+

यस्तो कुनै खानेकुरा हुन्छ, जसले खराब भएको कलेजोलाई ठीक गर्छ ?

२०८० फागुन  ७ गते १४:५७ २०८० फागुन ७ गते १४:५७
यस्तो कुनै खानेकुरा हुन्छ, जसले खराब भएको कलेजोलाई ठीक गर्छ ?

‘कलेजो खराब भयो, यी खानेकुराले निको बनाउँछ ।’ यस्तै व्यहोराको जानकारी, सुझाव सामाजिक सञ्जालमा प्रशस्तै भेटिन्छ । त्यसमा सम्बन्धित विज्ञको राय हुँदैन, कुनै ठोस अध्ययनको निचोड हुँदैन, भरपर्दो तथ्य-तथ्यांक हुँदैन । यसरी कुनै प्रमाणित कुरा नभएपनि सर्वसाधारणले त्यसमा विश्वास गर्छन् र अन्धाधुन्ध अनुसरण गर्न थाल्छन् ।

किनभने अहिलेसम्मको कुनै पनि खोज, अध्ययनबाट यस्तो खानेकुरालाई सूचीकृत गरिएको छैन, जसले बिग्रिएको कलेजोलाई निको बनाउँछ । त्यसैले यो अध्ययन हुन बाँकी विषय हुन् । प्रमाणित कुरा होइन ।

चाहे सागपात होस्, फलफूल होस्, कन्दमूल होस्, अन्न होस्, पेय होस् । ती कुनैपनि खानेकुराले बिग्रिएको कलेजोको उपचार गर्दैन । किनभने कलेजो किन वा कसरी बिग्रिएको छ, कति बिग्रिएको छ भन्ने कुराले यस कुरा निर्धारण गर्छ कि त्यसका लागि कस्तो उपचार खोज्ने ? कस्तो औषधि खोज्ने ? कस्तो जीवनशैली खोज्ने ?

बुझ्नुपर्ने कुरा के हो भने कलेजो खराब हुनुमा हाम्रो खानपान नै खास जिम्मेवार हुन्छ । अर्थात् यस्ता थुप्रै खानेकुरा छन्, जसले कलेजोलाई प्रत्यक्ष हानि गर्छ । कलेजोको कार्यक्षमतामा ह्रास ल्याउँछ । जस्तो रक्सी, खराब चिल्लो, अत्यधिक औषधि, प्रशोधित खानेकुरा, फोहोर र बासी खानेकुरा ।

यस्ता खानपान नगर्नु आफैंमा कलेजोको रक्षा गर्नु हो । त्यस्तै सही, सन्तुलित, सुपाच्य, पोषिलो र ताजा खानाले कलेजोलाई स्वस्थ राख्नमा मद्दत गर्छ ।

कलेजो खराब भएको संकेत थाहा पाउनासाथ चिकित्सकको परामर्श लिनु बढी लाभदायक हुन्छ । कलेजो खराब हुँदा खानेकुरा राम्ररी पच्दैन । खासगरी प्रोटिनयुक्त, चिल्लो खानेकुरा पचाउन कठिन हुन्छ । पेट दुख्ने, फुल्ने, ढुस्स हुने, ग्याष्ट्रिक हुने, दिसामा खराबी देखिने जस्ता लक्षणहरु देखापर्छ । साथै शरीरमा कमजोरी महसुस हुने, भोक कम लाग्ने, बान्ता हुने, निद्रा नलाग्ने, दिनभर थकान महसुस हुने, अल्छी लाग्ने, तीव्र रुपमा तौल घट्ने जस्ता लक्षण देखिन्छ ।

कलेजो रोग आनुवांशिक पनि हुनसक्छ । त्यसबाहेक भाइरस, रक्सी, मोटोपन कलेजोलाई हानि गर्ने तत्व हुन् । कलेजो खराब गर्ने खानपान, गतिविधिलाई नियन्त्रण गरिएन भने लिभर सिरोसिस जस्तो समस्या निम्तिन सक्छ ।

यस्तो अवस्थामा रगतको जाँच, भिडियो एक्सरे, इन्डोस्कोपी, सिटी स्क्यान जस्ता विधि अपनाएर कलेजोको अवस्थाबारे जानकारी लिइन्छ । यदि कलेजो खराब भएको छ भने के कारणले भएको छ, कति भएको छ सोही अनुसार उपचार खोजिन्छ । कतिपय अवस्थामा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ, कतिपय अवस्थामा प्रत्यारोपण नै गर्नुपर्ने हुनसक्छ । यद्यपि सबै अवस्थामा यस्तो हुँदैन । औषधिबाट पनि खराब भएको कलेजो निको बनाउन सकिन्छ । त्यससँगै खानपानमा सर्तकता अपनाउने, सही जीवनशैली अपनाउने गर्नुपर्छ ।

कलेजो प्रा. डा. सुवास भट्टराई स्वास्थ्य
प्रा. डा. सुवास भट्टराई
लेखक
प्रा. डा. सुवास भट्टराई
वरिष्ठ पेट तथा कलेजोरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ६४०३ अध्ययन : एमबीबीएस (केयू), एमएस (केयू) डीएम (केयू) फेलोसिप इन ग्यास्ट्रोइन्टेरोलोजी (सर गंगाराम हस्पिटल, नयाँदिल्ली) हाल पोखरास्थित ग्यास्ट्रो केएर, पेट तथा कलेजोरोग उपचार केन्द्रमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय