+
+
प्रशासन :

गाडी फिर्ता नगर्ने सचिवले मागे विदेश हिँड्ने सचिवसँग जवाफ

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० फागुन १३ गते २३:५९

१३ फागुन, काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यमाथि मन्त्रिपरिषदबाट स्वीकृत नगराई विदेश भ्रमण गएकोबारे अनुसन्धान थालेको छ । खानेपानी सचिव चढ्ने गाडी फिर्ता गर्ने वा नगर्ने विषयलाई लिएर उत्पन्न टकराबका बीच सतर्कता केन्द्रले खानेपानी सचिव आचार्यमाथि अनुसन्धान थालेको हो ।

३ माघमा यूएन हेबिटाटको ‘इनक्लुसिभ डिसेन्ट्रलाइज्ड सेनिटेसन एन्ड अर्बन ट्रान्सफर्मेसन’ (समावेशी विकेन्द्रीकृत सरसफाई तथा शहरी रूपान्तरण) कार्यक्रममा सहभागी हुन सचिव आचार्यको नेतृत्वको टोली भारतको उडिसा गएको थियो ।

केन्द्रले सो भ्रमणका क्रममा प्रक्रिया गोलमाल गरिएको भन्दै सचिव आचार्यको भ्रमणसम्बद्ध कागजात माग गरेको छ । कूटनीतिक राहदानीबाहक रहेका सचिव आचार्य मन्त्रिपरिषदलाई छलेर भारत गएको देखिएको केन्द्रको प्रारम्भिक निष्कर्ष छ ।

सतर्कता केन्द्रले २७ पुसमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीका स्वकीय सचिव र सल्लाहकारहरुलाई नियम विपरीत विदेश भ्रमणमा जान रोक लगाउने निर्णय गरेको थियो । कर्मचारी तथा अन्य सरकारी पदाधिकारीका लागि आएको भ्रमण कोटामा उनीहरुलाई विदेश भ्रमणमा नपठाउन केन्द्रले सबै मन्त्रालय र निकायहरुलाई लिखित निर्देशन दिएको थियो ।

तर, खानेपानी सचिव आचार्य नेतृत्वको भारत भ्रमण गर्ने टोलीमा खानेपानीमन्त्री महिन्द्रराय यादवका छोरा सुनिल पनि थिए । त्यसबारे जानकारी माग्दै सतर्कता केन्द्रले यसअघि नै मन्त्रालयसँग विवरण माग गरेको थियो । जसमा खानेपानी मन्त्रालयले २ फागुनमा जवाफी पत्र समेत पठाएको थियो ।

तर, सतर्कता केन्द्र सो पत्रको जवाफमा सन्तुष्ट भएन । ‘केन्द्रको पूर्व पत्रद्वारा माग भएको विवरण प्रष्ट रुपमा प्राप्त भएको देखिएन,’ ९ फागुनमा अर्को पत्र लेख्दै सतर्कता केन्द्रले खानेपानी मन्त्रालयलाई भनेको छ,‘..निमन्त्रणापत्रमा पाँच जना हाई लेभल गभर्नमेन्ट अफिसियल उल्लेख भएकोमा तहाँ मन्त्रालयबाट सचिव सरेश आचार्यको नेतृत्वमा ८ सदस्यीय टोली सहभागी भएको बुझिएको हुँदा सचिव आचार्यसमेत ८ जनाको विवरण आवश्यक कागजातसहित ७ दिनभित्र उपलब्ध गराइदिन अनुरोध छ ।’

सतर्कता केन्द्रले मन्त्रालयका सहसचिवहरु मीना श्रेष्ठ र अर्जुन गौतम, खानेपानी तथा ढल निकास विभागमा महानिर्देश्क कमलराज श्रेष्ठ, सिनियर डिभिजन इन्जिनियरहरु रवीन्द्र पोखरेल, रञ्जित ओझा र देवेन्द्र झा, मन्त्रीका स्वीकय सचिव सुनिल अधिकारी भारत भ्रमण्का गएको देखिएको पत्रमा उल्लेख गरेको छ ।

पत्रमा बुँदागत रुपमा खानेपानी मन्त्रालयसँग विभिन्न जवाफ मागिएको छ । केन्द्रले ५ जनाको निमन्त्रणा मात्रै भएपनि ८ जना सहभागी हुनुको औचित्य पुष्टि गर्न भनेको छ । कर्मचारीका लागि आएको निमन्त्रणमा मन्त्रीका स्वकीय सचिवलाई लैजानुको कारणबारे पनि सतर्कताको चासो छ ।

