+
+

सम्पत्ति शुद्धीकरण मुद्दाका दोषी माओवादीको विधान सम्मेलनमा सहभागी

हरि अधिकारी हरि अधिकारी
२०८० फागुन ३ गते १३:०३
माओवादी केन्द्रको विधान सम्मेलनमा सहभागी गगन पुरी (रातो घेरामा))

३ फागुन, विराटनगर । सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका नेकपा माओवादी केन्द्रका नेता गगन पुरी पार्टीको विधान सम्मेलनमा सहभागी छन् ।

२८ माघमा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झापाका नेता पुरीसहित दुई जनालाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो । उनको सजाय निर्धारण भने ६ फागुनमा हुने तय भएको छ ।

झापाको दमक नगरपालिका–१३ को सरकारी जग्गा हडपेर व्यक्तिगत सम्पत्ति कायम गरेको अभियोगमा पुरीमाथि विशेष अदालतले दोषी ठहर गरेको हो । उनको ४ करोड रुपैयाँको स्रोत नखुलेको विशेष अदालतको ठहर छ ।

पुरीसहित ६ जनाविरुद्ध २१ माघ २०७७ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । ६ जनाविरुद्ध मुद्दा दायर भएकामा गगन पुरी र उनकी पत्नीमात्र दोषी ठहर भएका हुन् ।

विशेष अदालतले दोषी ठहर गरेको फैसला सुनाउँदा पुरी काठमाडौंमा नै पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी थिए । मंगलबार विधान सम्मेलन सुरु हुँदा उनी दोषी ठहर भइसकेका थिए, विधान सम्मेलनमा समूहगत छलफलका लागि २० वटा समूह बनाइएको छ । उनी रहेको १९ औं समूहका संयोजक सुमन देवकोटा हुन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सम्मेलनमा सहभागी सबैजसो नेतालाई पुरी अदालतबाट दोषी ठहर भएको जानकारी छ । तर दोषी ठहर भइसक्दा न पुरी आफैंले बैठकमा सहभागी नभएर नैतिकता देखाए, न नेताहरुले नै रोक्ने आँट गरे ।

नेकपा माओवादी केन्द्रका सचिव तथा कोशी प्रदेश इन्चार्ज चक्रपाणि खनालले पुरीलाई तत्कालै सम्मेलनमा सहभागी हुनबाट रोक्न नसक्ने बताए । ‘पार्टीबाट कारवाही नहुँदासम्म सहभागी हुन पाउनुभयो, किनभने कार्यक्रम सुरु भइसकेपछि थाहा पाएको हो त्यो (फैसला) कुरा’, उनले भने, ‘बुझबुझारथ गरेर गर्ने कुरा होला, तर बैठकमा नै रोक्ने कुरा चाहिँ नहोला, उहाँसँग पार्टीले स्पष्टीकरण पनि लिएको छैन ।’

नेकपा माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले पनि गगन पुरीका विषयमा पार्टीले कुनै निर्णय नगरेको बताए । पुरीले पार्टी अध्यक्षलाई घटनाको विषयमा सम्मेलनमा नै लिखित रुपमा जानकारी गराएको उनले जानकारी दिए । ‘उहाँले सम्मेलनमा नै पार्टीमा लिखित जानकारी गराउनुभएको छ आफैं’, उनले भने, ‘सम्मेलनले गर्दा केही हेर्न पाइएको छैन, बैठकपछि थप डिसिजन होला ।’

विधान सम्मेलनकै क्रममा पुरीले पार्टी अध्यक्षलाई आफू सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी देखिएको मुद्दा छानबिनका लागि भन्दै पत्र बुझाएका छन् । झापाको दमक नगरपालिका– १३ को विवादित जग्गा क्षेत्रका दुई सय जनाको हस्ताक्षर पनि आफूले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई बुझाएको पुरीले बताए ।

पुरीले आफू विशेष अदालतको फैसलाविरुद्ध सर्वाेच्च अदालत जाने बाटो खुला नै रहेको बताउँदै यो विषयमा ३ दिनपछि औपचारिक धारणा सार्वजनिक गर्ने बताए ।

‘अहिले ठहर गरेपनि सबै बाटो ब्लक भएको छैन, सर्वाेच्च अदालत जाने बाटो छ मलाई’,उनले भने, ‘अन्तिम प्रमाणित नभइकन पार्टीको कार्यक्रममा जान नपाउने भन्ने त हुँदै भएन ।’ उनले आफूलाई अन्याय भएको दाबी गर्दै थप अनुसन्धानका लागि पार्टीमा निवेदन दिएको बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?