+
+
पुस्तकांश :

पदम ठकुराठी : पञ्चायती अन्धकारमा चम्किएको जून

एकजना जिउँदो मान्छे, ज्यूँदो कलम र निर्भीक कलमजीवी– जो उदार पञ्च भइकन अनुदार पञ्च खेमा र भूमिगत गिरोहको उपहारस्वरूप मिर्मिरे बिहानीमै गोलीको सामना गरेर पनि नेपाली इतिहासको अत्यन्त सम्मानित र स्मरणीय पात्रका रूपमा अन्धकार विरुद्धको उज्यालो जूनका रूपमा चम्किरहेका छन् ।

सूर्य थापा सूर्य थापा
२०८० फागुन ५ गते ७:३०

पञ्चायती कालरात्रिको उत्तरार्ध । २०४३ भदौ २० गते बिहान साढे ४ बजे । सुपरिचित पत्रकार पदम ठकुराठीमाथि ओछ्यानमै गोली हानेर अपराधी विकास गुरुङ भाग्यो । उज्यालो नहुँदै उहाँलाई वीर अस्पताल पुर्‍याइयो । गोलीले दायाँ आँखा बाहिर निस्किएको थियो, निधारको बायाँपट्टिबाट गोलीले निकालेका हड्डीका टुक्रा दिमाग (ब्रेन) सम्म पुगे । डा. दिनेशनाथ गंगोलले वीर अस्पतालमा ६ दिनसम्म उपचार गर्ने क्रममा बाहिर निस्केको आँखा सधैंका निम्ति गुम्यो ।

३७ वर्षपछि त्यस बर्बर, आपराधिक र अमानुषिक ‘गोलीकाण्ड’ सम्झेर उहाँले आफ्नो निजी अनुभव र अनुभूति सुनाउनुभयो– ‘बैंककमा करिब दुई महिना अस्पताल र एक महिना अपार्टमेन्टमा बाहिरै बसेर उपचार गरेपछि निको भएँ । प्लास्टिकको आँखा लगाएर यसरी बस्नु परे पनि पुनर्जन्म नै प्राप्त गरेको ठानिरहेको छु । र, यो ‘बोनस’ जिन्दगी बाँचिरहेको छु ।’

खासमा पदम ठकुराठीमाथि हानिएको गोली तत्कालीन अनुदार र उदार पञ्चहरू बीचको अन्तरविरोध एवम् उदारवादी पञ्चहरूका शब्दमा भूमिगत गिरोहले गरिरहेका तमाम क्रियाकलापहरूको भण्डाफोरको प्रतिक्रिया र परिणाम थियो । त्यस बखत उहाँ निर्भिक र आँटिलो ‘कलमकर्मी’ का रूपमा ‘साप्ताहिक मञ्च’ ‘साप्ताहिक नेपाली आवाज’ ‘साप्ताहिक जनज्योति’ र ‘सप्ताहिक विमर्श’ को सम्पादन र प्रकाशन कार्यमा जुट्नुभएको थियो ।

पत्रकारितामा उहाँ सम्पादक र अतिथि सम्पादकजस्ता जिम्मेवारीमा सक्रिय रहनुभयो । २०४६ सालको संयुक्त जनआन्दोलनको सिलसिलामा १७ दिन जेल बसेर योगदान गर्नुभएका उहाँले त्यसपछि पत्रकारिताबाट पनि सन्यास लिनुभयो । जेल परेका पत्रकारहरूको सम्मानमा गोथे इन्स्टिच्युटमा एकएक वटा माला लगाइदिने समारोह थियो । त्यहीँ पदम ठकुराठीले घोषणा गर्नुभयो– ‘डेमोक्रेसीका लागि हामीले आफ्नो मिसन पूरा गर्‍यौं । अब पत्रकारितालाई अघि बढाउने काम नयाँ पुस्ताले गरोस्, म पत्रकारिताबाट सन्यास लिएको घोषणा गर्न चाहन्छु ।’

राजा महेन्द्र र माओका अनुयायी

आफूलाई राजा महेन्द्रबाट प्रशिक्षित भन्न रुचाउने पदम ठकुराठीका दुनियाँमै मनपर्ने दुई व्यक्ति थिए– राजा महेन्द्र (नेपाल) र माओ त्से तुङ (चीन) । उहाँकै शब्दमा समय त्यस्तै थियो । जबकि हामी पञ्चायतबाहेक अरू कुनै विकल्प देख्दैनथ्यौं । पछि मण्डलेका रूपमा बदनाम राष्ट्रवादी विद्यार्थी मण्डलको संस्थापक अध्यक्ष (२०३१) रहनुभएका पदम ठकुराठी नयाँ शिक्षा, गाउँ फर्के राष्ट्रिय अभियान हुँदै २०३४ सालमा कञ्चनपुरबाट राष्ट्रिय पञ्चायत सदस्य पनि चुनिनु भएको थियो ।

२०३२ सालको गाउँ फर्कमा काम गर्दै थियौं, जहाँ हामीलाई खडगबहादुर सिंहले बोलाउनु भएको थियो । म कञ्चापुरबाट आएँ, ध्रुवकुमार देउजा, दीपक अर्याल र रामप्रसाद पोखरेलसँगै थियौं । कम्युनिष्ट र कांग्रेसबाट पञ्चायतमा प्रवेश गरेका जनार्दन आचार्य, राजेश्वर आचार्य, माधव आचार्य, गिरिबहादुर केसी, खड्गबहादुर जीसी, वीरेन्द्रभक्त श्रेष्ठ, अर्जुननरसिंह केसीलगायतको भेटघाट त्यहीँ भयो । पहिले विश्वविद्यालय पढ्दाताक म जनार्दन आचार्यको भाषण सुन्न कीर्तिपुरसम्म पुग्थें । अलग वैचारिक आस्था भए पनि मलाई उहाँको भाषण अत्यन्तै मन पर्दथ्यो । जनार्दन आचार्यलाई ‘खड्गबहादुर सिंहसँग पदम ठकुराठीको पारिवारिक सम्बन्ध रहेको थाहा भएछ । अर्थात् खड्गबहादुर सिंह र मेरो बुबाले सँगै पढेको भन्ने थाहा भएछ । अनि उहाँ पञ्चायत प्रवेश गरेसँगै हामी सुरुवाती दिनदेखि नै नजिक भयौं र उहाँ बाँचुन्जेलसम्मै मिल्यौं ।’

