७ फागुन, काठमाडौं । आयोजक लोयल्टी एकेडेमी ‘बी’ ले १२औं लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको पहिलो दिन आइतबार दोहोरो जित हात पारेको छ ।
मण्डिखाटारस्थित घरेलु मैदानमा लोयल्टी ‘बी’ ले उद्घाटन खेलमा सिद्धार्थ बनास्थलीलाई २–० गोलले पराजित गर्यो । ‘म्यान अफ द म्याच’ विंगु थापाले २ गोल गरे ।
अर्को खेलमा लोयल्टी ‘बी’ ले काभ्यालाई ९–० को फराकिलो गोलअन्तरले सहजै हरायो । विंगु थापाले ५, साहिल राईले ३ र यसुप खनालले १ गोल गरे । काभ्याका सुप्रिम केसी ‘म्यान अफ द म्याच’ घोषित भए । दोहोरो जितसँगै लोयल्टी ‘बी’ को क्वाटरफाइनल पुग्ने सम्भावना बलियो भएको छ ।
चेल्सी वर्ल्ड स्कुलले मनास्लुलाई २–० गोलले पाखा लगायो । चेल्सीका दर्शित थापा र शंकर शेर्पाले समान १–१ गोल गरे । मनास्लुका निश्चल अधिकारी ‘म्यान अफ द म्याच’ चुनिए ।
रिलयान्स इन्टरनेसनल एकेडेमी र सिद्धार्थ बनस्थलीबीचको खेल १–१ गोलको बराबरीमा टुंगियो ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले एक कार्यक्रमबीच उद्घाटन गर्दै विद्यालय खेलकुदले भविष्यका खेलाडी पहिचान गर्न मद्दत पुग्ने बताए ।
लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्बाङले स्थापनाकालदेखि नै लोयल्टीले विद्यार्थीको चौतर्फी विकासलाई ध्यानमा राखि खेलकुदसँगै अन्य अत्तिरिक्त क्रियाकलापमा पनि जोड दिदै आएको बताए ।
कार्यक्रममा लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फे, युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार केदार ढुंगाना, वडा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
फागुन ११ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक लोयल्टीको २ सहित १३ टिम सहभागी छन् । सोमबार समूह चरणका ६ खेल हुनेछ ।
प्रतिक्रिया 4