‘सडकमा भोकभोकै भौंतारिरहेको, रोगले थलिएको, घाउको पीडाले चिच्याइरहेका कुकुर एवं गाईवस्तु देखेर मलाई निद्रा पर्दैनथ्यो, म धेरै रात रोएकी छु’ एलिना प्रसाई भन्छिन्, ‘त्यसैले उनीहरूलाई कसरी साथ दिने, कसरी हेरचाह गर्ने भनेर एउटा आश्रयस्थल खोल्दैछु ।’
प्रशस्त धन–दौलत भएर, फुर्सदिलो समय कटाउन, समाजसेवी देखाउन होइन बरु हृदयको आग्रह पूरा गर्न उनी एउटा अलग अभियानमा जुटेकी हुन् । उनको अभियान हो- घाइते, रोगी, अशक्त, भोका पशु–प्राणीलाई स्याहारसुसार गर्ने, खाना खुवाउने, औषधि-उपचार र न्यानो माया दिने ।
उनको यस मनकारी अभियानमा साथ छन्, दाइ साहिल । दाजु–बहिनीको यो दर्बिलो एकता अनाथ पशु–प्राणीमा समर्पित छ ।
सबै कुरा ठीकठाक भए विराटनगरमा चाँडै एउटा आश्रयस्थल खोलिनेछ । यस्तो आश्रयस्थल, जहाँ बिरामी, घाइते, कुकुर एवं गाईवस्तुलाई स्याहारसुसार गरिनेछ । भोकालाई खान दिइनेछ । यसका लागि उनीहरूले विराटनगरको रानी आईसीपी रोड नजिकै ६ कट्ठा जग्गा भाडामा लिएका छन्, ७ वर्षका लागि । मासिक तलबमा एकजना पशु प्राविधिक, सहयोगी र व्यवस्थापक राखेका छन् । साथै यतिबेला आश्रयस्थल निर्माणका लागि दाजु–बहिनी रात–दिन जुटेका छन् ।
भारत, दिल्लीको स्वामी विवेकानन्द सुभारती विश्वविद्यालयबाट स्नातकोत्तर सिध्याएर, खाईपाई आएको जागिर छाडेर उनीहरू किन घर फर्के ? किन घाइते र भोका पशुको स्याहारसुसारमा लागे ?

००० ०००
भारत, दिल्लीमा दाइ साहिलसँगै बसेर पढ्दै थिइन्, एलिना । त्यसबेला उनले टोलका मान्छेहरू सडकमा निस्किएर घाइते कुकुरलाई हार्दिकतासाथ स्याहार गरेको देखिन् । गाडीले हानेर घाइते भएका कुकुरलाई उनीहरू स्याहारसुसार गर्थे, साँझ–बिहान खाना दिन्थे, गर्मीको बेला घरबाहिर पानी राखिदिन्थे, जाडोको बेला न्यानो कपडा ओछ्याइदिन्थे ।
यो दृश्य आफैंमा हृदयस्पर्शी मात्र थिएन, उत्तिकै प्रेरक पनि । एलिना र साहिल यसमा सामेल हुन थाले । उनीहरू कुकुर नजिक गए, उनीहरूलाई स्पर्श गरे । यी प्राणीको भोक, रोग र पीडा अनुभूत गर्न थाले ।
यो अनुभूतिले त्यसबेला उनीहरूलाई बढी चिमोट्यो, जतिबेला सडक कुकुरहरू भोक र तिर्खाले भौंतारिरहेका थिए । यो कोरोना महाव्याधिको बखत हो । सर्वत्र लकडाउन थियो । उनीहरू विराटनगरस्थित घरमै थिए । सडक, टोल सुनसान थियो ।
दाजु–बहिनीले आफ्नै भान्सामा खानेकुरा पकाएको खानेकुरा लगेर कुकुरहरूलाई खुवाउन थाले ।
यसै क्रममा एउटा कुकुर भेटियो, जो क्यान्सरग्रस्त थियो । राम्ररी हिंडडुल गर्न, खान नसक्ने त्यस कुकुरलाई सडकमा छाड्न मन लागेन । दाजु–बहिनीले घरमा पुर्याए । स्याहारसुसार गरे । पशु चिकित्सककहाँ लगेर शल्यक्रिया गराए । त्यसका लागि लागेको खर्च बुवाआमाले तिरिदिए ।
केही समयपछि कुकुर तंग्रियो । एलिनाले त्यसको फोटो फेसबुकमा राखिन्, निको बनाएको खुसीमा । यसबाट उनीहरूले धेरैको आशीर्वाद मात्र पाएनन्, त्यस्तै कुकुरहरू बचाइदिन याचना पनि पाए । झापादेखि जनकपुरसम्मबाट मान्छेहरूले खबर पठाउन थाले-‘यहाँ पनि घाइते कुकुर छ, केही गर्न सकिएला कि ?’
जागिरबाट कमाएको केही सञ्चित पैसा थियो उनीहरूसँग । त्यही पैसाले सक्नेजति उपचार गराइदिन्थे । सडकमा यस्ता थुप्रै कुकुर भेटिन्थे जो पक्षघात भएर हलचल गर्नै नसक्ने अवस्थाका, बुढो भएर थलिएका, रोग र चोटले छट्पटाइरहेका । त्यस्ता कुकुरलाई उनीहरूले पशु चिकित्सककहाँ पुर्याउँथे । उपचार गरेर पूर्ववत् वासस्थानमा लगेर छाडिदिन्थे । हिंड्नै नसक्ने, आफैं खान नसक्नेलाई घरमै राखेर स्याहारसुसार गर्थे ।

