+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
१०७ बलमा १२९ रन आवश्यक
विराटनगर किंग्स 2025
19/0 (2.1)
Shares

ओलीले मेरो उम्मेदवार छैन भने, तर प्रदेशका नेता तीनतिर

जनक विष्ट जनक विष्ट
२०८० फागुन ७ गते २०:२७

७ फागुन, धनगढी । आइतबार सुरु भएको नेकपा एमाले कैलाली जिल्ला कमिटीको नवौं अधिवेशनमा सोमबार दिउँसो २ बजेपछि बन्दसत्र सुरु भयो ।

बन्दसत्रले आर्थिक, राजनीतिक तथा सांगठानिक प्रतिवेदन पारित गरेपछि निर्वाचन प्रक्रिया अघि बढ्ने कैलाली जिल्ला इन्चार्जसमेत रहेका पोलिट्ब्यूरो सदस्य गणेश सिंह ठगुन्नाले बताए ।

नेतृत्वमा सहमति खोज्न इच्छापत्र, प्रगति शून्य

एमालेले सहमतिमा जिल्लाको नेतृत्व चयन गर्ने भन्दै ३ फागुनमा अध्यक्षसहितका पाँच पदाधिकारीका आकांक्षीसँग इच्छापत्र मागेको थियो ।

अध्यक्षमा तीन जनासहित कुल पदाधिकारीमा ५३ जनाले इच्छापत्र दर्ता गराएका थिए । ४ र ५ फागुनमा आकांक्षीका बीचमा सहमति खोजिने भनिएको थियो तर अधिवेशनको बन्दसत्र सुरु भइसक्दा पनि सहमति जुटेको छैन ।

औपचारिक, अनौपचारिक रुपमा माथिल्लो तहका नेता र आकांक्षीकाबीचमा छलफल भइरहेको बताइएपनि अहिलेसम्म कुनै कुराको टुंगो लागेको छैन ।

‘अध्यक्षमा इच्छापत्र दर्ता गराएका तीन जनाबीच शुक्रबार मेरो उपस्थितिमा छलफल भएको थियो’, कैलाली इन्चार्ज ठगुन्नाले अनलाइनखबरसँग भने, ‘उहाँहरुसँग फेरि बस्ने भनेर उठेका थियौं । दोस्रो पटक बसिएको छैन । आफ्नो किसिमले पनि छलफलमा हुनुहुन्छ होला ।’

अध्यक्षमा अहिलेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाले आकांक्षा राखेका छन् ।

तर उनीहरुबीच नै छलफल नभएकाले उपाध्यक्ष, सचिव र दुई उपसचिवको विषयमा प्रवेश गर्न नसकिएको इन्चार्ज ठगुन्ना बताउँछन् ।

ओलीले दिएनन् संकेत

नवौँ अधिवेशन उद्घाटन गरेर आइतबार नै काठमाडौँ फर्किएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत वा लोकतान्त्रिक प्रक्रियामार्फत सक्षम नेतृत्व चयन गर्न प्रतिनिधिहरुलाई शुभकामना दिएका थिए ।

उद्घाटन सत्रमा करीब आधा घण्टा बोलेका ओलीले अनावश्यक लडाइ नगरेर पार्टीलाई हाँक्न सक्ने सक्षम व्यक्तिलाई नेतृत्वमा ल्याउन सुझाव समेत दिए ।

उनले कैलालीमा आफ्नो कुनै उम्मेदवार नै नभएको र सबै उस्तै भएको बताएका थिए । ‘मेरो कुनै क्यान्डिडेट (उम्मेदवार) छैन । यहाँ तपाईंहरुलाई भ्रम होला’, ओलीले भनेका थिए, ‘फलानोले के–के गरेछ । मन लागिहाल्छ तर होइन । मेरा लागि सबै साथीहरु उस्तै हुन् ।’

ओलीले योग्यता पुगेका सबैलाई अध्यक्ष बनाउन मिल्ने भए बनाइदिने तर विधानले नमिल्ने भन्दै योग्य व्यक्तिलाई चयन गर्न भनेका थिए ।

‘एकजना बनाउनुपर्ने भएपछि अनावश्यक लडाईं नर्गुहोस् । आफ्नो मूल्यांकन आफैले ठीक ढंगले गर्नुहोस्’, उनले भने, ‘मिसन ८४ लाई सफल पार्न को साथीको अगुवाइमा जान सकिन्छ यो आफैंले छलफल गरेर निष्कर्ष निकाल्नुहोस् ।’

ओलीले आइतबार रातभर सहमतिको प्रयास गर्ने र नभए सोमबार बिहानैदेखि निर्वाचन प्रक्रिया अघि बढाउन समेत आग्रह गरेका थिए ।

अध्यक्ष ओलीले आफ्नो उम्मेदवार नभएको बताए पनि जिल्लाको नेतृत्व लिने आकांक्षा राखेका तीन नेताले तीन शीर्ष नेताको साथ आफूसँग भएको निकटवर्तीहरुसँग बताउने गरेका छन् ।

दुर्गाप्रसाद जोशीलाई केन्द्रीय सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट, डेजी पाण्डेलाई स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र नारायणमुनि राना र यज्ञराज ढुंगानालाई सुदूरपश्चिमका पूर्व प्रदेश अध्यक्ष दामोदर भण्डारीको साथ रहेको एमालेवृत्तमा चर्चा छ ।

नेताहरुकै कारण आकांक्षीबीच सहमति हुन नसकेको जिल्ला अधिवेशनमा प्रतिनिधिहरु बताउँछन् । नेताहरु भने यो कुरालाई अस्वीकार गर्छन् । केन्द्रीय सचिव लेखराज भट्टले आफू कोही एक जनाको पक्षमा मात्र नरहेको बताए ।

‘अध्यक्ष कमरेडले भन्नुभए जस्तै सर्वसम्मत नेतृत्व चयन गर्दा राम्रो सन्देश जान्छ, पार्टी एकताबद्ध हुन्छ भन्ने कुरा नै हो’, भट्टले अनलाइनखबरसँग भने, ‘मैले कुनै व्यक्तिलाई अघि सारेको भन्ने कुरा सत्य होइन ।’

स्थायी कमिटी सदस्य थापाले अध्यक्षमा आकांक्षा राखेकामध्ये हालका पदाधिकारीको नाममा सहमति खोज्न सुझाव दिएको बताए ।

‘सहमतिको हकमा अहिलेका कार्यवाहक अध्यक्ष र सचिव पहिलो हकदार हुन् । त्यो नभए त्यसैभित्रका अन्य पात्र उपयुक्त हुन्’ थापाले भने ।

नेता दामोदर भण्डारीले पनि आफू पनि अरु नेताहरुजस्तै सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको बताए । ‘यसले पार्टीलाई एकताबद्ध बनाउछ, सुदृढ बनाउँछ’, उनले भने ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?