सतर्कता केन्द्रले पत्रमार्फत संघीय खानेपानी आयोजना महेन्द्रनगरका सिनियर डिभजिनल इन्जिनियर देवेन्द्र झा भ्रमण टोलीमा सहभागी हुन भएको निमन्त्रणा, मनोनयन, टिप्पणी र निर्णयको कागजात पनि माग गरेको छ ।

सिनियर डिभिजनल इन्जिनियर रवीन्द्र पोखरेल र रञ्जित ओझालाई आयोजकबाट निमन्त्रणा प्राप्त भएको भए त्यस्तो पत्र पनि पठाउन सतर्कता केन्द्रले भनेको छ । केन्द्र स्रोतका अनुसार पोखरेललाई आयोजकले प्यानलिस्टका रुपमा बोलाएको देखिएपनि केही विषय अस्पष्ट छन् ।

सतर्कताले उक्त कार्यक्रममा सचिव आचार्यलाई पठाउन मन्त्रिपरिषदको स्वीकृतिका लागि मन्त्रीस्तरीय निर्णय भए पनि मन्त्रिपरिषदको निर्णय भएको नदेखिएको पत्रमा उल्लेख गरेको छ ।

‘त्यहाँ मन्त्रालयका सचिव सुरेश आचार्य उक्त कार्यक्रममा सहभागिताका लागि मन्त्रिपरिषदमा पठाउन मन्त्री स्तरीय निर्णय देखिए पनि मन्त्रिपरिषद्को निर्णय देखिएन’ पत्रमा भनिएको छ ‘यदि निज टोलीको प्रतिनिधित्व गरी जानुभएको हो भने निजले यात्राको क्रममा कुन राहदानी प्रयोग गर्नुभएको हो ? तथा निजको सो अवधिको हाजिरीको विवरणसहित भ्रमणको सम्पूर्ण विवरण उपलब्ध गराउनु हुन ।’

सतर्कता केन्द्रका अधिकारीहरु सचिव पोखरेल घर विदा लिएर सरकारी अधिकारीहरुका लागि आएको भारत भ्रमणमा गएको देखिएको दाबी गर्छन् ।

‘सचिवले मुख्यसचिवको अनुमति नलिई काठमाडौं समेत छाड्न पाउँदैन, मन्त्रिपरिषदको निर्णय नभई देश छाड्न पाइँदैन’, सतर्कता केन्द्रका एक अधिकारी भन्छन्, ‘खानेपानी सचिवज्यूले मन्त्रिपरिषदकै निर्णयअनुसार भारत जानुभएको हो भने हामीले मागेअनुसार पुष्टि हुने कागजात पठाउनुहोला ।’

यदि मन्त्रालयले कागजात नपठाए अध्यागमनबाटै विवरण मागेर अनुसन्धान हुने केन्द्रका ती अधिकारले बताए ।

सतर्कता केन्द्रका सचिव रामआधार साह सतर्कता केन्द्रको निर्णय सिंहदरबारभित्रै पालना नभएको भन्दै सञ्चारमाध्यममा समाचार आएपछि सो भ्रमणबारे सोधिएको बताउँछन् । तर, स्पष्ट हुने गरी जवाफ आइनसकेको उनले बताए ।

‘अहिलेसम्म सचिवज्यूले भारत जानुभएको हो वा हैन भन्ने स्पष्ट जवाफ दिनुभएको छैन, तर उहाँसँगै गएकाले हामी गएका हौं भनेका छन्, सचिवज्यू मान्न तयार हुनुभएको छैन,’ उनले भने, ‘सचिवस्तरको मान्छेले गल्ती गरेको हो भने स्वीकारेर सुधार्नुपर्छ, गल्ती ढाक्नु अर्को गल्ती हो ।’

सचिव साहले पछिल्लो सयममा मौलाएको विदेशी संस्थाको दलाली गर्ने, देशका सूचनाहरु त्यस्ता संस्थामा पु¥याउने, संस्थाहरुको निमन्त्रणामा जथाभावी भ्रमणमा जाने कुरालाई निरुत्साहित गर्नुपर्ने बताए ।

