+
+

‘सरकार ! जाली तमसुक खारेज गरिदेऊ’

२३ दिन हिँडेर न्याय काठमाडौं आइपुगेका मिटर ब्याज पीडितको सरकारसँग राखेको सबैभन्दा ठूलो माग हो, ‘जाली तमसुक खारेजी ।’

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० फागुन ११ गते २१:२५

११ फागुन, काठमाडौं । सुनसरी निर्मलादेवी २३ दिन पैदल हिँडेर बुधबार काठमाडौं आइपुगिन् । शुक्रबार उनी न्याय माग्न भनेर सिंहदरबारतर्फ अघि बढेको आफू जस्तै मिटर ब्याज पीडितहरुसँग जुलुसमा सहभागी थिइन् ।

तर प्रहरीले उनीहरुलाई भृकुटीमण्डपको गेटमै रोक्यो । सडकमा बस्दाबस्दै उनी ढलिन् । ‘घरबाट हिँडेदेखि राम्रोसँग खान पाएकी छैन, शरीरमा ताकत नाई’ उनले भनिन्, ‘खुट्टा फुट्ला झै दुखेथ्यो ।’

मिटरब्याजी साहुले खेत खाइदिएपछि सुनसरीबाट भोक र प्याससहितको कष्टसाध्य यात्रा गर्दै उनी न्याय माग्न आएकी थिइन् ।

उनले पाँच वषअघि मिटरब्याजी साहुसँग १६ हजार रुपैयाँ ऋण लिएकी थिइन् । ५० हजार बुझाउँदा पनि साहुको ऋण घटेनछ । पछि थाहा भयो, साहुले जाली तमसुक बनाएर १ कठ्टा जमिन नै हडपिसकेछन् । ‘ऋणको दोब्बर पैसा फिर्ता गर्दा पनि साहुले जग्गा खाइदिए’ उनले भनिन्, ‘जग्गा फिर्ता माग्दा उल्टै डेढ लाख मागे ।’

साहुले खाइदिएको जग्गा फिर्ता गरिदिन भनेर उनले स्थानीय सरकार, प्रशासन धाउन थालिन् । तर साहुसँग जालि तमसुक थियो । ‘कहीँ गए पनि मैले न्याय पाउने भइनँ’ उनले भनिन्, ‘अनि सरकारलाई समस्या बताउन भनेर म हिँडेरै आएँ ।’

उनले मिटर ब्याजी साहुले बनाएको जाली तमसुक खारेज गरेमात्र आफूलाई न्याय मिल्ने बताइन् । ‘साहुसँग कागज छ, त्यसैले उनीहरु बलियो छन्’ उनले भनिन्, ‘गाउँका सरकारले हामीलाई न्याय दिन सक्दैन । ठूलो सरकारले त हामीलाई न्याय दिनसक्ला भनेर समस्या सुनाउन आएकी हुँ ।’

धनुषाका जनकपुर ६५ वर्षीय रामलोचन पासमारी पनि त्यही आशामा काठमाडौं आएका छन् ।

उनले मिटरब्याजी बच्चा साहुसँग आठ हजार ऋण लिए । दुई वर्षपछि उनले ऋण लिए बापत २० हजार बुझाउन खोजे । तर साहुले पैसा लिन मानेनन् । पछि थाहा भयो, साहुले ऋण दिएको बखत नै दुई लाखको तमसुक बनाएका रहेछन् ।

त्यही जाली तमसुकको आडमा अदालतमा मुद्दा हाले । अदालतले उनको घरमा चिठी पठायो । उनीसँग काजगात प्रमाण नभएकाले मुद्दा जित्न नसक्ने वकिलले सुनाएका छन् ।

स्थानीय सरकार र जिल्ला प्रशासन पटक पटक धाइसके । कसैबाट न्याय मिल्ने संकेत नदेखेपछि उनले काठमाडौंसम्म कठोर पैदल यात्रा तय गर्नु परेको थियो ।

उनलाई के थाहा छ भने सबै समस्या जड नै मिटर ब्याजी साहुको जाली तमसुक हो । अनि उनलाई आशा छ, गाउँको सरकारले दिन नसकेको न्याय केन्द्र सरकारले देला, मिटर ब्याजी साहुको तमसुक च्यातिदेला । ‘घरमा अदालतको चिठ्ठी आएको छ’, उनले भने, ‘तमसुक खारेज भयो भने मात्र पीडितले न्याय पाउँछन्, त्यही सुनाउन आएको हुँ ।’

सिरहाकी रुन्छी दासले ५० हजार ऋण लिएकी थिइन् । उनले वर्षदिनमै उनले ५० हजार रुपैयाँ फिर्ता गरेकी थिइन्, साहुलाई । एकदिन साहुले उनी बसेको घर भत्काउन आइपुगे । रुन्छी दासको परिवारले प्रतिवाद गर्न खोज्या । तर साहुले ससुरा रामसुनार दासको नाममा रहेको जग्गा आफ्नो नाममा भएको कागजात देखाइदिए ।

त्यहीपछि उनी छाँगाबाट खसेझै भइन् । अनि बुझिन्, साहुले उनका ससुरालाई झुक्काएर त्यही ऋणको बहानामा जग्गा नै आफ्नो नाम गरिसकेछन् । ‘हाम्रा ससुरा पढे लेखेका छैनन्, उनले ऋण लिएका पनि थिएनन्’ उनले भनिन्, ‘सोझो देखेर साहुले झुक्काएर जग्गा आफ्नो नाम गरेछ ।’

भएको घरजग्गा साहुले हडपेपछि अहिले उनको परिवार सिरहा बजारमा कोठा भाडामा लिएर बसेको छ ।

सुनसरीका निर्मला देवी, धनुषाका रामलोचन पासमारी, सिराहाकी रुन्छी दास जस्ता मिटर ब्याजी साहुबाट पीडित भएकाहरु २३ दिन लामो यात्रा गरेर काठमाडौं आइपुगेका छन् । टाढाबाट मिटर ब्याजी साहुले जाली काजगात बनाएर घरखेत हडप्ने र तिर्न नसकिने ऋणमा डुबाएको भन्दै उनीहरु न्याय माग्न काठमाडौं आइपुगेका हुन् ।

सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि कानुन संशोधन गर्नुका साथै जाँचबुझ आयोग गठन गरे पनि आफूहरूको समस्या समाधान नभएको भन्दै मिटरब्याज पीडितहरू पुनः न्याय खोज्दै काठमाडौं आएका हुन् । पूर्वमेचीदेखि पश्चिम महाकालीबाट पैदल हिँडेर काठमाडौं आइपुगेका उनै मिटरब्याज पीडितले शुक्रबार सिंहदरबार अगाडि भद्रकालीमा धर्ना दिएका छन् ।

पीडितहरु त सिंहदरबार जान चाहन्थे । प्रहरीले सुरुमा उनीहरुलाई भृकुटीमण्डपको गेट अगाडि रोक्यो । करिब १ घण्टा तयही प्रदर्शन गरेपछि भद्रकालीसम्म पुग्न दिएको थियो ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?