
१० फागुन, पोखरा । पोखरामा भएको आर्ट ग्यालरी र पुस्तकालय भत्काएर शौचालय र झण्डा पार्क बनाएको भन्दै यतिबेला महानगरको तीव्र आलोचना भइरहेको छ ।
पोखराको मुख्य बजार क्षेत्र र त्यसमा पनि साँघुरो ठाउँमा रहेको महेन्द्रपुलमा खुला ठाउँ वा पार्किङ क्षेत्र बनाउन छोडेर झण्डा पार्क बनाएको भन्दै आलोचना सुरु भएको हो ।
विकल्पबिनै हतारमा भवन भत्काउँदा महानगर आर्ट ग्यालरी र पुस्तकालयविहीन बन्न पुगेको भन्दै सरोकारवाला कलाप्रेमीले तीव्र असन्तुष्टि पोख्दै आएका छन् । महानगरले महेन्द्रपुलको आर्ट ग्यालरी र पुस्तकालय भत्काएर पृथ्वीचोकमा बनाउने निर्णय गरेको छ ।
तर, लामो समय भइसक्दा पनि उक्त योजनाले मूर्त रुप लिन सकेको छैन । उक्त योजना पृथ्वीचोक साविक ट्राफिक गोलघर रहेको जग्गामा एक वर्षदेखि साइनबोर्ड मात्र राखिएको छ ।
पहिले थिएन झण्डा पार्कको योजना
महेन्द्र पुलका पुस्तकालय र आर्ट ग्यालरी भत्काएर नयाँ ठाउँमा सार्ने योजना पुरानै भए पनि त्यहाँ सार्वजनिक शौचालय र झन्डा पार्क बनाउने योजना भने थिएन ।
महानगरले त्यतिबेला महेन्द्रपुलका ती पुराना भवन भत्काएर त्यहाँ एकातिर खुला पार्क र अर्कातिर पार्किङस्थल बनाउने योजना पनि अगाडि सारेको थियो । तर, निर्णय भने गरिसकेको थिएन ।
अहिले जानकारी बिनै एकाएक झण्डा पार्क र शौचालय बनाएपछि महानगरबासी रुष्ट भएका हुन् ।
महानगरले गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा सार्वजनिक शौचालय र लायन्स क्लबको सहयोगमा झण्डा पार्क बनाएको छ । सार्वजनिक शौचालयको लागत १ करोड रुपैयाँ हो । त्यसमध्ये महानगरले ४० लाख रुपैयाँ लगानी गरेको छ ।
तामझामका साथ उद्घाटन गरिएको उक्त शौचालयको ढोका ४ महिनामै बन्द भएको छ । बायोग्यास डाइजेस्टर जडान गर्नुपर्ने भन्दै महानगरले उक्त शौचालय बन्द गरेको हो । अहिले पनि मर्मत कार्य चलिरहेको छ ।
त्यस्तै, पहिले पोखरा सार्वजनिक पुस्तकालय रहेको ठाउँमा अहिले महानगरले अन्तर्राष्ट्रिय झण्डा पार्क बनाएको छ । करिब २ रोपनी क्षेत्रफलमा बनेको पार्कमा संयुक्त राष्ट्र संघमा आवद्ध १९३ राष्ट्रको झण्डा राखिएको छ ।
उक्त पार्क बनाउन लायन्स क्लबको करिब ७० लाख रुपैयाँ लागेको महानगरले जनाएको छ । महेन्द्रपुलमा रहेको पोखराकै एकमात्र आर्ट ग्यालरी र पुस्तकालय रहेको भवन भत्काएर प्रदेश संग्रहालयमा सार्ने निर्णय निवर्तमान मेयर मानबहादुर जिसीको नेतृत्वमा ०७५ चैत १ गते बसेको २८ औं कार्यपालिका बैठकले गरेको थियो ।
तर, प्रदेश संग्रहालय प्रदेश सरकारको मातहतमा रहेको हुँदा महानगरले सहमतिबिनै आफूखुसी त्यहाँ पुस्तकालय र आर्ट ग्यालरी राख्ने निर्णय गरेको भन्दै संग्रहालयले आपत्ति जनायो ।
फलस्वरुप त्यतिबेला महानगरले न भवन भत्काउन सक्यो न त आर्ट ग्यालरी र पुस्तकालयलाई प्रदेश संग्रहालयमै सार्न सक्यो ।
०५६ सालमा स्थापना भएको सार्वजनिक आर्ट ग्यालरी र ०४८ सालदेखि पुनः सञ्चालनमा आएको पोखरा सार्वजनिक पुस्तकालय भत्काएर नयाँ ठाउँमा सार्ने निर्णय गर्दा पहिले पाठक र कलाप्रेमी उत्साहित नै थिए ।
वर्षौं पुरानो आर्ट ग्यालरी साँघुरोमात्रै नभएर होहल्ला बढी हुने ठाउँमा हुँदा आफूहरुलाई पनि असहज महसुस हुने कलाकारको भनाइ थियो । तर, लामो समयसम्म महानगरले कुनै कदम नचालेपछि उनीहरु निराश भए ।
‘आर्ट ग्यालरी बनाउन पोखराका साना ठूला सबै कलाकारको मिहिनेत र श्रम लागेको छ । महानगरले सुरुमा अन्तै राम्रो ठाउँमा सार्छौं भन्दा खुसी लागेको थियो’, कलाकार मिलन शेरचनले भनेकी थिइन्, ‘त्यहाँ भएका सबै सामान पनि हटाइसक्यो । ग्यालरी त अहिले शरीर भएर पनि निष्प्राण उभिएको छ जस्तो लाग्छ ।’
