१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले विपक्षी दलहरु संसद चलाउने मूडमा नरहेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘झट्ट हेर्दा प्रतिपक्ष संसद् चलाउने मूडमा छैन । पटक-पटक अवरोध गर्ने मूडमा छ ।’
संसद्ले एक वर्ष पूरा गरेको र यो एक वर्षमा एउटा मात्रै कानुन निर्माण भयो भनेर आम जनतामा वितृष्णा र असन्तोष रहेको उल्लेख गर्दै कानुन निर्माणमा सबै केन्द्रित हुनुपर्नेमा जोड दिए । संसद् अवरोध गरेर सत्ता प्राप्त हुने अभिलाषा नराख्न विपक्षी दलहरुलाई उनको आग्रह छ ।
‘म प्रतिपक्ष साथीहरुलाई भन्न चाहन्छु- विमति हुन सक्छ । तर, संसद अवरोध गरेर त्यहाँबाट सत्ता प्राप्त गर्छौं भन्ने जुन तपाईंहरुको अभिलाषा छ त्यता नलाग्नोस्’, कांग्रेस सांसद केसीले भने ।
केसी अगाडि संसदमा अवरोध गर्दै विपक्षी दलहरुले सरकारको आलोचना गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका व्यक्तिहरु मन्त्री पदमा बहाल रहेको, दुई युवकको मृत्यु भएको बालकुमारी घटनामा दोषी रहेको भनी छानबिन प्रतिवेदनले भनेका भौतिक पूर्वाधार मन्त्री कारबाहीमा नपरेको भनी सरकारको ध्यानाकर्षण गरेका थिए ।
विपक्षीहरुले उठाएको विषयलाई महत्व नदिए संसद् अवरोध हुनसक्ने चेतावनी उनीहरुले दिएका थिए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4