अमरगढीबाट काठमाडौंसम्म

२००५ साल पुस १० गते डडेल्धुराको अमरगढीमा जन्मिनुभएका पदम ठकुराठी एसएलसी उत्तीर्ण गरी उच्च तहको अध्ययनका लागि काठमाडौं आउनुभएको थियो । अध्ययनकै क्रममा उदारवादी भनिने पञ्चहरूसँग उहाँको हिमचिम र बसउठ बाक्लो बन्न पुग्यो । त्यसमा जनक जंगली, जनक कार्की, जनार्दन आचार्य, केशरबहादुर विष्ट, पदम ठकुराठी र प्रधानमन्त्री सूर्यबहादुर थापा आदि प्रमुख हुनुहुन्थ्यो ।

अनुदारवादी कित्तामा ज्ञानेन्द्र शाह, धीरेन्द्र शाह, शरच्चन्द्र शाह, कमल थापा आदिलाई चिनिन्थ्यो, जसले जनमत संग्रहपश्चात् असक्षमहरूलाई ठूलाठूला पदमा ल्याउन थाले र जनताले जिताइहाले भन्दै शक्तिको केन्द्रीकरण गर्दै जाने रवैया बढ्दो थियो । तिनकै सक्रियतामा जनमतसंग्रह पछिको राष्ट्रिय पञ्चायत निर्वाचनमा धेरै उदारवादी पञ्चहरू हराइए र पदम ठकुराठीविरुद्ध पनि सरकारी उम्मेदवार लबरू राना थारुलाई उठाएर कञ्चनपुरमा हराइनुभयो ।

राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचन हारेपछि उहाँले मनषा ठकुराठीसँग विवाह गर्नुभयो । मनषा ठकुराठीले पछि त्रिभुवन विश्व विद्यालयमा गृहविज्ञान विषय प्राध्यापन गर्नुभयो । साथै, एमनेष्टी इन्टरनेशनल नेपालको पहिलो महिला महासचिवसमेत रहनुभयो ।

भूमिगत गिरोहलाई ‘एक्सपोज’ गर्ने नै पत्रिकाको ‘मिसन’ थियो । अख्तियारीमा नभएका तर अरूको काँधमा बन्दुक राखेर शिकार खेल्नेहरू बढी निशानामा पर्थे, अर्थात् भूमिगत गिरोहको सञ्चालकमा अधिराजकुमार ज्ञानेन्द्र शाह, शरच्चन्द्र शाह, धीरेन्द्र शाह, जगत गौचन आदिको चर्चा हुन्थ्यो । त्यस पत्रिकाले ‘सुलसुले’ भनेर गोप्य तर सही सूचना दिने स्तम्भ प्रकाशित गर्दथ्यो, जसको कुनै प्रमाण पेश गर्नु पर्दैनथ्यो ।

साप्ताहिक मञ्चको प्रकाशन

सञ्चारमन्त्री डा. प्रकाशचन्द्र लोहनीले नयाँ पत्रिका दर्ता गर्न एक महिने अवधि घोषणा गरेको समय थियो । सप्तकोशी प्रकाशनका तर्पmबाट ७ जनाले १४-१४ हजार रुपियाँ जम्मा गरी सप्ताहिक मञ्च दर्ता गर्ने सरसल्लाह भयो । जनार्दन आचार्यले सम्पादकमा पदम ठकुराठी बस्नुपर्छ भनेर प्रस्ताव गर्नुभयो । पछि छिटोछिटो दर्ता गर्न बैकुण्ठनारायण प्रधान प्रकाशक रहनुभयो र २०३९ साल पुस १ गतेदेखि पहिलो अंक साप्ताहिक मञ्च २००० प्रति प्रकाशन आरम्भ भयो ।

त्यतिबेला चलेको समीक्षाभन्दा ठूलो र गोरखापत्रभन्दा सानो आकारमा विजय प्रिन्टिङ प्रेस पुतलीसडकमा साप्ताहिक मञ्च छापिन थाल्यो । त्यसमा कलाकार शशी शाहको कार्टुन पहिलो अंकमा छापिएको थियो, पछि उज्जवलकुन्दन ज्यापुले कार्टुनलाई निरन्तरता दिनुभयो । खेलकुद– नरेश अधिकारी, कला–नारायणबहादुर सिंह, धर्म–खेमराज केशवशरण र नियमित अन्तर्वार्ता– पदम ठकुराठीको जिम्मा तोकियो ।

भूमिगत गिरोहलाई ‘एक्सपोज’ गर्ने नै पत्रिकाको ‘मिसन’ थियो । अख्तियारीमा नभएका तर अरूको काँधमा बन्दुक राखेर शिकार खेल्नेहरू बढी निशानामा पर्थे, अर्थात् भूमिगत गिरोहको सञ्चालकमा अधिराजकुमार ज्ञानेन्द्र शाह, शरच्चन्द्र शाह, धीरेन्द्र शाह, जगत गौचन आदिको चर्चा हुन्थ्यो । त्यस पत्रिकाले ‘सुलसुले’ भनेर गोप्य तर सही सूचना दिने स्तम्भ प्रकाशित गर्दथ्यो, जसको कुनै प्रमाण पेश गर्नु पर्दैनथ्यो । पत्रिका निस्कँदै जाँदा मानिसहरूले अन्य समाचार र स्तम्भ होइन, सबभन्दा पहिले ‘सुलसुले’ पढेर मात्रै अरू समाचार पढ्ने गरेका पाइन्थे ।

केही समाचार सन्दर्भ, जसले अपराधीहरू पदम ठकुराठीलाई गोली हान्नैपर्ने निर्णयमा पुगेका थिए :

डीबी लामा प्रहरी महानिरीक्षक हुँदा महिला प्रहरीको भर्ना थालनी भएको बेला थियो । साप्ताहिक मञ्चको कार्यालयमा कार्यरत मित्रलाल अधिकारी ‘बालक’ (पछि धरहराबाट हामफालेर आत्महत्या गरेका) ले बागबजारमा आफैंले सुनेको-देखेको आधारमा भनेपछि ठकुराठीले ‘सुलसुले’ लेख्नुभयो । पत्रिका निस्केको पर्सिपल्ट एक हुल महिलाहरूले कार्यालय घेराउ गरे । पत्रिकाको कार्यालयबाट पुलिस क्लब १० मिनेट मात्र टाढा थियो । त्यहाँ उजुरी गरेको १ घण्टासम्म पुलिस आएन । खासमा हुलहुज्जत गर्न आउने महिलाहरू अघिल्लो वर्ष भर्ना भएका महिला प्रहरीहरू रहेछन् र एक घण्टापछि आएका पुलिसले उल्टै पदम ठकुराठीलाई नै पक्राउ गरी लिएर गए !

