News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल फिजियोथेरापी संघले मङ्सिर ५ र ६ मा राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ, जसले फिजियोथेरापी पेशाको विकास र ज्ञान वृद्धि गर्ने लक्ष्य राखेको छ।
नेपालमा आधुनिक फिजियोथेरापी पेशा विस्तार र सुदृढीकरणको यात्रामा छ । आजको स्वास्थ्य प्रणालीमा पुनर्स्थापना सेवाको भूमिका अपरिहार्य बन्दै गएको छ । त्यससँगै गुणस्तरीय सेवा, अद्यावधिक ज्ञान, प्रमाणमा आधारित अभ्यास र पेशागत नेतृत्वको आवश्यकता झनै प्रखर भएको छ। यस्ता लक्ष्यलाई प्राप्त गर्न सबैभन्दा प्रभावकारी माध्यममध्ये एक हो ‘फिजियोथेरापी सम्मेलन’ । शरीरको उपचार र पुनर्स्थापनाका लागि नयाँ प्रविधि, अनुसन्धान र खोजको आदान-प्रदान गर्न यस्ता सम्मेलनहरू निकै महत्वपूर्ण हुनेगरेका छन् ।
नेपाल फिजियोथेरापी संघ (नेफ्टा) को २०२५ नोभेम्बर २१-२२ (मङ्सिर ५ र ६) मा राष्ट्रिय सम्मेलन आयोजना हुँदैछ । यो नेपालका फिजियोथेरापिस्ट र फिजियोथेरापी अध्यनरत विद्यार्थीका लागि एक ऐतिहासिक अवसर हो । यो सम्मेलन केवल शैक्षिक कार्यक्रम मात्र होइन, पेशागत भविष्य निर्माण गर्ने प्लेटफर्म हो भन्दा फरक पर्दैन ।
किन हुनुपर्छ सम्मेलन ?
स्वास्थ्यकर्मीका लागि नयाँ अनुसन्धान, उपचार प्रविधि र अभ्यासमा अद्यावधिक रहनका लागि यस्ता सम्मेलन अवसर हुन् । यी सम्मेलनले व्यावहारिक तालिम र छलफलमार्फत ज्ञान वृद्धि गर्ने मौका प्रदान गर्छन्, जुन बिरामीको उपचारमा प्रत्यक्ष सुधार ल्याउने काम गर्छ ।
उदाउँदो पेशा र नवीनतम प्रयोग हुने चिकित्सा विधा अझ विकाशील फिजियोथेरापी पेशामा सम्मेलनको महत्व बढी हुन्छ ।
१.वैज्ञानिक अद्यावधिक र वैश्विक मानकमा उभिन
विश्व फिजियोथेरापी अभ्यास अत्यन्त गतिशील छ। जस्ता विश्वमा तीव्र प्रगति भइरहेको विषय जस्तै दुखाइ विज्ञान, न्युरोप्लास्टिसिटी, टेली-रिह्याबिटेसन, खेल विज्ञान, व्यायाम प्रेस्क्रिप्सन, प्यालिएटिभ केयर, नीति-संचालित स्वास्थ्य सेवामा नेपाल पछि परिरहनु उचित हुँदैन । सम्मेलनले यी विषयमा प्रत्यक्ष सिकाइको अवसर दिन्छ । फिजियोथेरापी तालिम लिँदा वा अध्ययन गर्दा अभ्यासमा नरहेको तर समयसपेक्ष विकास भइरहेका यस्ता विषय सम्मेलनमा चर्चा हुन्छन र ज्ञान आर्जन गर्न सकिन्छ।
२.अनुसन्धान र प्रकाशन संस्कारको विकास
नेपालमा अनुसन्धान गर्ने र प्रस्तुत गर्ने संख्यामा निकै कमी छ । सम्मेलनमार्फत विद्यार्थी र युवा चिकित्सकले अनुसन्धान, केसहरूबारे छलफल र शैक्षिक लेखनको अभ्यास गर्न पाउँछन् । यही आधारले पेशागत मान्यता र क्षमता बढ्छ । प्रमाणमा आधारित अभ्यासका तीन पर्खालमध्ये एक पर्खाल भनेको, आफ्नो अनुभव र निर्णय क्षमताले प्रयोग गरेको विधिको प्रतिफललाई रेकर्डमा राखी सोको सुक्ष्म अध्ययन गरेर परिणामलाई प्रस्तुत गर्नु पनि हो ।
३.नेटवर्किङ र नेतृत्व विकास
फिजियोथेरापिस्टहरू बीचको संवाद, साझा सोच र नीति निर्माणमा सहभागिताले नै फिजियोथेरापीको नयाँ भविष्य निर्माणमा सहयोग पुग्छ । यस वर्षको सम्मेलनमा राखिएको ‘छलफल’ सत्रमा फिजियोथेरापिस्टको पदनाम लगायत डाक्टर टाइटल, फिजियोथेरापिस्टलाई स्वदेशमा अभ्यासको वातावरण, फिजियोथेरापीमा हुने मालप्राक्टिसको नियन्त्रण आदिका बारेमा गहन वहस हुने अपेक्षा गरिएको छ ।
यिनै अभ्यासबाट विद्यमान समस्याको धरातल पत्ता लगाउन र दिशानिर्देश गरी पेशागत आवाजलाई बलियो बनाउने काम हुन्छ । व्यक्तिगत रूपमा आफ्नो कार्यक्षेत्रमा काम गर्ने अनुभवी र दक्ष व्यक्तिसँग अन्तर्क्रिया गरी ठोस कार्यको सुभारम्भ गर्न सकिन्छ । सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत नेतृत्व गर्ने क्षमता निर्माण गर्छ।
४. संस्कृति, सामाजिकता र समुदायिक भावना
सम्मेलन केवल शैक्षिक कार्यक्रम मात्र होइन, संस्कृति प्रस्तुति, सम्बन्ध विस्तार र समुदाय निर्माणको उत्सव पनि हो । यसमा गरिने सांस्कृतिक प्रस्तुति, सामूहिक भोजन, अनौपचारिक भेटघाटले पेशागत परिवार बन्ने आधार बनाउँछ।
यसअघि भएका विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मेलन र त्यसमा भाग लिँदाका अनुभवले देखाएको छ कि, ज्ञानका सीमा तब खुला हुन्छन्, जब हामी नयाँ विचार र फरक सन्दर्भको बहससँग जोडिन्छौं ।
यसअघि२०२३ मा पहिलो पटक नेफ्टा सम्मेलन उपत्यकाबाहिर चितवनमा प्रभावकारी ढंगले सम्पन्न गरिएको थियो । त्यसमा महासचिवको भूमिकामा रही तत्कालीन नेपाल फिजियोथेरापी संघको केन्द्रीय समिति तथा बागमती प्रदेशको प्रादेशिक कार्यकारी समितिसँग काम गर्ने अवसर प्राप्त भएको थियो ।
यस पटकका लागि त्यो अनुभवले अब अझै फराकिलो, अझै प्रभावशाली र अझै वैज्ञानिक सम्मेलन हुने मैले आशा गरेको छु । यधपी सम्मलेन गर्न जति मह्त्वपूर्ण छ आयोजना गर्न उत्तिकै चुनौतिपूर्ण पनि छ । आयोजकले विशेष ध्यान दिनुपर्ने भनेको सम्मेलनको वैज्ञानिक पाटो, प्रस्तुतिका विषय, सहभागीहरूको अपेक्षा आदि हुन् । ्
यी बाहेक सांस्कृतिक, आर्थिक, कानुनी र मनोसामाजिक पाटोहरूमा पनि उत्तिकं ध्यान दिनुपर्ने हुन्छ । सम्मेलन भनेको नवीनतम खोज र विधिको प्रचार मात्र नभई अभ्यासमा रहेको तौर तरिकालाई फराकिलो गर्दै पुष्ठी गर्ने अवसर पनि हो । यसबा विविन्न स्रोत व्यक्तिको जन्म हुने आँकलन गर्न सकिन्छ।
नयाँ पुस्ताका लागि सन्देश
प्रिय फिजियोथेरापी विद्यार्थी र नयाँ स्नातकहरू, सम्मेलन केवल मिलन बिन्दु मात्र होइन, यो तपाईंको भविष्यमा गरिएको लगानी र परिवर्तन को ‘कोशेढुंगा’ हो।
के गर्ने ?
– साइन्टिफिक सेसनमा मा सक्रिय सहभागी बन्नुहोस् ।
-रिसर्च, पोस्टर, केस प्रिजेन्टेसनमा सहभागी भई प्रस्तुत वा सक्रिय सहभागिता जनाउनुहोस् ।
– साझा कार्यक्षेत्र भएका सहकर्मी र राष्ट्रिय वा अन्तराष्ट्रिय विज्ञसँग नेटवर्क बनाउनुहोस् ।
-कार्यशाला शत्रमा सहभागी हुन नछुटाओस् ।
-पेशागत आचार संहिता र प्रमाणमा आधारित अभ्यासको आधार बनाउनुहोस् ।
के याद राख्नुपर्छ?
– शैक्षिक डिग्रीले केवल अभ्यासको प्रवेशद्वार खोल्छ ।
-निरन्तर सिकाइले पेशागत निपूर्णता अगाडि बढाउँछ ।
-सहकार्यले अवसरको सिर्जना गर्छ ।
-नेतृत्व विकासको सहभागिताले पेशालाई उपल्लो स्तरमा लैजान्छ ।
-यो सम्मेलनले तपाईंलाई शिक्षा, प्रेरणा र अवसर दिनेछ र समग्रमा नेपालमा फिजियोथेरापीको भविष्य निर्माणमा तपाईंको भूमिका बलियो बनाउनेछ।
प्रतिक्रिया 4