+

रक्सी धेरै पिउने व्यक्तिको कलेजो कंक्रिटजस्तै हुन्छ : डा. भण्डारी

२०७९ जेठ  २४ गते १७:५८ २०७९ जेठ २४ गते १७:५८
रक्सी धेरै पिउने व्यक्तिको कलेजो कंक्रिटजस्तै हुन्छ : डा. भण्डारी

२४ जेठ, काठमाडौं । जब हामी कुनै खानेकुरा खान्छौं त्यसमा भएको पोषक तत्व र विकार छुट्याउने काम कलेजोले गर्छ ।

खानेकुरा शरीरका लागि काम लाग्ने हो होइन भनी कलेजोले निरीक्षण गर्छ । यदि शरीरका लागि आवश्यक भए त्यसलाई भण्डारण गर्छ । चिकित्सकको भाषामा यो शरीरको भण्डार घर हो ।

यसबाट प्रष्ट हुन्छ, खराब खानपान कलेजोको लागि बोझिलो हुन्छ । हामी जतिजति खराब खानेकुरा खान्छौं त्यसले सुरुवातमा कलेजोमै क्षति पुर्‍याउँछ । यसरी कलेजोले आफ्नो कार्यक्षमता गुमाउँदै जान्छ ।

त्यसो भए कस्तो खानेकुराले कलेजोमा हानी पुर्‍याउँछ ? कलेजो कमजोर भएमा के हुन्छ ? क्षतिग्रस्त कलेजो पुनरुत्पादन हुन्छ ? यिनै विषयमा केन्द्रित रहेर त्रिवि शिक्षण अस्पतालमा कार्यरत पेट तथा कलेजो रोग सर्जन डा. रमेश सिंह भण्डारीसँग गरिएको कुराकानी :

मदिरा पनि कोही नियमित खान्छन् कसैले हप्तामा महिनामा । सुरुवाती अवस्थामा यसले कलेजोमा बोसो थप्दै जाने काम गर्छ । कतिपयले अल्ट्रासाउण्ड गराएको बेलामा बोसोको मात्रा देखियो भनेर डराउनुहुन्छ । तर यस्तो हुँदा पनि मदिरा पिउन भने छाडेका हुँदैनन् ।

नेपालीमा कलेजोको के कस्ता समस्या बढी देखिएको छ ?

म सर्जन भएकाले पनि ९० प्रतिशत बिरामी कलेजोको क्यान्सर, सिस्ट पलाउने, कुकरदेखि सर्ने रोग बढी देखेको छु । त्यस्तै अहिले सिरोसिसको समस्या पनि बढ्दो छ । कलेजोमा हुने संक्रमण, पत्थरी, हेपटाइटिस बी जस्ता समस्याले पनि धेरैलाई सताएको छ ।

खासमा कलेजोको काम के हो ? यसले शरीरमा के काम गर्छ ?

कलेजो शरीरका अंगमध्ये जटिल अंग मानिन्छ । शरीरको सबैभन्दा ठूलो अंग भएकाले शरीरको सबैभन्दा धेरै काम यसैले गर्छ ।

यसको काम शरीरलाई चाहिने प्रोटिन, रोग प्रतिरक्षाको चाहिने हेमोग्लोबिन बनाउने काम गर्छ । यसैगरी शरीरका कुनै पनि अंग काटिएको बेला कलेजोले रगत बग्न नियन्त्रण गर्दछ । हामीले हरेक किसिमका खाना, औषधि खान्छौं त्यसलाई कलेजोले नै शरीरका आवश्यक अंगहरुमा वितरण गर्छ ।

यसले खाएका सबै खाना शरीरलाई चाहिने चीज पचाउने र नचाहिने चीजलाई फाल्ने गर्छ । यसको प्रमुख काम खानालाई पचाउने नै हो ।

हाम्रो खराब खानपानले कलेजोलाई कसरी बिगार्छ ?