एक दिन सम्पादक पदम ठकुराठीको टेलिफोनमा बिहानै घण्टी बज्यो । भक्तपुरका डिएसपी रूपकराज शर्मा बोले र भने- ‘भूपतिन्द्र मल्लले बनाएको मन्दिरको गजूर निकाल्न हिजो राति १२ बजे क्रेन लिएर मानिसहरू आएका थिए । मैले उज्यालो भएपछि आउनु भनें र रोकिदिएँ । उनीहरू गजूर चम्काउनको लागि लैजाने भनिरहेका थिए । त्यहाँको गजूर लिन आउनेहरू अधिराजकुमार ज्ञानेन्द्रले पठाएको भन्दै थिए । यसो गर्न चाहिने पत्र छ त भन्दा छैन भन्ने जवाफ दिए ।’

त्यसबारेमा डिएसपी शर्माको स्वीकृतिमा पदम ठकुराठीले पत्रिकामा समाचार लेखिदिनुभयो । पत्रिकामा समाचार छापिएपछि आफूमाथि दागा धर्ने काम नहुने ठानेर नै डिएसपी रूपकराज शर्माले उहाँलाई टेलिफोन गर्नुभएको रहेछ । उहाँलाई उधृत गरी गजूर झिक्न नदिइएको भनाइका साथ साप्ताहिक मञ्चले मुख्य समाचार नै छाप्यो । त्यो समाचार खासमा मूर्ति-गजूर चोरी-तस्करीमा संलग्नताको भण्डाफोर गर्ने एक महत्वपूर्ण र सनसनीपूर्ण समाचार बन्यो ।

धनगढीमा लक्ष्मी कत्था उद्योग सञ्चालनमा थियो । राजपरिवारका सदस्यहरू विदेश जाँदा वा आउँदा एयरपोर्टमा ब्यागेज जाँच गरिंदैनथ्यो । त्यसखाले कानुनी उन्मुक्ति नै थियो । त्यसको दुरूपयोग गरी उनीहरू विदेश जाँदा मूर्ति र चरेश लैजाने तथा स्वदेश फर्कंदा सुन र हिरोइनले ‘ब्यागेज’ भरेर ल्याउने गर्छन् भन्ने गरिन्थ्यो । उनीहरूलाई चरेश उपलब्ध गराउने मुख्य व्यक्ति भीमप्रसाद गौचन रहेको चर्चा हुन्थ्यो । विदेशबाट सुन ल्याएर भारत पुर्‍याउँदा प्रतितोला ३०० रुपियाँ मुनाफा हुन्थ्यो ।

त्यसैको फाइदा उठाउन तस्कर र माफियाहरूको बलियो सञ्जाल कायम भइसकेको थियो । तिनीहरूले शक्तिशाली मान्छे समातेर लागूऔषध र सुन तस्करीको कारोबार सञ्चालन गर्दथे । त्यसै क्रममा लक्ष्मी कत्था उद्योगमा कार्यरत एकजना डडेल्धुराको भाइले पदम ठकुराठीलाई चिठ्ठी पठाए । त्समा भनिएको थियो– ‘कत्थाको उत्पादन बिस्कुट आकारमा बनाएर उनीहरूले विदेशबाट ल्याएको सुनको बिस्कुट राखी पैठारी गर्ने काम भइरहेको छ ।’ यो तथ्य विवरणसहितको समाचार साप्ताहिक मञ्चले अर्को मुख्य समाचारका रूपमा प्रकाशित गर्‍यो ।

पदम ठकुराठी डोटीको रेकवार गाउँ पञ्चायत पुगेका बखत एकजना भारतीय व्यापारी त्यहाँ घुमिरहेको र उसले कत्थाको लागि काटिएका रुखका जराहरू १२ लाख भारुमा लिन चाहेको भन्ने थाहा भयो । त्यसै समय बनमन्त्री प्रकाशबहादुर सिंह धनगढी पुगेको खबर पाएर ठकुराठी सत्यतथ्य बुझ्न साइकलमा धनगढी पुग्नुभयो र मन्त्रीलाई भेट्नु भयो । कत्थाको रुख ५ लाख र जरा १२ लाखमा लैजाने ? बनमन्त्रीले आश्चर्य मानेर त्यस्तो अनुमति दिन नसक्ने बताउनुभयो । यसमा ठूलै कैफियत रहेको भन्ने स्पष्टै बुझिन्थ्यो । तर यो विषय पछि त्यत्तिकै सामसुम भयो ।

डडेल्धुराको डागेश्वरी भगवती मन्दिरमा पाँच हजार वर्ष पुरानो भगवतीको मूर्ति थियो । एक पटक शरच्चन्द्र शाह स्वयं त्यहाँ दर्शन गर्न पुग्दा मूर्ति सफाई गराई तस्बिर खिचेर लिएका थिए । त्यसै आधारमा पाटनमा हु्बहु नयाँ मूर्ति बनाउन लगाइयो । र, पछि त्यसलाई मन्दिरमा लगी प्रतिस्थापन गरेर पुरानो मूर्तिलाई योजनाअनुरूप ‘व्यवस्थापन’ गरियो । यसो गर्न सघाउने जिल्ला पञ्चायतका सभापतिलाई पछि सरकारी उम्मेदवारका रूपमा राष्ट्रिय पञ्चायतमा ल्याइयो ।

