान सम्मेलनमा पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने मत जबर्जस्त उठेको छ ।
मंगलबारदेखि जारी विधान अधिवेशनमा समूहगत छलफलबाट आएको निष्कर्षसहित सुझाव राख्ने क्रममा प्रतिनिधिहरूले पार्टीको नाम र चुनाव चिह्न परिवर्तन गर्नुपर्ने र नेतृत्व चयन प्रत्यक्ष निर्वाचन विधिबाट गर्नुपर्ने सुझाव दिएका हुन् ।
सम्मेलनमा सहभागी नेताहरूका अनुसार उपस्थित अधिवेशन प्रतिनिधिहरूमध्ये नाम परिवर्तनको पक्ष विपक्षमा आधा–आधा मत आएको छ ।
चुनाव चिह्न परिवर्तनमा बहुमत र नेतृत्व चयनको विधि प्रत्यक्ष निर्वाचन प्रणाली बनाइनुपर्छ भन्नेमा करिब शत प्रतिशत प्रतिनिधि देखिएका छन् । एक पदाधिकारी भन्छन्, ‘यसले नेतृत्व तहमा लामो समयदेखि भइरहेको छलफल पार्टीको तल्लो तहसम्मै पुगेको छ भन्ने प्रमाणित गरेको छ ।’
अधिवेशनमा उपस्थित करिब १३०० प्रतिनिधिले आआफ्नो समूहमा छलफल गरेपछि बुधबार टोली नेताले निष्कर्षसहितको सुझाव पेश गरिरहेका छन् । प्रतिनिधिहरूका २० वटा समूहमध्ये बुधबार १३ वटा समूहले राखेको निष्कर्षसहितको सुझावमा अधिकांशले पार्टी पुनर्संरचनाको सुरुवात नाम, चुनाव चिह्न र नेतृत्व चयनको विधिबाट गर्नुपर्ने धारणा राखे ।
आफ्नो समूहबाट सुझाव पेश गर्ने हिमाल शर्मा, परशुराम रम्तेल, हरिराज अधिकारी, ओम शर्मा, सरल सहयात्री, युवराज चौलागाईलगायतले पार्टीको नाम र चुनाव चिह्न परिवर्तन गर्नुपर्ने धारणा राखेका छन् ।
पार्टीको नाम परिवर्तन गर्दा अरु पार्टीबाट आउनेहरूलाई समेत समेट्न सजिलो हुने उनीहरुको तर्क छ । पार्टीको नामबाट माओवादी हटाएर नेकपा केन्द्र, हाम्रो कम्युनिस्ट पार्टी, नेकपा एकीकृत, समाजवादी केन्द्र, नेकपा समाजवादीजस्ता नाम उपयुक्त हुनसक्ने सुझाव समेत उनीहरुले दिए ।
अहिले माओवादीको चुनाव चिह्न गोलाकारभित्र हसिया हथौडा छ । यसको साटो सहज रुपमा भन्न सकिने र मतदातामा सकारात्मक प्रभाव पर्ने खालको रोज्नुपर्ने नेताहरुले बताएका छन् ।
पार्टीको नाम र चुनाव चिह्नसँगै सिद्धान्तलाई पनि वैज्ञानिक समाजवादमा जाने गरी तय गर्नुपर्ने सुझाव अधिवेशन हलमा प्रतिनिधिबाट आएको छ । साथै, कमिटीको नेतृत्व चयनमा मात्रै नभएर महाविधेशन प्रतिनिधि र विभिन्न तहका चुनावमा जनप्रतिनिधिका लागि उम्मेदवार पनि पार्टी सदस्यले नै छनौट गर्न पाउनु पर्ने सुझाव माओवादी केन्द्रमा आएको छ ।
माओवादी नेता युवराज चौलागाई समूहगत छलफलका क्रममा प्रतिनिधिहरूले तीन वटै विषयलाई प्राथमिकताका साथ उठाएको र समूहगत छलफलको निष्कर्ष पनि त्यसरी नै प्रस्तुत भएको बताउँछन् । उनका अनुसार युद्धबाट आएको इतिहास भएको पार्टी हुनु र कयौं प्राविधिक कारणले पनि पार्टीपंक्तिमा नाम र चुनाव चिह्न परिवर्तनको आवश्यकता महसुस भएको बताए ।