लामो समयदेखि ‘निष्प्राण’ उभिएको त्यही आर्ट ग्यालरी र पुस्तकालयमा महानगरले ०७९ भदौ २३ गते डोजर चलायो । महानगरले बाहिर डोजर चलाउँदा भित्र ग्यालरीमा ‘अनन्त रेखाहरु’ नामक चित्रकला प्रदर्शनी जारी थियो ।
सिर्जनशील कलाकार समूहले आयोजना गरेको प्रदर्शनीमा वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यान’, बुद्धिबहादुर गुरुङ, आलोक गुरुङ, विश्व शाक्यदेखि अनुज पुस्तासम्म ८५ जना कलाकार सामूहिक रुपमा सहभागी थिए ।
भित्र चित्रकला प्रदर्शनी हुँदाहुँदै बाहिर महानगरले विकल्पबिनै डोजर चलाएपछि पोखराका सरोकारवाला बुद्धिजीवी, कलाकार सबैले विज्ञप्ति जारी गर्दै विरोध जनाए । सर्वत्र आलोचना भएपछि महानगरले नयाँ सुविधासम्पन्न ग्यालरी र पुस्तकालय बनाउन लागेको भन्दै आफ्नो बचाउमा अर्को विज्ञप्ति निकाल्यो ।
अर्को विकल्प तयार नहुँदासम्मको लागि नयाँबजारस्थित क्षेत्री समाज घरमा पुस्तकालय र ग्यालरीको अल्पकालीन व्यवस्था मिलाएको महानगरले जानकारी दियो ।
त्यसपछि पृथ्वीचोकमा रहेको साविक ट्राफिक कार्यालय (गोलघर) मा ‘पोखरा घर’ बनाउने र त्यहाँ घण्टाघरसहितको ग्यालरी र पुस्तकालय बनाउने महानगरले योजना अघि सारेको थियो ।
पोखरा घर एक वर्षदेखि बोर्डमै सीमित
पोखरा घर बनाउने भन्दै महानगरले ०७९ माघ १७ गते गोलघर भवन भत्काएर ‘पोखरा घर निर्माणाधीन स्थल’को बोर्ड राख्यो । महानगरले ‘पोखरा घर’को भुइँतलामा सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय, तेस्रो तलामा ग्यालरी र त्यसमाथि घन्टाघर बनाउने गरी उक्त योजना ल्याएको थियो । तर, महानगरको उक्त योजनामा भने पहिलो गासमै ढुंगा लाग्न पुग्यो ।
पोखरा घर बन्न सुरु नहुँदै जग्गाबारे विवादमा सुरु भयो । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गा दाताहरुले पहिले आफूहरुसँग जुन प्रयोजनका लागि लिइएको हो त्यही प्रयोजनमा प्रयोग गर्न माग राखेका थिए । महानगरकै भनाइ मान्ने हो भने, अहिले त्यो विवाद सल्टिइसकेको छ ।
तर, विवाद सल्टिइसक्दा पनि किन ‘पोखरा घर’ निर्माण भने सुरु हुन सकेको छैन । अघिल्लो आर्थिक वर्षमा पनि पोखरा घर बनाउन २ करोड रुपैयाँ विनियोजन भएको थियो । यद्यपि, प्रयोगमा आउन सकेन ।
पोखरा महानगर प्रवक्ता मोति तिमिल्सिना चालु आर्थिक वर्षभित्रै पोखरा घर निर्माण सुरु गर्ने गरी प्रक्रिया अगाडि बढिसकेको बताउँछन् । ‘अहिले हामी आशयपत्रहरु बुझ्ने काम गरिरहेका छौं । त्यो पूरा भइसकेपछि सिधैं टेन्डर प्रक्रियामा गएर काम गरिहाल्ने हो’, उनले भने ।
महानगरले पोखरा घर बनाउन मंसिर ७ गते बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्र माघ १३ गते खोलिनेछ । महानगरले मागेको सूचनामा ७ वटा बोलपत्रदाता प्राविधिक प्रस्तावमा छानिएको जानकारी दिएको छ ।
पोखरा घर बनाउन १० करोड रुपैयाँ लाग्ने महानगरको भनाइ छ । ‘घन्टाघरसहितको समग्र पोखराको स्वरुप झल्किने गरी पोखरा घरको योजना ल्याइएको हो । डीपीआर भइसक्यो । अब टेन्डर हुन मात्रै बाँकी हो’, प्रवक्ता तिमिल्सिनाले भने ।
तर, कलाकारहरु भने महेन्द्रपुलबाट झनै होहल्ला र व्यस्त ठाउँमा आर्टग्यालरी सार्न लागिएको भन्दै सुरुबाटै असन्तुष्ट छन् । कलाकारलाई शान्त र खुला ठाउँ चाहिने भएकाले सोहीअनुसार बनाइनुपर्ने माग राख्दै आएका छन् ।
तस्वीरः सुदर्शन रञ्जित/अनलाइनखबर
प्रतिक्रिया 4