News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल न्युरोसर्जन सोसाइटीको नयाँ अध्यक्षमा डा. राजीव झा निर्वाचित भएका छन् र उनले दुई वर्षे कार्यकाल सम्हाल्नेछन्।
३० कात्तिक, काठमाडौं । नेपाल न्युरोसर्जन सोसाइटीको नयाँ अध्यक्षमा डा. राजीव झा निर्वाचित भएका छन् । शुक्रबार र शनिबार भएको सोसाइटीको पाँचौ अन्तराष्ट्रिय सम्मेलनमा यसअघिका अध्यक्ष डा. यामबहादुर रोकाले नयाँ अध्यक्ष डा. झालाई जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।
डा. झा दुई वर्षअघि नै ‘प्रेसिडेन्ट इलेक्ट’ पदमा छानिएका थिए र अब अध्यक्षको रूपमा दुई वर्षे कार्यकाल सम्हाल्नेछन् । सोसाइटीको अन्य पदाधिकारीहरूको चुनाव भने आगामी २९ नोभेम्बरमा हुँदैछ ।
पाँचौ अन्तराष्ट्रिय सम्मेलनमा नेपालसहित अमेरिका, क्यानडा, जापान, चीन, बंगलादेश, भारत, फिलिपिन्स, श्रीलंका, माल्दिभ्स, पाकिस्तान लगायतका देशबाट २३५ भन्दा बढी प्रतिनिधि सहभागी थिए। यसमध्ये ५५ जनाभन्दा बढी बाह्य देशका वरिष्ठ न्युरो सर्जन सम्मेलनमा उपस्थिति थियो ।
सम्मेलनमा न्युरो सर्जनहरूले कार्यपत्र समेत प्रस्तुत गरेका थिए । सन् २००८ मा स्थापना भएको यो संस्था नेपालका न्युरोसर्जनहरूको पेसागत संगठन हो । नेपाल न्युरोसर्जन सोसाइटीका संस्थापक अध्यक्ष डा. उपेन्द्र देवकोटा हुन् । त्यसबेला नेतृत्वमा कमिटी बनाउनसमेत समस्यहरू नपुग्ने अवस्था थियो । तर अहिले सोसाइटीमा १४० जना न्युरो सर्जन आबद्ध छन् ।

सोसाइटीले हरेक महिना कन्टिन्युइङ मेडिकल एजुकेशन (सीएमई) आयोजना गर्दै आएको छ । वर्षभरि काठमाडौँ उपत्यका र उपत्यकाबाहिरका अस्पतालहरूमा १२ वटा सीएमई तोकिएको हुन्छ । यसबाहेक जुनियर न्युरोसर्जनहरूलाई छात्रवृत्ति, पुरस्कार र अन्तर्राष्ट्रिय प्रशिक्षणको व्यवस्था गरिएको डा. झाले जानकारी दिए ।
डा. झा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को न्युरो सर्जरी विभागका प्रमुख समेत हुन् । आफ्नो कार्यकालमा सरकारी अस्पतालहरूमा न्युरोसर्जनको उपस्थिति बढाउने, बिरामी सुरक्षा, अनुसन्धान तथा नवप्रवर्तनमा जोड दिने बताए डा. झाले बताए ।
‘सरकारी सेवामा न्युरोसर्जनको संख्या नगन्य छ । सरकारले प्रत्येक अस्पतालमा कम्तीमा २–३ जना राख्ने नीति ल्याउनुपर्छ’ डा. झाले अनलाइनखबरसँग भने ।
बिरामी सुरक्षालाई प्राथमिकतामा राख्दै चेकलिस्ट र गाइडलाइनलाई थप प्रभावकारी बनाउने, युवा न्युरोसर्जनहरूलाई विश्वव्यापी फेलोसिप र वर्कसपमा पठाउने तथा नैतिक अभ्यासको अनुगमन गर्ने आफ्नो कार्यकालको योजना रहेको उनले बताए ।
सोसाइटीले सदस्यहरूबीच समस्याको सम्बोधन गर्दै राष्ट्रिय स्तरमा न्युरोसर्जरी सेवालाई बलियो बनाउने लक्ष्य रहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4