२०४३ सालको राष्ट्रिय पञ्चायत चुनावमा राजभाइ श्रेष्ठ काठमाडौमा उम्मेद्वार बन्ने भए । यहाँ जित्दै आएका जोगमेहर श्रेष्ठले पत्रकारहरूलाई खुवाइपियाई गरेर राजभाइको केही पनि नछाप्ने बनाएका रहेछन् । उनी पदम ठकुराठी कहाँ आए र आफ्नो दुखेसो राखे । उनको सानो अपिल पत्रिकामा पूरै छापियो । यसले मित्रता बढाएकै थियो । एकदिन राजभाइले पदम ठकुराठी, हरिहर विरही र जनार्दन आचार्यलाई नेवारी लन्च खान बोलाए । आपूmकहाँ ठमेलमा पदम ठकुराठीहरू खाना खान आउने सायद राजभाइले पहिल्यै भनेका रहेछन् ।

खानपिनमा जुटेका बखत उनकै कर्डलेसमा कुरा गरेर भरत गुरुङले भनेछन् – ‘तपाईसँग मालिक (धीरेन्द्र) साह्रै रिसाइबक्सेको छ !’ यो गोली काण्डभन्दा ५-६ महिना अघिको कुरा थियो । सामान्यतः दिउँसो कहिल्यै सुत्न नसक्ने ठकुराठीको एक बोतल बियर खाएपछि भने झ्याप्पै निदाइहाल्ने आदत थियो । त्यसदिन राजभाइ कहाँ नेवारी खाना र वियर खाएपछि राजभाइले नै उहाँलाई डेरासम्म पुर्‍याइदिए र १ बजेतिर सुतेर ठकुराठी मस्त निदाउनुभयो । करिब ४ बजे टेलिफोनमा घण्टी बज्यो र जागेर उठाउँदा आवाजमा भनियो – ‘म भरत गुरुङ बोलेको !’ उसले भन्यो– ‘तपाईंले पहिले कञ्चनपुरमा साल कटानी गर्दा मेरो भाइलाई भेट्न पठाएँ, खासै सहयोग गर्नुभएन । अब एक करोड रुपियाँ, मान पदवी, प्रतिष्ठा जे चाहनुहुन्छ, मालिकलाई भनेर दिलाइदिन्छु, तर तपाईले पत्रकारिता छाड्नुपर्‍यो !’

पदम ठकुराठीलाई- मेरो निशाना त ठीकै ठाउँमा परेको रहेछ । अर्थात्, भूमिगत गिरोहलाई एक्स्पोज गर्न पुगिरहेको रहेछ, धीरेन्द्र शाह रिसाएको भनेर त उनकै अंगरक्षक भरत गुरुङले भनिरहेछन् भन्ने लाग्यो ।

प्रत्युत्तरमा ठकुराठीको भनाइ रह्यो– ‘मलाई कसैको एक रातो पैसा पनि चाहिन्न । र, पियनको पद पनि कसैको निगाह र कृपामा लिन्नँ । किनभने म बिक्रीको लागि पसलमा राखेको सामान होइनँ ।’

भरत गुरुङले टेलिफोन राख्नुअघि भन्यो – ‘अहिल्यै अन्तिम जवाफ भन्नुपरेन । बेलुका श्रीमतीसँग पनि सल्लाह गर्नुस् र मन बनाउनुस्, तपाईंको हितमा यो सबै कुरा भनिरहेको छु ।’

टेलिफोन संवादको २ महिनापछिको घटना हो यो ।

राष्ट्रिय खेलकुद परिषदका संरक्षक धीरेन्द्र शाह, सदस्य सचिव शरच्चन्द्र शाह, अंगरक्षक भरत गुरुङ र खेलाडी जगत गौचनसहितको टोली अमेरिकाको लस एञ्जेलस प्रस्थान गर्‍यो । त्यहाँ ‘ओलम्पिक गेम’ हुँदै थियो । यस टोलीले फुटबलभित्र हिरोइन राखेर लगेको रहस्य तब खुल्न पुग्यो, जब सुरक्षार्थ ल्याइएको कुकुरले लस एञ्जेलसमा फुटबल सुँघ्यो । त्यस हर्कतका कारण लस एन्जेलसमा शरच्चन्द शाह र कृष्णमान जोशी गिरफ्तारीमा परे । पर्सिपल्ट खेलाडीसहित ‘चिफ अफ मिशन’को नेतृत्वमा आ–आफ्नो देशका खेलाडीहरूको मार्चपास गर्ने कार्यक्रम निर्धारित थियो ।

यो समाचार लस एन्जेलसको स्थानीय पत्रिकामा विस्तारमा छापिएछ । त्यतिबेला साप्ताहिक विमर्शका ग्राहकसमक्ष विदेशमा हुलाकमार्पmत् उल्लेख्य संख्यामा पत्रिका जान्थ्यो । सायद त्यो समाचार पदम ठकुराठीलाई काम लाग्छ गनेर एकजना ग्राहकले फ्याक्स गरिदिए र विमर्शमा छापियो । त्यसको जानकारी ती ग्राहकलाई छिट्टै गराउन समाचार छापिएको पत्रिका फ्याक्सबाटै उता पनि पठाउने काम भयो । यो गोली काण्डभन्दा डेढ महिना पहिलेको विवरण थियो ।

राजदूत विश्व प्रधानले भनसुन र लबिङ गरेर फुटबलभित्र हिरोइनसहित पक्राउ परेका ‘नेपाली चिफ अफ मिसन’ शरच्चन्द्र शाहलाई छुटाए र कृष्णमान जोशी मात्रै दोषीका रूपमा किटान भए । उनी त्यसवापत सायद ६-७ वर्ष नै अमेरिकी जेलमा बस्नुपरेको थियो । जब शरच्चन्द्र शाह छुटेको साँझ ‘नेपालमा हंगामा मच्चिसकेको र साप्ताहिक विमर्शले मुख्य समाचार छापेको’ भन्ने सूचनासहित बैठक बस्यो । जहाँ धीरेन्द्र, शरच्चन्द्र, भरत गुरुङ तीन नेपाली र तिनका माफिया एजेन्ट तीन जना विदेशी सम्मिलित थिए । त्यस भेटमा सारा प्रयाश गर्दासमेत काम लागेन भनेर पदम ठकुराठीले हैरान पारेको वृत्तान्त सुनेपछि तिनै माफिया विदेशीहरूले समाधानको उपाय सुनाएछन्– ‘किल हिम !’ अनि, पदम ठकुराठीलाई मार्ने निर्णय त्यहीँ लस एन्जेलस अमेरिकामा भएको थियो । त्यस कामको जिम्मा सुम्पन जगत गौचनलाई भोलिपल्ट बिहान त्यहीँ बोलाइयो । उनी त्यहाँ गएपछि एकजना राजाविरोधी पत्रकार छ पदम ठकुराठी, त्यसलाई सिध्याउन सक्छौ भनेर सोधियो । जगत गौचनले त्यो जमघटमा भनेका रहेछन्– ‘ए, त्यो त मेरा दाइ (भीमप्रसाद)को पनि विरोधी हो, सिध्याइदिन सक्छु सरकार !’