यो सत्य हो, खानपानले कलेजोलाई बिगार्न सक्छ  । हामी खाने सबै खानेकुरा सन्तुलित र स्वस्थ्यकर हुन्छ भन्ने छैन । हामी स्वास्थ्य नहेरी जिब्रोको स्वादका लागि खान्छौं । त्यसैले खानाबाट सबै राम्रा तत्व मात्र गएका हुँदैनन् ।

खानाबाट संक्रमण पनि हुनसक्छ । अनावश्यक चिल्लोपदार्थ, कार्बोहाइडे«टले असर गर्छ । हामीले मीठो लाग्यो भन्दैमा शरीरको लागि आवश्यक नहुँदा पनि खाइरहन्छौं । कलेजोले ती खानालाई पचाउने प्रक्रिया गर्छ । धेरै खाना भएकाले अनावश्यक खाना कलेजो भण्डारण गर्नुपर्ने हुन्छ । यही प्रक्रिया निरन्तर रहिरह्यो भने अनि कलेजो बिग्रन्छ ।

मदिराको कुरा गरौं, मदिरा पिउनेहरुको कलेजो खराब हुन्छ भनिन्छ । मदिराले कसरी कलेजो खराब गर्छ ?

मदिरा हाम्रो शरीरमा रगतको माध्यम हुँदै कलेजोमा पुग्छ । मदिरालाई पनि कलेजोले मेटाबोलाइज गर्छ । मेटाबोलाइज भनेको खानेकुरा पचाउने प्रक्रिया हो । मेटाबोलाइज गर्दा त्यसबाट विविध रसायन निस्कन्छ । ती रसायनले कलेजोको कोषलाई मार्ने काम गर्छ ।

कलेजो त्यस्तो अंग हो, जुन खराब भए पनि फेरि पुनरुत्पादन हुनसक्छ । तर मदिराले  कलेजोको पुनरुत्पादन गर्ने क्षमता कमजोर बनाइदिन्छ । एसिडलाई कुनै चीजमा फाल्यो भने जल्दै जान्छ त्यस्ते मदिराले कलेजोलाई त्यही बनाउँछ । मदिराले कलेजोमा बोसो जमाउने गर्छ । बोसो बढ्दै गएपछि पछि कलेजोमा सिरोसिस रोग लाग्छ ।

मदिरामा त्यस्तो के तत्व हुन्छ, जो कलेजोको लागि हानिकारक हुन्छ ?

मदिरामा इथाइल तत्व हुन्छ, जसमा विषाक्त तत्व हुन्छ । त्यो तत्व कलेजोमा गएर जम्मा भएर बस्छ । त्यसैले यो हानिकारक छ ।

मदिराको कुनै मात्रा हुन्छ, जुन मात्रामा पिउँदा कलेजोलाई खास फरक पार्दैन ?

मदिराको त्यस्तो मात्रा नै त भन्न सकिन्न, कतिपयले २-४ युनिटसम्म मदिरामा, स्वास्थ्य सम्बन्धी किताबमा पिउन सकिन्छ भन्ने लेखिएको हुन्छ । म त्यस्तो थोरै वा धेरै मदिरा पिउँदा कलेजोलाई खास फरक पर्दैन भन्न सक्दिन । महिला पुरुषमा शरीरको उचाइ, तौल, उमेर अनुसार यसको असर भिन्न हुन्छ ।

मदिरा धेरै प्रकारका हुन्छन्, घरेलु मदिरादेखि महंगासम्म । यी सबैको असर एकनास हुन्छ वा फरक–फरक ?

म कलेजो सर्जनले भएकाले पनि त्यो मदिराको प्रकार अनुसार त्यसमा अक्कोहलमा मात्रा हेरेर हुन्छ । कुनैमा बढी हुन्छ त कुनै कम । घरेलु मदिराको त नापजाँच नै हुँदैन । त्यसैले मेरो अनुभवको आधारमा मदिराका प्रकारले फरक पार्छ ।

मदिरा पिउनेहरुको कलेजोको अवस्था कस्तो हुन्छ ?