‘नाम परिवर्तन गर्नुपर्छ भन्नुमा सहरी क्षेत्रको जनमतमा सकरात्मक प्रभाव पार्न सकिन्छ कि भन्ने धारणा रहेको देखिन्छ’ उनले भने, ‘माओवादी नामसँग पुरानो युद्धकालीन छाप धेरै छ । त्यसले आम मानिसलाई हाम्रो पार्टीको पछिल्लो नीति र विधिलाई साक्षात्कार गराउन नसकेको पनि चुनावी परिणामले देखिन्छ ।’
एमालेसँग एकता गरेर नेकपा बन्दा पनि करिव ३ वर्ष माओवादी नाम छाडेर काम गरेको भन्दै उनले अघि भने, प्रगतिशील शक्तिसँग एकता गर्नका लागि पनि यसले सजिलो बनाउने हुँदा नाम परिवर्तन गर्दा ठीक होला भन्नेमा सबै पुग्नुभएको हो ।’

एमाले र माओवादी बीच एकता हुँदा प्रचण्डले पनि माओवाद छोडिसकेका थिए । उनले नेकपा बनिसकेकाले फेरि माओवादी नहुने घोषणा नै गरेका थिए । नेकपाको सैद्धान्तिक कार्यक्रम समाजवाद उन्मुख जनताको जनवाद तय गरिँदा माओवाद छलफलका निम्ति थाती राखिएको थियो ।
माओवादी नेता परशुराम रम्तेल चुनाव चिह्नको बारेमा जनतालाई बुझाउनै गाह्रो हुने अवस्था भएको बताउँछन् । ‘अन्य पार्टीका चुनाव चिह्न सजिलै भन्न सकिने छन्, प्रष्ट बुझिन्छन्’, उनी भन्छन्, ‘तर, हाम्रो चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा भन्नुपर्छ । यसले मतदाता पनि अल्मलिन्छन् ।’
उनी २०६४ सालमा उस्तैउस्तै चुनाव चिह्न भएकाले अर्को पार्टीले सात सिट पाएको उदाहरण दिँदै मतदाताको सहजताको लागि पनि चुनाव चिह्न फेर्नु पर्ने बताउँछन् । ‘हँसिया हथौडा पार्टीको झण्डामा भइहाल्छ । पार्टीको नामै फेर्दा पनि नेकपा त हामी छोड्दैनौं । त्यसैले झण्डामै हुने कुरा चुनाव चिह्नमा राखिरहन आवश्यक पर्दैन । चुनाव चिह्नमा संकेत मात्रै हो’, उनी भन्छन् ।
माओवादी छाडे पनि कम्युनिस्ट पार्टी छाड्न नहुने उनको धारणा छ । ‘विगतमा नाम छोडेकै थियौं, एमालेसँग मिल्दा नेकपा भयौं, फेरि माओवादीमा फर्कियौं । तर कम्युनिष्टबाट अलग हुन सकिदैन’, रम्तेलको भनाइ छ ।
शान्ति प्रक्रियापछि सम्पन्न पहिलो संविधानसभा चुनावयता निरन्तर ओरालो लाग्दै गएको जनमतलाई आकर्षण गर्न माओवादीमा नाम परिर्वतनको बहस भएको पहिलो पटक होइन । तर यो पटक विधान सम्मेलनमा नाम र चुनाव चिह्नको बहसले उलेख्य प्राथमिकता पाएको नेताहरु बताउँछन् ।
पार्टी जीवनमा पहिलोपटक विधान अधिवेशन गरिरहेको माओवादीले उपाध्यक्ष फम्फा भुसालको नेतृत्वमा मस्यौदा समिति गठन गरेको थियो । समितिले पेश गरेको मस्यौदामाथि नाम र चुनाव चिह्न परिर्वतनबारे केही बोलिएको छैन । त्यसमा असहमति जनाउँदै उपमहासचिव जनार्दन शर्माले फरक मत राखेका थिए । शर्मा चाहिँ नाम परिर्वतनको पक्षमा छन् ।
शर्माले राखेको संक्षिप्त ९ बुँदे पुरक प्रस्तावबारे पार्टीको स्थायी समिति र पदाधिकारीमा व्यापक छलफल भएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अधिवेशन उदघाटनका क्रममा पनि शर्माको फरक मत रहेको जानकारी गराएका थिए । समूहगत छलफलमा त्यसले निकै स्थान पाएको छ ।