त्यसबेला म्याग्दीमा भीमप्रसादको जगजगी नै चल्थ्यो । कुनै मान्छेले उसको विरोध गर्नै नहुने ! एकजना पियनले विरोध गरेवापत छ दिनभित्रै उसको जुम्ला सरुवा भयो भनिन्थ्यो । अनि विचरा राजीनामा गर्न बाध्य भयो । सिख गाउँ पञ्चायतमा भीमप्रसाद विरोधीहरूले चुनाव जित्ने भएछन्, अनि १२ बोर बन्दुक दिएर पठाइएछ र मारेर कालीगण्डकीमा फालिएछ ! विगतमा त्यस हत्याकाण्डको फोटोसहित पदम ठकुराठीले  समाचार प्रकाशित गरेको सम्झेर जगत गौचनले सायद आफ्ना दाइको पनि विरोधी भनेका होलान् !

गौचन डराएपछि गुरुङ तयार

‘लस एञ्जेलस्बाट मालिक (धीरेन्द्र) र म बेलायत र ज्यूरिच जान्छौं र त्यसपछि मात्रै काठमाडौं आउँछौं, त्यतिञ्जेल काम फत्ते भइसक्नुपर्छ’– भरत गुरुङले जगत गौचनलाई समयसीमा तोक्दै भनेको थियो रे ! तर दुर्भाग्य, त्यतिञ्जेल जगत गौचन र पदम ठकुराठीको परस्परमा चिनापर्ची नै थिएन । उसले काठमाडौं आएपछि केही व्यक्तिसँग पदम ठकुराठी को हो भनेर सोधखोजसम्म गर्‍यो, तर ऊ आफै हत्या गर्न चाहिँ डरायो । अनि टंक गौचनलाई भनेर स्याङ्जा आँधिखोलामा आफ्नी बहिनीको प्रेमीलाई काटेर काठमाडौं आएको, जघन्य अपराध गर्नेको फोटोको लहरमा हनुमानढोकामा समेत रहेको र चारखाल जेलमा कैदी रहेको विकास गुरुङमार्फत काम गराउने सल्लाह भयो । चारखाल जेलमा बन्दुकको नाल प्रयोग गरी झ्यालको ग्रील बनाइएको थियो । योजनाअनुरूप चाइनिज थमर्सभित्र हेक्सो राखेर पुर्‍याइएपछि उसले २ वटा ग्रील काट्यो र जेलबाट भाग्यो ।

जेलबाट निस्केपछि ऊ ताहाचलमा डेरा लिएर बस्दोरहेछ र विदेशीहरू बसेका घर पत्ता लगाउँदै चोरी गरेर खाँदो रहेछ । टंक गौचन नै विकास गुरुङकहाँ पुगेर पदम ठकुराठीलाई सिध्याउने प्रस्ताव गरेछ– त्यसबापत जति पैसा चाहिए पनि दिने भन्दा विकास गुरुङले जवाफ दिएछ– ‘पैसाको लागि म त्यस्तो काम गर्दिनँ । स्याङ्जाको मुद्दा जिताउने हो भने गर्छु ।’ अनि उसलाई जगत गौचनकहाँ लगिएछ । जगतले राजाका भाइहरूले भनिदिँदा सर्वोच्चमा विचाराधीन मुद्दामा त काम हुन्छ भने यो मामुली कुरा हो भन्दै विश्वास दिलाउन खोजेछन्, तैपनि नपत्याएपछि धीरेन्द्र शाहसमक्ष भेटेर समस्या राखिएछ । अनि ज्ञानेन्द्र शाहले विकास गुरुङलाई भनेछन्– ‘जगतले भनेको गर, तिम्रो समस्या कुनै ठूलो कुरा होइन, तिमी मुद्दा जित्छौं, ढुक्क हुनू ।’ त्यति आश्वासन पाएपछि मात्र विकास गुरुङलाई पदम ठकुराठीमाथि गोली हान्न तयार गरिएको रहेछ भन्ने ठकुराठीले पछि थाहा पाएको बताउनुभयो ।

घर पत्ता लगाउन प्रपञ्च

पदम ठकुराठीको डेरा श्रीरंग पाठकको घर पुरानो बानेश्वरमा थियो । दुई रोपनीको कम्पाण्डभित्र ५ कोठाको एकतले घरमा उहाँ श्रीमती, छोरा, छोरी र सालीसमेत बस्नुहुन्थ्यो । मानिसहरूसँग प्रायः कार्यालयमै भेट हुन्थ्यो । उहाँले न जगत गौचन चिन्नुहुन्थ्यो, न त टंक गौचन र विकास गुरुङ नै । तिनीहरूलाई ठकुराठीले त पछि मुद्दाको क्रममा सनाखत गराउँदा मात्रै देखेको बताउनुभयो । घर र घटनास्थल थाहा पाउन अपराधीहरूले कस्तो प्रपञ्च अपनाएका थिए ।

पदम ठकुराठीकै शब्दमा :

बागलुङका चक्रराज शर्माका बाबु कुलराज शर्मा त्यहीँ उहाँको छिमेकमा बस्नुहुन्थ्यो । ‘शनिबारको बिहान चिया खान र गफ गर्न उहाँको घरमा जान्थे । चक्रराजले चिया ल्याउँथ्यो । एकदिन चक्रराज मेरो कार्यालयमा आएर पत्रिकाको संवाददाता बनाइदिन भन्यो । मैले ‘झुठ्ठा समाचार पठाए समस्या हुने’ भनेर सम्झाउँदै उसलाई संवाददाताको परिचयपत्र बनाएर दिन अह्राएँ । उसले मेरो घरको टेलिफोन नम्बर र ठेगानासमेत माग्यो । घरको किन चाहियो ? कार्यालयमै सम्पर्क गर्नु भनेर पठाउन खोजें । तर उसले ‘कहिलेकाहीं चाहिन्छ’ भनेर जिद्दी गर्‍यो । खासमा उसलाई उनीहरूले पो प्रयोग गरेर पठाएका रहेछन् !

एकदिन ३ बजेतिर उसैलाई दिएको डेराको टेलिफोन नम्बर ४१३५९८ मा घण्टी बजेछ । म घरमा थिइनँ । सालीले टेलिफोन उठाउँदा ‘कञ्चनपुरबाट डेलिगेसन आएको, भेट्न आउनलाई घरको ठेगाना चाहियो’ भनिएपछि विस्तृत रूपमा लोकेसन जानकारी गराउनु स्वभाविकै थियो । उनीहरूले टेलिफोनमा बिहान ९ बजे आइपुग्ने भनेका रहेछन् । तदनुसार ‘म ११ बजेसम्म बसे, तर कोही कञ्चनपुरका मान्छे नआएपछि कार्यालयतिर लागें । म हिड्नासाथ विकास गुरुङको टोली आई भटाभट बैठक कक्षमा बसेछन् । तिनीहरूले उहाँ कहाँ सुत्नुहुन्छ भन्नेसम्म सोधेछन् र सालीले ‘बेडरुम’ समेत देखाइछन् !’

उठेर बत्ती बाली हेर्दा पति पदम ठकुराठीको टाउकोबाट रगतको फोहरा निस्किरहेको देखियो । उहाँलाई गोली हानेर काम फत्ते गरेको उन्मादमा अपराधी ढुक्क भएर फर्किएको हुनुपर्दछ । तर उहाँको लागि एक गोली न पर्याप्त भयो, न त निशाना नै सही लाग्यो ।

दिनभर पत्रकार संघ पुनर्गठनको दौडधुप

२०४३ साल भदौ २० गते त्यतिबेला पत्रपत्रिकालाई कागजको निकै अभाव हुन्थ्यो । मञ्जुरत्न शाक्यको अध्यक्षतामा रहेको पत्रकार संघलाई यस्तो समस्याको मतलब थिएन । अझ कागज पाउन उनको सिफारिस अनिवार्य चाहिन्थ्यो । गोपालदास श्रेष्ठ, चन्द्रलाल झा, गोविन्द वियोगी आदि मूर्धन्य पत्रकारहरूसँग आफ्नै पत्रकार महासंघ खडा गरे सहज हुन्छ कि भन्ने सल्लाह भएअनुरूप त्यसदिन थापाथलीस्थित रोटरी क्लबको हलमा पत्रकार भेला तय भएको थियो ।

पदम ठकुराठीसँग त्यतिखेर जितबहादुर श्रेष्ठका भाइ लक्ष्मीबहादुर श्रेष्ठबाट सस्तो मूल्य (६८ हजार) मा पाएको गाडी थियो, जुन गाडी डेढ महिनाजति चढेपछि पटकपटक बिग्रेको थियो । थाइल्याण्डबाट पाटपूर्जा ल्याई एक महिना लगाएर बनाएपछि पनि १ वर्षपछि फेरि पिस्टन गएर बिग्रेकाले लामो समय लगनस्थित ग्यारेजमा छाडिएको थियो । संयोगले त्यसैदिन बिहान ग्यारेजबाट गाडी लिन बोलाइयो । उहाँ ग्यारेजमा गई आफ्नो गाडीमै रोटरी क्लब पुग्दा त पुलिसहरू तैनाथ भएका पो देखिए ! अनि उहाँ त्यसै गाडीमा राष्ट्रिय पञ्चायतको अधिवेशन चलिरहेको स्थल सिहदरबारमा पुग्नुभयो र राष्ट्रिय पञ्चायतका सदस्यहरूलाई पुलिस तैनाथीविरुद्ध कुरा उठाउन हारगुहार गर्नुभयो ।

रामहरि शर्मा राष्ट्रिय पञ्चायतको अध्यक्ष हुनुहुन्थ्यो । उहाँले तुरुन्त गृहमन्त्रीलाई जवाफ दिन लगाउनु भयो । तर गृहमन्त्रीले जवाफमा भने– यो सब झुठ्ठा विवरण हो । राष्ट्रिय पञ्चायत सदस्यहरूले थापाथली टाढा छैन, स्थलगत अवलोकन गर्न माननीयहरूको टोली पठाउन माग गरेपछि एउटा टोली त्यहाँ जान हिडेछ र त्यसमा ठकुराठीका हितैषी नरेन्द्रबहादुर चन्द र मोतीप्रसाद पहाडीसमेत रहेछन् । अनि त तैनाथ गरिएका पुलिसहरूको भागाभाग भइहाल्यो । पत्रकारहरूको त्यो सम्मेलन २ दिनका लागि तोकिएको थियो । पदम ठकुराठीले सम्झिनुभयो– स्थितिलाई विचार गरेर बोल्ने क्रममा मैले मणिराज उपाध्यायलाई निर्विरोध अध्यक्ष बनाउन प्रस्ताव गरें । अनि उहाँ सर्वसम्मतिमा अध्यक्ष चुनिनुभयो र कार्य समितिसमेत उहाँले नै घोषणा गर्ने सहमति भयो ।

भोलिपल्ट सम्मेलनको समापनका दिन विएल शर्माले भोज दिने कार्यक्रम थियो । सम्मेलन सकिइहाल्यो, भोलि तिजका दिनभन्दा आज दर खाने दिन नै भोजको व्यवस्था गर्नुस् भनिएपछि शर्मा तयार हुनुभयो । र, भोज पनि आयोजना भइहाल्यो । यसरी नेपाल पत्रकार संघको नयाँ नेतृत्व गठन भयो । यो मञ्जुरत्न शाक्यबाट खास पत्रकारहरूको हातमा पत्रकार संघ ल्याउन चाहिएको ऐतिहासिक कदमको विवरण थियो । आजको पत्रकार महासंघ त्यसकै निरन्तरताका रूपमा क्रियाशील रहेको छ ।

