+
+

आउँदो सोमबारसम्म गाजामा युद्धविराम हुने संकेत

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १४:१०

१५ फागुन । इजरायल र प्यालेस्टिन समूह हमासबीच सोमबारसम्म युद्धविराम हुने संकेत अमेरिकाले दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी  सोमबारसम्म युद्धविराम हुने बताएको सीएनएनले उल्लेख गरेको छ । आफूलाई राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युद्धविराम गराउने हिसाबले आफूहरु निकै निकट पुगेको ब्रिफिङ गरेको बाइडेनले बताएका छन् ।

‘यो सोमबारसम्म युद्धविराम हुन्छ भन्ने विश्वास छ । मलाई राष्ट्रिय सुरक्षा सल्लाहकारले यसतर्फ निकै निकट रहेको बताएका छन् । आगामी सोमबारभित्र युद्धविराम हुनेमा म विश्वस्त छु’, उनको भनाइ उधृत गर्दै सीएनएनले उल्लेख गरेको छ ।

हमासले युद्ध अन्त्यको सुनिश्चितता भएपछिमात्र थप बन्दी रिहा गर्ने अडान राखेपछि युद्धविरामको वार्ता सहमतिमा पुग्न सकेको छैन । हमासले गाजाबाट सम्पूर्ण रुपमा इजरायली सेना फिर्ता नभएसम्म बन्दी रिहा नगर्ने अडान राखेको बाइडेनका उच्च प्रशासकले सीएनएनसँग बताएका छन् ।

‘हमासले गाजाबाट सम्पूर्ण रुपमा इजरायली सेना फिर्ताको अडान नछोडेपछि वार्तमा कठिनाइ भइरहेको छ । यस्तै प्यालेस्टाइन कैदीहरुलाइ समेत रिहा गर्नुपर्ने माग उसको छ’, ती प्रशासकले भनेका छन् ।

युद्धविरामको पहलका निम्ति पेरिसमा अमेरिका, इजिप्ट, इजरायली जासुसी संस्थाका प्रमुख र कतारका प्रधानमन्त्रीले शुक्रबारयता वार्ता जारी राखेका छन् ।

वार्तामा सहभागी सूत्रहरुका अनुसार हमासले एकैपटक सबै माग पूरा हुनुपर्ने सुनिश्चतता खोजेको छ । यद्यपि सबै माग क्रमिक रुपमा पूरा गर्ने किसिमले पहल भइरहेको  सूत्रकारहरुले बताएका छन् । इजरायली  रक्षा फौज समेत बन्दी रहेका समयमा पहिले युद्ध अन्त्य नभई उनीहरुलाई रिहा गर्न नमिल्ने अडान हमासले राखिरहेको छ ।

सहमति भएको अवस्थामा त्यसको पूर्ण कार्यान्वयनका निम्ति ६ साता लाग्ने वार्ताकारहरुले बताएका छन् । पहिले ६ सातासम्म युद्धविराम गरेर सम्पूर्ण बन्दी रिहा गर्ने पहल भइरहेको र त्यसपछि हमासको माग अनुसार प्यालेस्टाइन केही बन्दी समेत रिहा गर्ने विषयमा छलफल भइरहेको सीएनएनको समाचारमा उल्लेख छ ।

इजरायली नेताहरुले राफामा थप कारबाही गर्ने नीति लिएका छन् । यता, हमासले पहिलो चरणमा केही बन्दी रिहा गरेर दोस्रो चरणमा सैन्य अपरेसन समाप्तिको सुनिश्चितता हुनुपर्ने माग राखेको छ ।

शुक्रबार पेरिसमा छलफल गरेकाहरुले सोमबार दोहामा पनि छलफल गरेका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याट मिलरले भनेका छन्, ‘केही दिन यताका छलफल र वार्ता परिणामुखी बन्दै आएका छन् । अस्थायी युद्धविराम गरेर बन्दी रिहा गर्नेतर्फ वार्ता अग्रसर छ ।’

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले पेरिसमा भएको वार्ता बन्दी रिहा र युद्धविराममै केन्द्रित रहेको र चार मोडालिटीमा छलफल भएको बताएका छन् ।

हमाससँग कतार र इजिप्टले कुरा गरेपछि युद्धविराम र युद्धसँग जोडिएका अन्य विषय कार्यान्वयनमा आउने उनले बताए ।

‘हमाससँग कतार र इजिप्टले कुरा राख्नेछन् । बन्दी राहाका निम्ति हमासकै सहमति आवश्यक छ । हामीले दुबै पक्षका माग सम्बोधन हुनेगर्ने हिसाबले छलफल गरिरहेका छौँ । सहमतिको अन्तिम स्वरुपका लागि केही दिन पर्खिनै पर्नेहुन्छ’, उनले भनेका छन् ।

दोहामा वार्ताका लागि इजरायलले पनि प्रतिनिधि पठाएको छ । यद्यपि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास धरातलीय यथार्थमा फर्किनुको विकल्प नरहेको बताएका छन् ।

‘हमास आफ्नो धरातलमा फर्किनुको कुने विकल्प छैन । हामीले चाहे अनुसारको र हाम्रो आवश्यकता अनुसारको सहमति गर्नेछौँ’, उनले फक्स न्यूजसँगको वार्तामा भनेका छन् ।

हमासले बन्दी बनाएका १३० इजरायली रिहाको दबाब नेतान्याहुमाथि रहेको छ । नेतान्याहुले राफामा पनि थप सैन्य कारबाही बढाउने तयारी रहेको चेतावनी दिएका छन् । ‘बन्दी रिहा भएपनि नभएपनि हामी कारबाही अघि बढाउनेछौँ । हमासको गढ भत्काउनैपर्ने छ’, नेतान्याहुले भनेका छन् ।

यस कदमको अमेरिकाले विरोध जनाएको छ । १ करोड ५० लाख प्यालेस्टाइनहरुको ज्या जोखिममा हुने भन्दै राफामा कारबाही नगर्न अमेरिकाले भनेको छ । इजरायलले हालसम्म गरेको हमलामा २९ हजार ७८२ प्यालेस्टाइन मारिएका छन् ।

यता हमासले १ हजार १३९ जनाको ज्यान लिएको छ । हमासले २५० जनालाई बन्दी बनाएको थियो । गत नोभेम्बरमा अल्पकालीन युद्धविरामको अवस्थामा १०० जना रिहा गरिएको थियो । अझै १३२ जनालाई हमासले बन्दी बनाएको इजरायली अधिकारीहरुको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?