सुरुवाती दिनमा बुवालाई कुकुरप्रति खासै लगाव थिएन । तर, पछि बुवाले उनीहरूको काममा भौतिक र भावनात्मक सहयोग गरे । आमाले कुकुरलाई स्याहार्ने, खुवाउने काममा साथ दिइन् । अमेरिकामा रहेका दिदी भिनाजु, मामाले उनीहरूलाई केही पैसा पठाइदिए । छुट्टै फेसबुक अकाउन्ट खोलेर आर्थिक सहयोगको लागि आग्रह गरे । कतिपयले फेसबुक मार्फत नै पैसा दिए ।
उनीहरूले कुकुरको स्याहारसुसार गर्न भाडाको घर खोजे । महिनाको २० हजार तिर्ने शर्तमा दुईतले घर पाइयो । त्यहीं घाइते कुकुर ल्याउँदै उपचार गर्ने र निको भएपछि पहिलेकै वासस्थानमा छाडिदिने गरे । तर, मान्छेहरूले बोरामा राखेर कुकुरको बच्चा त्यहाँ छाडिदिने गर्न थाले । अर्कोतिर टोलका मान्छेहरूले गुनासो गर्न थाले, कुकुरको गन्ध आयो भनेर । अब के गर्ने ? उनीहरू अलमलमा परे ।
अन्ततः छुटै जग्गा लिएर यी पशु आश्रयस्थल खोल्ने योजना बन्यो, जुन दिगो होस् । जुगौका लागि होस् ।
००० ०००
गत जेठ महिनामा एलिनाले ‘एलिना एनिमल्स प्रिजर्भेसन नेपाल’ नामक संस्था दर्ता गराइन् । त्यही संस्था अन्तर्गत अब उनी आफ्नो दाइसँगै पूर्णकालीन अनाथ पशुहरूको सेवामा खटिनेछिन् । पशु–प्राणीप्रति दूर्व्यवहार नगर्न सचेतना फैलाउनेछिन्, पशु–प्राणीमाथि हुने अत्याचारमा खबरदारी गर्नेछिन् ।
घाइते भएका कुकुरलाई ल्याएर उपचार गर्ने, हिंडडुल गर्न एवं खानेकुरा खोजेर खान नसक्नेलाई आफैसँग राख्नेछिन् । यसका लागि उनीहरूले व्यवस्थित आश्रयस्थल निर्माण सुरु गरिसकेका छन् । त्यसका लागि चाहिने इँटा, गिटी, बालुवा, माटो, जस्तापाता, काठ सहयोगी दाताबाट जुटाउँदैछन् । ‘एनी टाइम बार रेस्टुरेन्ट’का आशिष देवले भौतिक सामग्रीमा धेरै सहयोग गरेको एलिनाले बताइन् ।

यस आश्रयस्थलको भौतिक संरचना निर्माण गर्न १५ लाख रुपैयाँ लाग्ने लागत अनुमान छ । त्यसपछि उपचार गर्न, औषधि खरिद गर्न, भ्याक्सिन लगाउन, खाना र पानीको जोहो गर्न अतिरिक्त खर्च थपिनेछ । यावत् खर्चहरू कसरी जुटाइन्छ त ?
यसको ठोस जवाफ छैन उनीहरूसँग । उनीहरूलाई त यति मात्र लाग्छ, ‘प्रेम भावनाले यी सबै काम गरिंदैछ । यसमा आफूहरू जस्तै मनकारीहरू जुट्नेछन् । साथ र सहयोग गर्नेछन् । उनीहरूको स-सानो सहयोगले पीडामा छट्पटाइरहेका, भोकले भौंतारिइरहेका प्राणीहरू दुःखमुक्त हुनेछन् ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4