बिहान सबेरैदेखि साँझसम्म यस ढंगले यताउता गर्दागर्दै समय बित्यो ।

साँझ ई.गणेशराज शर्माले पदम ठकुराठीलाई सपरिवार आफ्नो घरमा दर खान बोलाउनु भएको थियो । कथाकार गुरूप्रसाद मैनालीका छोरीहरू गणेशराज शर्मा र भरतराज जोशीले विवाह गर्नुभएको थियो । भरतराज र उहाँकी श्रीमतीसमेत दर खान आउनुभएको थियो । त्यसै घरमा बीपी कोइरालाका छोरा श्रीहर्ष कोइराला सपरिवार बस्नुहुन्थ्यो । पदम ठकुराठीकी छोरी सृष्टि र श्रीहर्षकी छोरी पहिले नजिकैको घरमा डेरा बस्दादेखिका मिल्ने साथी थिए । उनीहरू भेट भएपछि छोरी त्यसरात त्यहीँ साथीसँगै बसोस् भन्ने आग्रह भयो । अनि छोरामात्रै साथ लिएर उहाँहरू तीन जना र भरतराजका दुई जनासहित त्यही गाडीमा बत्तीसपुतली पुग्नुभयो । जोशी दम्पत्तिलाई घरमा पुर्‍याएर उहाँ डेरामा आइपुग्दा ढिलो नै भइसकेको थियो ।

अँध्यारोमै ओच्छ्यानमा गोली

डेराको बेडरुममा खाटको झ्यालतिर पदम ठकुराठी सुत्नुहुन्थ्यो । त्यस रात पनि बीचमा छोरा र छेउमा पत्नी मनषा सुत्नुभयो । झ्यालको सिसा खुला राखेर जाली मात्रै लगाइएको थियो र ‘जिरो वाट’को बत्ती कोठामा बलिरहन्थ्यो । एक महिनाअघि मात्रै कोठामा नयाँ टेलिभिजन ल्याइएको थियो । बिहान साढे ४ बजे विकास गुरुङ आएर झ्यालको जाली काटेछ र त्यसैबाट हात छिराएर पदम ठकुराठीको टाउकोमा गोली ताकेरै हानेछ । गोलीको आवाज सुन्दा मनषालाई लाग्यो– टेलिभिजन पो पड्क्यो कि !’

उठेर बत्ती बाली हेर्दा पति पदम ठकुराठीको टाउकोबाट रगतको फोहरा निस्किरहेको देखियो । उहाँलाई गोली हानेर काम फत्ते गरेको उन्मादमा अपराधी ढुक्क भएर फर्किएको हुनुपर्दछ । तर उहाँको लागि एक गोली न पर्याप्त भयो, न त निशाना नै सही लाग्यो । अपराधीहरूको योजना अर्धसफल मात्रै भयो, उहाँलाई मार्न गोली हानिएको भए पनि घाइते भएर संयोगवश जीवित नै रहनुभयो । अझ आश्चर्य ! पत्नी मनषाले सूर्यबहादुर थापा, विष्णुबहादुर केसी (सुर्खेत) र शंकरराज पाण्डेलाई टेलिफोन गर्न चाहिं भ्याइछन् – ठकुराठीले सम्झनु भयो ।

सूर्यबहादुर थापाले स्वास्थ्यमन्त्री गुञ्जेश्वरीप्रसाद सिंहलाई टेलिफोन गरी वीर अस्पतालमा डा. दिनेशनाथ गंगोललाई उपस्थित गराइहाल्न लगाउनुभएछ । डा. गंगोलले पहिले पदम ठकुराठीको किड्नी स्टोनको शल्यक्रियासमेत गर्नुभएको हुँदा व्यक्तिगत चिनजान पनि थियो । उहाँलाई वीर अस्पताल लैजानुअघि नै डा. गंगोल अस्पताल आइपुग्नुभयो र घाइतेलाई पुर्‍याउनासाथ उपचार कार्य अघि बढिहाल्यो ।

बैंककमा तीन महिना

वीर अस्पतालको उपचारले मात्रै निको हुने स्थिति थिएन । त्यसपछि उहाँको उपचार थाइल्याण्डको बैंककमा भयो । करिब ३५ दिन बेहोस रहनुभएका उहाँको सरकारले उपचार अनुमतिसँगै ७ हजार अमेरिकी डलर दिने निर्णय गर्‍यो । अरू खर्चको बन्दोबस्त गर्ने समस्या त थियो नै । तैपनि उहाँको उपचारार्थ खोलिएको खातामा सहयोगी मनहरूले स्वतःस्फूर्त रकम जम्मा गरेर झण्डै ३२ लाख पुग्यो । त्यसै रकमबाट उहाँको सम्पूर्ण उपचार संभव भयो । र, तीन महिनापछि गोलीकाण्डको चिनो निधारमा गहिरो खाडल र एउटा आँँखाको ज्योति नै गुमाएर बाँकी घाउचोट पूर्ण निको भई उहाँ स्वदेश फर्किनु भयो ।

सूर्यबहादुर थापा उदार पञ्चहरूका धुरी नेता हुनुहुन्थ्यो । पदम ठकुराठी उहाँसँगै नजिक हुनु स्वभाविक थियो । ‘भूमिगत गिरोह’ नामाकरण गरेर संघर्ष गर्ने क्रममा थापाले उदार पञ्चहरूको नेतृत्व गरिरहनुभएको थियो । पदम ठकुराठीलाई उपचारार्थ बैंकक लगिएपश्चात कैयौं मारवाडी व्यापारीहरूले थापालाई भेटी ठकुराठीका निम्ति उपचार खर्च दिएका रहेछन् । उहाँ निको भएर मैतिदेवीमा आई डेरा गरेर बस्दा उहाँलाई त्यस्ता धेरै मारवाडीहरूले भेट्दै आपूmले दिएको सहयोग रकमबारे जानकारी गराउने गरे । त्यस्तो रकम कूल जोड्दा ४० लाखजति पुग्यो । त्यसमध्ये २ लाख ५५ हजार रुपियाँ भनें बैंकक पठाइएको हुनाले प्राप्त भएको थियो । एकदिन पदम ठकुराठी मालीगाउँस्थित ‘थापा निवास’ पुगेर सोध्नुभयो– ‘यो के गर्नुभएको ? तपाईंले त स्वयम् उपचारको निम्ति जिम्मेवारीबोध गरेर आवश्यक सहयोग पो जुटाइदिनुपर्ने थियो । किन मलाई देखाएर उल्टै व्यापार गर्नुभयो ? जवाफमा पूर्वप्रधानमन्त्री थापाले उहाँलाई भन्नुभएको सम्झना छ– ‘ठकुराठीजी ! तपाईंलाई मारवाडीहरूले त्यत्तिकै भनिदिए, कहाँ उनीहरूले त्यत्रो पैसा दिन्छन् ?’

