+
+

भारतले इंग्ल्यान्डलाई ४३४ रनले हरायो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते १९:०२

६ फागुन, काठमाडौं । ओपनर यशस्वी जैसवालको दोहोरो शतकको सहयोगमा भारतले तेस्रो टेस्ट खेलमा इंग्ल्यान्डलाई ४३४ रनले हराएको छ ।

जितको लागि ५५७ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड दोस्रो इनिङमा १२२ रनमा अल आउट भयो ।

इंग्ल्यान्डका मार्क वुडले १५ बलमा ६ चौका र १ छक्कासहित ३३ रन बनाउँदै टोलीको १ सय रन कटाएका थिए ।

जो रुट ७, जोनी बेयरस्टो ४ र बेन स्टोक्स १५ रनमा आउट भए ।

भारतीय स्पिनर सामु कुनै पनि इंग्लिस ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । रविन्द्र जडेजाले ५, कुलदीप यादवले २, रविचन्द्रन आश्विन र जस्प्रित बुमराहले १–१ विकेट लिए ।

भारतले दोस्रो इनिङमा ४३०–४ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्‍यो ।

भारतका यशस्वी जैसवालले २३६ बलमा १४ चौका र १२ छक्कासहित २१४ रनको अविजित दोहोरो शतकीय इनिङ खेले । उनको टेस्ट करिअरको दोस्रो दोहोरो शतक हो ।

सरफराज खान ६८, शुभमन गिल ९१ र रोहित शर्मा १९ रनमा आउट भए ।

इंग्ल्यान्डका रेहान अहमद, टम हार्टली र जो रुटले १–१ विकेट लिए ।

इंग्ल्यान्ड पहिलो इनिङमा ३१६ रनमा अल आउट भएको थियो । समग्रमा पहिलो इनिङमा इंग्ल्यान्ड १२६ रनले पछि परेको थियो ।

ओपनर बेन डकेटले १५१ बलमा २३ चौका र २ छक्कासहित १५३ रनको इनिङ खेलेका थिए । बेन स्टोक्स ४१, जो रुट १८, ओली पोप ३९ र ज्याक क्रली १५ रनमा आउट भए ।

एक समय २२४–२ को बलियो अवस्थामा रहेको इंग्ल्यान्डको मध्यक्रम र तल्लोक्रम ब्याटिङ कोल्याप्स भएको थियो ।

भारतका मोहम्मद शिराजले ४, कुलदीप यादव र रविन्द्र जडेजाले २–२ विकेट लिए ।

त्यसअघि राजकोटमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ४४५ रनमा अल आउट भएको थियो ।

भारतका रोहित शर्मा १३१ र रविन्द्र जडेजा ११२ रनमा आउट भएका थिए ।

इंग्ल्यान्डका मार्क वुडले ४ र रेहान अहमदले २ विकेट लिए । पाँच खेलको टेस्ट सिरिजमा भारतले २–१ को अग्रता लिएको छ । भारत पहिलो खेलमा २८ रनले पराजित हुँदा दोस्रो खेलमा १०६ रनले विजयी भएको थियो । चौथो टेस्ट २३ फेब्रुअरी र पाँचौं टेस्ट ७ मार्चमा सुरु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?