खानेपानी मन्त्रालयका अधिकारीहरु भने आचार्यभन्दा अघि खानेपानी मन्त्रालयमै सचिव रहेका रामआधार साहले प्रतिशोध राखेरै दुःख दिएको दाबी गर्छन् ।

खानेपानीमन्त्री यादवसँग मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन कसलाई काम दिने भन्ने विषयमा मतभेद भएपछि सरुवा भएर सतर्कता केन्द्र पुगेका साहले त्यहाँ बसेर खानेपानी मन्त्रालयलाई ‘टार्गेट’ गरेको उनीहरुको आरोप छ ।

सचिव आचार्य सरुवा भएर आएको पर्सिपल्टै मेलम्चीको खानेपानी काठमाडौं ल्याउन साविक ठेकेदार सिनो हाइड्रोलाई नै काम दिने गरी निर्णय भएको थियो ।

‘उहाँले यहाँ रहँदा चढेको मन्त्रालयकै महंगो गाडी लिएर सतर्कता केन्द्रमा जानुभएपछि हामीले पत्र पठाएरै गाडी फिर्ता मागेका थियौं’, ती अधिकारी भन्छन्, ‘गाडी फिर्ता गर्नुपर्ला भनेर अहिले उहाँले खानेपानी मन्त्रालयले कहाँ कमजोरी गर्छ भनेर खाजेर बस्नुभएको छ ।’

२८ मंसिरमा साह खानेपानी मन्त्रालयबाट राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएका थिए । त्यतिबेला नै उनले खानेपानी सचिवलाई मन्त्रालयले उपलब्ध गराएको बा २ झ ५०५० नम्बरको गाडी आफूसँगै लगेका थिए ।

सरुवा भएपछि पनि गाडी फिर्ता गर्न सचिव साहले रुचि नदेखाएपछि खानेपानी मन्त्रालयले पत्र नै काटेर कामकाजमा आवश्यक परेको भन्दै फिर्ता गरिदिन भनेको थियो । तर, अहिले पनि सतर्कता केन्द्रका सचिव साह खानेपानी मन्त्रालयकै गाडी प्रयोग गरिरहेका छन् ।

सतर्कता केन्द्रका सचिव रहँदा आचार्यले सहरी विकास मन्त्रालयको गाडी ल्याएर चढेका थिए । सहरी विकास मन्त्रालयले गाडी फिर्ता नमागेको भन्दै उनले सतर्कता केन्द्रबाट सरुवा भएपछि सो गाडी लिएरै खानेपानी मन्त्रालय पुगे ।

सतर्कता केन्द्रका सचिव रामआधार साह पनि सतर्कता केन्द्रमा रहँदा सचिव आचार्यले चढेको गाडी फिर्ता गरेमात्र आफूले खानेपानी मन्त्रालयको गाडी फिर्ता गर्ने बताउँछन् ।

‘मुख्यसचिवज्यूसँग नै कुरा गरेर म यो गाडी चढिरहेको हुँ’, उनले भने, ‘सतर्कता केन्द्रमा एउटा गाडी भए पनि त्यो त्यति ठीक छैन, समस्याबारे मुख्यसचिवज्यूसँग नै कुरा गरेर मैले यो गाडी चढिरहेको छु ।’

सरकारी कर्मचारीले कार्यालयबाट सरुवा हुँदा सो कार्यालयमा पदीय हैसियतमा प्रयोग गरेका सबै सरसमान कार्यालयमै बुझाउनुपर्छ । तर, सार्वजनिक निकायको कामकाजको निगरानी गर्ने निकायकै प्रमुख रहेका सचिव साहले सरकारी नियमको पालना गरेका छैनन् ।

उनै सचिव साहले सतर्कता केन्द्र बसेर सदाचारको पाठ सिकएको भन्दै खानेपानी मन्त्रालयका अधिकारीहरु जबरजस्ती विवाद झिकेर बढाइएको अन्तरद्वन्द्वले निर्णयहीनता मात्रै मौलाउने बताउँछन् ।

‘सचिव नेतृत्वको टोली सामान्य प्रचलित अभ्यासअनुसार नै भारत भ्रमणमा गएको हो’, मन्त्रालय स्रोत भन्छ, ‘यसबारे मुख्यसचिव डा. वैकुण्ठ अर्याल जानकार हुनुहुन्छ, प्रक्रियागत त्रुटि भए उहाँले नै हेर्नुहुन्छ ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?