पदम ठकुराठीले त्यतिबेला घोषणा गरेर बाहिरिंदै भन्नुभयो- ‘अब बाँचुन्जेल म यो घरमा आउँदिनँ । तपाईंसँगको मेरो सम्बन्ध पनि यही नै अन्तिम भयो ।’ त्यसपछि उहाँ न कहिल्यै मालीगाउँ जानुभयो, न त फेरि कहिल्यै थापाको नजिक रहनुभयो । पञ्चायतको अन्त्य भएर राप्रपा (थापा), राप्रपा र राष्ट्रिय जनशक्ति पार्टी गठन गर्दासमेत ठकुराठीसँग प्रत्यक्षरूपमा थापाले सहयोग गर्न र सँगसँगै काम गर्नको लागि समेत आफैले भन्नै सक्नुभएन ! यस्तै घटना प्रधानमन्त्री मरिचमान सिंहसँग पनि पर्‍यो । राजा वीरेन्द्रसँग दिपायल पुगी बिन्तीपत्र हालेर पदम ठकुराठीले दोषीहरूमाथि कारबाहीको मुद्दा चलाउन आग्रह गर्नुभयो । त्यसैबेला राजाले नजिकैबाट गोली लागेको ठाउँ हेर्दै उपचार कसरी गरेको त भनेर सोधपुछका साथ यो खर्च सरकारले बेहोर्छ भन्ने हुकुम भयो । त्यसै अनुरूप ३२ लाख खर्चको उपलब्ध बिल भर्पाइको फोटोकपी सहित प्रधानमन्त्री मरिचमान सिंहलाई ठकुराठीले निवेदन दिनुभयो । बैंककबाट फर्केपछि त्यसबारे बुझ्दा उहीं दूतावासमा पठाइएको जानकारी पाउनुभयो तर दूतावासमा कसैको नाममा पैसा नपुगेको स्पष्ट भयो । यसरी सरकारले दिएको उपचार खर्चसमेत पाउन नसकेको गुनासो ठकुराठीले मनमा राख्नुभएको छ ।

कृष्णजंग रायमाझी नेतृत्वको विशेष अदालत र सेनाको कोर्ट मार्सलले यस गोलीकाण्डमा परोक्ष रूपमा संलग्न लेफ्टिनेन्ट कर्णेल भरत गुरुङलाई सर्वस्वसहित २२ लाख रुपियाँ जरिवाना र ३३ वर्ष कैद सजायको फैसला गर्दा पदम ठकुराठीले न्यायको अनुभूति गर्नुभएको थियो । तर २०५१ को मध्यावधि निर्वाचनको मुखमा तत्कालीन सरकारले ८ करोड रुपियाँ नजराना लिएर १ अर्ब बराबरको सम्पत्ति सहित उक्त मुद्दा नै फिर्ता लिने दूषित कार्य गर्‍यो । फलस्वरूप महाराजगन्जस्थित पहिले प्रमुख विपक्षी दलका नेताको निवास रहेको घर र ठमेलस्थित एक समय श्रम मन्त्रालय रहेको घरसमेतको सम्पत्ति भरत गुरुङले नै सरकारबाट फिर्ता लिन सफल भएको एउटा दुःखान्तका रूपमा यो प्रकरण सकियो ।

अन्धकारमा चम्किएको उज्यालो जून

पञ्चायतकाल पछिका विभिन्न कालखण्डमा राज्य र विद्रोही पक्ष समेतले दर्जनौं पत्रकारको ज्यान लिएका घटना थुप्रै छन् । कुनै आलोचना र विरोध नसहने, केवल आफ्नो स्तुति रुचाउने शासकहरूका अनेकन बदमासीहरूको पोल खोल्ने काम गरेर थुप्रै पत्रकारहरूले पारदर्शी, खुला र स्वतन्त्र समाज स्थापना गर्न हाँसीहाँसी जीवनको आहुति समेत दिएका छन् । तर विगत सात दशकमा नेपाली समाजमा पदम ठकुराठी एउटा यस्तो पत्रकारको नाम हो, जसले अत्यन्त असभ्य, बर्बर र अमानुषिक ढंगले षडयन्त्रकारी गिरोहको गोलीको निशाना बनेरसमेत आफूलाई पत्रकारितामा समर्पित गरिरहनुभयो । र, त्यसकै विरासतस्वरूप पुर्नजन्म प्राप्त गरेजत्तिकै नाफाको जीवन बिताउन अभिशप्त हुनुभयो । एकजना जिउँदो मान्छे, ज्यूँदो कलम र निर्भीक कलमजीवी– जो उदार पञ्च भइकन अनुदार पञ्चखेमा र भूमिगत गिरोहको उपहारस्वरूप मिर्मिरे बिहानीमै गोलीको सामना गरेर पनि नेपाली इतिहासको अत्यन्त सम्मानित र स्मरणीय पात्रका रूपमा अन्धकारविरुद्धको उज्यालो जूनका रूपमा चम्किरहनुभएको छ ।

डिल्लीबजार पिपलबोट नजिकै ज्ञानेश्वरमा सपरिवार बस्दै आउनुभएका पदम ठकुराठी केही समय कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालको केन्द्रीय सदस्यसमेत रहनुभयो । अहिले ७६ वर्ष लागिसकेपछि आफू कुनै पार्टीमा नभएर स्वतन्त्र नागरिक रहेको उहाँ स्वयंले स्पष्ट गर्नुभएको छ । एक निर्भिक स्वतन्त्रता सेनानी र देशभक्तका रूपमा यस धर्तीले पछिपछिसम्म उहाँको सम्झना गरिरहने नै छ ।

(नेकपा एमालेका युवा नेता थापा प्युठानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । यो लेख थापाको १९ माघ २०८० मा प्रकाशित ‘स्वतन्त्रता संग्राम’ पुस्तकको एक अंश हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?