कतिपयले भने पार्टीको नाम र चुनाव चिह्न फेर्ने प्रस्तावको विरोध गरेका छन् । उनीहरूले स्थापित भइसकेको नाम र चुनाव चिह्नलाई चलाउन नहुने तर्का गरेका छन् । यस्तो धारणा राख्ने अधिकांश माओवादी जनयुद्धका प्रभाव क्षेत्रका रूपाम परिचित क्षेत्रका प्रतिनिधिहरू छन् ।
विधान कार्यान्वयनमाथि प्रश्न
विधानबारे छलफल गरिरहेका प्रतिनिधिले आफूहरुले पास गर्ने विधान कार्यान्वयनमा समेत प्रश्न उठाएका छन् ।
माओवादीभित्र लामो समयदेखि पार्टीलाई विधिमा सञ्चालन गर्नुपर्ने माग टड्कारो रूपमा उठ्दै आएको छ । शान्ति प्रक्रियापछि सत्ता राजनीतिमा अलमलिएको माओवादी नेतृत्वले पार्टीलाई विधानभन्दा पनि अध्यक्ष प्रचण्डको आदेश र प्रभावशाली दोस्रो तहका नेताहरूको मनोमानीमा चल्ने गरेको भन्दै आलोचना हुने गरेको छ ।
आठौं महाधिवेशनको बन्द सत्र र केन्द्रीय समितिको बैठकमा पनि पार्टी नेतृत्वको कार्यशैली र विधान कार्यान्वयनको विषय चर्को ढंगले उठेको थियो । यसपटक विधान सम्मेलनमै प्रतिनिधिहरूले ‘कार्यान्वयन नहुने विधानको अधिवेशन गर्नुको औचित्य नहुने’ बताएका छन् ।
‘नेपालमा कम्युनिस्ट पार्टीको ७५ वर्ष लामो इतिहास छ । हरेक पटक विधान लेख्छौं, तर कतिपटक त्यसलाई संसोधन गरेर चलायौँ भन्ने लेखाजोखा छैन । यत्रो वर्षसम्म यो पार्टीमा विधान लागू गर्न नसक्नु र नहुनुको कारण के हो ?’, माओवादीका एक नेता भन्छन्, ‘यो विधान लेखेपछि एउटा सुन्दर रचना बाहेक भोलि लागू हुन्छ भन्ने कुराको के ग्यारेन्टी हुन्छ ? नेतृत्वको हिसाबले अध्यक्ष प्रचण्डले र संस्थागत हिसाबले पार्टी र विधानले यस विषयमा स्पष्ट भन्नु पर्छ ।’
माओवादी यसपटक विधान अधिवेशन गर्नुको मुख्य कारण ‘नेतृत्व निर्माण’ को विषयलाई बनाएको छ । तर नेतृत्वले सबैलाई समेट्दै जाने नाममा भद्दा कमिटीहरू बन्ने, तीनले काम भने नगर्ने हुँदा पार्टी संगठन कमजोर बन्दै गएपछि विधान सम्मेलनमार्फत त्यसको हल खोज्ने माओवादीको लक्ष्य हो । तर यसअघि हरेक महाधिवेशनमा विधान बनाउने, कार्यान्वयन नहुने समस्या देखेका माओवादी प्रतिनिधिले त्यसको कार्यान्वयलाई लिएर अध्यक्ष प्रचण्डलाई नै प्रश्न राखेका छन् ।
‘हरेक महाधिवेशन र सम्मेलनहरूमा पार्टीको नयाँ विधान अद्योपान्त पढ्ने–पढाउने बानी परेका हामीहरू यहाँ छौं’, प्रतिनिधिले प्रचण्डलाई सुझाव दिने क्रममा भने, ‘विगतमा विधान बनाएको मसी समेत सुक्न नपाउँदै त्यसलाई संशोधन, तोडमोड र असामयिक हत्या गर्ने बानी परेका हामीलाई योपटक त्यस्तो हुन्न भन्ने दह्रो राजनैतिक आधार, सुस्पष्ट वैधानिक व्यवस्था र संस्थागत प्रतिवद्धता नभइ भएको छैन ।’
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4