+
+

मिस वर्ल्ड : शीर्ष ५ विधामा जित निकालेर उपाधि दौडमा पुग्ने प्रियंकाको रणनीति

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १४:४६

काठमाडौं । अन्ततः अन्योल र स्थगनको श्रृंखलापछि मिस वर्ल्ड प्रतियोगिता भारतमा सुरु भएको छ । सन् २०२२ को संस्करणका ११७ मुलुकका विश्व सुन्दरीले प्रतिस्पर्धामा सहभागिता जनाइरहेका छन् । नेपालबाट प्रियंकारानी जोशीले मुलुकको प्रतिनिधित्व गरेकी छन् ।

प्रमोद कंसाकारसहित द हिडन ट्रेजरको टोली नै दिल्लीमा छ । बुधबार बेलुकादेखि दिल्लीमा सुरु भएको मिस वर्ल्ड एक महिनासम्म चल्नेछ र फिनाले मुम्बईमा हुने जनाइएको छ ।

उपाधि जित्ने लक्ष्यसहित प्रियंका अहिले मिस वर्ल्ड पुगेकी छन् । खासगरी शीर्ष पाँच विधामा जसरी भए पनि जित्ने उनको रणनीति देखिन्छ । यी विधामा जित्न सकिए सोझै अन्तिम १५ र २० मा पुग्न सकिने भएकाले पनि यसमा उनको जोड छ ।

दिल्लीबाट अनलाइनखबरसँग कुरा गर्दै प्रियंकाले आफू शीर्ष पाँच ‘फास्ट ट्रयाक’ विधामा केन्द्रित भएको बताइन् । जसमा ब्युटी विथ पर्पस, मल्टिमिडिया अवार्ड, मोडल वाच, वर्ल्ड डिजाइनर र स्पोर्ट्स इभेन्ट छन् । ब्युटी विथ पर्पस विधामा नेपाल यसअघि दुई पटक विजयी भइसकेको छ । यसका लागि प्रतिस्पर्धीले सामाजिक प्रोजेक्टमा काम गर्नुपर्ने हुन्छ ।

प्रियंकाको पहलमा चेपाङ बहुल चितवनको दुर्गम इच्छाकामना गाउँमा हालै केन्द्रीय विद्युत प्रसारण पुगेको छ । जसले गर्दा लामो समयदेखि विद्युतबाट वञ्चित त्यहाँका बासिन्दा लाभान्वित भएका छन् । यसबाहेक उनीहरुलाई मौरीपालनदेखि अन्य उद्यमशीलताका काममा समेत प्रियंकाले सघाएकी छन् ।

मब-एपबाट बढीभन्दा बढी भोटको आशा राख्दै उनले मल्टिमिडिया अवार्ड जित्ने आशा राखेकी छन् । मोडल वाच विधामा समेत अब्बल बन्नको लागि गाउनदेखि अन्य विशेषतामा समेत उनले आफूलाई तयारी गरेकी थिइन् ।

स्पोर्ट्स अर्थात् फिटनेस विधा समेत जित्न सकिए सोझै आगामी चरणमा जान सकिनेछ । यसका लागि प्रियंकाले जिम जानेदेखि फिटनेसका अरु उपाय अपनाइरहेकी छन् । ‘जिम जानेदेखि स्टामिना बढाउनेसम्मका कसरत गरिरहेकी छु,’ उनले भनिन् ।

यसपटक महादेशको विजेता समेत घोषणा हुने भएकाले यसपटकको मिस वर्ल्ड थप रोचक हुने अनुमान छ । एसिया महादेशबाट नेपालसहित न्युजिल्याण्ड, फिलिपिन्स, सिंगापुर, श्रीलंका, थाइल्याण्ड, टर्की र भियतनामले भाग लिएका छन् । एसिया महादेशका लागि यी मुलुकबाट विजेता घोषणा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?