मदिरा पनि कोही नियमित खान्छन् कसैले हप्तामा महिनामा । सुरुवाती अवस्थामा यसले कलेजोमा बोसो थप्दै जाने काम गर्छ । कतिपयले अल्ट्रासाउण्ड गराएको बेलामा बोसोको मात्रा देखियो भनेर डराउनुहुन्छ । तर यस्तो हुँदा पनि मदिरा पिउन भने छाडेका हुँदैनन् । धेरै लामो समय मदिरा पिउनेहरुको कलेजोे साह्रो कंक्रिट जस्तो हुन्छ ।

मदिराको कारण कलेजो खराब हुँदैछ भन्ने संकेत कसरी मिल्छ ?

सबैलाई संकेत मिल्दैन । कसैकसैलाई खाना मन नलाग्ने, अल्छी लाग्ने, ज्वरो आउने, बान्ता हुने, जण्डिस हुने, बेहोस हुने यो अवस्थामा हेपाटाइटिसको अवस्थामा हुने गर्दछ । र, सिरोसिसम गइसकेको अवस्था छ । शरीर, पेटभरि पानी भरिने, मुख तथा दिसामा रगत बग्ने, आँखा पहेलो हुने र निन्द्रा नलाग्ने हुन्छ ।

कलेजो खराब भएको संकेत मिलेपछि कसैले मदिरा पिउन छाड्छन् । त्यसो गर्दा फेरि कलेजो राम्रो हुन्छ ?

कलेजोमा बोसो जमेको अवस्थामा मात्रै पुनः राम्रो हुनसक्छ । मदिरा पिउन छाडेको तीन–चार हप्तामा पहिलेको अवस्थामा आउन सक्छ । सिरोसिस भइसकेको छ भने पनि मदिरा छाड्नुपर्दछ । किनभने यो रोग लाग्ने बित्तिकै मानिसको मृत्यु भइहाल्दैन ।

कलेजो खराब भइसकेपछि त्यसको उपचार के हुनसक्छ ?

सुरुवाती अवस्था कलेजोमा बोसो जमेको अवस्थामा मदिरा पिउन तुरुन्तै बन्द गरिहाल्नुपर्छ । हेपाटाइटिस भएको अवस्थामा अस्पताल जानुपर्छ ।

सिरोसिसको उपचार निश्चित उपचार हुँदैन । यस्तो अवस्थामा शरीरमा पानी भरिएको हुन्छ त्यसलाई औषधिसँगै पानीलाई निकाल्ने, रगत बग्ने समस्यालाई इन्डोस्कोपी गरेर नियन्त्रण गर्न सकिन्छ । अन्तिम विकल्प भनेको कलेजो प्रत्यारोपण नै हो ।

कलेजोलाई स्वस्थ बनाउने खास उपाय के हो ? कस्तो खानपान र जीवनशैली अपनाउनुपर्छ ?

मुख्य कुरा कलेजोलाई कुन चीजले हानी पुर्‍याउँछ भन्ने बुझ्न आवश्यक छ । चाहिने भन्दा बढी खाना नखाने, मधुमेहको नियन्त्रण गर्ने, मोटोपन घटाउने, पर्याप्त व्यायाम जस्ता काम गर्नुपर्छ । मदिरा पिउनु छाड्नेसँगै सन्तुलित भोजन खानुपर्छ ।

कुनै पनि औषधिको प्रयोग राम्रोसँग बुझेर मात्र खाने अनावश्यक औषधिले पनि यसलाई असर पुर्‍याउने गर्छ । कलेजोको काम धेरै हुन्छ यसलाई अनावश्यक कामको भार दिनुहुँदैन ।

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

कलेजो डा. रमेश सिंह भण्डारी मदिरा
लेखक
सम्झना विक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय